© २०२३
लुम्बिनी, २० चैत ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन हुन भएको छ । चौथों औद्योगिक क्रान्तिका लागि मानव संसाधनको विकास र उच्च शिक्षा सम्बन्धी विश्वव्यापी संवादलाई प्रवद्र्धन गर्नका लागि २०८१ चैत २० र २१ गते सम्मेलन हुन लागेको हो । उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बताए ।
सम्मेलनमा लुम्बिनी प्राविधिक विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, मधेश विश्वविद्यालयका उपकुलपति तथा नेपाल संस्कृत विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका रजिष्ट्रारको सहभागिता रहने जनाइएको छ । त्यस्तै सम्मेलनमा लुम्बिनी बौद्ध विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका पूर्व उपकुलपतिहरूको पनि सहभागिता हुने विश्वविद्यालयले जनाएको छ ।
उपकुलपति सम्मेलनमा एकैचरणमा तीन सत्रमा छलफल हुने कार्यक्रम छ । चौथो औद्योगिक क्रान्तिका लागि उच्च शिक्षाः वैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक सहकार्य विषयको एक सत्र हुनेछ । नेपालमा उच्च शिक्षाका चुनौती र अवसरः वैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक उत्कृष्टताको समावेश विषयमा अर्काे सत्र र नेपालमा वैकल्पिक चिकित्सा प्रवद्र्धनः दीगो विकास लक्ष्यसंगको सहकार्य विषयमा तेस्रो सत्र हुने जनाइएको छ ।