© २०२३
धनगढी, ११ कात्तिक ।
बेस्सरी पेट दुखेपछि धनगढीकी शारदा चन्दले घरछेउँकै मेडिकलमा गएर औषधि सेवन गरिन् । एक साता औषधि खाँदा पनि केही समय निको भए जस्तो हुने तर समस्या उस्तै । मेडिकलको औषधिले समस्या समाधान नभएपछि चन्द अस्पताल पुगिन् ।
नाइटोको माथिल्लो भागदेखि लिएर पेटको दायाँ भागमा दुखाइ खपी नसक्नु थियो । अस्पतालमा चेकजाँच पश्चात् एपेन्डिसाइटिस् पुष्टि भयो । अपरेसन पश्चात् अहिले उनी विशेषज्ञ डाक्टरले दिएको औषधि नियमित सेवन गरिरहेकी छिन् ।
धनगढी फुलवारीकी रीता थापा पनि स्वास्थ्यमा समस्या आउँदा हत्तपत्त अस्पताल जाँदिनन् । खुट्टादेखि टाउको सम्म समस्या आउँदा पनि मेडिकलकै औषधिको भरमा पर्छिन् उनी । ‘अस्पताल गयो भने खर्च धेरै आउँछ । डाक्टरले मुख हेरेकै ५ सयदेखि एक हजार रुपैयाँ लिन्छन् । फेरि औषधि पनि ल्याउँदा खर्च अधिक आउँछ । त्यो भन्दा त मेडिकलमा जाँदा खर्च कम हुन्छ,’ थापाले भनिन् ।
एक वर्ष अघिको भोगाइ सम्झिँदै उनी भन्छिन्, ‘सानो तिनो समस्या आउँदा त अस्पताल जाने गरेको छैन । रोगले अत्यधिक च्यापेको अवस्थामा मात्रै बाध्य भएर अस्पताल जान्छु । गत वर्ष मलाई ज्वरोले एक साता थला पा¥यो । मेडिकलबाट औषधि ल्याएर खाँदा पनि ठिक नभएपछि अस्पताल गएँ, डेंगु भएको रहेछ । अस्पताल गएपछि मात्रै ठिक भयो ।’
शारदा र रीता त प्रतिनिधि पात्र मात्र हुन् । स्वास्थ्यमा समस्या आउँदा चिकित्सकीय परामर्शविनै औषधि सेवन गर्नेहरूको संख्या सुदूरपश्चिममा बढ्दै गएको छ ।
नागरिक अगुवा शरद खड्का भन्छन्, ‘हामीकहाँ स्वास्थ्यमा सानोतिनो गडबडी हुनासाथ औषधि किनिहाल्ने र चपाइहाल्ने बानी छ । चिकित्सकको परामर्श बिना वा स्वास्थ्य जाँच नगरी सोझै औषधि पसलमा गएर औषधि माग्ने र खाने चलन व्यापक छ ।
औषधि के हो ? त्यसले शरीरमा कसरी प्रभाव पार्छ ? किन, कुन समयमा र कसरी सेवन गर्नुपर्छ ? भन्ने आधारभूत ज्ञान हामी सँग छैन । एन्टिबायोटिकको गलत प्रयोगले घातक समस्या देखिन थालेको छ ।
स्वास्थ्यमा समस्या आउँदा औषधि पसलमा गएर किनेर औषधि खाने प्रवृत्तिका कारण रोगहरू झनै जटिल हुँदै गइरहेको चिकित्सकहरू बताउँछन् । ‘बिरामी हुँदा आफूखुसी गरिने औषधि सेवनले रोगलाई नियन्त्रणमा ल्याउन गाह्रो हुने अवस्था आउँछ । त्यसैले बिरामी हुँदा सबैभन्दा पहिला चिकित्सकको सल्लाह लिनु नै उपयुक्त हुन्छ । आफै औषधि खाएर अस्पताल जानुपर्ने अवस्था आयो भने त्यसले एकातिर खर्च बढाउँछ भने अर्कोतिर समय पनि बर्बाद हुन्छ,’ कन्सल्टेन्ट फिजिसियन डाक्टर प्रभात शाहले भने ।
उनका अनुसार ‘शारीरिक समस्या ब्याक्टेरियाको कारणले पैदा भएको हो भन्ने पत्ता लागेपछि मात्रै एन्टिबायोटिक प्रयोग गर्ने हो । यसको जथाभावी प्रयोगले ब्याक्टेरियाको क्षमता विकास हुन्छ । यस्तो हुँदा अन्य औषधिले काम नगर्ने समस्या पनि देखिन्छ । ब्याक्टेरियाले आफ्नो कोशिका बदलेपछि एन्टिबायोटिकले काम गर्दैन त्यसपछि समस्या बल्झिन्छ । एन्टिबायोटिक नराम्रो हैन यसको गलत प्रयोग ग¥यो भने स्वास्थ्यमा हानी पु¥याउँछ । यो औषधि चलाएपछि पूरा डोज लिनुपर्छ । अन्यथा समस्या झन् बढ्छ ।’
जथाभावी औषधि प्रयोग गर्दा रोग निको पार्न कठिन हुनेदेखि बिरामी बचाउनै कठिन हुने गरेको चिकित्सकहरूको भनाई छ । औषधिको गलत प्रयोग गर्ने बिरामीहरूलाई बढी डोजसहित सुई दिनुपर्ने, लामो समय अस्पतालमै भर्ना गर्नुपर्ने र बिरामीको ज्यानै समेत गइरहेको उनीहरूको भनाई छ ।
‘एन्टिबायोटिक लिइसकेपछि त्यसको निश्चित डोज पूरा गर्नै पर्ने हुन्छ । तर, मनोमानी ढङ्गले प्रयोग गर्छौ । अनि आफ्नो समस्या ठिक भइसकेपछि औषधिको डोज पूरा नगरी छाडिदिन्छौ । यसले गर्दा समस्या थप विकराल हुँदै छ,’ कन्सल्टेन्ट फिजिसियन डाक्टर अरुण चौधरी भन्छन् ।
एन्टिबायोटिकका कारण पखाला, दिशा लाग्नु, मिर्गौलामा असर पार्ने, कानमा असर, शरीरमा रोग प्रतिरोधी क्षमतामा ह्रास आउने लगायतका साइड इफेक्ट देखिने गरेको चौधरी बताउँछन् ।
चिकित्सकहरूको परामर्शविनै एन्टिबायोटिक प्रयोग नगर्न उनले आग्रह गरे । ‘सही प्रयोग हुन सके फाइदा धेरै छन् । सही प्रयोग नभएको खण्डमा यसको बेफाइदा धेरै छन् । अझ भावी पुस्तामा यसको असर धेरै हुन सक्ने देखिएको छ । समयमै एन्टिबायोटिक नखानु, डोज पूरा नगर्नु । त्यस्तै, एन्टिबायोटिक प्रयोग गर्दा यसले शरीरमा भएको कुनै न कुनै कोसीकालाई असर पार्ने हुँदा यसका साइड इफेक्टस् धेरै हुने गर्दछ । त्यसैले चेकजाँचपछि चिकित्सकहरूको सल्लाह अनुसार मात्र एन्टिबायोटिकको प्रयोग गरौँ,’ डा.चौधरीले भने ।