© २०२३
कपिलवस्तुका राजा शुद्धोधनको ऐतिहासिक राजप्रासाद दरवार रहेको प्राचीन तिलौराकोटको उत्खनन हुन थालेको बर्षौ भएको छ । हरेक बर्ष यही समयमा तिलौराकोटमा उत्खनन हुने गर्दछ । त्यसो त उत्खननबाट महत्वपूर्ण भग्नावशेषहरू प्राप्त भएका छन् । ती भग्नावेशषले प्राचीन तिलौराकोटको राजधानी कपिलवस्तु नै रहेको प्रमाणित गरेका छन् । उत्खननवाट प्राप्त बुद्धकालीन ऐतिहासिक वस्तुहरूले अव भगवान गौतमबुद्ध।ले विताएको शैशवकालका २९ वर्ष अन्य कहीं नभएर यहीं तिलौराकोट नै हो भन्ने प्रमाणित गरेको छ । यद्यपि तिलौराकोटमा यसअघि पनि उत्खनन नभएको होइन । प्रत्येक वर्ष हुने उत्खननवाट प्राचीन तिलौराकोट दरवार क्षेत्रमा नयां नयां ऐतिहासिक वस्तुहरू प्राप्त भैरहेका छन र ती वस्तुहरूले समग्र कपिलवस्तुकै ऐतिहासिक गरिमा अभिवृद्धिमा सघाउ पुराएका छन । तर उत्खननबाट प्राप्त ऐतिहासिक वस्तुहरू कहाँ राखिएको छ ? हरेक बर्ष उत्खनन गर्नुपर्ने सान्दर्भिकताका बिषयमा भने खासै खोज हुन सकेको छैन् ।
हरेक बर्ष हुने उत्खननमा बेलायतको दूरहम विश्वविद्यालयको संलग्नता मूख्यरूपमा देखिएको छ । विदेशी विश्वविद्यालयलाई हरेक बर्ष किन उत्खननमा संलग्न गराउने गरिएको छ ? किन एउटै संस्थालाई उत्खननको जिम्मा दिने गरिएको छ ? कतै नेपालको ऐतिहासिक सम्पदामाथि खेलवाड त भैरहेको छैन ? कि उत्खननबाट प्राप्त ऐतिहासिक बस्तुहरू सिधै बेलायत त पुगेको छैन ? यी प्रश्नहरूको उत्तर अव सम्वन्धित निकायले दिने प्रयास गरोस् । यदि पवित्र नियतले उत्खनन भैरहेको हो भने पनि लुम्बिनी विकास कोषले स्पष्ट जानकारी गराउनु जरुरी छ । त्यसमा प्रश्न उठाउनु हँुदैन तर उत्खननका बिषयमा नागरिकको खबरदारी उत्तिकै जरुरी छ भन्ने कुरालाई नजरअन्दाज गरिनुपनि हुँदैन । नेपालको वर्षौंदेखि जीर्ण र ओझेलमा पर्दै आएको तिलौराकोट क्षेत्रमा अहिले भैरहेका गतिविधिले निश्चित रूपमा यस क्षेत्रको विकास संभव छ भन्ने पुष्टी भैरहेको छ । खासगरी भगवान बुद्धले विताएको २९ वर्षे बाल्यकाल तिलौराकोट दरवार यही क्षेत्र हो भन्ने विश्वले प्रमाणित गरिसकेको छ । अव कोही कसैले दावी गर्दैमा प्राचीन तिलौराकोटको अस्तित्व हराउन सक्दैन । भारतले नक्कली कपिलवस्तु वनाएको भन्ने भ्रममा विदेशी पर्यटकहरूलाई गुमराहमा पार्ने प्रयास नभएको होइन तर तिलौराकोट नेपालकै कपिलवस्तुमा पर्दछ भन्ने प्रमाणित भैसकेको छ । अव केवल कपिलवस्तुको समग्र विकासको आवश्यकता छ । तिलौराकोटको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नु जरुरी छ ।
सरकारले समेत तिलौराकोटको उत्खननमा ध्यान नदिएको सही र सांचो हो । केही वर्षमात्र भएको छ सरकारको ध्यान कपिलवस्तुमा पर्न थालेको र अव लुम्विनी विकास कोषले समेत समग्र कपिलवस्तु क्षेत्रलाई आफ्नो क्षेत्र ठान्दै आएको छ । कपिलवस्तुमा छरिएर रहेका बुद्धकालीन अवशेषहरू लोप हुंदै गएका छन । तिनको खोजीनीति र संरक्षणमा ढिलाई गरिनुहुँदैन । तिलौराकोटको उत्खननले मात्रै अव पुग्दैन । कपिलवस्तुको विकास तवमात्र संभव छ जव समग्र बुद्धकालीन ऐतिहासिक क्षेत्रहरूको विकासमा सरकारले ध्यान दिनेछ । तसर्थ अव तिलौराकोटको उत्खननसंगै बुद्धकालीन दुई दर्जन बढी ऐतिहासिक सम्पदाहरूको संरक्षणमा सरकारको ध्यान जाओस् । अव सरकारले तिलौराकोटका साथै कपिलवस्तुका ऐतिहासिक सम्पदाको जीर्णोद्धार र विकासमा ध्यान दिनु आवश्यक छ । तिलौराकोट दरवार क्षेत्रमात्र होइन कपिलवस्तुमा बुद्धसंग जोडिएका करिव दुई दर्जन ऐतिहासिक स्थान छन, तिनको जिर्णोद्धार, संरक्षणको खाँचो छ । त्यसतर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।