© २०२३
क्रान्ति भन्नाले सत्ता र सत्तासिन वर्गविरुद्ध आम सचेत र श्रमिक जनताले आफ्ना हक र अधिकारका निम्ति संघर्ष सञ्चालन गर्नेक्रममा उपयोग गरिएको महत्वपूर्ण एबम् शक्तिसाली शब्द नै क्रान्ति हो । यसको अर्थ जनतालाई संगठित पार्दै अर्थात पुरानो राज्य ब्यवस्था ध्वस्त गरि युगान्तकारी परिवर्तनको समय स्थापित गर्ने मार्गमा अघि बढ्नु नै क्रान्ति हो भन्ने बुझिन्छ । क्रान्ति पुरानो राज्य ब्यवस्था बदल्ने एक नयाँ अस्त्र हो । आम नागरिकको बुझाई पनि यहि छ । कार्लमाक्र्स, माओ, लेनिन, प्लेटो र अरस्तुले के के भने त्यो विश्लेषण यो सानो लेखमा व्याख्या गर्न सम्भव छैन् । मैले यो लेखमा उठान गर्न खोजेको बिषय नितान्त फरक छ । किनभने नेपालमा सफल भएको एउटा महान क्रान्ति शहिदका सपनाहरू र अबको नयाँ नेपाल तिनैका बिरगाथासँग जोडिएको छ । नेपालमा हरेक वर्ष माघ १६ गते शहीदको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । हरेक बर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहिद सप्ताह मनाउने परम्परा थियो । खै, सरकारले किन हो यसपालि शहीद दिवशको कार्यक्रमलाई खास्सै महत्व राखेन् । वि.सं. २०१२ सालदेखि नै काठमाण्डौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवश मनाउन सुरु गरेको हो । त्यसैले शहीद दिवसको पावन अवसरमा ज्ञात–अज्ञात शहिदहरूप्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्दै कबि भूपि शेरचनका कबिताका केहि सुन्दर हरफहरू कोर्न मन लाग्यो– “हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपूत मरेर नगए” यी पक्तिहरूले राष्ट्र निर्माणमा शहिदको योगदानलाई बिर्सन सकिदैन् । मुलुकको स्वतन्त्रता, स्वाधीनता, लोकतन्त्र, जनअधिकार र सुशासन निर्माण कार्यमा नेपाली वीर सपूतहरूले आफनो ज्यानको बाजी थापेर देशकै लागि बलिदानी दिए । त्यस्ता ब्यक्तिहरूलाई सम्झिने दिन हो शहिद दिवस । नेपालमा पछिल्लो समयमा बिभिन्न आन्दोलनमा मारिएका ब्यक्तिहरूलाई पनि शहिद घोषण गरिनुपर्दछ भन्ने आवाज वेला वेलामा सुन्ने गरिन्छ । जो पायो त्यही ब्यक्तिलाई शहिद घोषणा गर्दा वास्तविक शहिदहरूको अवमूल्यन र अपमान हुन सक्छ । त्यसैले वास्तविक शहिदहरू को को हुन् ? तिनीहरूको बारेमा राज्यले बीरगाथा लेखेको हुनुपर्दछ र सच्चा सम्मान पनि गरेको हुनुपर्दछ ।
नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापना भएपछि माघ १६ गतेको दिनलाई शहिद दिवस भनेर मनाउने गरिन्छ । शहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिको लागि बलिदानी भएर लोकहितका निम्ति आफ्नो जीवन समर्पण गरेका महान ब्यक्तिहरू जसले आफ्नो नाम र ख्याति इतिहासका पानामा र प्रत्येक देशभक्त नागरिकको मन मनमा बस्न सफल अमर व्यक्तिलाई बुझाउँछ । त्यसैले माघ १६ गतेको दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा एउटा ऐतिहासिक दिन हो भनेर आम नागरिकले बुझने गर्दछन् । बि.स. १९९७ साल माघ १६ गते जहानिया राणा शासनविरुद्ध आवाज उठाउने र त्यस शासन व्यवस्थालाई जरैदेखि उखेलेर नेपालमा प्रजातान्त्रिक व्यवस्था आवश्यक छ भन्दै समानतामूलक शासन प्रणाली स्थापना गर्नको लागि कुनै प्रवाह नगरी जीवन उत्सर्ग गर्ने महान शहिदहरू शुक्रराज शास्त्री, धर्मधक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरको बारेमा नजान्ने र नबुझ्ने प्रायः कमै होलान् । स्कुले जीवनका बालबालिकादेखि बिश्वबिद्यालयसम्म पढ्ने बिधार्थीहरूका लागि समेत यिनीहरूको बीरगाथा पढ्ने, पढाउने, सिक्ने र सिकाउने गरिन्छ ।
शहीदहरू देशका अमूल्य निधि त हुन् नै उनीहरू समाज र सिङ्गो देशलाई नयाँ दिशा र अग्रगामी बाटोमा मार्गदर्शन गरिरहने एक पथप्रर्दशक रूपमा लिन सकिन्छ । नेपालमा सहादतको हिसाबले हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई नै पहिलो शहिद भन्ने गरिन्छ । पल्टनका लाहुरे थिए लखन थापा । उनलाई जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा बि.स. १९३३ सालमा गोरखा जिल्लामा अबस्थित मनकामना मन्दिर अगाडि रुखमा झुण्डाएर मारिएको थियो । बि.स. २००७ सालदेखि २०६२/६३ सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अवलोकन गर्दा हाम्रा थुप्रै ज्ञात अज्ञात देशभक्त बीर सपूतहरूले सहादत प्राप्त गरेको कुरा सास्वत सत्य हो ।
१९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौंको पचलीमा एउटा बगैनाको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्डाएर मारिएको थियो । धर्मभक्त माथेमालाई हत्या गरेर मारियो । त्यस्तै १९९७ साल माघ १४ गते शहिद दशरथ चन्द ठाकुरलाई काठमाण्डौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे र १९९७ साल माघ १४ गतेकै राति १० बजे शोभा भगवतीमै लगेर नर शमशेर राणाले शहिद गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाँधेर निर्मम तरिकाले गोली हानी हत्या गरेर मारेको थियो । मर्ने वेला जय नेपाल भन्ने अन्तिम शब्द प्रयोग गर्ने महान व्यतिm तिनै शुक्रराज थिए । यी चारजना बीर सपूतहरू देशका लागि मरेर गए । हुन त नेपालमा केही राजनीतिक परिर्वनमा लागेर घाइते तथा पीडित भएका व्यक्तिहरूलाई जिउँदो शहिद भनेर घोषणा गरिने प्रचलन रहेको छ । नेपालमा सबैभन्दा पहिला नेपाल प्रजा परिषद नामक राजनीतिक पार्टी १९९३ मा स्थापना गरिएको थियो । उक्त पार्टीलाई सूत्रपात गर्ने महान् देशभक्त र उच्च राजनीतिक चिन्तक टङ्कप्रसाद आचार्यलाई भने बाहृमण भएकै कारणले गर्दा मार्न हुन्न भनी चारपाटा मुडेर सँुगुरको पाठो झुण्डाई आजीवन कारावासको सजाय दिएको हुनाले उनलाई नेपालको इतिहासमा जिउँदो शहिद भनेर भन्ने गरिन्छ ।
शहिद दिवस किन मनाउनुपर्दछ ? शहिदका सपनाहरू के के थिए ? देश र जनताको लागि किन बलिदानी दिए ? प्रायगरेर औपचारिक कार्यक्रमहरूमा शहिदको नाममा किन एक मिनेट मौनधारण गछौं ? शहिदहरूको फोटा तथा मुर्तिहरूमा किन माल्यारोपण गछौं ? बीर शहीदहरूको बलिदानी नभएको भए नयाँ नेपालको यात्रा र आम सर्वसाधरण नेपालीहरूको भविष्य कस्तो हुन्थ्यो होला ? यी बिभिद प्रश्नहरूले क्रान्ति, शहिदका सपनाहरू र अवको नयाँ नेपाल भन्ने अलग अलग विषयलाई एउटै शिर्षकमा बडो गम्भीरताका साथ अध्ययन गरिएको छ । जेहोस् शहिद दिवस र सप्ताहमा आयोजना हुने विविध कार्यक्रममा हामी शहिद र बेपत्ता योद्धाहरूको सपना पूरा गराउने दिशामा अग्रसर हुनुपर्दछ । सायद शहिदका सपना र इच्छाहरू पनि त्यही थियो – “जन्ताको क्रान्ति सफल हुनुपर्छ, देश समृद्ध बनोस्, सर्बसाधारण जनताले मानव अधिकारको प्रत्याभूति गर्न पाउन्, भ्रष्टाचारको अन्त्य भई देशमा सुशासन आओस् भन्ने नै थियो ।” त्यसैले त शहिदहरूको त्यही त्याग, बलिदानी र संघर्षको प्रतिफल स्वरूप आज हामीले प्रजातान्त्रिक अधिकारहरू प्राप्त गर्न सफल भएका छौ । यो सबैलाई सर्वबिदितै भएको कुरा हो ।
शहिद दिवसको सन्दर्भमा अब हामी नेपाली अनि हाम्रो राष्ट्रले शहिदका ती सपना पूरा गर्ने र लक्ष्य प्राप्ति गर्ने मार्गमा छौं कि छैनौं भनेर सबैले आत्ममूल्याङ्कन गर्ने बेला आएको छ । भाषण गर्दा सर्बसाधारणदेखि ठूला नेताहरूले समेत शहिदका सपनाहरू पूरा गर्न कुनै कसुर बाँकी राख्नेछैनौ भन्दै भाषण फलाक्नेहरूको यहाँ ठूलो जमात छ । तर, शहिदका सपनाहरू पूरा गर्ने दायित्वबोध गर्न हामी कहाँनिर चुक्यौं ? ती सपनाहरू के कति पूरा भए र के कति बाँकी छन् भनेर जनमानसमा समिक्षा गरेको खै ? शहिदका सपना पूरा गर्ने बाटोमा थप शहिद भएकाहरूको योगदानको कहाँ र कति कदर भयो ? सामाजिक बनोटमा असमानता र बिभेद कति हट्यो ? हामी कति स्वाधिन र आत्मनिर्भर बन्यौं ? लोकतन्त्र र गणतन्त्रलाई कत्तिको बलियो र संस्थागत बनाउन सक्यौ ? यी तमाम प्रश्नहरू छलफल र बहस गर्ने बेला भएको छ । शहीदका सपनाहरू साकार पार्ने बाटोमा कहाँनिर भुल भयो ? सबैले समिक्षा गर्न जरुरी छ ।
यी महान शहीदहरूले अमरत्व प्राप्त गरेको पनि झण्डै ८३ बर्ष पूरा भएको छ भने १०४ बर्षे जहानिया राणा शासनको अन्त्य भएको आगामी फागुन ७ गते ७३ बर्ष पूरा हुँदैछ । यस अवधिमा नेपालमा धेरै किसिमका राजनीतिक घटनाक्रम भइसकेका छन् । २००७ सालको राणाबिरोधी जनक्रान्ति, २०४६ सालको पञ्चायती बिरोध पहिलो जनआन्दोलन र २०६२/६३ सालको राजतन्त्र बिरुद्धको दोस्रो जनआन्दोलनको महान् सफलताले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जन्म सम्भव भएको सबैलाई सर्बबिदितै छ । यतिवेला मुलुक दोस्रो संविधानसभामार्फत घोषणा गरिएको नेपालको संविधानले धर्म निरपेक्षता, संघीयता, समानुपातिक निर्वाचन प्रणाली तथा समावेशीताजस्ता जनताका मौलिक हक र अधिकार सुनिश्ति गर्न सफल भएको छ । यति भएरपनि संबिधानप्रति फरक धारणा र बिचार राख्ने राजनैतिक दलहरू पनि छन् । जेहोस् गणतन्त्रमा बोल्न, लेख्न र भन्न पाईन्छ । आम नागरिकमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ । नेपालमा गणतन्त्र आएको पनि पन्ध्र बर्ष भईसक्यो । धेरैपटक सरकार फेरिए, प्रधानमन्त्रीहरू फेरिए, मन्त्रीहरू फेरिए तर पटकपटक उनीहरू नै सत्तामा हाली मुहाली गर्न भ्याए ।
जनताको जीवनस्तरमा खासै परिवर्तन आएन् । देशमा भ्रष्टाचारले जरा गाड्दै गयो । अहिलेपनि ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सुचकाङ्क सन् २०२२ अनुसार नेपाल विश्वको भ्रष्ट मुलुकको सूचीमा ३४ औं अङ्क पाएर ११० औं स्थानमा छ । नेपालको अंकमा केही सुधार भए तापनि भ्रष्टाचारव्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ । मुलुकले सुशासनको अनुभूति गर्न पाएको छैन् । कालो बजारी र महङ्गीले जनताको ढाड सेकेको छ । गरिबी, अशिक्षा, बेरोजगार उस्तै छ । बढ्दो बेरोजगारीका कारण गाँउमात्रै हैन् अब शहरका लाखौं जनशक्तिहरूमा समेत बैदेशिक रोजगारको मोह दिनप्रतिदिन बढ्दै गइरहेको छ । हाम्रा महान् शहिदहरूले कल्पना गरेका आदर्श नेपाली समाज र राजनीतिक व्यवस्था हाम्रो देशमा स्थापना हुन सकेको छैन् । यसै कारणले गर्दा पनि शहिदका सपना पूरा हुन सकेको छैनन् । शासकहरूले शहिद दिवसका दिन शहिद गेटमा पुगेर शहिदका शालिकहरूमा फूलमाला चढाएर शहिदलाई सम्झेको देख्दा अचम्म लाग्छ । अरू बेला शहिदका मर्म, बिचार र भावनाहरूलाई वेवास्ता गर्ने नेताहरू शहिद दिवसका दिन असाध्यै सम्झने गर्दछन् । नयाँ नेपाल तपाई हामीले सोचेको, रोजेको र खोजेको नयाँ नेपाल किन बनेन ? आम नागरिकले सोध्ने र जिज्ञासा राख्ने बिषय पनि यही हो । नयाँ नेपालको जगमा संविधान सभावाट संबिधान जारी भएको आठ बर्ष बितिसक्यो । जब संबिधान जारी भयो तब यसले करोडौं नेपालीहरूको सुःख र हर्षका कोशेली ल्याएर आउँछ भन्ने कुरामा बिश्वस्त थिए जनता । तर यथार्थमा त्यसो हुन सकेन् । नेपाली जनता अहिले गणतन्त्र रहला कि नरहला भन्ने चिन्तामा छन् । किनभने पछिल्लो समयमा राजा र राजावादीहरूको गतिविधि पनि पर्ख र हेरमा छ । मुलुक गणतन्त्रमा प्रवेश गरेको १५ वर्ष पार गरिसक्दा पनि सडकमा “राजा आऊ देश बचाउ” भन्ने नाराले गणतान्त्रिक व्यवस्था लागूभएको मुलुकमा गतिलो स्वाद र सुगन्ध दिन सकेन् ।
नेतृत्वकर्ता र शासकहरू कहाँ चुके ? कहाँनेर कमजोरी भयो ? देश किन बर्बाद बनाउदै गए ? गाली र आक्रोसभरि नेताहरूलाई मात्र पोखेर हुदैन् । समृद्ध नेपालको परिकल्पना गर्न नसक्नुमा नागरिहरूको पनि धेरै थोरै कमजोरी भएको छ । हामीले कस्तो नेतृत्वलाई विजयी गराएर पठायोै र उनस्हरूले देश विकासमा के योगदान गरे भन्ने बिषमा सबैको चासो हुन जरुरी छ । अब साँच्चै नै देश बनाउने हो भने नयाँ सोच, विचार र चिन्तन लिएर अगाडि बढ्नु पर्दछ । सत्तरी बर्ष नाघेका, कान नसुन्ने, आँखाका कमजोरी भएका, शारीरिक रूपमा अशक्त भएका, दीर्घ रोगी नेताहरूले सक्रिय राजनीतिक जीवनवाट सन्यास लिनुपर्दछ । शहिदका बलिदानीले ल्याएको गणतन्त्रलाई सुदृढीकरण गर्दै लैजान सक्नुपर्छ । समय घर्केपछि पश्चाताप गरेर कुनै फाइदा छैन् । नेपालमा सबै चिज छ, तर अवसर केही छैन् ।
मुलुकलाई भित्रभित्रै चुसेर बर्बाद बनाइसकेका छन् । अहिलेपनि समाजमा बर्गीय द्वन्द्व यथावत नै छ । एक राजा हटाइयो तर सयौं छोटे राजाहरूको आगमन भयो । ७ प्रदेश ७५३ स्थानीयतहमा देशलाई बिभाजन गर्दा पनि कर्णालीको कथा र व्यथा उस्तै छ । हिमाल र पहाडमा सिटामोल र जीवनजलकै अभावमा ज्यान गुमाउनेहरू धेरै छन् । जीर्ण अवस्थामा गुज्रिरहेका सामुदायिक विद्यालय र कलेजलाई राजनीति गर्ने प्रयोगशाला बनाएका छन । अबको एक दशकभित्र नै देश वयोवृद्ध, स्कुले बालबालिका नेता तथा तिनैका कार्यकताहरू मात्र रहन्छन् कि भन्ने जस्तो भइसक्यो । यति सानो मुलुकभित्र ठूलो प्रशासनिक आर्थिक व्ययभार बढाएर देशको प्रगति हुदैन् । राजनीतिक क्षेत्र भद्रगोल भएपछि अन्य क्षेत्र लथालिङ्ग हँुदोरहेछ भन्ने कुरा पनि नेपाली जनताहरूले राम्रो सँग बुझेका छन् । भ्रष्टाचार, दण्डहीनता, कुशासन, नातावाद, आफन्तवाद, पार्टीवाद र कुशल नेतृत्वकै अभावले देश पछाडी परेको सबैले स्वीकार गर्न सक्नुपर्दछ । लोकतान्त्रिक मूल्य, मान्यता र बहुदलीय प्रतिस्पर्धाका आधारमा राजनीतिक व्यवस्थालाई संस्थागत गरी आर्थिक विकास र समृद्धिको मुल बाटोमा देशलाई हिँडाउनु आजको आवश्यकता हो । अबको नयाँ नेपालमा आम नागरिकलाई शान्ति, सदभाव, मेलमिलाप र आर्थिक बिकास चाहिएको छ । “कहिले बेल पाक्यो कहिले फेरि बिउ कुहियो” भने जस्तो गर्नु भएन् । सदैब शहिद र क्रान्तिको सम्मान हुन जरुरी छ ।