© २०२३
’दर्शन’ शब्द संस्कृत तत्सम शब्द हो । यसको व्युत्पत्ति पाणिनीय व्याकरण अनुसार दृश् धातुबाट भएको पाइन्छ । “दृश्यते अनेन इति दर्शन“ भन्ने संस्कृत व्युत्पत्ति अनुसार दर्शनको अर्थ दृष्टिको माध्यम वा साधन भन्ने हुन्छ । यसलाई अङ्ग्रेजीमा philosophy भनिन्छ । यस शब्दको व्युत्पत्ति अनुसार दर्शन शब्दको अर्थ “ज्ञानप्रतिको अनुराग“ भन्ने हुन्छ । दर्शनले संसारका सम्पूर्ण चिज वा वस्तुका बारेमा अध्ययन र मनन गर्दछ दर्शन हरेक विचार वा विषयको व्यवस्थित दृष्टिकोण वा सोचाइ हो ।
रहस्यमय मानव जीवनसंग दर्शन शास्त्रको अटूट सम्बन्ध अनादिकालदेखि गाँसिएको छ ्र हाम्रा धर्म शास्त्र र दर्शन शास्त्रहरुको एकमात्र उद्देश्य परम् पुरुष परमात्मासंग मानव जातिको सम्वन्ध गाँसी, ईश्वर र मानवबीचको सम्बन्ध र तारतम्यको अन्वेषण गर्नु हो । यस अर्थमा त्यस्तो अन्वेषणको व्यावहारिक पक्ष हाम्रो ’जीवन पद्धति हो भने, त्यसैको सैद्धान्तिक पक्षलाई “दर्शन” भनिएको छ । मानव जीवनको मीमांसा गर्नु अर्थात त्यसप्रति जिज्ञाशा राख्नु, हाम्रा दर्शन शास्त्रहरूको उद्देश्य हो । हामी को हौँ ? के हौँ ? कहाँबाट आयौं ? किन आयौं ? जस्ता यावत् सन्दर्भमा टेकेर दर्शन शास्त्रको उत्पत्ति भएको हो । दार्शनिक चिन्तकका चिन्तनहरु, दृष्टिकोणहरु समयको प्रवाहको कारण बेग्ला बेग्लै हुन पुगेको कारणले गर्दा हाम्रा विचारहरुलाई विश्लेषण गर्ने थुप्रै पद्धतिहरु जन्मिन पुगे । जसले गर्दा सनातनी संसारमा थुप्रै दार्शनिक सिद्धान्तहरु र सो अनुरुपका सम्प्रदायहरु पनि जन्मिन पुगे । आजको दिनमा, सनातन हिन्दू परम्परामा दार्शनिक चिन्तन मनन गर्ने परम्पराको सुरुवात कहिलेदेखि, कसले र किन सुरु ग¥यो ? भन्न सकिने अवस्था नभए पनि यसको प्रचलन एवं सुरुवात प्राग् ऐतिहासिक कालदेखि भएको हो भन्ने कुरामा शंका गर्ने ठाउँ छैन । वैदिक संहिताहरुबाट निस्किएका दर्शनहरुको प्रमुख एवं मूल तत्वहरु – ईश्वर, जीव, प्रकृति, सृष्टि, उत्पत्ति, जन्म, मृत्यु, मोक्ष, स्वर्ग, नर्क आदि हुन् । यिनै कुराहरुको चिन्तन अनि जिज्ञासा क्रमशः बढ्दै जाँदा पूर्वीय दर्शनको उत्पत्ति भएको मानिन्छ ।
पूर्वीय दर्शनको खास परम्परा हिन्दू धर्मसँग जोडिएको छ । संस्कृत भाषामा सनातन धर्म भनेर चिनिएको हिन्दू धर्मका अनुयायीहरुले “वैदिक सनातन वर्णाश्रम धर्म” पनि भन्ने गरेको पाइन्छ । यसो भन्नुको पछाडिको तर्क यसको सुरुवात् मानव उत्पत्ति भन्दा पहिलेदेखि भएको हो भन्ने अर्थमा हो । त्यसैले हिन्दू धर्मलाई हाम्रा समस्त वैदिक, पौराणिक परम्परा र संस्कृतिहरुको सम्मिश्रण मानिएको हो । अन्य धर्म जस्तो हिन्दू धर्मभित्र कोही संस्थापक रहेका छैनन् । यो वेदमा आधारित धर्म भएको हुँदा यसभित्र थुप्रै परम्परा, उपासना पद्धति, मत, सम्प्रदाय, दर्शनहरु हुर्किएको पाइन्छ । यो बहुदेवको अस्तित्व स्वीकार्दै एकेश्वरवाद्लाई पृष्ठपोषण गर्ने धर्म भएकोले यसलाई विभिन्न कालखण्डमा सनातन धर्म, हिन्दू धर्म, वैदिक धर्म, हिन्दू आगम आदिजस्ता अनेकौँ नामले चिनाउँदै आइएको छ । यसै सन्दर्भमा पूर्वीय दर्शनभित्र साङ्ख्य, योग, न्याय, मीमांसा, वैशेषिक र वेदान्त गरी छवटा दर्शनहरुको विकास एवं सम्बन्ध रहेको छ ।
पूर्वीय दर्शन आर्य सभ्यतासँग सम्बन्धित छ । पूर्वमा जीवन जगत, ईश्वर, जीव, प्रकृति आदि विषयहरूमा गरिएका गहिरो चिन्तन र विचारहरूको सामूहिक रुपमा नै पूर्वीय दर्शनले प्रकृति, जीवन र जगत विषयमा वैदिक कालदेखि सुक्ष्म अध्ययन हुँदै आएको पाइन्छ । अन्तर तत्वको साक्षात्कार गर्नका लागि अलौकिक तत्वको आवश्यकता पर्दछ । पूर्वीय दर्शनको महत्वपूर्ण प्राप्ति भनेकै आस्तिक दर्शन हो । आस्तिक दर्शनको उचाइका आधारमा विश्वमा नै पूर्वीय दर्शनको स्थान उच्च हुन पुगेको छ । यसलाई वैदिक दर्शन पनि भनिन्छ । सम्पूर्ण धर्मको मूलभूत रूपमा रहेको वेदको केन्द्रीयतामा नै आस्तिक दर्शनले विचार विमर्श गर्ने भएकाले आस्तिक दर्शनलाई वैदिक दर्शन पनि मानिएको छ । आस्तिक दर्शनको आधारस्तम्भ नै वेद हो । यस दर्शनलाई सनातन दर्शन, नैतिक दर्शन वा आर्य दर्शन पनि भनिन्छ । पूर्वमा दर्शनको प्रारम्भ वैदिक वाङ्मयदेखि सुरु भई पुराण तथा विभिन्न दार्शनिक ग्रन्थहरूमा समेत यसको व्याप्त देखिएको छ । पूर्वीय मान्यता अनुसार दर्शन भनेको आन्तरिक तत्वबोध अर्थात् आत्मबोध हो ।
पूर्वीय आस्तिक दर्शनका अनुसार “जगतको कोही एउटा मूल अर्थात् नियामक तत्व रहेकोे र त्यसकै माध्यमले जगत् चलिरहेको छ ।” जगतको मूल तत्व एउटै हो भन्ने कुरामा षड्दर्शनमा विवाद नदेखिए तापनि जगतका समवायीकारण र निमित्त कारणमा भने विवाद देखिन्छ । दर्शनले हामीलाई यथार्थको द्वारसम्म मात्र पुर्याउँछ तर प्रवेश भने गराउँदैन । भित्र प्रवेश गर्नका लागि अन्तरदृष्टि वा आत्मज्ञान चाहिन्छ । पूर्वीय दर्शन यही अन्तर्दृष्टि वा आत्म ज्ञान प्राप्तिका लागि साधनहरूको खोजी गर्दछ र आन्तरिक ज्ञान प्राप्तिको लागि मानवलाई प्रेरणा दिने काम गर्दछ साथसाथै मानव जीवनलाई पुनर्जन्मको चक्रबाट जोगाई तिनलाई मोक्ष दिलाउनु पूर्वीय दर्शनको मुख्य उद्देश्य हो ।