© २०२३
गुल्मी, १७ असोज । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र यतिबेला दुर्लभ चराहरूको मुख्य बासस्थान बन्दै जान थालेको छ । विश्वमा पाईने दुर्लभ चराहरू मध्य छ प्रजातीका चराहरू गुल्मीमा भेटीएपछि गुल्मीलाई यतिबेला दुर्लभ चराहरूको जिल्ला भनेर चिनिन थालेको छ । गुल्मीको रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ चराहरू फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिएका छन ।
दुर्लभ प्रजातिका चराहरू मध्य रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमच्च महाचिल, डंगर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल रहेका छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाईने काँडे भ्याकुर रहेको छ । नेपालमा पाईने ८ सय ९२ प्रजातिका चराहरू मध्य गुल्मीमा ३५ प्रतिशत विभिन्न प्रजातिका चराहरू फेला परेका हुन । गुल्मीको रेसुङ्गा वन क्षेत्रमा पछिल्लो अध्ययन अनुसार २ सय ५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २ सय ७२ प्रजातिका चराहरू फेला परेका छन ।
जिल्लाका दुई वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो अध्ययन अनुसार गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा ३ सय ५ प्रजातिका चराहरू भेटिएका हुन । यो संख्या नेपालमा पाईने चराहरू प्रजातिको संख्या अनुसार ३५ प्रतिशत रहेको छ । रेसुङ्गा र मदाने संरक्षीत वन क्षेत्रमा दुर्लभ प्रजातिका चराहरूको संख्यामा वृद्धि हुँदै गएको परियोजना अधिकृत भरत पन्थीले बताए । रेसुङ्गा वन क्षेत्रमा गरिएको चरा सर्भेक्षण अनुसार विश्वमै दुर्लभ प्रजातिका चराहरू मध्य रेसुङ्गा र मदाने क्षेत्रमा गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द, डंगर गिद्द, क्षेत्र समिति चराहरू, कस्मेरी मट्टा र काँडे भ्याकुर लगायतका दुर्लभ प्रजातीका चराहरू रहेको भेटीएको छ । विश्वमा नेपालमा मात्र पाईने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाईन्छ । यसको संरक्षणका लागि अति संकटापूर्ण अवस्थामा रहेका चराहरूको वासस्थानलाई जोगाई राख्न स्थानीय जनप्रतिनिधिहरूको भूमिका थप महत्वपूर्ण रहने डिभिजन वन कार्यालय गुल्मीका प्रमुख जिवन पँगेनी बताए ।
नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराहरूको खोजी गरि वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरूलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जिवीकोपार्जन कार्यक्रम समेत लागु गरिएको छ । संस्थाले गत छ वर्षदेखि गुल्मीको रेसुङ्गा तथा मदाने वन संरक्षण क्षेत्रमा जिविकोपार्जन तथा संरक्षण समायोजन कार्यकम समेत सञ्चालन गर्दैै आएको छ । नेपाल पंक्षी संरक्षण संघले जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरि कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।
गुल्मीलाई भविष्यमा चरा पर्यटकको रूपमा विकास गर्नका लागि पनि वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहवाट आवश्यक सहयोग गर्ने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । रेसुङ्गा क्षेत्रको प्रचार प्रसारका लागि यस पटक नगरपालिकाले ‘‘जाउँ हिँड रेसुङ्गा’’ भन्ने अभियान सञ्चालन गरेको छ । उनले चरा पर्यटकीय क्षेत्रको रूपमा पनि गुल्मीलाई विश्वमा चिनाउन सकिने कुरामा जोड दिएका छन । दुर्लभ प्रजातिका चरा संरक्षणका लागि गुल्मीमा मुख्य चुनौती पनि थपिएको छ । जस अन्र्तगत चराको मुख्य बासस्थान, खानेपानीको अभाव, वन–डढेलो, विद्युतीय प्रशारण लाईन र वन्यजन्तु एवं चराचुरुङ्गीहरूको अवैध शिकार जस्ता कारणहरू मुख्य समस्याका रूपमा रहेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।