© २०२३
‘बाँदरले साह्रै सतायो, समयमा गास टिप्नु छैन, यस्तो तालले के गाउँमा बसेर कृषि गर्नु खै, यो बाँदर नियन्त्रण गर्नसके कति सुख हुन्थ्यो नि बरै, स्थानीय सरकारले बाँदर नियन्त्रण गर्न केही गर्दिए नि हुन्थ्यो नि ।’
माथिका गुनासो जनित वाक्यहरू आजकल पहाडी गाउँका अधिकांश कृषकहरूका आवाजहरू हुन् । यस्ता अनेकौं निराशाजनक कुराहरू गुन्जन्छन् गाउँमा आजकल । बाँदरले दुःख दियो, समस्या पर्यो भन्ने त धेरै छन् तर बाँदर नियन्त्रण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना बनाउन भने खासै पहल भएको देखिन्न । केन्द्र, प्रदेश तथा स्थानीय तह तीनै तहको सदनदेखि सरकारसम्म बाँदर आतंक सम्बन्धि चर्चा भने भएकै हो तरपनि ठोस योजना बन्ने र समस्या समाधान गर्ने काम भने हुन सकेको छैन ।
अधिकांश पहाडी गाउँको अवस्थाः
नेपालको अधिकांश पहाडी भूगोल बिकासका पूर्वाधार निर्माणका दृष्टिकोणले कठिनप्राय छन् । अहिले धेरै ठाउँमा सडक सञ्जालले जोडिईसकेको भएतापनि बर्षायाममा भने धेरै सडक अबरुद्ध हुने, जोखिम मोलेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता भने धेरैजसो पहाडी बासिन्दालाई सामान्य भैसकेको छ । भलै सेवा प्रबाह र गुणस्तरमा प्रश्न गर्ने ठाउँ अवश्य होला तर सडक, बिजुली बत्ति, ईन्टरनेट, प्रत्येकक गाउँ बस्तीमा बिद्यालय, स्वास्थ्य संस्था लगायतका अधिकांश बिकासका पूर्बाधार हरेक गाउँमा पुगिसकेका छन् । धेरैजसो घरका आँगनमै मोटरसाइकल पुगेका छन्, खानेपानीको धाराहरू घरभित्रै खस्छन्, बिस्तारै सुविधाहरू गाउँघरमै पुग्दैछन् । वैदेशिक रोजगारीले जनताको क्रयशक्ति बढेको छ, धेरैजसो पुराना घरहरूपनि रंगीन जस्तापाताले रंगिएका छन् । बारी र खरबारीमा प्रसस्तै दाउरा हुनेहरूको घरमा पनि दाउरा भन्दा ग्याँस चुलो नै बढी जल्छ । यस्ता धेरै कुराहरू हेर्ने हो भने अब गाउँ बिस्तारै सुबिधा सम्पन्न हुँदैछ । तर, बिडम्बना भनौ वा अरू केही गाउँबाट बसाइँसराई भने रोकिएन, स्कुल जाने उमेर नभएका र केश पाकेका मान्छेहरूले प्राण दिएका छन् हाम्रा गाउँहरूलाई । आजकल हाम्रा गाउँहरू रित्तिदैँ छन्, बारीहरू बाँझिएका छन्, झाडीहरू बढ्दैछन्, टारी खेतहरू जंगलमा परिणत भैसके । त्यसैले गाउँ आजकल बिरामी छ । बिरामी गाउँलाई प्राण दिईरहेका हाम्रा बा–आमाका अनुहार मलिन बनाइदिने कारक बनेका छन् – बाँदर ।
बाँदर आतंक किन बढे होला ?
हुन त अन्य थुप्रै कारण होलान्, सम्बन्धित क्षेत्रका बिज्ञहरूले आ–आफ्ना तर्क राख्लान् तर मेरो बुझाईमा बाँदर गाउँ पस्नु र मकैबालीमा यति क्षति पुर्याउनुका केही कारणहरू यहाँ उल्लेख गरेको छु ।
१. सडक निर्माण गर्दा अधिकांश वर, पिपल, स्वामी र आँपजस्ता रुखहरू काट्नु जसका फल खाएर थुप्रो संख्यामा बाँदरहरू भुल्थे ।
२. जंगलमा पाइने रैथाने फलफूलहरू च्युरी, तिँजु, काफल, म्याल, फँडेलका रुखहरू काटेर बेच्नु जसले थुप्रै बाँदरहरूको भोक मेटाउँथे ।
३. सामुदायिक वनको अबधारणा आएपछि ठूला रुखहरू बेचिनु र पोथ्रा र झाडीहरू बढ्नु ।
४. जंगलको छेउँछाउँका बारीहरू बाँझा हुनु जसले बाँदरहरू भुलाउँथे ।
५. भान्सामा ग्याँसको प्रयोग बढ्दा दाउरा नकाटिनु, झाडी, पोथ्रा बढेर जंगली जनावरहरू लुक्ने ठाउँ बढ्नु ।
६. पशुपालन घटेर घाँस, स्याउला नकाट्दा झाडी÷जंगल बढ्नु ।
७. गाईबाख्रा चराउन बनजंगल नलैजाँदा, पहाडी बस्तीमा मानिसहरूको चहलपहल घट्दा जंगली जनावर गाउँ पस्न नडराउनु ।
बाँदर नियन्त्रणका उपायहरू के–के हुन सक्लान ?
कानुन, ठूला योजना वा भविष्यमा हुनसक्ने ठूला प्राबधान त कैयौं हुन सक्लान् तर स्थानीय तह वा गाउँहरू मिलेर केही पहलहरू गर्न सकिन्छ । जस्तैः
१. जंगलमा भएका म्यालको हाँगाहरूमा नास्पाती जोडिदिने, २–४ बर्षमै फल्न थाल्छन् ।
२. च्युरी, फँडेल, जाबुनका रुखहरू लगाउने, जोगाउने ।
३. भएका पिपल, वर, स्वामी, आँपका रुखहरू संरक्षण गर्ने, हुर्काउने ।
४. जंगल छेउछाउका बाँझिएको बारीहरूमा इस्कूस, केरा, अलिअली मकै, बोडी लगाईदिने ताकी बाँदरहरू तेतै अल्मलिउन् ।
५. गाउँका बाँझिएका टारी खेतहरू, बारीहरू सकेसम्म स्वयं जग्गाधनीले खेती गर्ने, नभए सामूहिक खेती गर्ने ।
६. बन तरुल, गिठा, भ्याकुर र वनमा फल्ने अन्य फलहरूको संरक्षण गर्ने ।
७. उच्च पहाडी भेगमा बृक्षारोपण गर्दा उत्तिस र सल्ला भन्दा फल लाग्ने बिरुवालाई प्राथमिकता दिने ।
८. ब्यक्तिगत÷ सामुदायिक बन, खरबारीमा समय समयमा झाडीहरू फडान गरि सफा बनाउने ।
९. घाँस, स्याउला, दाउराको उपभोग बढाउने ।
१०. कृषि सँगै पशुपालनलाई पनि जोड दिने ।
११. स्थानीय तहले बसाइँ सराईलाई सकेसम्म निरुत्साहित गर्ने ।
यसरी हामी सबैको सामूहिक प्रयास हुने हो भने बाँदर नियन्त्रणमा केही सहज पक्कै हुनसक्छ । तर हाम्रो समस्या एउटै छ, थाहा सबैलाई छ तर सुरुवात गर्ने, कार्यान्वयन गर्ने उत्साह र जाँगर कसैलाई छैन । हामी कुरा जान्ने तर काम नजान्ने बर्गमा पर्छौं । तैपनि गाउँ बचाउन, पहाड बचाउन केही त पक्कै गर्नैपर्छ ।
अहिलेका स्थानीय जनप्रतिनिधिले बाँदर नियन्त्रणमा केही देखाउन लायक पहल गर्ने हो भने २०८४ को चुनावमा उनीहरूलाई प्रचारप्रसार गर्न हिड्नै पर्ने थिएन होला । त्यसैले अब हामी सबैको सामूहिक प्रयास भनेको पहाडी जीवनशैलीलाई सकेसम्म सजिलो÷सुरक्षित बनाएर बढ्दो बसाइँसराई रोक्ने हुनुपर्छ ।
ब्यवस्था परिवर्तनको नाममा ल्याएको संघीयता र गाउँ गाउँमा सरकारको ब्यवस्थाले पनि बढ्दो बसाइँसराईलाई रोक्न सकेको छैन । किनकि गाउँमा जनताले सुरक्षित महसुस गर्न सकेका छैनन् । पहाडी जनताको मुख्य पेशा नै कृषि हो र बाँदर र बदेल आतंकले प्रताडित छन् कृषकहरू । त्यसैले पहाडी जग्गा जमिन बाँझो नराख्ने र फलेको खेती ढुक्कसँग भित्राउन सक्ने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानु जरुरी छ ।