© २०२३
लमही, ६ भदौ ।
दाङको गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययन टोलीले गढवा गाउँपालिकामा अध्ययन गरिरहेको छ ।
ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंको चार सदस्यीय र सेरामिक हब सम्भाव्यता अध्ययन समितिका संयोजक र सदस्यहरु सहितको टोलीले गढवा गाउँपालिकाको बिभिन्न स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको सेरामिक हव संभाव्यता अध्ययन समितिका संयोजक आशाराम चौधरीले जानकारी दिए ।
सम्भाव्यता अध्ययन गरी कार्ययोजनाको खाका सहितको प्रतिवेदन पेश गर्न गढवा गाउँपालिका वडा नं. ३ का वडा सदस्य आशाराम चौधरीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
समितिमा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेश्वर महतो, अग्रज कलाकार गोपाल कलाप्रेमी, गढवा गाउँपालिका वडा नं ६ का वडा सदस्य मानु कुमाल र वडा नं. ३ का वडा सदस्य तथा कलाकार चुनुराम थारु सदस्य रहेका छन् । उक्त टोलीले सेरामिक हब सम्भाव्यता अध्ययन पश्चात प्रतिवेदन पेश गर्ने सम्भाव्यता अध्ययन समितिका संयोजक आशाराम चौधरीले जानकारी दिए ।
गढवामा माटोको भाँडा बनाउने व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न गढवा गाउँपालिकाले पहल सुरु गरेको छ र ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सिपलाई आधुनिकीकरण गर्ने र भविष्यमा पालिकालाई नै सेरामिकको हब बनाउने योजना अनुसार काम सुरु गरिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।
माटाका भाँडा बनाउने परम्परागत कलालाई संरक्षण गर्दै प्रविधिमैत्री बनाउने र त्यसलाई आर्थिक उपार्जनसँग जोड्ने लक्ष्य अनुसार गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउने तर्फ पालिका निरन्तर लागि परेको अध्यक्ष पोख्रेलले बताए ।
सम्भाव्यता अध्ययन टोलीले गढवा, पत्रिङ्गा, खैरा र पचाहका लगायतको ठाउँमा अध्ययन गर्ने र गढवा गाउँपालिकामा समेत जनप्रतिनिधिसंग छलफल गरेको छ । हाल यी ठाउँहरुमा बसोवास गर्ने कुमाल र चौधरी समुदायका व्यक्तिहरुले गमला, खुत्रुके, गाग्री, दियो लगायतका सामग्री बनाउने र बिक्री वितरण गरिरहेका छन् । तर गढवा गाउँपालिकाले ती सिपलाई आधुनिकीकरण गर्दै कप, प्लेट, घर सजावटका सामग्री, गरगहना, मुर्ती लगायतका सामग्रीमा उत्पादन गर्ने र त्यसलाई दिशा बिदेशमा निर्यात गर्ने उद्देश्यले सेरामिक हब नै बनाउन पालिका लागिपरेको छ ।
सम्भाव्यता अध्ययन टोलीले गढवा गाउँपालिका वडा नम्बर ६ कुमाल बस्तीमा माटोका भाँडा बनाउने समुदायहरु संग छलफल गरेको छ । छलफलका क्रममा युवा नेता तथा युवा गणेश कुमार कुमालले माटोको भाँडा निर्माणमा परनिर्भर भएको बताए । बाउ बाजेको पाला देखि माटोको भाँडा निर्माणमा नै निर्भर भएता पनि हालको युवा पुस्ताले भने माटोको भाँडामा आफ्नो भविष्य नदेखेकोले अन्य पेशामा लाग्न थालेको बताए । विद्युतिय प्रविधि र मेसेनरी प्रविधिबाट माटोको भाँडाको निर्माणमा धेरै आसा पलाएको बताए । उत्पादन भए बमोजिम बजारीकरणको व्यवस्थापन हुन नसक्दा उत्पादनमा ह्रास भएको बताउँदै कुमालले युवा पुस्तालाई माटोको भाँडा बनाउने पेशामा पुनः लाग्न बिशेष पहल गर्न आवश्यक रहेको बताए ।
त्यसैगरी सेरामिक हब सम्भाव्यता अध्ययनका लागि आएका सेरामिक बिज्ञ गोपाल कलाप्रेमीले सेरामिक हबले गढवा गाउँपालिका र माटोको भाँडा बनाउनेहरुको जिवन यापनमा आमुल परिवर्तन आउने बताए। गढवाको बिभिन्न ठाउँको माटो परीक्षण गर्दा सेरामिक हब बनाउन सकिने र कुनै समस्या नआउने बताए। गढवाको माटोबाट एकदमै पातला भाँडा पनि बनाउन सकिने विशेषता रहेको बताए । गढवाको जस्तो माटो नेपालका अरु ठाउँमा नभएको बताउदै भने –’ यहाँको माटोमा झण्डै ११ सय डिग्री सेल्सियससम्म ताप सहन सक्ने क्षमता छ ।’ माटोमा ठुलो सम्भावना देखिएको छ।
हाल काठदाउराको जोहो गर्न गाह्रो हुने र त्यसबाट वातावरण पनि प्रदूषित हुने गरेकोले पहिलो चरणमा परम्परागत भट्टीको सट्टा विद्युतीय भट्टी निर्माण गरिएको छ ।प्रदेश सरकारको सहयोगमा खैरा, गढवा र पत्रिङ्गा तीनवटै गाउँमा इलेक्ट्रिक भट्टी निर्माण भएको छ।