© २०२३
विषय प्रवेश
उन्नाईसौँ शताब्दीदेखि शुरु भएको औद्योगिकरण र यातायात तथा विलासिताका प्रविधिको विकासले मानव समुदायलाई निकै सजिलो त बनाएको छ, साथसाथै विश्वलाई संकटग्रस्त समेत बनाउदै लगेको छ । खासगरी जीवाश्म इन्धनको प्रयोगले पृथ्वीमा हरितगृह प्रभाव उत्पन्न भै विश्वब्यापी उष्णीकरणको अवस्था आएको छ, जसको प्रत्यक्ष असर पृथ्वीको जलवायु–चक्रमा परिरहेको छ । वैज्ञानिकहरूका अनुसार पछिल्लो सय वर्षमा पृथ्वीको तापक्रम, मौसम–चक्र र हावापानीमा निकै हेरफेर भैरहेको छ । सन् १९०६ देखि २००५ को अवधिमा पृथ्वीको औसत तापक्रम ०.७४ सेल्सियस बढ्ेको छ । जलवायु परिवर्तनका प्रभाव विशेषगरेर नेपाल जस्ता गरिब, विकासोन्मुख, भूपरिवेष्ठित तथा पर्वतीय मुलुकहरूमा बढी देखिएको छ ।
अधिकांश नेपालीहरूको आर्थिक अवस्था कमजोर भएकोले हरितगृह ग्याँस उत्सर्जन गर्ने मोटरगाडी र बिलासिताका साधनहरूको प्रयोग निकै कम मात्रामा भैरहेको पाईन्छ । नेपालमा औद्योगीकरण पनि नगन्य मात्रामा छ । यी कारणहरूले गर्दा नेपालले विश्वको कूल हरितगृह ग्याँसको करिव ०.०२५ प्रतिशत मात्र उत्सर्जन गर्ने गरेको छ । जलवायु परिवर्तनको ६० प्रतिशत भन्दा बढी प्रभाव जलस्रोतमा पर्ने बताईन्छ । पछिल्ला वर्षहरूमा मुसलधारे वर्षा हुने दिनको संख्या बढ्दैछ । पानी पर्ने समय र अवधिमा परिवर्तन भइरहेको छ । तीब्र गतिमा हिमगलन हुँदै जानाले हिमनदीहरू पातलिंदै र छोट्टिंदै गएको र हिमतालको आकार बढ्दै गएको बाढी, पहिरो डढेलोको साथै खडेरी, अतिवृष्टि अनावृष्टिका घटनाहरूमा तीव्रता आएको विभिन्न अध्ययनहरूले देखाएको छ । कृषि तथा खाद्यान्न, जलस्रोत, वनजङ्गल तथा जैविक विविधता, स्वास्थ्य तथा पूर्वाधार लगायतका हरेक क्षेत्रहरूमा मात्र नभई पर्यटन क्षेत्रमा समेत जलवायु परिवर्तनको प्रतिकूल प्रभाव पर्न थालेको छ । अन्य क्षेत्रमा जलवायु परिवर्तनका असरहरूको बारेमा निकै चर्चा हुने गरेपनि देशको आर्थिक विकासको मेरुदण्ड बन्दै गरेकोे पर्यटन क्षेत्रको बारेमा विरलै चर्चा हुने गरेको छ ।
नेपालमा जलवायु परिवर्तन र विपदको ग्राफ
नेपालले न्यून मात्रामा हरितगृह ग्याँस उत्सर्जन गरेपनि वायुमण्डलीय तापक्रम बृद्धिका कारण प्रभावित हुँदै गएको छ । सन् १९७४–२०१४ मा नेपालको तापक्रम औसत ०.५६ डिग्री सेल्सियसले बढेको देखिन्छ । प्रक्षेपणहरूले देखाए अनुसार भविष्यमा औसत तापक्रम पनि सन् २०१६–२०४५ मा ०.९२–१.०७ र सन् २०३६–२०६५ मा १.३–१.८२ डिग्री सेल्सियसले बढ्ने अनुमान छ । अध्ययन अनुसार, शताब्दीको अन्त्य सम्ममा, बर्षा औसत ११–२३ प्रतिशत र औसत तापक्रम १.७२–३.५८ डिग्री सेल्सियसले बृद्धि हुने अनुमान गरिएको छ । तापक्रम वृद्धिको असर मौसमचक्रमा परेको देखिदै गएको छ । अतिवृष्टि, अनावृष्टि र खडेरीका दिनहरू बढिरहेका छन् । यसको कारण बाढी, पहिरो, सुख्खापन र आगलागीका घटनाहरूमा तीव्रता आउनुको साथै नेपालमा वार्षिक वर्षा–चक्रमा हेरफेर, लामो समयसम्म खडेरी पर्ने तथा तीव्र वर्षा हुने गरेको छ । तीब्र गतिमा हिमगलन हुँदै जानाले हिमनदीहरू पातलिंदै र छोट्टिंदै गएको एवं हिमतालको आकार बढ्दै गएको छ भने नयाँ हिमतालहरू बन्दै फुट्ने खतरामा छ । पूर्वानुमान गर्न नसकिने गरि दोहोरिने बाढी पहिरो, शितलहर, लू जस्ता विपदबाट वर्षेनी ठूलो मात्रामा धनजनको क्षति भैरहेको छ । २०७० यताका १० वर्षमा मात्र बाढी, पहिरो र भारी वर्षा जस्ता विपदका घट्नाबाट २१४८ जनाको मृत्यु भएको छ भने १८५ खर्ब रुपिँया भन्दा बढीको आर्थिक क्षति भएको छ । २०८० बैशाख १ देखि माघ १४ सम्ममा यी ३ विपदबाट थप ६९ जनाको मृत्यु भैसकेको छ भने ३ अर्ब ३८ करोड भन्दा बढीको क्षति भएको छ । जलवायु परिवर्तनका कारणले कृषि तथा जलस्रोत व्यवस्थापनका क्षेत्रमा देशले कूल ग्राहस्थ उत्पादनको २ देखि ३ प्रतिशत सम्म नोक्सान व्यहोर्नु परेको छ । अर्काेतर्फ नेपालले कूल ग्राहस्थ उत्पादनको १.५ देखि २.० प्रतिशतसम्म थप खर्च व्यहोर्नुपर्ने अवस्था रहेको छ ।
नेपालको पर्यटन क्षेत्र मुलरूपमा प्राकृतिक श्रोत र भौगोलिक विशेषतामा आधारित छ । लुम्बिनी, चितवन र जनकपुरधामलाई छोड्ने हो भने बाँकी सबै चालु पर्यटकीय स्थलहरू पहाडी र हिमाली क्षेत्रमा नै छन् र आन्तरिक र विदेशी पर्यटकहरूको रोजाईको थलो पनि हो । गत वर्षको पर्यटन तथ्यांक हेर्दा १० प्रतिशत पर्यटक हिमाली क्षेत्रको पदयात्रामा गएको देखिन्छ । नेपालका सेता हिमाल, हरिया पहाड अनि कलकल बग्ने नदीहरूले पर्यटनको आधार निर्माण गरिरहेका छन् । पछिल्ला वर्षहरूमा नेपालमा बढ्दै गएका जलवायु परिवर्तनजन्य विपदले गर्दा पर्यटनका आधारहरूलाई कमजोर बनाउदै गएको पाइन्छ ।
प्राक्टिकल एक्सन र संस्कृति, पर्यटन मन्त्रालयले सन् २०१७/१८ मा गरेको अध्ययनले बाढी, पहिरो, हिम आँधी लगायत जलवायुजन्य प्रकोपका नेपालको पर्यटन क्षेत्रले वार्षिक सरदर २४१ मिलियन अमेरिकी डलर (करीब रु.२५ अर्ब) बराबरको क्षति व्यहोरिरहेको देखाएको छ । जलवायु परिवर्तनको कारण हिमाली क्षेत्रमा हिउँ पर्ने दरमा कमि र हिउ पग्लने दरमा वृद्धि भैरहेको छ । हिमाली क्षेत्रमा हिउँ घट्दै जादा हिमाली क्षेत्रले आकर्षण गुमाउदै जाने निश्चित छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिले गर्दा हिम गलनमा वृद्धि, हिम पहिरो र हिमताल विस्फोटनका खतराहरू बढिरहेका छन् । यसले हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणलाई जोखिमपूर्ण बनाएको छ । पछिल्ला वर्षहरूमा हिम पहिरोमा पुरिएर मर्ने र बेपत्ता हुने पर्यटकको संख्या बढ्दै गएको छ । हिमतालको आकारमा वृद्धि, हिम पहिरो जस्ता कारण पदमार्गहरू भत्कने भएकोले पर्यटकहरूले सास्ती भोग्दै आएका छन् । सुख्खा, अतिवृष्टि र अनावृष्टि नेपालमा देखिएका जलवायु परिवर्तका असरहरू हुन् । यस्ता विपदले पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुने गरेको छ । नदीहरूमा पानीको मात्रा र बहावलाई खडेरी र अतिवृष्टि प्रभाव पार्ने र यसबाट नेपालका नदीहरूमा चलिरहेको जल पर्यटनलाई गम्भीर प्रभाव पार्ने निश्चित छ । नेपालमा धेरै पर्यटक मङ्सिर– जेठ अवधिमा घुम्ने गरेका छन् । यहि समयमा तालतलैयामा पानी घट्दा घुमफिर गर्नेहरूलाई निराश गराउने र पर्यटन गतिविधि संकुचित हुने संकेत देखिएका छन् । खासगरी तराई क्षेत्रमा रहेका तालतलैयाहरू हिउँदमै सुक्न थालेका छन्, जुन पर्यटकीय क्षेत्रको लागि पक्कैपनि सुखद संकेत हैन । मन्त्रालयको अध्ययनले तापक्रम घट्दा र पानी पर्दा नेपालको पर्यटन क्षेत्र बढी प्रभावित हुने देखाएको छ । मुख्य पर्यटकीय गन्तव्य पोखरा, लाङटाङ र चितवनलाई मुख्य आधार मानेर गरिएको अध्ययनले सरदर एक डिग्री तापक्रम घट्दा नेपाल आउने विदेशी पर्यटकको संख्या ११.५७ प्रतिशतले कमी आउने र एक डिग्री तापक्रम बढ्दा ७.६४ प्रतिशतले पर्यटक घट्ने देखाएको छ । पछिल्ला वर्षहरूमा तापक्रम र वर्षाचक्रमा अनियमित र अस्वाभाविक परिवर्तन देखिएका छन् । एक्कासी हुने ठूलो वर्षाले गर्दा बाढी पहिरो आउने र त्यसले यात्रा विथोलिनु अब नौलो कुरा रहेन । बाढी र पहिरोको कारण यात्रामा निस्केका पर्यटकहरूले निकै दुःख पाएका समाचारहरू धेरै देखिन्छन् । मनसुन शुरु भएपछि सुस्ताउने नेपालको पर्यटन क्षेत्र बेमौसमी वर्षा र विपदको दरले समेत बिथोलिन थालेको छ ।
जलवायु परिवर्तनले गर्दा पर्यटन क्षेत्रमा गर्नुपर्ने लगानी समेत बढ्दै गएको छ । कुनै समयमा हिल स्टेशनको रूपमा चिनिने र गर्मीबाट छुटकारा पाउन पर्यटकहरू पुग्ने स्थानका होटेल तथा गेष्टहाउसमा समेत अचेल पंखा र एसी लगाउनुपर्ने र तराईका होटलका कोठामा हिटर राख्नुपर्ने अवस्था सिर्जना भैरहेको छ । तापक्रम वृद्धिसंग पहाडी क्षेत्रमा लामखुट्टे र किराहरूको प्रकोप बढिरहेको छ । यसले होमस्टेमा रमाउने र खुला ठाउँमा समय बिताउन खोज्ने पर्यटकलाई असर पार्ने निश्चित छ । बेमौसमी चिसो र तातो अनुकूल पर्यटक सेवा दिनको लागि तथा पर्यटकलाई सुरक्षित राख्न पर्यटन उद्योगले भविष्यमा ठूलो लगानी नगरी सुखी छैन । जलवायु परिवर्तनको कारण विश्वब्यापी तापक्रम वृद्धि भैरहेको छ । केहि वर्ष अघिसम्म तराई र चुरेमा मात्रे देखिने वन डढेलो अहिले हिमाली क्षेत्रसम्म फैलिएको छ । डढेलोले गर्दा गर्मीको समयमा वनमा आधारित पर्यटन शुन्य हुने अवस्था छ । डढेलो लागेको समयमा लुम्बिनी प्रदेशकै पर्यटन केन्द्र बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, स्वर्गद्वारी जस्ता ठाउँमा दैनिकी नै प्रभावित हुने गरेको छ । डढेलोले गर्दा वन्यजन्तुहरू नष्ट हुने, प्राकृतिक सौन्दर्यता नासिने र डढेलोको धुवाँले गर्दा पर्यटकहरूको चहलपहल रोकिने भएकोले जलवायु परिवर्तनबाट पर्यापर्यटनको क्षेत्रमा भविष्यमा ठूलो नोक्सानी हुने देखिएको छ ।
पछिल्लो दशकमा नेपालमा जलवायु परिवर्तनको बारेमा खुबै चर्चा हुने गरेको देखिएपनि यसबाट पर्यटन क्षेत्रमा कस्तो प्रभाव परेको छ ? भविष्यमा कस्ता समस्या आउनेछन् र त्यसबाट कति क्षति पुग्नेछ भन्ने बारेमा खासै अध्ययन गरिएको र चासो राखिएको छैन । सरकार र पर्यटन उद्योगले खासै वास्ता नगरेपनि जलवायु परिवर्तनले जल. जमिन, जंगल र हिमालमा पार्ने असर आउँदा दिनमा अझ बढ्ने र त्यसले पर्यटन क्षेत्रमा ठूलो क्षति पार्ने निश्चित देखिन्छ । त्यसैले आगामी दिनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन नीति बनाउँदा पर्यटन क्षेत्रलाई र पर्यटन सम्बन्धि नीति तथा कार्यक्रम बनाउँदा जलवायु परिवर्तनको प्रभावलाई समेट्नु जरुरी छ । जलवायु परिवर्तनबाट समस्या देखिँदा पनि पर्यटन उद्योगलाई कसरी समायोजन गर्दै लैजाने ? पर्यटकलाई जलवायु परिवर्तनजन्य जोखिमबाट कसरी सुरक्षित राख्ने र पर्यटन सम्बन्धि संरचनाहरू कसरी जलावायु परिवर्तन अनुकूलन बनाउने भन्ने कुरामा बेलैमा ध्यान दिन सकिएन भने उठ्दै गरेको नेपालको पर्यटन क्षेत्र खुम्चदै जाने निश्चित छ ।