© २०२३
मैले हुलाक र हुलाकी कहिले देखेँ भन्ने ठ्याकै याद छैन । गाउँघरमा चिठीका कुरा गरेको पनि खासै याद गरिन । गाउँमा आउने गाईनेले गाउने गीतहरुमा चिठीका कुराहरु आउँथे होला, तैपनि बालक मस्तिष्कले त्यता ध्यान नै दिएन । ४ नम्बर स्कूल छोडेर मणिग्राम शान्ति स्कूलमा पढ्न जान थालेपछि मैले पहिलोपटक हुलाक देखेको थिएँ ९ वर्षको उमेरमा । मणिग्राम चोकभन्दा केहि उत्तर सडकको पूर्वी किनारमा सायद रायमाझीको घरमा हो क्यारे हुलाक थियो । त्यसबेला मणिग्राममा हुलाक, नेपाल बैंक, साझा सस्था र पंचायत मात्र सार्वजनिक कार्यालय थिए । त्यहाँका सबै कर्मचारीसँग बाको सम्पर्क भएकोले म बासँग ति कार्यालयहरुमा बारम्बार जाने भएकोले त्यहि क्रममा मैले हुलाक देखेको थिएँ । भारतबाट जगदीश गुरुका लागि थुप्रै पत्रपत्रिका र पुस्तकहरु हुलाक मार्फत आउथे । प्रायजसो बिहान बा हुलाकिलाई भेटेर लगिदिनुपर्ने केहि छ कि भनेर सोध्नुहुन्थ्यो र केहि आएको भए बुझेर लगिदिनुहुन्थ्यो । त्यसबेला साढे ३ बजे मणिग्राममा साझा बस आईपुग्थ्यो । साझा बसले एउटा कालो थैलो खसाल्थ्यो अनि हुलाकको कर्मचारीले त्यो थैलो बुझेर हुलाकमा लैजान्थ्यो । घडी लगाउने मान्छे विरलै हुने समयमा साझाको बस र हुलाकको कर्मचारीको उपस्थितिले घडीको काम गर्थे ।
पछी मणिग्रामको हुलाक शान्ति स्कूल पश्चिम पुरानो सडकमा सर्यो । त्यसबेला पत्रिकाहरु हुलाकबाट नै आउथे । ताजा भनिएका पत्रीका पनि कहिलेकाही एक महिनामा आइपुग्थे । स्टिच खुलेका पत्रपत्रीकाहरु हुलाकमा निशुल्क पढ्ने सुविधा पाइन्थ्यो । यहि लोभले पनि हामी केटाहरु हुलाकमा झुल्किन्थ्यौं र कर्मचारीसँग मित्रता बढाउने कोशिस गथ्र्यौ । मातृभूमि भन्ने पत्रीका धेरैजसो पढ्न पाइन्थ्यो । २०४५ सालतिर मैले पहिलोपटक हुलाकबाट आफैले पत्र पठाएँ । त्यो मेरो पहिलो अनुभव थियो । कक्षा ९ मा पढ्दा बहुदल आयो । हामीले निशुल्क पत्रपत्रिका पठाउने सस्थाहरु कताकताबाट पत्ता लगाएर हुलाकबाट पत्र पठाएर पत्रपत्रिका मगाउथ्याँै । एकदुई दयालु प्रकाशकले पत्रीका पठाएका थिए, त्यो पत्रीका निकै जतन गरेर राखिन्थ्यो, पढिन्थ्यो । वर्षौसम्म सम्पर्क नभएका मामाहरु त्यसैताक सम्पर्कमा आएका थिए । त्यसपछि निकै पत्राचार हुने भएकोले हुलाकमा जाने उद्देस्य फेरिएको थियो ।
एसएलसी पास भएपछी स्कूले साथि कृष्ण र मनोज काठमाण्डौ पढ्न गए । शुरुशुरुमा पत्रबाट कुराकानी गरिन्थ्यो । “हिउँभन्दा चिसो, आगोभन्दा तातो, रगतभन्दा रातो मेरो सम्झना छ तिमीलाई “ भनेर कृष्ण गौतमले लेखेको पत्र र “पस्कदा पस्कदै भात चिसो हुन्छ“भनेर मनोज गौतमले लेखेको पत्र मलाई अझै याद छ । आईएस्सी पढ्ने बेलामा भारतको सिलगढीमा रहेको करेस्पोन्डेन्स स्कूलमा भर्ना भएपछी हुलाकसंग नियमित सम्पर्क हुन थाल्यो । उताबाट पाठ आउने र पढेर गृहकार्य पठाउने क्रम लगभग २ वर्ष चल्यो । आई एस्सी दोश्रो वर्षमा पढ्दा साथीहरु ऋषि ढकाल र मान बहादुर खाम्चा ट्रान्सफर लिएर तानसेन गएपछि उनीहरुसंग पत्राचार हुन थाल्यो । पत्रपत्रिकामा पाठकपत्र र रचनाहरु पठाउने कामले हुलाकमा गईन्थ्यो र पत्रपत्रीका र व्यक्तिगत पत्रहरु पनि हुलाकबाट निकै आउथे । एकदुई जना पत्रमित्र समेत भएकोले एकदुई दिन बिराएर हुलाकबाट पत्र आईरहन्थे । यो क्रम २०५५ सालसम्म राम्रै चल्यो, २०५७ सम्म पातलियो अनि २०५९ पछी बन्द नै भयो । २०६० पछी त हुलाकबाट मेरो नाममा कुनै कागतको चिर्कटोसम्म पनि आएका छैनन् । चिठी पठाउन हुलाकमा पाईला नटेकेको पनि २ दशक नै भयो ।
नेपालमा हुलाक
पृथ्वीनारायण शाहको पालामा नै नेपालमा हुलाकी परम्परा भएको देखिन्छ । पछी सन् १८३० मा भिमसेन थापाले एक लालमोहर जारि गर्दै नेपालमा चिठीपत्र कसरि ओसारपसार गर्ने? कसरि चिठीमा नियन्त्रण गर्ने? भन्ने व्यवस्था गरेका थिए ( हेर्नुहोस– चित्तरंजन नेपालीद्वारा लिखित भिमसेन थापा र तत्कालिन नेपाल पुस्तक) । जंगबहादुर सत्तामा आएपछि हुलाकलाई व्यवस्थित गर्नको लागि लौरी हुलाक शुरुवात गराएका थिए । सन् १८७५ मा गोरखा , पोखरा र पाल्पामा हुलाक सेवा विस्तार गरियो भने सन् १८८१ देखि निजि चिठीपत्र पनि हुलाक मार्फत आदानप्रदान गर्न पाउने व्यवस्था गरियो । सन् १८८२ सम्ममा गोस्वारा हुलाकको स्थापना भैसकेको थियो भने ४७ वटा पोस्ट अफिस खडा गरिएको थियो ( हेर्नुहोस– टेक बहादुर खत्रीको द पोस्टेज स्ट्याम्स अफ नेपाल ) । सन् १८८१ मा नेपालले आफ्नै हुलाक टिकट प्रकाशन गरेको थियो । नेपालबाट भारतमा कामगर्न र पढ्न जान थालेपछि हुलाकको महत्व पनि बढ्यो । महिनौ लगाएर गाउँमा पुग्ने लाहुरेका चिठीले गाउँमा तरंग नै ल्याउने गर्दथ्यो । भारतमा पढेर आएका र जागिर खाएर आएकाहरुले हुलाकको महत्व बुझेकाले पनि देशका दुरदराजमा हुलाक स्थापना गर्न र त्यो सम्भव नभए लेटर बक्स भएपनि राख्न सम्बन्धित निकायलाई झक्झकाए । २०५० को दशको मध्यसम्ममा देशका सबै शहरमा र बजारोन्मुख ग्रामिण क्षेत्रमा लेटर बक्स झुन्डिएका हुन्थे । आफ्नो वस्तीमा हुलाक र्लेटर बक्स हुनु गाउको लागि शान हुन्थ्यो । साहित्यिक लघु पत्रिका र रेडियो कार्यक्रमको आकर्षण अनि युवा पुस्तामा पत्रमित्रताको मोहले गर्दा हुलाकहरु २०५० को दशकमा निकै चलायमान भएका थिए । गाउमा कर्डलेश फोन /एन्टिना फोन आएपछि विस्तारै मुर्झाउन शुरु गरेको हुलाक सेवा नेपालमा मोबाईल सेवा सुरु भएपछी थला पर्यो अनि इन्टरनेट सेवा विस्तार भएपछी लगभग मृत अवस्थामा पुगेको छ । अहिले गाउवस्तीमा लेटरबक्स झुण्डिएको भेटिदैनन् । अहिलेको पुस्ताले हुलाकी चिन्दैनन्, धेरैलाई हुलाक कहाँ छ भन्ने थाहै छैन न त चिठी पठाउने तरिका नै थाहा छ । कुनै समय समयलाई जोड्ने, समाजलाई सुसुचित गराउने र सुखदुखको साथि बनेको हुलाक अहिले समुदाय र राज्यबाट तिरस्कारमा परेको छ । हुलाकको पहिलेको वैभव अब फर्केला भन्ने आशा पनि छैन ।
हुलाकी बा
चिठी, हुलाक र हुलाकीको कुरा गरिरहदा मैले कहिल्यै भुल्न नसक्ने मान्छे हुनुहुन्छ– हुलाकी बा । उहाँको वास्तविक नाम तुलसीराम पाण्डे रहेछ तर नौकट्टि क्षेत्रमा उहाँ सबैको हुलाकी बा, हुलाकी बाजे, हुलाकी दाई वा हुलाकी मामा रहनुभयो । खिरिलो ज्यानका हुलाकी बा हसिलो, फुर्तिलो र मिलनसार हुनुहुन्थ्यो । मणिग्राम हुलाकबाट निलो मैलो झोला भरेर चिठीपत्र, पत्रपत्रिका लिएर साबिकका करहिया, मक्रहर र शंकरनगरका गाउँमा पुग्नुहुन्थ्यो । मान्छे खोजेर भएपनि हातैमा पत्र थमाउने , पढ्न नजान्नेलाई पत्र पढेर सुनाउने , पत्र लेख्न सघाउने र पत्र बोकेर हुलाकमा लगेर टिकट टाँसेर पठाउने काम समेत गरिदिनुहुन्थ्यो । दिनभरी पैदल हिडेर चिठी बाँड्ने उहाँ गाउँलेको लागि सुचनाको श्रोत मात्र हैन सल्लाह दिने भलाद्मी र रोगका उपचार बताउने बैद्य पनि हुनुहुन्थ्यो । गाउँलेले उहाँलाई माया गरेर कोशेली दिएका हुन्थे । मेरो बासंग उहाँ निकै मिल्ने हुनाले चिठी नआएपनि उहाँ मेरो घरमा पस्नुहुन्थ्यो । मेरा ९५% भन्दा बढी चिठीपत्र उहाँको हातबाट नै पाएको थिएँ । नौकट्टि क्षेत्रका सबैका प्रिय हुलाकी बा अर्थात तुलसीराम पाण्डे पाल्पाको चण्डी भन्ज्यांगमा जन्मेर २०१८ सालतिर मणिग्राम नजिक बसोबास गर्न थाल्नुभएको थियो रे । उहाँका ३ छोरा र २ छोरी रहेछनु । उहाँका छोरा खेमराज पाण्डे ( सेमरा बजार माविका प्रधानाध्यापक)का अनुसार ४० वर्ष हुलाकमा जागिर गरेर २०५१ सालमा रिटायर्ड भएपछी पनि उहाँले हुलाक कर्म छोड्नु भएन । शंकरनगरमा अतिरिक्त हुलाक कार्यालय स्थापना गरि २०५७ श्रावण १२ सम्म त्यहीं काम गर्नुभयो । कार्यरत अवस्थामै हुलाकी बाको निधन भएको रहेछ । तुलसीराम पाण्डेले हुलाक छोडेपछि मणिग्राम सेरोफेरोमा मान्छेहरुको हुलाक साईनो पनि धमिलिदै गयो । पछी आएका हुलाकीहरुले पत्र घरमा नपुर्याउने र चोक पसलमा छोड्ने भएकोले हुलाकप्रतिको भरोसा हट्दै गयो । अहिले मणिग्राम क्षेत्रमा को को हुलाकी छन् ? हुलाक कर्मचारी को को छन् भन्ने कमैलाई मात्र थाहा होला । मेरो र म भन्दा पुरानो पुस्ताले भने चिठीपत्रका कुरा आउदा उनै हुलाकी बालाई सम्झन्छौँ ।
आज विश्व हुलाक दिवस । सबै हुलाककर्मीहरुलाई सम्झना अनि हुलाकी बालाई हार्दिक श्रद्धान्जली ।
चिठी , हुलाक र हुलाकी बा अचेल जगजित सिंहको यो गजल जस्तै भएका छन् .
“ चिठी न कोइ संदेश
जाने वो कौनसा देश ?
जहाँ तुम चले गए…”