© २०२३
सन्दर्भः पालिकाका प्रमुख
के के सपना बाँडेर प्रमुख भयौ खै । प्रमुख भइसकेपछि स्थानीय स्कूलहरूमा के कस्तो पढाई भइरहेको छ, त्यसको चिन्ता तिमीलाई छैन । विदेशी विधर्मीहरू आएर धर्मका नाममा के कस्ता अन्ध रिलिजनले जनतालाई बेकुप बनाइरहेका छन्, त्यसको पनि तिमीलाई चिन्तै छैन । पुराना मठ–मन्दिरका गुठी कुन फटाहाले खायो, त्यसको पनि चिन्तै छैन । गरिबहरूको दैनिक जीवनको गुजारा कसरी भइरहेको छ ? त्यसको पनि चिन्ता छैन । जनताका दैनिक जीवन चलाउनकालागि बाटा घाटा पुल आदिका के कस्ता अप्ठ्याराहरू छन् त्यसको पनि तिमीलाई चिन्तै छैन । जनताले फलाएका चिजबीजहरू कसरी बजारको प्रतिस्पर्धामा लैजाने भन्ने त्यसको पनि तिमीलाई चिन्तै छैन । अहिलेपनि उपचार नपाएर कति जनताले अनाहकमा ज्यान गुमाउनु परेको छ ? त्यसको त झनै चिन्तै छैन । चिन्ता छ त तिमीलाई पालिकामा आफ्ना मानिसहरूलाई जागिर खुवाउन । चिन्ता छ त तिमीलाई ठेकेदारहरूसँग कमिसन खान । चिन्ता छ त तिमीलाई गाउँ शहरमा भएको गिट्टी बालुवा बेचेर धनी हुन । चिन्ता छ त तिमीलाई स्कार्पियोमा सपरिवार मज्जा लिन । फेरि पायौ भने विदेशीहरूले ल्याएर दिएका जस्ता चिज पनि कप्लक्कै पार्छौ । अनि विदेशीहरूले नेपाली फुटाउन खोलि दिने गिर्जाघर बनाउन अन्धाधुन्ध समर्थन दिन्छौ । स्थानीय स्तरमा यहाँका रैथाने धर्म संस्कार र संस्कृतिको कसरी संरक्षण गर्ने भन्ने त तिमीले सपनामा पनि चिताएका छैनौँ ।
सन्दर्भः प्रदेशका मुख्यमन्त्री
कति ठाउँ धाएर कति सांसदको किनवेच गरेर मुख्यमन्त्री भयौ खै । मुख्यमन्त्री भईसकेपछि तिमीलाई त झन् हाइसुख्खै छ नि । तलतिरका काम पालिकालाई देखाइदिए भयो । माथितिरका काम संघीय सरकारलाई देखाइदिए भयो । माइलो हुँदाको फाइदा लुटेका छौ । सरकार ढल्छ कि भन्ने सोँचाइमै तिम्रो समय गएको छ । नेता थन्काउन जनतालाई सामान्य गास वास कपासका सामानमा पनि कर लगाइएकोबाट तिमीहरूको गुजारा राम्रै चलेको छ । यति सानो देशमा देश रित्याउन अर्थ न बर्थले खोलिएका प्रदेशका प्रमुख हुन पाएका छौ । नयाँ बन्दै गरेको संरचनाहरूमा कमिसन खान पाएका छौ । सरकार टिकाउन संविधान कुल्चेर भएपनि मन्त्री मन्त्राणीको संख्या बढाएकै छौ । प्रदेशमा मात्र बस्न गाह्रो भयो भनेर राजधानीमा पनि तिम्रा लागि नयाँ नयाँ दरबार बनेकै छन् । परिवारका हरेक सदस्यले सुविधा लिएकै छौ । तिम्रा लागि ब्रान्डेड पसलहरू खुलेकै छन् । त्यतिले मात्र नभएर विदेश गएर पनि डलरमै टिएडिए पाएकै छौ । के भयो र तिम्रो बाउको खल्तीबाट केही जाने होइन । जाने त उही तिम्रा रैतीहरूका करबाट सञ्चित रकम त हो नि । उस जुनीमा खानै नपाएर मरेका रहेछौ । यो जुनीमा मस्त खाउपिउ मोज गर ।
सन्दर्भः देशका प्रधानमन्त्री
देश विग्रिएको त यो हिन्दू राज्य व्यवस्थाले हो भनेर विदेशीले लेखिदिएका उपन्यासका आधारमा देशका सोझा साझा जनतालाई भ्रममा पारी के के गयौ गयौ । त्यो द्वन्द्वकालमा जनताले पछि सुख पाउने आशामा कति दुःख पाए त्यसको तपाइँहरूलाई कुनै सम्झनामात्र बाँकी छ त कहिँ । ती जनताका हातमा अहिले देशमा कलह निम्ताउने विदेशी रिलिजनका पुस्तक थमाईदिएका छौ । मिलेर बसेका जाती जनजातीलाई टुटफुट पारिदिएका छौ । विदेशी भेष भुसा र खानपान नै अग्रगामी छलाङ्ग बनाएका छौ । केही गर्न भनेर थाल्यो लाइन हुँदैन । नेटले काम गर्दैन तर ती चिज चलाए वापत जनताले फि चाहिँ बुझाएकै छन् । त्यत्रो कर तिरेर गाडी ल्याउँछन् तर बाटोको विकराल अवस्था छ । पाँच पाँच वर्षसम्मपनि १०० किलोमिटर बाटो बन्दैन । बन्यो भने पनि बनेको अर्कोदिन बिग्रेको दुई दिन हुन्छ । प्रत्येक वस्तुमा डबल टेबल कर तिरेर पनि यस्तो अवस्था छ । व्यापारीसँग मिलेर नाका नाकामा अनावश्यक कडाइ गर्दा दैनिक उपभोग्य वस्तुको भाउले पनि आकाश छोइसक्यो । सरकार चलाउनका लागि भन्दै पेट्रोलियम पदार्थको भाउ बढाएको बढाई छौ । तिम्रो लवाई खवाई हेर्दा तिमी कुनै विकसित मुलुकको प्रमुख भन्दा पनि उच्च देखिन्छौ । मुख्य भ्रष्टाचारी तिम्रै सरकारमा छन् तर तिमीले व्यक्तिलाई ठगेका भनिएकाहरूलाई जेलमा राखेर ठूलै काम गरेँ भनेका छौ ।
तिम्रा अन्धभक्त हामी बेकुपहरू फेरि तिमीलाई वाहवाह गर्दै तिम्रै किर्तन गाएर रमाइरहेका छौ । कुकुरले हाड टोक्दा आफ्नै रगत खाएर मज्जा मानेको जस्तै गरेर हामी मस्केका छौँ । न्यायालयमा गए उही तिमीहरूकै झोलेहरूले वहस् नगरेर हस् हस् मात्र गर्दछन् । अनि त्यस्ताले के का न्याय दिन्थे । जसले दियो गेडी त्यसैले पायो डेडी गराएर साधुलाई सुली र चोरलाई चौतारो दिएका छन् । समावेशीका नाममा अयोग्य व्यक्तिहरू हस्पिटलजस्तो संवेदनशील स्थानमा छिर्दा व्यक्ति निको हुने त कहाँ हो कहाँ उल्टो जिन्दगीभर पर्ची लिएर हिँड्ने भएको छ । तिमीहरू जहाँ लुकेर हामीलाई बेकुप बनाएर गाली गर्न लगाइएका थियौ त्यही इण्डिया कहाँ पुगिसक्यो । तिनै तिमीभन्दा बुढा मोदीले देशलाई कहाँ पु¥याइसके । कस्ता सडक कस्ता भए । बाटा घाटाहरूले देशलाई कति छिटो जोडेर ल्याए । अब चाँडै नै भिसा लगाएर त्यो देश जानुपर्ने दिन आउन थालेको छ । तिमी र तिमीजस्तै अरू पनि जति दिन सरकारमा हुनेछौ त्यति नै चाँडै देश अधोगतितिरै जाने हो । ५० वर्ष बुढो मान्छेले देश छोडेर जाने कसरी भनेर दलाल खोज्ने अवस्था आइसक्यो । के गर्ने हो अब देश डुबिसक्यो हे चण्ड मुण्ड प्रचण्ड हो ! पूर्वजन्ममा नेपाली जनताले तिमीहरूको कति धेरै ऋण खाएका रहेछन् र अहिले यस्तो दुःख दिइरहेका छौ ? तिम्रो कुबुद्धिले यति सानो भूगोल भएको देशलाई पनि काँक्रा चिरेजस्तै चिरेर बाँडेर अझै कतिदिन खाने हौ । रगत सिद्धिएर हाड छाला मात्र बाँकी रहेको छ । यो हाडछाला खाएर मात्र तिमीले बल्ल विश्राम लिने हौ कि के हो ? कति अभागी रहेछन् नेपाली जनता आफ्नै देशका नेता पाल्नका लागि यति धेरै कर बुझाएर नेपालीपन किनेर बस्दा पनि सुख नपाउने ।