© २०२३
नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन यही २०८० भाद्र १६ र १७ मा बुटवलमा आयोजना गरिएको थियो । अधिवेशनको उदघाटन पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले एक भव्य समारोहका बीच गर्नुभएको थियो भने बन्द सत्रमा समेत कमरेड अध्यक्षले अधिवेशनलाई दिशानिर्देश गर्ने गरी महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो ।
२ दिनमा सम्पन्न गर्नेगरी आयोजना गरिएको उक्त अधिवेशन निर्वाचनको कारणले लम्विएर पाँचौं दिन मात्र सम्पन्न भएको थियो । अधिवेशनले करिव ६० प्रतिशत सर्वसम्मत र ४० प्रतिशत निर्वाचनको माध्यमबाट नेतृत्व चुनेको छ र लुम्बिनीको विकास र समृद्धिको बुटवल घोषणापत्र समेत जारी गरेको छ ।
यसरी यो अधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ, यसले नेकपा (एमाले)का अन्य प्रदेशका अधिवेशनलाई समेत दिशा निर्देश गरेको छ ।
यो अधिवेशनको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा नेतृत्व गर्ने पार्टीका शीर्ष नेताहरु खासगरी उपाध्यक्ष कमरेड विष्णु पौडेल र महासचिव कमरेड शंकर पोख्रेललाई जोडेर वहाँहरुको तर्फबाट २ जना छुट्टाछुट्टै अध्यक्ष पदका उम्मेदवारहरु तयार गरिएको भनेर गोयबल्स शैलीमा कुप्रचार गरिएको थियो । जसलाई उदघाटन सत्रको मन्तव्य मार्फत नेता द्वयले एक स्वरमा खारेज गर्नुभएको थियो । उदघाटन सत्रको समाप्ति पश्च्यात बन्द सत्र सुरु नहुँदै मामहासचिव कमरेड शंकर पोख्रेल चीन भ्रमणको लागि काठमाण्डौ प्रस्थान गर्नुभयो भने बन्द सत्रमा अध्यक्षय कमरेड केपी शर्मा ओलीको सम्बोधन पश्च्यात उपाध्यक्ष कमरेड विष्णु पौडेल पनि अध्यक्ष कमरेड संगै बाहिरिनुभएको थियो । बन्द सत्रको सम्बोधनको अन्त्यमा अध्यक्ष कमरेडले बन्द सत्रको समग्र नेतृत्व पार्टी केन्द्रीय सचिव, लुम्बिनी प्रदेशका इन्चार्ज एवम् बन्द सत्रको अध्यक्ष मण्डलका अध्यक्ष कमरेड पदमा अर्याललाई सुम्पिनुभएको थियो । उपाध्यक्ष र महासचिव दुवै नेताले कुनै माध्यमबाट अधिवेशनका प्रतिनिधिहरूलाई नेतृत्व निर्माणको विषयमा आफ्ना व्यक्तिगत विचार सम्प्रेषण गर्नुभएको पाइएन । तसर्थ अधिवेशनको सन्दर्भमा नेताहरुको नाम जोडेर छुट्टाछुट्टै गुट खडा गरिएको भन्ने प्रचारबाजी पानीको फोका जस्तै स्वतः निस्तेज भएको छ ।
यस अधिवेशनमा मुख्य नेतृत्व निर्माणको सन्दर्भमा २ वटा विकल्पहरू प्रतिनिधि कमरेडहरु सामु थिए । प्रदेश संगठन कमिटीका अध्यक्ष कमरेड राधाकृष्ण कँडेल र पार्टी केन्द्रीय कमिटी सदस्य कमरेड हरी रिजालले सुरु देखि नै अध्यक्ष पदमा आफूलाई प्रस्तुत गर्नुभएको थियो । तदनुसार नै बन्द सत्रमा वहाँहरू दुवै जनाले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनु भयो । प्रचार प्रसारको क्रममा तथा विजय र पराजय भए पछि पनि वहाँहरुले अत्यन्तै सुसंस्कृत, सौहार्दपूर्ण र अनुकरणीय व्यवहार प्रदर्शन गर्नुभयो । सर्वसम्मतिको लागि पहल गर्न समय खर्चनु पर्दा समयमै निर्वाचन कार्यक्रम सुरु हुन नसके तापनि अन्ततः सचिव बाहेकका पदाधिकारी र केही जिल्लाका विभिन्न क्लस्टरका सदस्यका साथै १५ खुल्ला सदस्य गरी २०५ मध्ये ८३ सिटमा निर्वाचनका माध्यमबाट विधि सम्मत तवरले नेतृत्व चयन भयो । यसरी प्रतिनिधि कमरेडहरुको न्यायसंगत र प्रक्रियागत फैसलाबाट कमरेड राधाकृष्ण कँडेलको नेतृत्वमा आगामी ४ वर्ष अवधिको लागि नेकपा (एमाले) लुम्बिनी प्रदेशको नेतृत्व निर्माण गर्दै अधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भयो ।
यस अधिवेशनको पूर्व सन्ध्यामा अर्घाखाँची जिल्लाबाट नेतृत्व निर्माणको सन्दर्भमा कसरी सहभागिता जनाउने भन्ने बारेमा संस्थागत रुपमा कुनै पनि कमिटीमा छलफल र निर्णय भएको थिएन । न त जिल्ला अध्यक्ष र इन्चार्ज लगायत जिल्लाबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने जिम्मेवार नेतृत्वबाट कुनै दिशा निर्देश नै भएको थियो । यसो त जिल्ला अध्यक्ष स्वयम् महासचिव कमरेड संगै चीन भ्रमणमा हुनुहुन्थ्यो । यस्तो अवस्थामा सिङ्गो जिल्लाको पार्टी पंक्तिको बृहत एकताको रक्षार्थ अधिवेशनका जिम्मेवार प्रतिनिधि कमरेडहरु बीच एउटै विकल्प थियो, जिल्लाले प्राप्त गर्ने कोटामा छलफलको माध्यमबाट सर्वसम्मति कायम गर्ने र अध्यक्ष लगायतका पदाधिकारी र जिल्ला बाहिरका सदस्यहरुको हकमा स्वविवेकको आधारमा गोप्य मतदान गर्ने । त्यसै अनुसार जिल्लाले प्राप्त गरेका ३ खुल्ला, ४ महिला, १ युवा, १ दलित, १ मुश्लिम र १ जनजाति गरी ११ जना सदस्य पदमा नेतृत्वको केही कमीकमजोरीका बावजूद जिम्मेवार प्रतिनिधिले बहुत सुझबुझ र मिहेनतका साथ अथक प्रयत्न गरी सर्वसम्मति कायम गरियो । साथै मुख्य नेतृत्वको सन्दर्भमा सामूहिक रुपमा छलफल र निर्णय नभएकोले जनवादको प्रयोग गर्ने सुन्दर अवस्था सिर्जना भयो । यसरी जनवादी केन्द्रीयताको सफल प्रयोग गरी अर्घाखाँची जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि कमरेडहरुले नेतृत्व निर्माणको सन्दर्भमा महत्वपूर्ण योगदान पुर्याउनु भयो ।
यति हुँदाहुँदै पनि यस अधिवेशनबाट नेतृत्व चयनमा जनवादको प्रयोग गर्ने सन्दर्भमा कतिपय कमरेडहरुको फरक बुझाई रहेको पाइएको छ । अल्प ज्ञानको कारण आन्तरिक र बाह्य प्रतिस्पर्धामा भेद छुट्याउन नसक्दा आफूले चाहेको उम्मेदवारलाई मतदान नगर्ने कमरेडलाई अन्तरघात गरेको, पार्टी अनुशासन उल्लंघन गरेको र अमूक नेताको आशय अनुसार मतदान नगरि धोकाघडि गरेको भन्ने जस्ता मनोगत र व्यक्तिवादी विचारहरू यदाकदा सार्वजनिक हुने गरेका छन् । यस्ता विचारहरू कतिपय छदम्भेसी पार्टी विरोधी तत्वहरूले बुझिन बुझि बुझ पचाएर पनि व्यक्त गरिरहेका छन् भने कतिपय इमान्दार, कर्तव्यनिष्ठ र जुझारु नेता–कार्यकर्ताहरुबाट पनि नेतृत्व निर्माण सम्बन्धी सैद्धान्तिक ज्ञानको कमीले पनि व्यक्त गरेको पाइएको छ ।
कम्युनिष्ट पार्टीमा नेतृत्व निर्माणका साथै अन्य प्रस्तावमा निर्णय गर्दा र पार्टीका निर्णय तथा नीति निर्देशनहरु कार्यान्वयन गर्दा लेनिनवादी संगठनात्मक सिद्धान्तको आधारमा निश्चित विधि अबलम्बन गरिन्छ, जसलाई जनवादी केन्द्रीयताको रुपमा चिनिन्छ । नेकपा (एमाले) कम्युनिष्ट पार्टी भएकोले यसले पनि लेनिनवाद र खासगरी लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गरेको छ । तदनुसार नेकपा (एमाले) ले नेतृत्व र नीति निर्माण तथा निर्णय कार्यान्वयनमा जनवादी केन्द्रीयता जस्तो लेनिनवादी विधि प्रयोग गर्दछ । त्यसैले त यो पार्टीले माक्र्सवादका अतिरिक्त लेनिनवादलाई समेत आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा अनुसरण गर्नुको सार्थकता रहेको छ । साथै माक्र्सवाद र लेनिनवादको आलोकमा आफ्नो देश र कालको विशिष्टताका आधारमा जननेता मदन भण्डारीको अगुवाइमा जनताको बहुदलीय जनवाद जस्तो मौलिक सिद्धान्त प्रतिपादन गरी हाल कमरेड केपी ओलीको नेतृत्वमा मार्गदर्शक सिद्धान्तकै रुपमा सफल कार्यान्वयन गरिरहेको छ ।
त्यसैले पार्टीले अघि सारेका विभिन्न कार्यक्रम तथा अभियानहरु र नेतृत्व चयनको अवसरमा सहभागिता जनाउदै गर्दा पार्टीका मार्गदर्शक सिद्धान्तहरूको अनुशरण गर्दै उक्त सिद्धान्तको कसीमा हाम्रा व्यवहारहरुलाई जाँच्नु पर्दछ, न कि कुनै अमूक नेता संगको व्यक्तिगत सम्बन्ध, मनोगत चाहना, भौगोलिक सामिप्यता र व्यक्तिगत हितलाई आधार मानेर ।
लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नेतृत्व चयनको सन्दर्भमा पनि लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको विधिको कसीमा हाम्रा पछिल्ला व्यवहारहरूलाई जाँच्नु पर्ने भएकोले यस लेखमा नेकपा (एमाले) का मार्गदर्शक सिद्धान्त, खासगरी लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हो ।
माक्र्सवादले ऐतिहासिक र द्वन्दात्मक भौतिकवादी विश्वदृष्टिकोणको निर्माण गर्ने आधार प्रदान गर्दछ भने लेनिनवादले ऐतिहासिक र द्वन्दात्मक भौतिकवादी सिद्धान्तलाई व्यवहारमा उतार्ने उत्प्रेरकको रुपमा संगठन (कम्युनिष्ट पार्टी) को आवश्यकता दर्शाएको छ । लेनिनवादले लेनिनवादी संगठनात्मक सिद्धान्तको रुपमा कम्युनिष्ट पार्टी सञ्चालनको विधिको बारेमा स्पष्ट अवधारणा समेत अघि सारेको छ । जसको सार जनवादी केन्द्रीयता हो ।
यसैगरी जनताको वहुदलीय जनवाद जननेता मदन भण्डारीको अगुवाईमा विकसित नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । सामन्तवाद र साम्राज्यवाद विरोधी पूँजीवादी जनवादी क्रान्तिलाई आफनो न्युनतम् लक्ष्य वनाएर अघि आएको यो कार्यक्रम नेपाली मौलिकताको नयाँ जनवादी क्रान्तिको कार्यक्रमको सारतत्व सहितको कार्यक्रम हो ।
माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको बारेमा अन्य प्रसंगहरुमा व्यापक अध्ययन, छलफल र विचार विमर्श गरौंला, जसको टड्कारो आवश्यकता छँदैछ । तर, अहिले लेनिनवादी संगठनात्मक सिद्धान्तको बारेमा न्यूनतम जानकारी राख्नु, असल नेतृत्व चयन तथा संगठन निर्माण र परिचालनमा यसलाई उपयोग गर्ने विधि र सीप हासिल गर्नु, साथै अहिलेको परिप्रेक्ष्यमा हामीले प्रदर्शन गरेका व्यवहार र विधिलाई यस वैज्ञानिक सिद्धान्तको कसीमा जाँच्नु प्रासंगिक मात्र नभई अत्यावस्यक समेत भएकोले यस लेखमा लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको सन्दर्भलाई महत्वका साथ उजागर गरिएको छ ।
लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताः
१८७० को २२ अप्रिलको दिन भ्लादिमिर लेनिनले जन्म लिनुभएको हो ।
लेनिनले कम उमेर र थोरै समयमै कैयन आरोह अवरोह पार गर्दै रसियामा सन १९१७ मा अक्टोबर क्रान्तिको संगसंगै माक्र्सवादलाई विकसित रूपमा स्थापित गर्न सफल हुनु भएको हो । लेनिनकै जन्म उत्सवको अवसर पारेर सन् १९४९ अप्रिल २२ तारिकका दिन भारतको कलकत्ता स्थित श्याम बजारमा पुष्पलाल श्रेष्ठ महासचिव रहने गरी नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जन गोविन्द वैद्य लगायत सदस्य रहेको नेपाली कम्युनिष्ट पार्टीको स्थापना भयो । अतः लेनिनको जन्म दिनलाई कम्यिुनिष्ट पार्टीहरुले आफ्नो स्थापना दिवसको रुपमा पनि मनाउँदै आएका छन् ।
लेनिनले माक्र्सवादको व्यावहारिक कार्यान्वयन गर्नका लागि कम्युनिष्ट पार्टी संचालनको नीति तथा सिद्धान्तको प्रतिपादन गर्नुभएको हो । जसलाई पछि लेनिनवादी संगठनात्मक सिद्धान्त भनियो । र, आज पनि कम्युनिस्ट पार्टीहरू लेनिनवादी संगठनात्मक सिद्धान्तबाट नै सञ्चालित वा संगठित छन् ।
रसियाली समाजवादी जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन सन् १९०३ मा बेल्जियमको राजधानी ब्रसेल्समा सुरु भयो तर त्यहाँको सरकारले अवरोध गरेपछि महाधिवेशन लन्डनमा सारियो । महाधिवेशनमा रूसी कम्युनिष्ट आन्दोलनका नेताहरू लेनिन, ट्राटस्की, मार्तोभ, मार्तिनोभ र प्लेखानोभ लगायतको सहभागिता थियो । महाधिवेशनमा कम्युनिस्ट पार्टीको संगठनात्मक स्वरूपमाथि व्यापक बहस गरियो । यसमा लेनिनको संगठनात्मक प्रस्ताव पनि संलग्न थियो । लेनिनले आफ्नो प्रस्तावमा कम्युनिष्ट पार्टीको सदस्य हुन निम्न अनुसारको योग्यता हुनुपर्ने बारेमा प्रष्ट संग सूत्रबद्ध गर्नुभएको थियो ।
१. पार्टीको नीति तथा कार्यक्रम मान्ने
२. पार्टीको निश्चित संगठनमा बसेर काम गर्ने
३. पार्टीलाई नियमित लेवी तिर्ने
पार्टीभित्रका प्रतिद्वन्द्वी मार्तोव र मार्तिनोवले भने पार्टीका प्रत्येक सदस्यलाई कमिटीमा संगठित गर्नुभन्दा आवश्यक पर्दा सहयोग दिन सक्नेलाई सदस्यता प्रदान गर्नु उपयुक्त हुने कम्युनिष्ट पार्टीका सदस्य बीचमै विभेद उत्पन्न गर्ने विकल्प अघि सारे ।
यी र अन्य संगठनात्मक विषयहरूमा विवाद उत्पन्न भई पार्टीभित्र मतदान हुँदा लेनिन सुरुमा अल्पमतमा पर्नुभयो। तर अन्ततः पार्टीको बहुमतले लेनिनको लाइनलाई स्वीकार गर्यो । त्यही विवादले रूसी कम्युनिष्ट पार्टी बहुमत र अल्पमतमा विभाजित भयो । रूसी भाषामा बहुमतलाई बोल्सेभिक र अल्पमतलाई मेन्सेभिक भनिन्छ । बहुमत हासिल गरेपछि लेनिनको पार्टी बोल्सेभिक भनेर संसारभरि प्रसिद्ध भयो । बोल्सेभिक र मेन्सेभिक दुई छुट्टाछुट्टै कम्युनिष्ट पार्टी बने । मेन्सेभिक पार्टीको नेतृत्वमा रहेका मार्तोभ र ट्राटस्कीहरू लेनिनवाद र बोल्सेबिक विरुद्ध खनिए । तर, लेनिनको नेतृत्वमा सोभियत क्रान्ति सम्पन्न भयो । यो सफलताले लेनिनको संगठनात्मक प्रस्ताव पनि स्थापित गर्यो । यसरी लेनिनवादी संगठनात्मक सिद्धान्तको प्रतिपादन भयो ।
संगठनात्मक सिद्धान्तको चर्चा गर्दा कम्युनिष्ट पार्टीहरूको आन्तरिक शासन प्रणाली जोडिएर आउँछ । विचारले जतिसुकै शुद्ध र कार्यक्रमले सुन्दर भए पनि पार्टीका आन्तरिक संगठनहरू चुस्त नहुँदा राजनीति परिणाम विहीन हुनेमा दुईमत छैन । किनभने भद्दा संगठन, अलोकतान्त्रिक नेता र चाकरीबाज कार्यकर्ताले विचारलाई नै गोलमाल बनाउँछन् । यसर्थ अन्तरपार्टी लोकतन्त्र, नेतृत्व निर्माण र हस्तान्तरण, पार्टी अनुशासन र संगठनात्मक अराजकताको अन्त्य जस्ता बहसका मुख्य विषय संगठनात्मक सिद्धान्तसंग सम्बन्धित छन् । पारदर्शिता, प्रभावकारिता र जवाफदेहिता सुशासनका अभिभाज्य पक्ष हुन् । यिनीहरूको अभावमा संगठनहरू प्रयोजनविहीन र बेढंगका हुन्छन् । सुशासन आर्थिक विषय मात्र होइन, जनतासंग गरिएका वाचाहरूको कार्यान्वयनसंग पनि सम्बन्धित छ । त्यसैले त नेकपा (एमाले) ले दशौं राष्ट्रिय महाधिवेशनबाट “ दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादका आधार तयार गरौं “ भन्ने मूल नारा तय गरी संगठनात्मक अराजकता बिरुद्ध निर्मम संघर्ष गर्ने नीति लिएको हो ।
लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्तमा पनि नैतिक अनुशासन र सांगठानिक सुशासनको त्यतिकै महत्वका साथ चर्चा गरिएको छ । यो सिद्धान्तले कम्युनिष्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनु पर्ने मान्यतामा जोड दिएको छ ।
लेनिनले संगठनात्मक सिद्धान्तमा निम्न कुराहरूलाई जोड दिनुभएको छ ।
१. जनवादी केन्द्रीयता
२. आलोचना तथा आत्मालोचना
३. नेतृत्व चुन्ने विधि
लेनिनवादी संगठनात्मक सिद्धान्तले यी विषयहरुको व्याख्या सहित कडाइका साथ कार्यान्वयनमा जोड दिन्छ । यसलाई कडा अनुशासनको रुपमा समेत हेर्ने गरिएको पाइन्छ । जसमध्ये जनवादी केन्द्रियताका बारे संक्षिप्तमा बुझौं ।
के हो जनवादी केन्द्रीयता ?
जनवादको अर्थ जनतन्त्र हो । जनवादभित्र राय प्रकट गर्न पाउने अधिकार, विरोध गर्न पाउने अधिकार, प्रष्ट गर्न पाउने तथा चुन्न र चुनिन पाउने अधिकार आदि पर्दछन् । वास्तवमा संगठनभित्रका सदस्यहरूको विचार प्रकट गर्ने, फरकमत राख्ने वा आफूलाई चित्त नबुझेको कुराको विरोध गर्ने अधिकार पनि समान रूपमा रहन्छ । म यो कमिटीमा अध्यक्ष, सचिव वा उपसचिव बन्न वा अरु कसैलाई बनाउन पाउँ भन्ने अधिकार पनि जनवादी अधिकार हो । यसरी जनवादी अधिकार भनेको आफ्नो मनमा लागेको कुरा संगठनमा खुला हृदयका साथ राख्ने अधिकार हो । यसरी लेनिनवादी संगठनात्मक सिद्धान्तभित्र जनवादको धेरै ठूलो महत्व छ । जनवादी अधिकारविना पार्टी संगठन पानी विनाको माछा सरह हुन्छन् ।
यसरी नै केन्द्रियताको अर्थ कर्तव्यपालन गर्नु हो । हामीले निरपेक्षरूपमा जनतन्त्र, प्रजातन्त्र वा स्वतन्त्रता खोज्न हुँदैन । निरेपक्ष स्वतन्त्रता द्वन्द्ववाद सम्मत हुँदैन । त्यसैले केन्द्रियताको महत्व कम छैन । जनवादसंग केन्द्रियता स्वतः जोडिन्छ । केन्द्रियता विना पार्टी संगठनहरू परिचालन हुनै सक्दैनन् । यसर्थमा केन्द्रीयता भनेको अनुशासन हो ।
त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ । तसर्थ, जनवादलाई अधिकार र केन्द्रियतालाई कर्तव्यको रुपमा परिभाषीत गर्न सकिन्छ । अधिकार खोज्दा कर्तव्य पालन गर्नुपर्छ । पार्टी संगठनमा पनि स्वतन्त्रता खोज्दा अनुशासनको ख्याल वा अधिकार खोज्दा कर्तव्यको पालना गर्नैपर्छ । जनवाद र केन्द्रीयताको पनि त्यही रूपमा अन्तरसम्बन्ध हुन्छ।
तसर्थ, लेनिनवादी संगठनात्मक सिद्धान्तबिना कुनैपनि कम्युनिष्ट पार्टीलाई प्रजातान्त्रीक र अनुशासित बनाउन सकिँदैन ।
जनवादी केन्द्रीयताले मुख्यतया निम्न ६ कुरालाई लक्षित गर्छ :
१.व्यक्ति संगठनको अधिनस्थ हुन्छः
व्यक्ति संगठनको अधीनमा हुने भनेको संगठित व्यक्तिहरु अर्थात् संगठनका सदस्यहरु, सांगठनिक विधि, पद्दति र संगठनात्मक अनुशासनमा बाँधिएका हुन्छन् भन्ने हो । यसको अर्थ अनुशासनहीन र अमर्यादित अभिव्यक्तिहरु दिने जस्ता क्रियाकलापहरु कम्युनिष्ट पार्टीका सदस्यहरुबाट हुने छैनन् । सांगठानिक निणर्यलाई कुनै पनि पार्टी सदस्यले पालना गर्नुपर्ने हुन्छ ।
२. अल्पमत बहुमतको अधिनस्थ हुन्छः
संगठनको विचार प्रवाह अथवा नेतृत्व चयनमा सर्वसहमति हुन नसकी मत विभाजनको अवस्था आएमा अल्पमत र बहुमतको पद्धतीलाई अबलम्बन गरिन्छ, यसो हुदा अल्पमतले आफ्नो बेग्लै मत हुँदाहुँदै पनि बहुमतको निर्णयलाई विना सर्त लागु गर्न पर्दछ भने बहुमतले पनि अल्पमतको सम्मान गर्नु पर्दछ ।
३. तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छः
लेनिनवादी संगठनात्मक सिद्धान्तको मुख्य पाटो संगठन निर्माण गर्नु हो अर्थात् संगठनात्मक संरचना निर्माण गर्नु हो । माथिल्ला कमिटीहरुले तल्ला कमिटीहरुको गठन, पुनर्गठन तथा संचालन गर्ने भएको हुदा तल्ला कमिटीहरु माथिल्ला कमिटीको मातहतमा रहने गर्दछन् ।
४. पार्टीका सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन्ः
महाधिवेशनले निर्दिष्ट गरेको विचार नीति तथा कार्यदिशाहरु केन्द्रिय कमिटी मार्फत कार्यान्वयन गराउनका लागि मातहतका कमिटीहरुलाई सर्कुलर गरिन्छ, मातहतका कमिटीहरुले सोको अक्षरस पालना गर्नुपर्ने भएकाले सम्पूर्ण कमिटीहरु केन्द्रिय कमिटीको अधिनमा हुन्छन् ।
५. केन्द्रीय कमिटी महाधिवेशनको अधिनस्थ हुन्छः
महाधिवेशनले पार्टीको वैचारिक लाइन, विधान, तत्कालिक कार्यक्रम र नयाँ नेतृत्व तय गर्छ । केन्द्रीय कमिटी लगायत मातहतका कमिटीहरुको संगठनात्मक स्वरुप तय गर्छ । विचार र कार्यक्रमको कार्यान्वयनका लागि महाधिवेशनले केन्द्रीय कमिटीलाई निर्देशन गर्छ । महाधिवेशनको निर्देशनभन्दा बाहिर केन्द्रीय कमिटी जान सक्दैन । त्यसैले केन्द्रीय कमिटी महाधिवेशनको मातहतमा हुन्छ ।
६. महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छः
लेनिनवादी संगठनात्मक सिद्धान्तले कम्युनिष्ट पार्टीको सदस्यताका लागि निश्चित शर्तहरु तोकेका छन् । कम्युनिष्ट पार्टीको सदस्य हुनका लागि पार्टीको नीति तथा कार्यक्रम मान्ने, सदस्य मात्रै बनेर नबसिकन पार्टीको निश्चित संगठन कमिटी बसेर काम गर्नैपर्ने र पार्टीलाई नियमित लेवी तिर्ने व्यक्ति मात्र सदस्य हुन पाउँछ ।
लेलिनवादी संगठनात्मक सिद्धान्तले उल्लेखित आधारहरुको पैरवी गरेता पनि कम्युनिष्ट पार्टी भित्रका गुट र उपगुटले तल्लो कमिटीसम्म जरा गाडेको देखिन्छ । जनवादी केन्द्रियता कमजोर हुँदा पार्टीमा संघर्ष र विभाजन बढ्दै जान्छ । स्वाभाविक छ, एउटै राजनीतिक दलभित्र पनि फरक मत, अभिमत हुन्छन् । फरक विचारहरूको एकता, संघर्ष र संश्लेषणबाटै नवीन विचारको जन्म हुन्छ । रचनात्मक बहसका लागि पार्टीहरूमा दुई लाइनको संघर्षलाई स्वीकार पनि गरिन्छ । तर दुई लाइनको संघर्ष जब स्थायी गुटमा फेरिन्छ, त्यसले अन्तरपार्टी लोकतन्त्रलाई दूषित गर्छ । गुट संस्कृतिले योग्यताभन्दा आग्रहहरूमा जोड दिन्छ । यो मठाधीशहरू जन्माउने अप्राकृतिक तरिका हो । जसले हजारौं कार्यकर्तालाई किनारामा धकेल्छ । गुट नसमाउने कार्यकर्ताहरू पाखा पारिन्छन् । उनीहरू कुण्ठाको सिकार हुन्छन् । जसको प्रत्यक्ष प्रभाव सामाजिक व्यवहार तथा पार्टी र राज्य सञ्चालनमा समेत देखिन्छ । यसको निराकरण गुटको अन्त्य र कार्यकर्ताहरूको सार्वभौमिकताको रक्षाबाट मात्र सम्भव छ । पार्टी संगठनहरूमा जिम्मेवारीको व्यवस्थापन नेताको आग्रहमा होइन, नीतिहरूबाट निर्देशित हुनुपर्छ । त्यसैले पार्टी भित्र योग्यताको कदर गर्ने परिपाटी बसाउन आवश्यक छ ।
कम्युनिष्ट पार्टी भित्र व्यवस्थितरुपमा आलोचना र आत्मालोचनाको परिपाटी स्थापित गर्नु पर्छ । अहिले यो परिपाटी हराएर गएकोले पार्टी संगठन भुत्ते हुँदै गएको छ । नेकपा (एमाले)ले यो पद्धतिलाई सृजनात्मक तवरले पुनस्र्थापित गर्नु पर्छ ।
त्यस्तै लेनिनले आफ्नो संगठनात्मक सिद्धान्तमा कम्युनिष्ट पार्टीले के आधारमा नेतृत्व चुन्नुपर्छ भनी निम्न अनुसार असल नेतृत्व चुन्ने विधि तय गर्नुभएको छ ।
१. इमान्दारिता
२. सक्रियता
३. समर्पित भावना
४. रचनात्मक क्षमता वा कार्यदक्षता
अन्त्यमा, विचार र संगठनमा एकता कायम गर्न र एकीकृत ढंगले काम गर्नका निम्ति जनवादी केन्द्रियता अनिवार्य तत्व हो । अतः आजको अवस्थामा नेकपा (एमाले) लाई बलियो बनाउनका निम्ति लेनिनवादी संगठनात्मक सिद्धान्त र यसको सार जनवादी केन्द्रियता पार्टी संगठन निर्माण र परिचालनको महत्वपूर्ण आधार हो । आउनुहोस्, अब यस अर्थमा लुम्बिनी प्रदेश अधिवेशनमा हामीले खेलेको भूमिकालाई आत्म समीक्षा गरौं । लेनिनवादी संगठनात्मक सिद्धान्तको कसीमा दाजौ । कमी कमजोरीको आत्मसात गर्दै सबल पक्षको संवद्र्धन गरौं । अधिवेशनमा मूल नेतृत्व निर्माण गर्दा निर्वाचनको सन्दर्भमा अभिव्यक्त पक्षधरताको आधारमा जिल्ला भित्र पक्ष–विपक्षमा विभक्त भई गुट निर्माण गर्ने दुस्साहस नगरौं । विधिसम्मत रुपमा चुनिएको नेतृत्व प्रति सम्मान र भरोसा गरौं । सारमा, बहुमतको निर्णय कार्यान्वयन गरौं र अल्पमतको कदर गरौं। विभिन्न गैह्रजिम्मेवारपूर्ण, असहिष्णु र गलत प्रवृत्ति देखा परेको भए तापनि त्यस्तो प्रवृत्तिलाई निश्फल पार्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुमा सर्वसम्मति गर्न सकिएको छ, यस उपलब्धिलाई जिल्लाको पार्टी एकताको सम्पत्तिको रुपमा सदुपयोग गर्न नचुकौं!
लेखक, नेकपा (एमाले), सन्धिखर्क नगर कमिटी, अर्घाखाँचीका अध्यक्ष तथा लुम्बिनी प्रदेशका प्रदेश अधिवेशन प्रतिनिधि परिषद् सदस्य हुन् ।