© २०२३
पहाडी सडक यतिबेला हिलाम्मे छन् । गाउँ गाउँका कुनाकाप्चासम्म मोटर पु¥याउने नाममा भएको डोजर विकासको प्रतिफल अहिले गाउँसम्म एम्बुलेन्स जान सक्ने अवस्था छैन । कोही विरामी परे बोकेर मूल सडक वा सहर पुयाउनु पर्ने अवस्था छ । यही अर्घाखाँची र गुल्मी जिल्लामा भएको डोजरे विकासले जनतालाई सुविधाभन्दा पनि सास्ती भएको छ । विकासका नाममा अव्यवस्थित रूपमा चिरिएका पहाडमा बर्सेनी हुने पहिरोको भयलाई ख्यालख्याल सम्झिँदा जनताले पीडा खेप्नुपरेको छ । भौतिक विकासका नाममा पहुँचका भरमा बजेट खन्याएर भोट तान्न जथाभावी चलाइने डोजर र त्यसले जन्माएका प्राकृतिक विपत्तिबाट आज विकास हाम्रा लागि विनासको कारण बनिरहेको छ । वास्तवमा बर्खायाममा जनताले भोग्ने बर्सेनीका प्रताडनाचाहिँ राजनीतिक जुहारीजस्तो प्राथमिकतामा पर्दैन ।
चुरे क्षेत्रका नदीमा हुने दोहन र खोलाले फेरेको मार्गका कारण नेपालका तराई क्षेत्रमा ३७ जिल्ला डुबानमा परिरहने अध्ययनले देखाएको छ । बर्खामा भेलले तराईलाई डुबाउने अनि हिउँदमा पानी नभएर काकाकुल हुनुपर्ने व्यथा छ । खोलाको कमसल बाँधलाई पानीको वेगले भत्काउँछ । वर्षायामका हरेक साल असार, साउन र भदौका तीन महिना तराई क्षेत्रमा मात्रै नभएर पहाडी इलाकामा पनि उत्तिकै भय छ । वर्षाको प्राकृतिक नियमलाई मानिसको अप्राकृतिक व्यवहारले विशेषतः झुपड बस्तीका निम्न वर्गले बढी प्रताडना खेप्नुपरेको छ । यथार्थमा मानिसले प्रकृतिमाथि अत्याचार गरिरहेको छ । विगतका वर्षमा जसरी नै यस वर्षको मनसुन सुरु भएदेखि नै वर्षाले देशका विभिन्न क्षेत्रमा ठूलो संख्यामा जनधनको क्षति भइरहेकै छ । तथापि, यस्ता घटनामा सरकारले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने आधार खोज्न सकेको देखिन्न । क्षति भइसकेपछि उपचारमा हारगुहार गर्नुभन्दा जोखिमपूर्ण बस्तीको अध्ययन गरी बस्ती व्यवस्थापन गर्ने, सचेतना अभियान चलाउनेतिर ध्यान पुयाउनु आवश्यक छ । समस्या बाजा बजाएर आउने होइन । दुर्घटना भइसकेपछि योजनाका तानाबाना बुन्ने गरिँदा समस्या झनै बिकराल बन्दै गएको छ ।
विगत केही दिनयता निरन्तर बर्षा भैरहेको छ । बर्षा भैरहँदा पहाडी बस्तीमा गुड्ने अधिकांश मोटर अहिले बन्द छन् । त्यसमाथि डोजरले खनेको बाटोमा पहिरो, भूक्षयको जोखिम बढ्दै गएको छ । डोजरले खनेको सडक बढी जोखिममा छन । एक अध्ययनले कमजोर पहाडमा डोजरले खनेको सडक ८० प्रतिशत जोखिम रहेको देखिएको छ । ती सडकमा हिउँदमा समेत मुस्किलले यातायात सञ्चालन हुने गर्दछ । हतारमा गरिएको कामले लतपत निम्त्याएको छ । एक समय अभियानकै रूपमा पहाडी भू–भागमा डोजर आतंक सिर्जना गरियो । जनप्रतिनिधिहरूले कमाउनकै लागि डोजर खरिद गरेर ब्रम्हलूट मच्चाएको घटना सार्वजनिक भैसकेको छ ।
अन्ततः ती सडक अहिले लथालिङ्ग र भताभुङ्ग भएका छन । सरकारको लगानी बालुवामा पानी भएको छ । बाताबरणीय प्रभाव मूल्याँकन नगरि गरिएका विकास योजनाले क्षणिक विकासमात्रै होइन, विनासपनि निम्त्याउने गर्छ भन्ने पछिल्लो उदाहरण पहाडी सडक बनेका छन् । तसर्थ विकास गर्दा चेत पु¥याउनु पनि उत्तिकै जरुरी छ । जनप्रतिनिधिहरूले विगतका विकास निर्माणका कामको परिणाम र नतिजा हेरेर आगामी दिनमा हुने कामको योजना बनाउनु जरूरी छ । होइन भने हतारमा गर्ने कामले जनतालाई सुविधा भन्दा पनि हानी पु¥याउने निश्चित छ ।