© २०२३
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जनप्रतिनिधिको रुपमा प्राप्त आफ्नो पारिश्रमिक आइतबार नगरका ४४ जना विद्यार्थीलाई वितरण गरेका छन् । नगरभित्र सञ्चालित ४४ वटा सामुदायिक विद्यालयबाट ४४ जना गरीब, जेहेन्दार छात्रछात्रालाई आइतबार नगरप्रमुख छात्रवृत्ति प्रदान गरिएको हो ।
जसमध्ये कक्षा १ र २ का लागि ६ हजार, ३ र ४ का लागि ७ हजार, ५ र ६ का लागि ८ हजार, कक्षा ७ र ८ का लागि ९ हजार रकम वितरण गरिएको छ । त्यस्तै कक्षा ९ का लागि ९ हजार ५ सय, १० का लागि १० हजार र कक्षा ११ का लागि १७ हजार रकम छात्रवृत्ति स्वरुप वितरण गरिएको छ ।
नगर प्रमुख वासुदेव घिमिरेले गत असार अन्तिम साता आफूले पाउने पाँच वर्षको पारिश्रमिक नगरका सामुदायिक विद्यालयका विद्यार्थीको छात्रवृत्तिमा लगाउनु घोषणा गरेका थिए । प्रदेश सरकारले प्रदेश नं. ५ मा नगर प्रमुखको पारिश्रमिक मासिक ३५ हजार रुपैयाँ तोकेको छ । तिलोत्तमा नगरपालिकामा हाल ४४ वटा सामुदायिक विद्यालय छन् । वडा कार्यालयको सिफारिशका आधारमा ४४ वटै सामुदायिक विद्यालयका विद्यार्थी छनोट गरिएको नगरपालिकाले जनाएको छ ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले अभिभावक, शिक्षक र जनप्रतिनिधिबीचको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न सकिने विश्वास व्यक्त गरे । उनले आगामी तिहारसम्म नगरमा रहेका सबै सामुदायिक विद्यालयको रंग एउटै बनाउन लागिएको उल्लेख गर्दै शैक्षिक विकासका लागि थप योजना पनि अघि बढाइने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीयअधिकृत कृष्णप्रसाद सापकोटाले छात्रवृत्तिको रकम सही ठाउँमा प्रयोग गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै नगर प्रमुखको यो कार्य अरुका लागि समेत अनुकरणीय रहेको बताए ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले छात्रवृत्ति वितरणको व्यवस्थालाई पारदर्शी र व्यवस्थित बनाउने गरी तिलोत्तमा नगरप्रमुख छात्रवृत्ति कोष २०७५ को स्थापना गरिएको जानकारी दिए । उनलेसार्वजनिक निकाय र पदाधिकारीको सार्वजनिक जवाफदेहीता र उत्तरदायित्वमा अभिवृद्धि गर्नु कोषको उद्देश्य रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपि कंडेल, रेडियो लुम्बिनीकी स्टेशन म्यानेजर इन्दिरा अर्याल, रेडियो नमस्तेका स्टेशन म्यानेजर डायलसन अधिकारी, शान्ति नमुनाका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, अभिभावक नारायण ज्ञवाली, सुदिप गिरीलगायतले छात्रवृत्तिको सही सदुपयोग गर्न आग्रह गरेका थिए ।