© २०२३
सिमसार र मानव कल्याण भन्ने नाराका साथ विश्व सिमसार दिवस आज शुक्रवार नेपालमा पनि विविध कार्यक्रम गरि मनाईदैछ । सिमसार दिवस मनाउँदै गर्दा सिमसार क्षेत्रमाथि अतिक्रमणमात्रै होइन, बढ्दो दोहन र प्राकृतिक श्रोतमाथिको बेवास्ताका कारण सिमसार क्षेत्र सुक्दै गएका छन । भएका सिमसार क्षेत्रको पनि संरक्षणमा ध्यान पुग्न सकेको छैन । नेपालकै सिमसार क्षेत्रको कुरा गर्दा पनि सिमसार अतिक्रमणको चपेटामा पर्दै गएका छन । पर्यावरण र जलाधार संरक्षणमा सिमसारको भूमिका महत्वपूर्ण हुन्छ । तर, सिमसार बचाउनेतर्फ न त नेपालको न त विश्वकै ध्यान पुगेको छ । नेपालमा सिमसार क्षेत्र धेरै छन । तर ती सिमसार क्षेत्र अधिकांश पुरिदै र मासिदै गएका छन । सिमसार पानी र जमिन मिश्रित दलदल भएको भू–भाग हो । जुन ओसिलो र धापिलो हुन्छ । सिमसारमा बाह्रै महिना पानी सुक्दैन । खासगरी सिमसार वनस्पतिका आकर्षक भूमि र पञ्छीका निम्ति आश्रय थलो मानिन्छ भने पानीको आधारदेखि जलाधारका स्रोत पनि सिमसार क्षेत्र हो । यस्ता सिमसार क्षेत्रहरूमा दुर्लभ चरा–चुरुङ्गीहरूको वासस्थान हुन्छ । जंगली जनावरहरूको बसोबासको क्षेत्र पनि सिमसार नै हुन्छ । सिमसार क्षेत्र नभएको जग्गामा जंगली जनावर समेत बस्न रुचाउँदैनन भने चरा चुरुङ्गीको बासस्थान समेत सोही क्षेत्रमा हुन्छ । अतः सिमसार क्षेत्रको सुरक्षा गर्नु हामी सवैको दायित्व हो ।
नेपालका सिमसार क्षेत्रमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् । ती तराई क्षेत्रका मात्रै हुन । पहाडी र हिमाली क्षेत्रमा त्यति नै संख्यामा थप जीवजन्तु सिमसार क्षेत्रमा बस्ने गर्दछन । सिमसार हाम्रो चराचर संरक्षणमा महत्वपूर्ण सम्पदा क्षेत्र हो । तर, बिडम्वना नै भन्नुपर्दछ– सिमसार क्षेत्र अहिले मासिदै गएका छन । बढ्दो जनसंख्या यसको कारक मानिएको छ । मानवीय विकासक्रम अनि पूर्वाधारहरूको अविवेकी विकास क्रमले नेपालमा सिमसार क्षेत्र नासिने अवस्था बढ्दो छ । यसका अतिरिक्त सिमसारले प्राकृतिक जीवजन्तु संरक्षणमात्र होइन बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टिको समस्या सन्तुलनमा राख्न सहयोग गर्छ । नेपालको विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् ।
कैलालीको घोडाघोडी ताल, रारा ताल, कोश टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से फोक्सुन्डो ताल, माई पोखरी अनि पोखरा नगरीका नौवटै तालहरू सिमसार क्षेत्रमा सुचिकृत छन । नेपालमा ठूला–साना गरी करिव चार हजार सिमसार क्षेत्र छन् । यी महत्वपूर्ण सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपन्छीको वासस्थान सम्बन्धी सिमसार (राम सार) महासन्धि भएको थियो । यो महासन्धिमा १६९ देशहरू सामेल भएका छन् । नेपाल भने औपचारिक रूपमा सन् १९७१ मा उक्त महासन्धिको सदस्य भएको हो । नेपालसंगै पृथ्वीका धेरैजसो सिमसार क्षेत्रहरू लोप हुने क्रममा छ । नेपालले आफ्नै सिमसार क्षेत्र जोगाउने काम गरे काफी हुन्छ । किनभने नेपालका अधिकांश सिमसार क्षेत्र अतिक्रमित भएका छन । कतिपय जोखिममा छन । वन जंगल विनास हुँदै गर्दा सिमसार क्षेत्र संरक्षणमा छिटो ध्यान पुगेन भने चुनौति सिर्जना हुनसक्छ । दलदलयुक्त तालतलैया त्यसैपनि जोखिममा रहेको अवस्थामा नेपालले अव संरक्षणको लागि तीब्र पहल गर्नु जरुरी छ । अधिकांश नेपाली नागरिकलाई सिमसार क्षेत्रको महत्वका बिषयमा समेत धेरै जानकारी छैन । तसर्थ सिमसार क्षेत्रको महत्वका बिषयमा प्रचार प्रसार गर्नु जरुरी छ । अव हामी सवै सिमसार संरक्षणमा अघि बढ्नु जरुरी छ । सिमसार दिवसको यो बर्षको सन्देश नै हो– सिमसार र मानव कल्याण । सिमसार संरक्षण गरेर मानव सभ्यता जोगाउनेतर्फ अव ढिलाई नगरौं ।