© २०२३
रुपन्देही रुद्रपुरकी रिता पोख्रेल (ढुगाना) पाँच सय माछाको भुरा लिदै थिइन । १५ कठ्ठा, ६ कठ्ठा र एक कठ्ठा गरी फरक फरक क्षेत्रफल रहेका तीन वटा पोखरीमा माछा पालन गरिरहेकी उनी सानो पोखरीका लागि भुरा लिन मत्स्य विकास केन्द्र, भैरहवा आएकी हुन । ढुंगाना जस्तै दैनिकजसो यहाँ माछाको भुरा लिनका लागि किसानको भिड लाग्ने गर्दछ । त्यसमध्ये महिलाहरुको सहभागीता राम्रो देखिएको केन्द्रका प्रमुख तथा मत्स्य विकास अधिकृत महेशचन्द गुप्तले बताए । माछाको हेरचाहमा महिलाहरुले सजिलै गर्न सक्ने हुदा तालिममा समेत उनिहरुको सहभागीता उल्लेखनीय रहेको उनको भनाई छ ।
प्रति गोटा ७५ पैसामा उपलब्ध गराउँदै आएको मत्स्य विकास केन्द्रले आर्थिक बर्ष २०७४÷०७५ मा ह्याचलिङतर्फको उत्पादन ४ करोड २५ लाख लक्ष्य राखिएकोमा ४ करोड ६८ हजार बिक्री गरेको छ । केन्द्रले फ्राई उत्पादनको लक्ष्य १० लाख राखेकोमा १० लाख ५ हजार र फिङ्गलिङ्गतर्फ ३५ लाख लक्ष्य राखेकोमा ३६ लाख ६२ हजार बिक्री बितरण गरेको छ । केन्द्रले मत्स्य बिज उत्पादनतर्फ ह्याचलिङ, फ्राई उत्पादन र फिङ्गलिङ्ग गर्ने गर्दछ । केन्द्रले खाने माछातर्फ १ हजार किलो उत्पादन गर्ने लक्ष्य राखेकोमा १ हजार ५ सय किलो उत्पादन गरेको जनाएको छ । मत्स्यको भुरा र माछा उत्पादनका क्रियाकलापबाट ४६ लाख ४९ हजार १ सय ७४ रुपियाँ राजस्व आम्दानी गरेको गुप्तले जानकारी दिए ।
उन्नत जात र प्रविधिको प्रयोग सिक्न चाहने किसानका लागि मत्स्य विकास केन्द्र, भैरहवाले प्राविधिक सहयोग गर्दै आएको छ । केन्द्रले मुख्यगरी मत्स्य बिज उत्पादन, खाने माछा उत्पादन र किसानका लागि तालिम प्रदान गर्ने गर्दछ । किसानलाई मत्स्य ल्याबका साथै प्राविधिक सहयोग गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको हो । केन्द्रले मुख्य गरेर माछाको भुरा उत्पादन र खाने माछा उत्पादनमा किसानलाई सहयोग गर्ने गरेको मत्स्य विकास केन्द्र, भैरहवाका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत महेशचन्द्र गुप्तले बताए । गुप्तका अनुसार केन्द्रले किसान र फारमहरुलाई मत्स्य ल्याब सेवाका साथै भुरा उत्पादन र खाने माछा उत्पादनमा प्राविधिक सहयोग गर्ने गरेको छ ।
मत्स्य विकास केन्द्र, भैरहवाका अनुसार केन्द्रको कार्यक्षेत्र सात जिल्लामा पोखरी र प्राकृतिक जलाशय गरी करिब तीन हजार हेक्टरमा माछा पालन हुदै आएको छ भने करिब ५ हजार २ सय किसान सहभागी छन् । केन्द्रले प्रदान गर्ने तालिममा ३५ देखि ४० प्रतिशत महिला किसानले सहभागीता जनाएका छन् ।
४ वटा एक हप्ते तालिमबाट ८० जना किसानले तालिम लिएको र घुम्ती स्थलगत १२ वटा तालिमबाट ३ सय ६० जना किसान लाभान्वित भएको केन्द्रको भनाई छ । बुटवल आर्थिक बर्ष २०७४÷०७५ मा मत्स्य विकास निर्देशनालय अन्तर्गतका कार्यालयहरुमध्ये मत्स्य विकास केन्द्र, भैरहवा उत्कृष्ठ कार्यालयको रुपमा पुरस्कृत भएको थियो । २३ हेक्टर क्षेत्रफल रहेको केन्द्रमा ४८ वटा माछा पोखरी छन् ।
पोखरीमा माछाको भुरा राख्ने समय माघको तेश्रो हप्तादेखि शुरु हुने भएपनि पोखरीका माछा निकालेपछि राख्नका लागि किसानहरुले भुरा माछा लगि नर्सरीमा राख्ने गर्दछन् । यसरी माछा पालन गर्दा एकै पोखरीबाट बर्षको दुई पटक माछा उत्पादन गर्न सकिने मत्स्य प्राविधिकको भनाई छ ।