© २०२३
दुर्गादत्त शर्मा
प्रधानाध्यापक, केरवानी मावि
वि.सं.२०१० सालमा स्थापित केरवानी माध्यमिक बिद्यालय देवदह नगरपालिकाको नगर सभाद्धारा सर्वोत्कृष्ट सामुदायिक बिद्यालयका रुपमा घोषणा गरिएको बिद्यालय हो । बिद्यालय कृषि प्राविधिक उत्पादन गर्ने क्षेत्र नं १ कै पहिलो बिद्यालयको रुपमा परिचित पनि छ । रुपन्देहीको देवदह वडा नं ५ मा अवस्थित यस बिद्यालयमा प्राविधिक तथा व्यवसायीक शिक्षा अन्र्तगत बाली बिज्ञान विषय पनि अध्यापन हुदै आइरहेको छ । कृषि विषय आजको आवश्यक किन बन्यो र यो विषयबाट बिद्यार्थीको भविष्य कत्तिको उज्जवल छ भन्ने विषयमा केरवानी माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक दुर्गादत्त शर्मा संग बुटवल टुडेकर्मी मिना पौडेलले गरेको कुराकानीको सम्पादित
कृषि अध्यापन भएसंगै यसका सम्भावना के छ ?
यस बिद्यालयमा २०७३ सालमा कक्षा ९ देखि प्राविधिक तथा व्यवसायीक शिक्षा अन्र्तगत बाली बिज्ञान विषय अध्यापन शुरु गरेका हौं । २०७४ सालमा कक्षा १० मा र २०७५ सालमा कक्षा ११ मा बाली बिज्ञान विषयका कक्षाहरु संचालन गरिरहेका छौ । खासगरी हाम्रो देश कृषिप्रदान देश भएको परिवेशमा र हाम्रै गाउँ समाज पनि कृषिप्रदानको परिवेशमा अरु विषय भन्दा बाली विज्ञान, कृषि विषयकै महत्व बुझेर केरवानी माध्यमिक बिद्यालयले कृषि विषयको पठनपाठन शुरु गरेको हो । कृषि पठनपनठनलाई सफल गर्न आवश्यक जनशक्ति, बिद्यार्थी संख्या र अभिभावकहरु संगको समन्वय सबै हिसाबले हामी सफल नै भएका छौ । तर पनि केरवानी माविलाई कृषि अनुशन्धानकै रुपमा विकास गर्न चुनौति पनि रहेको छ । र हामी त्यो दिशातर्फ उन्मुख पनि छौ ।
परम्परागत रुपमा गरिने कृषि र पढेर ज्ञान हासिल गरेर गरिने कृषिबिच के भिन्नता छ ?
–हामीले यहाँ बिद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा ज्ञान दिने गर्छौ, किनकी प्रयोगात्मक रुपमा दिएको ज्ञानले सिकाईमा दिगोपना ल्याउछ । बोटबिरुवाहरुमा कस्तो खालको रोग लाग्छ, कस्तो किराहरुले असर गरिरहेको हुन्छ, कस्तो रासायनिक प्रयोग गर्नुपर्छ, राम्रो उब्जनीको लागि कस्तो मलबिउहरु उपलब्ध गराउनुपर्छ यो सबैको ज्ञान पहिले नै पढाईको माध्यमबाट दिने गर्छौ । यसले गर्दा उब्जनी बढ्ने खेति नहुनाको कारणहरु पत्ता लाग्ने गर्दछ भने, परम्परागत शैली अपनाएर गरिएको खेतिप्रणालीले राम्रो उब्जनी नदिन पनि सक्छ । किनभने के कारणले गर्दा उब्जनीमा समस्या भएको छ भन्ने कुरा परम्परागत शैली अपनाएर कृषि गर्ने किसानहरुलाई थाहा हुदैन ।
बिद्यालयमा कृषि कक्षा कसरी संचालन गर्नुभएको छ ?
–बिद्यालय कृषि प्राविधिक उत्पादन गर्ने क्षेत्र नं १ कै पहिलो बिद्यालय हो । हामीले यहाँ बिद्यार्थीहरुलाई कक्षागत रुपमा जमिन बिभाजन गरेर त्यहा तरकालीका बेर्नाहरु उत्पादन गर्ने, अन्नबाली उत्पादन गर्ने, गरेका छौ भने यो कृषि बिषयमा ४० प्रतिशत मात्र शैद्धान्तिक कक्षा हुन्छ भने, ६० प्रतिशत प्रयोगात्मक कक्षा संचालन हुन्छ । यो धेरै व्यवहारिक ज्ञान अन्र्तगत रहेकोले यसको परिवर्तन हामीले बिद्यालयमा देखेका छौ । गाउँघरमा संचालित परम्परागत कृषि प्रणालीलाई निरुत्साहित गरी आधुनिक कृषि प्रणालीलाई प्रोत्साहन दिने किसीमले हामीले कक्षा संचालन गरिरहेका छौ । हामीले बिद्यार्थीहरुलाई आत्मनिर्भर गराउने र श्रमको कदर गर्ने किसीमका बिद्यार्थीहरु उत्पादन गर्न हामीले चाहेका छौ । र सोही अनुरुप नै हामी अघि बढीरहेका छौ । यो कृषि विषय रोजगारीको ग्यारेन्टि भएको विषय हो । बिद्यार्थीहरुलाई भोलीका दिनमा रोजगार पाउनको लागि सहज हुन्छ, उनीहरु यहाँ पढिसकेपछि तिन महिना ओजेटीका लागि जान्छन् र उनीहरु कृषि फर्महरुमा, माछा पालन फर्महरुमा लगायत अन्य फर्महरुमा पनि हामीले पठाउने गरेका छौ । कृषि पढ्ने बिद्यार्थीहरुलाई कृषि सम्बन्धि भ्रमण पनि पठाउने गरेका छौ । कृषि विषयमा अध्यपान गराउने ६ जना शिक्षकहरु हुनुहुन्छ, अहिले कक्षा ११ मा नयाँ बिद्यार्थी ३० जना भर्ना भएका छन् । कक्षा १० मा ४८ जना र कक्षा ९ मा पनि ४८ जना बिद्यार्थीहरु छन् । अहिले बिद्यार्थीहरुले धान रोपेका थिए । त्यो धानबाट निस्कको आम्दानीले हामीले उनीहरुकै शैक्षिक भ्रमणको रुपमा खर्च जुटाएका थियौ । बिद्यालयमा करिब ५ विगा जग्गा रहेको छ ।
कृषिलाई नै विषयगत रुपमा किन अपनाइएको हो ?
–देश विकासको सुचाङ्कमा पनि कृषि प्राथामिक रुपमा नै पर्छ । परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरेर आधुनिक कृषि प्रणालीमा परिणत गर्नु आवश्यक पनि छ । थोरै जग्गा र थोरै मेहनतबाट धेरै उत्पादन लिने, यान्त्रिकरण गरेर धेरै उत्पादन लिने प्रयास गर्नको लागि पनि आवश्यक छ । कृषि हामी नेपालीको प्राथामिक आवश्यकता नै हो । कृषिप्रदान देश नेपाल भनेर चिनिसकेको अवस्थामा यो विषयको महत्वलाई नेपाल सरकारले पहिला देखि नै विषयगत कक्षाको रुपमा संचालन गर्न ढिलाई गरेकै हो । प्राविधिक शिक्षा आजको आवश्यकता हो, प्राविधिक र व्यवसायीक शिक्षा हाम्रो गाउँसमाजका बिद्यार्थीहरु आत्मनिर्भर बन्न सक्छन्, भन्ने कुरा नेपाल सरकारले ढिलै बुझेको मैले महशुस गरेको छु ।
अन्य विषयको तुलनामा यो विषय कत्तिको गाह्रो विषय हो ?
–हरेक विषयको आ–आफ्नै महत्व हुन्छ नै यसका चुनौति संगै रमाइलो पक्ष पनि छ । यसमा बिद्यार्थीहरु प्रयोगात्मक कार्यमा बढि रहन्छन् । यसमा घोकाउने पक्ष कम नै हुन्छ । बिद्यार्थीहरु फिल्डमा साथीहरुसंग काम गर्न रुचाउने हुदा यसलाई चाखलाग्दो विषयका रुपमा पनि बिद्यार्थीहरु लिएको हामीले पाएका छौ । अहिलेको एस.इ.इ को नतिजामा पनि कृषि पढ्ने सबै बिद्यार्थीहरुले ए प्लस ल्याएका छन् ।
कृषि प्राविधिकहरु कस्तो योगदान दिन सक्छन् होला ?
–पहिलो कुरा त उनीहरु स्वरोजगार हुन्छन् । परम्परागत कृषिलाई परिवर्तन गर्न उनीहरु भूमिका खेल्छन् । बढी उत्पादन दिने कृषि प्रणाली लागु गर्न सक्षम हुन्छन् । उनीहरुले थोरै मेहनतबाट धेरै उत्पादन हुने प्रविधिमा पनि उनीहरु सक्षम हुन्छन् ।
अन्य थप कार्यक्रमहरु के के ल्याउदै हुनुहुन्छ ?
–केरवानी माध्यमिक बिद्यालयलाई उत्कृष्ट कृषि अनुसन्धान केन्द्रको रुपमा विकास गर्न चाहेका छौ । बिद्यालयमा रहेको जमिनलाई तारबार कम्पाउण्ड गरी उत्पादन संग बिद्यार्थीलाई जोड्ने हाम्रो योजना छ । थप योजनामा बिद्यालयमा उब्जनी गर्ने र बिद्यार्थीहरुले त्यो उब्जनीबाट निस्केको आम्दानी बिद्यार्थीले नै लैजान पाउने योजना गर्दैछौ । माछा पोखरी बनाउने, फलफुलहरु उत्पादन गर्ने, तरकाली बेर्नाहरु उत्पादन गर्ने यी कामहरुमा बिद्यार्थीहरुलाई योजनाबद्ध रुपले प्रयोगात्मक कार्यमा लगाउदै छौ । बिद्यालयका प्रशासन सबैजना प्रतिबद्ध भएर उत्कृष्ट कृषि हबको रुपमा विकास गर्नका लागि हामी प्रयासरत छौ ।
अन्त्यमा
हामीले धेरैै बिद्यार्थी कृषि पढाइको लागि लिन सक्दैनौ नेपाल सरकारले तोके बमोजिम एउटा कक्षामा ४८ जना बिद्यार्थी पढाउन पाउने निति तोकेको छ । अब्बल किसीमका बिद्यार्थीहरुले प्राविधिक विषय लिएर पढ्दा उनीहरुको भविष्य सुनिश्चित हुन्छ । मैले उनीहरुको भविष्य उज्जवल देखेको छु । र अन्त्यमा हाम्रो बिद्यालयमा हुने कृषि शिक्षाको बारेमा त्यति प्रचार–प्रसार गर्न हामीले सकेका थिएनौ यहाँहरुको लोकप्रिय पत्रिका मार्फत हाम्रा योजनाहरु, कार्यक्रमहरु समाजमा प्रचारित गर्ने अवसर दिनुभएकोमा धन्यवाद