© २०२३
खिमलाल घिमिरे
नेपाल सरकार अर्थमन्त्रालयअन्तर्गत दुई अलग अलग वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंक र बीमा समिति रहेका छन् । जसमध्ये बैंक तथा वित्तीय संस्थाको निरीक्षण तथा नियामककारी निकायको भूमिकामा नेपाल राष्ट्र बैंक रहेको छ भने विभिन्न बीमा कम्पनीहरुको निरीक्षण तथा नियामककारी निकायको भूमिकामा बीमा समिति रहेको छ । त्यसो त नेपालमा बीमाको सुरुवात भएको लामो समयसम्म पनि बीमा बारे आम जनता त्यति जानकार छैनन् । विश्वका कैयौँ विकसित देशहरुमा बीमाको परिभाषा बारे राम्रो ज्ञान भएता पनि आर्थिक हिसाबले पछाडि परेका अविकसित देशहरुमा बीमाको विकास हुन सकिरहेको छैन । हाम्रो देशमा पनि बीमाको बारेमा त्यति सकारात्मक छाप परेको जस्तो लाग्देैन । नेपाल सरकारको नियामककारी निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई आम कृषक वर्गलाई लक्षीत गरी कृषि बीमा, पशु बीमा, बाली बीमाजस्ता विभिन्न योजना लिएर जान बीमा कम्पनीहरुलाई सुझाब दिए लगत्तै छिटफुट मात्रमा कृषकहरुले आफ्नो वस्तुभाउको बीमा गराउन थालेको देखिन्छ । यता घर, गाडी, पसल, ठेक्का पट्टा लगायतका महत्वपूर्ण साधन सबैको बीमा अनिवार्य छ भनि बीमा गराउन प्रेरित गरेको देखिन्छ । तथापि यो त्यति प्रभावकारी भएको देखिँदैन । बीमा समितिले २०७० सालमा बीमा ऐन २०४९ लाई केही संसोधन गरी ठूलाठूला हाउजिङ कम्पनि लगायतका भौतिक वस्तुहरुको अनिवार्य बीमा गर्नुपर्ने प्रावधान पारित ग¥यो, त्यति बेला यो संसोधित ऐन खासै सहज तरिकाले स्वीकार गरिएन । तर पनि ऐच्छिक रुपमै भए पनि पारित भयो । फलस्वरुप २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले गर्दा ठूलो मात्रमा धनजनको क्षति हुन पुग्यो मात्र ५६ सेकेन्डले । त्यसपछि बीमाको महत्व के हो ? बीमाले के काम गर्दछ ? बीमाले कस्तो अवस्थामा सहयोग पु¥याउँछ ? आदि प्रश्नको उत्तर यहिँबाट पाउन सकिने अवस्था सिर्जना भयो ।
बीमा कम्पनीहरुलाई बीमा समितिबाट जति सक्यो चाँडै क्षतिको विवरण संकलन गरी करारमा उल्लेखित दाबि भुक्त्तानी दिन निर्देशन भयो । यसै अनुरुप जीवन बीमा र निर्जीवन बीमा दुवै कम्पनीहरु दावि भुक्तानी दिन तँछाड मछाड नै गरे । कतिपय कम्पनीहरुले भुक्तानी दिन केही ढिला सुस्ती गरेपनि प्रक्रिया पुरा गरी भुक्तानी दिए । यसरी जजसले जीवन बीमा तथा निर्जीवन बीमा गराएका थिए उनीहरुको परिवारले क्षतिपूर्ति पाए, नगराउने परिवारहरुले क्षतिपूर्ति पाएनन् । यसरी सानो रकम लगानी गरेर कुनै विपतको घडीमा ठूलो आर्थिक सहयोग प्रदान गर्ने बीमा कम्पनी किन आज जनताको माझमा लोकप्रिय हुन सकिरहेको छैन ? के जनताले बीमाको परिभाषा नबुझेकै हुन् त ? कि यदि बीमा कम्पनिबाट नै जनताको मन जित्ने खालका प्रभावकारी पहलकदमीहरु हुन नसकेका पो हुन् कि यो बारे जान्न अनिवार्य छ । यहाँ बीमा समितिले प्रकाशन गर्ने तथ्याङ्कमा जीवन बीमा गराउनेको सङ्ख्या नै न्यून रहेको भेटिन आउँछ । राज्यबाट निर्जीवनको तुलनामा जीवन बीमाको योजना बारे त्यति प्रभावकारी तथा उल्लेख्य कार्यहरु गरेको पनि पाइँदैन । यो विषयमा पनि सरकारको ध्यान जानु पर्ने देखिन्छ ।
समयको गतिसँगै देशमा विभिन्न प्रकारका राजनैतिक गतिरोधहरुको बीचमा नेपालमा बीमा तथा बैंकको बारेमा आम जनतालाई सुसुचित गराउन राज्यबाट पनि विभिन्न पहलकदमीहरु विस्तारै नचालिएका होइनन् तर जति हुनु पर्ने हो त्यति भने भएका छैनन् । आज देश आर्थिक सम्वृद्धिको बाटोतर्फ उन्मुख हुन थालिसकेको छ । देशमा राजनीतिक स्थिरता आउँदैछ । यो अवस्थामा सयौँ लाखौ र करोडौँको सङ्ख्यामा लगानी गर्न तयार रहेका उद्योगी व्यावसायीहरु विभिन्न दीर्घकालीन लगानीका क्षेत्रहरुमा लगानी गर्न आतुर छन् । नेपालमा विभिन्न पूर्वाधार र उर्जा क्षेत्रमा मनग्ये संभावनाहरु छन् । नेपालमा लगानी नभएको होइन ती लगानीहरु उपभोग्य र अल्पकालीन क्षेत्रमा मात्र छ । हाम्रो उपभोगको प्रवृत्ति बढेर गएको छ । रेमिटान्स वर्षेनी बढेका कारण उपभोग वृद्धि हँुदै गएको हो उपभोगको कारण यहाँ दीर्घकालीन भन्दा ट्रेडिङ दैनिक उपभोग्य सामाग्रीको कारोबारमा बढी लगानी भइरहेको छ । दीर्घकालीन महत्वका क्षेत्रमा लगानी हुन सकेको छैन । दीर्घकालीन लगानी ठूलो आकारको हुन्छ, ठूलो लगानीमा जोखिम पनि धेरै हुन्छ । संभावित भन्दा बढी जोखिम उठाएर लागानी कसैले गर्दैन र त देशको राष्ट्रिय आय देखि प्रतिव्यक्ति आयसम्म न्युन छ । विकसित देशको वर्तमान लगानीको क्षेत्रलाई आधार मानेर हेर्दा अल्पकालीन लगानी भन्दा दीर्घकालीन लगानीलाई नै बढी प्राथमिकतामा राखि लगानी गरेको पाइन्छ । त्यसैले विश्वको एउटामात्र लगानीको क्षेत्र हो बीमा । जहाँ निश्चित समयमा निश्चित रकम लगानी गरी करार सम्झौतामा उल्लेखित सेवा सुविधा पाइन्छ । सरल भाषामा भन्दा सानो रकम लागानी गरेर ठूलो जोखिम बीमा कम्पनीले लिने गर्दछ । यसरी बीमामा लागानी गर्नु भनेको आजको भोलि प्रतिफल पाउँछु भनेर होइन कि मलाई बीमा आवश्यक छ भन्ने ठानेरमात्र बीमामा लागानी गर्नु जरुरी छ । बीमा व्यवसाय कुनै नेटर्वकिङ व्यवसाय होइन, यो त समाज सेवा गर्ने पवित्र व्यवसाय हो । जो कसैलाई कुनै भवितव्य परेमा जीवन बीमा होस या निर्जीवन बीमा गराएको रहेछ भने करार बमोजिम क्षतिपूर्ति वापतको दाबी रकम भुक्तानी दिन्छ । दुनियाँमा कठैबरा कति गरीब छ खान पुग्दैन हेर त विचरा मरेछ भन्ने धेरै हुन्छन् तर सहयोगको भावना दर्शाइ सहयोग गर्ने विरलै हुन्छन् । त्यसैले त्यो बेला आर्थिक क्षति विरुद्ध व्यवस्थापनको काम गर्छ बीमाले । बीमा कसैको दवाब र करमा परेर गर्ने चिज होइन यो त केवल बुझेर आफुलाई आवश्यकता छ भन्ने महशुस गरेर मात्र बीमा गर्नुपर्छ । नेपालमा हाल जीवन बीमातर्फ १७ वटा कम्पनीहरुले आआफ्नो व्यापारिक लक्ष्यअनुसार ग्राहकको मागलाई ध्यानमा राख्दै निकै महत्वपूर्ण योजना बजारमा लिएका छन् । यसरी बिमित आफैमा सजक भई आफुलाई राम्रो लाग्ने बीमा योजना छनौट गर्न सक्नु पर्दछ ।
बीमा क्षेत्रलाई मर्यादित बनाउन स्वस्थ प्रतिस्पर्धात्मक तरिकाले ब्यापार गर्न त्यहीअनुसारको बीमा अभिकर्तालाई तालिम दिनु आवश्यक देखिन्छ । गत वर्ष देखि सरकारव्दारा स्वास्थ्य बीमा अनिवार्य गरिँदै छ यो पनि परीक्षणकालको लागि ३÷१६ जिल्ला हँुदै ७७ वटै जिल्लाहरुमा सेवा विस्तार गर्ने सरकारको लक्ष्य छ । आखिर यहाँबाट पनि बीमाको परिभाषा बुझ्न जरुरी छ । स्वास्थ्य बीमा भनेको के हो ? के कस्तो अवस्थामा बीमा गरेवापत क्षति पूर्ति पाइन्छ ? देशका गरीब पीछडिएका समुदायलाई लक्षित गरी नीति निर्माण गरिएको स्वास्थ्य बीमाको परिभाषा कुनै एउटा परिवार जहाँ निश्चित समयको लागि तोकिएको निश्चित रकम जम्मा गरी स्वास्थ्य बीमा गरिन्छ । यदि बीमा गरेको परिवारको कुनै सदस्य बीमा करार अवधि भित्र बिरामी परी उपचार गर्नपर्ने भएमा तोकिएको मापदण्ड अनुसार प्रक्रिया पु¥याई प्रतिव्यक्ति उपचार खर्च बढिमा रु ५० हजार बराबर पाउने भनिएको छ । यसबाट पनि आर्थिक अवस्था कमजोर भएको परिवारलाई केही हदसम्म राहत महशुस अवश्य हुनेछ । यसको प्रकृति म्यादी बीमा आकारको हुनेछ । प्रत्येक वर्ष निश्चित शुल्क जम्मा गरी करार थप गरिन्छ । यसरी बीमा भनेकै आर्थिक क्षति बिरुद्धमा काम गर्ने एउटा बलियो आधार हो भने सर्वोत्तम बचत पनि हो ।
(लेखक घिमिरे बीमा क्षेत्रमा कार्यरत कर्मचारी हुन् ।)