© २०२३
कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक गुडूँ भनिने रूपेश सर्राफको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । रूपेशमात्र होइन सुदूर पश्चिमको मुगुमा समेत एकै परिवारका चारजनाको हत्या भयो । यी दुई पछिल्लो उदाहरणमात्र हुन । पछिल्लोसमय हिंसाजन्य घटनामा बृद्धि भैरहेको छ । नेपालमा पछिल्लोसमय हत्याका घटना बढ्दै गएको छ । यस्तो लाग्दैछ नेपाली समाज बिद्रुप बन्दै गैरहेको छ । सामान्य निहुँमा प्रेमीकाले प्रेमीको हत्या गरेको घटना सुन्न र पढ्नु परिरहेको मात्रै छैन, अरू धेरै घटनाहरू यस्ता छन जुन मानव समाजलाई नै कलंकति वनाउने प्रकृतिका छन र तीनले मानवीय समबेदना विर्सेको प्रतीत हुँदैछ । श्रीमान र श्रीमतिबीचको झगडाले परिवार नै सखाप बनेको घटना त सामान्य बन्दै गएको नेपाली समाजले भोग्नुपरेको विवस र पीडादायी यथार्थ हो । सामान्य झगडाको निहुँमा ज्यानै लिनेसम्मका घटना अव सामान्य जस्तै वनेका छन । देशैभरी अहिले घरेलु हिंसाका घटना बढिरहेका छन् । हिंसा पनि अपराध नै हो । हिंसाको परिभाषामा विगतमा महिला हिसालाई मात्र समावेश गरिन्थ्यो तर पछिल्लोसमय पुरुषमाथि हुने हिंसालाई पनि हिंसाकै प्रकारका रूपमा ब्याख्या गर्न लागिएको छ । समय परिवर्तनशील छ र हरेक पल हिंसाका परिभाषामा पनि परिवर्तन भैरहेको छ । जनसुकै कारणले भएपनि प्रायः यस्ता घटना महिलासँग सम्बन्धित हुने गर्दछन् । महिला भएकै कारणले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिसाजन्य कार्य नै महिला हिंसा हो । तर पछिल्लोसमय महिलामाथि हुने हिंसामात्र होइन पुरूषपनि हिंसाको अनेक शिकार वनेका घटना बढ्दै गएका छन । विशेषतः पितृ सत्तात्मक मूल्य र मान्यतामा आधारित असन्तुलित सामाजिक संरचना नै महिला हिंसाको प्रथम पुस्ताको कारकको रूपमा देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय साधारण सभाले सन. १९९३ मा पारित गरेको महिलाविरुद्धको हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र अनुसार पनि महिलाविरुद्धको हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो ।
नेपाली समाजमा अपराधीकरण बढ्दै गएको छ । अपराध अव सामान्य जस्तै बनेको छ । धेरै पहिले अपराध र मानव हिंसाका घटनाको उदाहरण दिनुपर्दा भारतको दिने गरिन्थ्यो तर पछिल्लोसमय नेपालमा धेरै गंभीर प्रकृतिका अपराध हुन थालेको छ । सामान्य निहुँमा श्रीमानले श्रीमतिको हत्या गरेको हरेक दिनजसो सुन्नु परिरहेको छ । यातना यति धेरै बढेको छ कि यसले नेपाली समाज कहाँ जाँदैछ ? भन्ने उदाहरण दिन कहिँ जानुपर्दैन । घरेलु हिंसाबाट पीडितहरू शारीरिक, मानसिक, आर्थिक वा यौनजन्य पीडा सहनुपरेको देखिएको छ । यस्ता पीडाबाट आत्महत्या, पारिवारिक हत्यादेखि सुकुम्बासी जीवनसम्म जिउनुपर्ने परिणाम आउने गरेको छ आजको यथार्थ पनि हो । पछिल्लो प्रतिवेदनले विश्वका ८० भन्दा बढी देशमा घरेलु हिंसाविरुद्धका कानुन बनिसकेको उल्लेख गरेको छ । अव संस्थागत रूपमा महिला हिंसा र घरेलु हिंसाका घटना न्यून गर्न र सदियादैखि महिलामा भएको परावलम्बी सोचमा परिवर्तन ल्याउन महिला शिक्षामा जोड दिने काम अघि सार्नु जरुरी भैसकेको छ । नेपाली महिलाले परम्परागत रूपमा भोग्दै आएका विभिन्न किसिमका हिंसाको अन्त्य गर्ने प्रयास स्वरूप नेपाल सरकारले अहिले कानुनी मात्र नभएर संस्थागत व्यवस्था पनि गर्दै आएको छ । तर अव हिंसाजन्य घटना नियन्त्रण नगर्ने हो भने नेपाल भारतजस्तै अपराधीकरणको अर्को देश बन्ने छ । पछिल्लो समय हिंसा न्यूनीकरणका लागि धेरै प्रयास भएका छन तर ती परिणाममा शून्यको अवस्था छ । अहिलेपनि सुन्दा पनि पत्याउनै नसकिने अपराधका घटना रोकिएको छैन । अव यसका लागि फेरी पनि प्रयास गर्नु जरुरी छ ।