© २०२३
खसोखासमुल्लालाई बेगमले साह्रै हेप्थिन् । माइतीको फूर्ति यति धेरै लगाउँथिन् कि दिनदिनैजसो मेरा माइती यस्ता, बाबाको सम्पति यति धेरै, घरमा काम गर्ने नोकर चाकरै आधा दर्जन्, खानाका परिकार नै एक दर्जन पाक्थे, माइतीमा ओरको सिन्को पर सार्नुपर्थेन, कपडा त दिनमा चार जोर फेरेर लगाइन्थ्यो । यहाँ भने न पेटभरी भनेजस्तो खान पाइनु, न राम्रो विछौना, पानी बोक्न आधा घण्टा हिँड्नु पर्ने, एक जोडी कपडा सातादिनसम्म लगाउनु पर्ने, यस्ता कंगाललाई बाबाले किन मलाई भिराइदिए होलान् आदि आदि ताना सुनाउने गर्थिन् । मुल्लाको आर्थिक अवस्था पनि त्यस्तै थियो । बेगमले भनेका कुरा एउटा कानले सुन्थ्यो अर्को कानले उडाउनु बाहेक उसँग उपाय पनि थिएन ।
एकपटक बेगमको माइतीघरमा ठूलो बाढी आयो । बाढीले सबै घर खेत बारी डुबाइदियो । कहाँ बस्ने भन्ने समस्या पर्यो । भएको झिटीगुण्टा लिएर बाबुआमा उसकोमा बस्न आए । बेगमलाई केही दिन त रमाइलो लाग्यो । बाबुआमासँग बस्न । तर, मीठो खाने, राम्रोमा बस्ने बानी लागेका बाबुआमा, दाजु भाइले उसका सुत्ने कोठा, बैठक कोठा सबै कब्जा गरिदिए । बेगमलाई पिँढीमा सुत्नुपर्ने, खोजेर भए पनि मीठो मसिनु ख्वाउनु पर्ने अवस्था आयो । दिनदिनै कहाँ पाउनु बाबुआमालाई मीठो ख्वाउन ? अब भने बेगमलाई आमाबाबु कतिखेर जालान् जस्तो हुन थाल्यो । भएको पैसाजति बाबुआमालाई पाल्नमा खर्च भएपछि के गर्नु ? अहिले प्रदेश सरकारलाई पाल्न जनतालाई मुल्लाको अवस्था उत्पन्न भएको छ । आर्थिक रुपमा टाँट परेका बेरोजगार जनतालाई सरकार पाल्नुपर्ने भएको छ । त्यो पनि दुईचार दिन कहाँ हो र ?