© २०२३
मेरो घर भलुही हो भन्दा प्रायः सोधिने प्रश्न– कता छ यो ? भलवारी भनेको कि भुमही ?
बुद्धको मावली मानिएको देवदह नागरपालिका वडा नं ९ र १० रोहिणी किनारमा रहेको भलुही बजार आज न आफ्नै पालिकाले देखेको छ न अन्य पालिकामा बस्ने बासिन्दाले सुनेका छन् ।
देवदह नगरपालिका वडा नं ९ र १० मा पर्ने चुरे पहाडको फेदैमा अवस्थित भलुही बजार चारै तर्फबाट प्राकृतिक सुन्दरताले घेरिएको छ । न त बढी जाडो हुने न त बढी गर्मी हुने भलुही बजार निकै रमणीय वातावरणमा अवस्थित रहेको छ । भलुही आउने क्रममा रोहिणी गंगा र कामधेनु गौशालाले आशीर्वाद दिइरहेका हुन्छन् । विभिन्न ठाउँबाट तराइ झरेकाहरुको लागि भलुही एक उपयुक्त गन्तव्य बन्न पुगेको छ । बुटवलबाट थोरै समयमा पुगिने, महेन्द्र राजमार्गले हृदयबाट बाटो बनाएको भलुहीमा बसाइसराइ गरेर आउनेको संख्या निकै बढेको छ । प्राचीन कालदेखि नै रोहिणी नदी अवलोकन गर्न धेरै श्रद्धालुहरु आउने गरेको पाइन्छ । भलुही प्राकृतिक रमणीयताले सम्पन्न भएसँगै धार्मिकरुपले पनि उत्तिकै पवित्र रहेको छ । देवदह भलुहीमा रहेको रोहिणी नदीलाई बौद्धकालीन समयदेखि नै पवित्र तीर्थस्थलका रूपमा मानिएको छ ।
प्राचीन कालमा कोलिय राज्य र शाक्य राज्य (कपिल राज्य) बीचमा रोहिणीको पानीको बिषयलाई लिएर विवाद हुँदा गौतम बुद्धले रोहिणी नदीको किनारमा आएर दुबै राज्यलाई मिलाएको किंवदन्ती समेत रहेको छ । विभिन्न लेखहरुमा भुगर्भविदका अनुसार अहिलेको तिनाउ नदी त्यही रोहिणी नदीबाट निकालिएको कपिलराज्य तर्फको भंगालो हो । भूक्षय र अन्य कारणले वर्तमानको रोहिणी नदीसँग यसको सम्बन्ध विच्छेद भएको हो भन्ने तर्क उल्लेख भएको देख्न सकिन्छ । अर्को प्रचलित किंवदन्ती अनुसार दक्षप्रजापतिकी छोरी रोहिणीलाई चन्द्रमाले विवाह गर्नका लागि भगाएर लैजाँदा दक्षप्रजापतिले थाहा पाएपछि लखेटेका थिए । प्रजापतिले लखेट्दा चन्द्रमाले महादेवसँग शरण माग्दा महादेवले टाउकोमा शरण दिएका र रोहिणी भाग्दै गएर पाल्पाको सत्यवती तालको नजिक लुकेकी थिइन् । तालको दक्षिणी स्थान अर्थात लुकेको ठाउँबाट उत्पत्ति भई बगेको नदी नै रोहिणी भएकाले यसको ठूलो धार्मिक महत्व रहेको स्थानीयहरू बताउँछन् ।
अहिले भलुहीस्थित ठाउँमा धेरै पहिला थारु सामुदाय बसोबास गरेको इतिहास देख्न सकिन्छ । रोहिणीको पानी सिंचाइमा प्रयोग गरेर अन्न उत्पादन गर्ने र बेच्ने गरेर थारुहरु निकै समृद्ध भएका थिए भन्ने कुरा उहिले अंग्रेजहरुले पत्रिकामा लेखेका थिए रे । आफ्नै मौलिक कला, संस्कृति सहित खेती किसानी गर्ने थारुहरु निकै बहादुर र जस्तो पनि काम गर्न अब्बल रहेका थिए । उनीहरु रोहिणी, तिनाउ जस्ता नदीबाट निकै ठुला ठुला नहर खन्ने र विभिन्न ठाउँमा अन्नबाली उब्जाउने गर्थे । जहाँ जहाँ थारुहरु बसे र अन्न उब्जाउन थाले त्यो ठाउँमा वर्तमान समयमा निकै विकास भएको यहाँका स्थानीय थारुहरुको दाबी छ । पहाडबाट नुन किन्न आउने र विभिन्न अन्न किनेर लैजाने प्रचलन थियो । करिब ५०–६० वर्ष यता भने एक दुई जना पहाडी मधेस पस्न थाले र भलुहीमा बसोबास गर्न थाले । आफू सानो छँदा वरपर बस्ने मान्छे फरक फरक सम्प्रदायका भएपनि सबै मिलेर बस्ने सबै एक अर्काको संस्कृतिमा रमाउने र सँगै खेल्ने गरेको यहाँका बुढापाकाहरु बताउँछन् । यसरी बिस्तारै बिस्तारै पहाडीयाहरु तराई बसाइसराइ गर्ने क्रम बढ्दै जाँदा भलुहीमा पनि मान्छेको चाप बढ्न थाल्यो ।
समुन्द्रको बीचमा एक टापु रहेजस्तै भलुही पनि जताततैबाट जंगलले घेरिएको छ । तीन तर्फबाट जंगलले घेरिएको र एकतर्फ तिलोत्तमा नगरपालिकासँग सिमा साट्ने गर्छ । नेपालकै ठुलो राजमार्ग अन्तर्गतको महेन्द्र राजमार्गले भलुहीलाई मध्य भागबाट दुई वटा वडामा विभाजन गरेको छ । उत्तरपट्टीको भाग देवदह नगरपालिकाको वडा नं. १० भित्र पर्छ भने बाटोबाट दक्षिणको भुभाग वडा नं. ९ मा पर्ने गर्छ । भलुहीभित्रै दुइटा वडा परे पनि वडा कार्यालय भने एउटा पनि रहेको छैन । वडा नं. ९ को वडा कार्यालय भलुहीबाट ३–४ किलोमिटर पुर्व जंगलको अर्को भागमा छ र १० को वडा कार्यालय भलुहीबाट ३–४ किलोमिटर पश्चिमतर्फ जंगलको अर्को भागमा छ । यसरी आफ्नै गाउँ ठाउँमा कार्यालय नहँुदा भलुही निवासीलाई सेवा लिन जाँदा पनि निकै समस्या आउने गरेको यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् । धार्मिक, संस्कृतिक, पर्यटकीय दृष्टिकोणले भरिपूर्ण हँुदाहँुदै पनि प्रचार प्रसारको अभावमा भलुही आज बत्ती मुनिको अँध्यारो जस्तै बनेको छ । यहाँका प्राकृतिक सम्पदाले प्रचार प्रसार पाएका छैनन् । देवदह मेडिकल कलेज भलुहीमा अवस्थित छ । यो यहाँको पहिलो मेडिकल कलेज हो जहाँ उच्च आधुनिक प्रणालीद्वारा बिरामीको उपचार र विद्यार्थीलाई अध्यापन गराइन्छ । भलुही प्राविधिक कुरामा पनि अगाडि नै छ । तर पनि देवदह नगरपालिका भित्रकै मान्छेले भलुहीलाई नचिन्ने अवस्था देखिएको छ । अन्य नगरपालिकामा बसोबास गर्ने बासिन्दाले व्यापारिक केन्द्र भनिएको बुटवलबाट त्यति नजिक अवस्थित भलुहीको नाम सुन्दा अचम्मित परेका हुन्छन् । यो नाम उनीहरुलाई नौलो छ ।
भलुहीमा प्राचीन कालदेखि मूलरुपमा बसोबास गर्दै आएका थारुहरु आज ओझेलमा परेका छन् । उनीहरुको संस्कृति ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक मान्यता बोकेको थारु संस्कृति नै ओझेलमा परेपछि भलुहीलाई चिनाउने अन्य आधार बाँकी रहँदैन । उक्त समस्या हल गर्नका लागि थारु संस्कृति बचाउनका लागि थारुहरुको समिति बनाएर उनीहरुलाई वडाको विकासतर्फ उन्मुख गराउने, थारु संस्कृतिका विभिन्न मन्दिरहरु बनाउने, थारुहरुको मुख्य चाड छठ पर्वमा सम्पूर्ण वडाबासीलाई सामेल बनाएर सबैबीच भाइचाराको सम्बन्ध कायम गर्ने र थारु संस्कृति जगेर्ना गर्ने, भलुहीलाई चिनाउन यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रहरूको प्रचार प्रसार गर्ने लगायतका काम गरिएको यहाँका प्रतिनिधिको भनाई छ । यदि यो समस्या हल गर्नका लागि नगरपालिकाले ध्यान दिएन भने भलुहीबासीलाई आफ्नो अस्तित्व चिनाउन समेत कठिन हुनेछ ।
(लेखक कालिका मानवज्ञान मावि कक्षा १२ मा अध्ययरत विद्यार्थी हुन्)