© २०२३
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?
उपर्युल्लिखित आदर्शमय पंक्तिका रचयिता हुन् कवि लेखनाथ पौड्याल । नेपाली साहित्यको आधुनिक कालका प्रथम प्रतिभा कविशिरोमणि लेखनाथ पौडेलको जन्म विस १९४१ पौष १५ गतेका दिन पिता दुर्गादत्त पौडेल र माता वसुन्धरा पौडेलका कोखबाट अन्नपूर्ण र माछापुच्छे्रको काखमा अवस्थित कास्कीको रमाइलो गाउँ अर्घौं अर्चलेमा भएको थियो।
साहित्यिक जीवन
१४–१५ वर्षको उमेरमा रानीपोखरी संस्कृत पाठशालामा अध्ययन आरम्भ गरेको तत्कालीन समय नै लेखनाथ पौड्यालको साहित्यिक जीवनको सुरुवात हो। जसको निरन्तरता स्वरूप वि.सं १९६१÷६२ मा प्रकाशित शृङगार पच्चीसी, पिंजराको सुगा, तरुण तपसी जस्ता काव्यकृतिको रचना गरेर उनले नेपाली साहित्यलाई सुदृढ तथा सम्वृद्ध बनाउने काम गरे । गट साथै उनले आफ्नो साहित्यिक जीवनावधिमा कवितामात्र नभएर लक्ष्मीपूजा (१९९४), भतृहरिविनर्वेद (२०२०) जस्ता नाट्यकृतिहरू समेत रचना गरेर नाट्यसाहित्यतर्फ पनि आफूलाई परिचित बनाउने काम गरे र नेपाली भाषा तथा साहित्यमा स्तरीयता ल्याउने लक्ष्य राख्दै हलन्त बहिष्कारवादी आन्दोलन चलाएका लेखनाथले परम्परागत तथा आधुनिक दुबै किसिमका विषवस्तुको प्रयोग गर्दै विभिन्न काव्यकृतिको रचना गरेको पाइन्छ । विशेषरूपमा उनका काव्यकृतिमा आध्यत्मिकता, मानवतावाद, प्रकृति प्रेम, संस्कृति, राष्ट्रियता, सामजिकता लगायतका भावहरूले युक्त छन् । यिनै विविध साहित्यिक योगदानलाई मध्यनजर गर्दा उनको समग्र साहित्यिक जीवनवृत्त उपलब्धिपुर्ण रहेको छ ।
विभिन्न क्षेत्रमा रहेको लेखनाथको व्यक्तित्व विवरण
नेपालीमा भाषा र साहित्यमा अमूल्य योगदान पुर्याएका लेखनाथ पौड्याल नेपाली काव्यपम्परामाका आधुनिक युगका निर्माता हुन् ।
नेपाली भाषाको समुन्नत विकास गर्ने उद्देश्यले उनले कैयौं संस्कृत भाषाका रचनाहरू अनुवादका माध्यमबाट नेपाली भाषामा भित्र्याए भने नेपाली भाषाको स्तरीयता बढाउनका लागि हलन्त बहिष्कार जस्तो आन्दोलनको सूत्रपात गरे । कविता साहित्यका अतिरिक्त उनले नाट्यसाहित्यको फाँटमा पनि कलम चलाएर नेपाली नाटकमा माध्यमिककालीन शृङ्गारिकता र अनुवाद रूपान्तरणका परिधिबाट अघि बढेको पाइन्छ । साथै उनले पूर्वीयसंस्कृत नाट्य ढाँचा अन्तर्गत नै सामाजिक सन्दर्भ तथा शान्त रसका आध्यात्मिक चेततर्फ र मौलिकता एवम् परिष्कृतितर्फ डोरउने काम गरे । उनका यिनै साहित्यिक योगदानलाई मध्यनजर गर्दै राष्ट्रले उनीप्रति विशेष सम्मान तथा श्रद्धाको भावना विकसित गरेको कुरा पनि कम महत्त्वको अवश्य नै छैन । निष्कर्षमा उनका सम्पूर्ण साहित्यिक गतिविधिलाई हेर्दा उनको कवि व्यक्तित्व सबैभन्दा महत्त्वपूर्ण रहेको छ । उनका विभिन्न क्षेत्रगत व्यक्तित्वलाई यसप्रकार हेर्न सकिन्छ ।
१ फुटकर कवि व्यक्तित्व
लालित्य कविता सङ्ग्रह प्रथम भाग (२०१०) र द्वितीय भाग (२०२५) मा केही फुटकर कविताहरू सङ्ग्रह भए तापनि लेखनाथका कैयौ फुटकर कविताहरू छरलिएर रहेका छन्। जड विशेषत वि.सं १९६१÷६२ मा शृङ्गारिपच्चीसी र मानसाकर्षिणी नामक दुई फुटकर कविताका माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेका लेखनाथ फुटकर कविताकै माध्यमबाट चर्चित बनन पुगेका छन् । उनका फुटकर कविताहरू नेपाली साहित्याकाशका अमूल्य निधिका रूपमा रहेका छन् । उनको पिंजराको सुगा नामक फुटकर कविताले नेपाली साहित्यमा ठूलो हलचल नै मच्चाएको थियो । समग्रतामा भन्दा लेखनाथको फुटकर कवि व्यक्तित्व वास्तवमै उललेखनीय रहेको छ ।
२. खण्डकाव्यकार व्यक्तित्व
फुटकर कविताका साथै खण्डकाव्यको पनि रचना गरेका लेखनाथका ऋतुविचार, बुद्धिविनोद, सत्यकलि संवाद, गीताञ्जली, मेरो राम, अमर ज्योतिको सत्यस्मृति जस्ता विभिन्न खण्डकाव्यहरू रहेका छन् । उनका यी खण्डकाव्यहरूले नेपाली साहित्यमा आधुनिक नेपाली कविताको प्रथम धाराका रूपमा रहेको परिष्कारवादी धाराको प्रवर्तन गरेका छन् । विशेषरूपमा उनको ऋतुविचार खण्डकाव्यले परिष्कारवादी धाराको अधिष्ठापन गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । उनलाई कविशिरोर्माण पदले विभूषित गर्नमा ऋतुविचार खण्डकाव्यको विशेष योगदान रहेको कुराले नेपाली साहित्यमा चर्चा पाएको त छदै छ त्यसका अतिरिक्त उनका अन्य खण्डकाव्यहरूसमेत परिष्कृत रूपमा रचना गरिएका छन् । निष्कर्षमा के भन्न सकिन्छ भने कविशिरोमणि लेखनाथ पौड्याल आधुनिक नेपाली साहित्याकाशका परिष्कारवादी धाराका लेख्ने उज्जवल नक्षत्र हुन् ।
३. महाकाव्यकार व्यक्तित्व
कविशिरोमणि लेखनाथ पौड्यालले महाकाव्यको नै रचना नगरे पनि महाकाव्य समकक्षी तरुण तपसीको रचना गरेका छन् । लेखनको दीर्घसाधनाबाट प्राप्त तरुण तपसी (२०१०) का आधारमा पनि उनलाई महाकाव्यकारका रूपमा समेत चिन्न सकिन्छ । उनले आफ्नो जीवनको उत्तरार्द्धमा महाकाव्य नै भनी गङ्गागौरीको लेखनकार्य प्रारम्भ गरेका थिए तर उनको यो कार्य पूरा हुन सकेन । अपूर्ण रूपमा नै रहेको भए तापनि वि.सं. २०६१ मा गङ्गागौरीको प्रकाशन भइसकेको छ । यसले पनि उनको महाकाव्यकार व्यक्तित्वलाई झल्काउँछ ।
४. नाटककार व्यक्तित्व
लक्ष्मीपूजा (१९९४), भतृहरिविनर्वेद (२०२०) जस्ता नाटकका रचयिता लेखनाथ नाटकार पनि हुन् । पूर्वीय संस्कृत नाट्य ढाँचामा तयार गरिएका उनका यी नाटकहरूले उनलाई संस्कृत नाट्य परम्परा अँगाल्ने नाटककारका रूपमा परिचित गराउँछ । उनको भर्तृहरिनिर्वेद नामक नाटकमा श्रृङ्गार, हास्य, शान्त करुण आदि काव्य रसहरूको प्रयोग र नाटकको विषयानुकूल शान्त रसको प्राधान्य देखिनाका साथै युगानुकूल सुधारवादी विचारधाराको झलक समेत पाइन्छ ।
५. अनुवादक व्यक्तित्व
कविशिरोमणि लेखनाथ पौड्याल अनुवादक व्यक्तित्वका रूपमा समेत रहेको उनीद्वारा अनुवाद गरिएका विभिन्न काव्यकृतिहरूले प्रस्ट गर्दछन् । उनका पञ्चतन्त्र ( २००४), संक्षिप्त श्रीमद्भागवद्गीतासार (१९७५), अभिज्ञान शाकुन्तलजस्ता अनुवादित कृतिहरूले उनलाई कुशल अनुवादकका रूपमा चिनाउँछन् । संस्कृत तथा नेपाली दुई भाषामा विशेष रूपले पोख्त लेखनाथले संस्कृतका रचनाहरूलाई सरल सुबोध्य तवरबाट भावगत अन्तर कति पनि नआउने गरेर अनुवाद गरेका कारण उनलाई कुशल अनुवादकका रूपमा लिइएको छ ।
६. धार्मिक एवम् आध्यत्मिक व्यक्तित्व
कविशिरोमणि लेखनाथ पौड्यालका अधिकांश साहित्यिक रचनाहरू धार्मिक तथा आध्यत्मिक चेतले युक्त भएको पाइन्छ । पूर्वीय साहित्यबाट विशेष रूपमा प्रभावित उनलाई हिन्दू धर्म र दर्शनको अभिव्यक्ति दिने विशिष्ट कविको रुमपा लिन सकिन्छ पारिवारिक पृष्ठभूमिका रूपमा समेत धार्मिक पण्डित परिवारमा जन्मेका लेखनाथले पाँच वर्षकै उमेरदेखि संस्कृतका विभिन्न धार्मिक ग्रन्थहरूको अध्ययन गर्न थालेका कारण त्यसको प्रभाव उनका कृतिमा यथेष्ट मात्रामा परेका थिए ।
आधुनिक नेपाली साहित्यको इतिहासमा पौड्यालको महत्त्वपूर्ण योगदान भएका कारणले उनी सधैँ नेपाली साहित्यमा हिमालझै’ अटल रही अजर–अमर छन् ।