© २०२३
वैदिक सनातन परम्परामा विभिन्न किसिमका चाडपर्वहरु रहिआएका छन् । ती चाडपर्वहरुको आफ्नै शास्त्रीय, साँस्कृतिक एवं वैज्ञानिक महत्व रहेको पाइन्छ । यसै सन्दर्भमा प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीहरुले निकै महत्वका साथ जनैपूर्णिमा एवम् रक्षा बन्धन पर्व मनाउने गर्दछन् । यस पर्वमा बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर वैदिक विधि अनुसार गुरु पुरोहितबाट मन्त्रण गरिएको यज्ञोपवित अनि रक्षासूत्र (डोरो) बाँध्ने शास्त्रीय विधान रहिआएको छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट बच्न सकिने धार्मिक मान्यता पनि रहिआएको छ ।
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल । तेन त्वां प्रतिबध्नामि रक्षमा चलमाचल’ । सत्ययुगमा दानवहरुले लखेटेका देवताहरुलाई गुरु वृहस्पतिले रक्षासूत्र तयार गरी अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी रक्षाबन्धन (डोरो) बाँधेर जोगाएका थिए भन्ने शास्त्रीय मान्यता एवम् विश्वाससँग यो पर्व जोडिएको छ । मानव कल्याण एवं रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितहरूले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान विभिन्न शास्त्रहरुमा उल्लेख गरिएको छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर शुद्ध भएर बस्ने चलन पनि छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी सप्त ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । जनपूर्णिमाका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रहिआएको छ ।
हिन्दू धर्मका वैदिक ग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैमा रहेका तीन शिखालाई ब्रह्मा, विष्णु र महेश्वर तथा नौवटा डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योगका साथसाथै नौवटा देवताहरुको बासस्थान पनि मानिन्छ । विधिपूर्वक जनै शुद्धीकरणका लागि यजमानहरू बिहान सबेरै आ–आफ्ना गुरु पुरोहित कहाँ जाने गर्दछन् । त्यस्तै सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलीलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा प्रदान गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ । अतः श्रावण शुक्ल पूर्णिमाका दिन अध्यायोपाकर्म गरिन्छ । यसै सन्दर्भमा शास्त्रमा पनि विशेष महत्वका साथ उल्लेख गरिएको छ । ‘ब्रह्मयज्ञादधिकोकस्ति यज्ञो न तत् प्रदानात् परमस्तिदानम् । सर्वे स दानाक्रतवः तदन्ता नान्तो दृष्टो कैश्चिदस्य नृलोके ।’ अर्थात् – ब्रह्मयज्ञ (वेदपाठ) भन्दा न कुनै ठूलो यज्ञ छ, न त्यसको प्रचार भन्दा ठूलो दान छ । किनकी सबै दक्षिणाशक्ति सहित भएका यज्ञहरू ब्रह्मयज्ञभित्रै हुन्छन् । स्वाध्याय (ब्रह्मयज्ञपितृतर्पण) पितृका निम्ति अन्नदान, होम, भूतवलि र अतिथि सत्कार जस्ता दैनिक गर्नुपर्ने पञ्चमहायज्ञलाई (शुक्लयजुर्वेद शतपथ ब्राह्मणमा–भूतयज्ञ, देवयज्ञ, पितृयज्ञ, मनुष्ययज्ञ र ब्रह्मयज्ञ भनी वर्णन गरिएको छ) । स्मरण गराउने दिनको रूपमा पनि द्विजजातिहरू (तागाधारीहरू) ले यो पर्व मनाउने गर्छन । उपनयन (ब्रतबन्ध) गरी वैदिक परम्पराले दिएको शिक्षा दिक्षा समेतको उचित तवरले पालना गरी सत्कर्ममा लाग्न समेत यसपर्वले स्मरण गराइरहन्छ ।
येन बद्धो बलिः राजा दानवेन्द्रो महावलः ।
तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल ।।
अर्थात् ‘जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन (डोरो) बाट अत्यन्त बलशाली दानवराज बलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ ।’ भन्ने अर्थ भएको पौराणिक मन्त्र पढेर रक्षाबन्धन बाँध्नेको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । जनैमा प्रयुक्त हुने नौ डोरा ३ ग्रन्थि वा शिखाहरूले ईश्वरीयज्ञान र जीवनचक्रबारे वास्तविक रहस्य बुझ्ने कुरामा मार्गदर्शन गर्न सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देवऋण, ऋषिऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । दानवी शक्तिबाट रक्षित हुनका लागि आजैका दिन रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिन्छ । जनै पूणिर्माको दिन बाँधिएको रक्षाबन्धन गाई तिहारका दिन गाईको पुच्छरमा बाँधी दिएमा मृत्युपछि वैतरणी नदी सजिलै पार हुने जनविश्वास छ । सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौद्ध धर्मावलम्वीहरूले पनि आजको दिनलाई विशेष महत्वका साथ लिने गर्दछ्न् ।
जनैमा प्रयोग हुने नौवटा डोरा, ३ वटा ग्रन्थी अर्थात् शिखाहरूले ईश्वरीयज्ञान र जीवनचक्रबारे वास्तविक रहस्य बुझ्ने कुरामा मार्गदर्शन गर्न सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देवऋण, ऋषिऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । दानवी शक्तिबाट रक्षित हुनका लागि आजैका दिन रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिन्छ । जनैपूर्णिमाको दिन बाँधिएको रक्षाबन्धन गाई तिहारका दिन गाईको पुच्छरमा बाँधी दिएमा मृत्युपछि बैतरणी नदी सजिलै पार हुने जनविश्वास छ ।
ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ । यज्ञोपवित धारण बैदिक बिधानद्वारा सँस्कारित द्विजहरुले गर्ने गर्दछन भने अन्य सबै नारी पुरुषले डोरो वा रक्षाबन्धन धारण गर्ने गर्दछन । रक्षा बन्धनको धारणले व्यक्तिलाई बिबिध किसिमका अप्ठ्यारो परेको बेलामा पनि रक्षा गर्नेछ भन्ने धार्मिक मान्यता र किम्बदन्तीहरु पाइन्छन । बैज्ञानिक दृष्टिबाट पनि जनै लगाउँदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ । यसले हृदय रोगको सम्भावनालाई कम गर्छ, चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग पनि यज्ञोपवित धारणको सम्बन्ध जोडिएको बताइएको छ । सबैको जय होस् ।