© २०२३
त्यसो त अहिले समग्र मुलुकको छापा पत्रकारिता अत्यन्तै चुनौतिपूर्ण अवस्थामा छ । संख्यात्मक रूपमा बर्गेल्ती देखिने तर निरन्तरताको आलोकबाट हेर्दा तीब्रतर प्रबिधिको विकासले छापा पत्रकारिताको भबिष्य कमजोर बन्दै गइरहेको छ । यसै पृष्ठभूमिमा बिश्वशान्तिका नायक गौतमबुद्धको जन्मभूमि लुम्बिनीको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशमा संचारमाध्यमको उपस्थिति र प्रभावका दृष्टिले हेर्दा राजधानी पछिको दोस्रो मुख्य क्षेत्रको रूपमा लिन सकिन्छ । यस प्रदेशमा समेटिएका १२ जिल्लाहरू समग्र विकासको मानकमा फरकफरक अवस्थामा रहेका छन् । यसै अनुरूप छापा पत्रकारिताको अवस्था र धरातल पनि भौगोलिक बिकटता र आर्थिक विकासको आधारमा अलग अलग परिबेशमा रहेको पाइन्छ । यसमा बिशेषतः रूपन्देही, दाङ, बाँके जस्ता प्रमुख शहर बजार क्षेत्रको अवस्था र रोल्पा, रुकुम, प्यूठान, अर्घाखाँची गुल्मी लगायतका जिल्लाहरू बिकासका अन्य आयामहरूमा जति बिबिधता त छ, त्यसैगरी संचारमाध्यम यसमा मुख्यतः छापा पत्रकारिताको उपस्थिति र प्रभाव पनि त्यसैगरी उल्टो छ । अर्थात सुबिधा सम्पन्न बजारीया क्षेत्रमा मिडियाले केही हदसम्म बिश्वासिलो ढंगले बजार जमाएको देखिएपनि पहाडी जिल्लाहरूको संचारमाध्यम त्यसमा पनि मुख्यतः छापा पत्रकारिताको बजार साँघुरिंदंै गएको छ । बिस्तारै पछिल्लो परिबेश हेर्दा समग्र लुम्बिनीको छापा पत्रकारिता संकटको दिशामा धकेलिंदै गएको रूपमा बुझ्न सकिन्छ ।
२००६ सालमा हस्तलिखित पत्रकारिताबाट यात्रा प्रबेश गरेको लम्बिनीको छापा पत्रकारिताको इतिहास खोतल्दा औपचारिक रूपमा पत्रिका प्रकाशनको थालनी २०१० सालदेखि भएको पाइन्छ । २०११ सालमा बाँकेबाट प्रकाशित हिन्दी भाषाको नयाँ सन्देश साप्तहिक यस्तै २०१६ सालमा प्रकाशित मातृभूमि साप्ताहिक अथवा रूपन्देहीबाट २०१२ सालमा प्रकाशित बुटवल साप्ताहिकदेखि २०१८ सालमा नवलपरासीमा दर्ता भई बुटवलबाट प्रकाशित साप्ताहिक लुम्बिनी र त्यसैबर्ष पाल्पा जिल्लाबाट प्रकाशित पाल्पा साप्ताहिक नै लुम्बिनी प्रदेशका छापा पत्रकारिताको पहिलो प्रयास हुन् । यसरी हेर्दा लुम्विनी प्रदेशको छापा पत्रकारिताले अहिलेसम्म आइपुग्दा सात दशक लामो इतिहास ब्यतित गरेको छ । यो लामो पत्रकारिताको यात्रामा कैयन उतार चढावसँगै संचारमाध्यममा कैयन प्रबिधिहरू भित्रिएका छन् । प्रबिधिको विकासले कुनै बेला नेपाली पत्रकारिताको साख र गरिमा जोगाउन उच्च भूमिका खेलेको छापा पत्रकारिता अहिले भने कमजोर बन्दै गएको देखिन्छ ।
लुम्बिनी छापा पत्रकारिताको संक्षिप्त इतिहास :
लुम्विनीको छापा पत्रकारितामा पाल्पा जेठो छ । २००६ सालमा पथप्रदर्शक पत्रिकाबाट श्रीगणेश हुँदै पाल्पाबाटै प्रकाशित भएको संघर्ष (२००८) र प्रगति (२००९) हस्तलिखित रूपमा भएपनि उदाएका थिए । यसैगरी बाँके जिल्लामा पनि २००८ सालमा नयाँदिशा नामक हस्तलिखित रूपमा प्रकाशन भएको बाँके पत्रकारिताको यात्रामा प्रवेश गरेको थियो । २००७ सालमा राजनीतिक परिबर्तनपछि पत्रिका प्रकाशन कार्य अन्य जिल्लामा बिस्तार हुने क्रममा रूपन्देहीबाट २०१२ साल चैत्र १५ गते बुटवल साप्ताहिकले पनि प्रकाशन आरम्भ गर्यो। त्यसअघि २०११ सालमा बाँकेबाट हिन्दी भाषामा नयाँ सन्देश साप्ताहिक प्रकाशन भएको थियो तरपनि बाँकेमा २०१६ सालमा प्रकाशित भएको मातृभूमि साप्ताहिकलाई जिल्लाको पहिलो औपचारिक पत्रिकाको पत्रिकाको रूपमा लिने गरिन्छ । यद्यपि २०३१ साल असोजदेखि प्रकाशित साप्ताहिक किरण मास्टरहेडमा दर्ता नं. १ मा उल्लेख रहेको बाँके पत्रकारिताको इतिहासको खोजीनीतिको क्रममा देख्न सकिन्छ । यसैगरी २०१४ सालतिर प्युठानमा मोहनबिक्रम सिंहको नेतृत्वमा चलेको भ्रष्टाचार बिरोधी आन्दोलनको क्रममा २०१४–२०१६ मा प्रकाशित प्यूठान समाचार बुलेटिन प्यूठानको पत्रकारिताको पहिलो पत्रिका हो । यस्तै २०१८ साल फागुन ७ गतेका दिन रूपन्देहीबाट साप्ताहिक लुम्बिनी प्रकाशन भएको थियो । लामो इतिहास बोकेको यो पत्रिका अहिले पनि प्रकाशनमै रहेको छ । २०१८ सालमै पाल्पाबाट पाल्पा नामक साप्ताहिक समाचारपत्र दर्ता भई प्रकाशन भएको थियो । त्यस्तै रूपन्देहीबाट लुम्विनी सन्देश साप्ताहिक (२०२२), दैनिक निर्णय (२०२२), निष्पक्षध्वनी (२०२७), खसोखास साप्ताहिक (२०२७) प्रकाशन भए । यता दाङबाट पनि २०३३ असोज १७ गतेदेखि युगबोध पाक्षिक प्रकाशित भएको थियो । यो पत्रिका पनि तत्कालीन शासकको आँखामा निशाना बन्न पुगेको थियो । अनेक संघर्ष र चुनौति झेल्दै अहिले युगवोध दैनिक रूपमा प्रकाशनमा रहेको छ । पाल्पाबाट २०४० सालमा सत्य साप्ताहिक र त्यसपछि श्रीनगर साप्ताहिक प्रकाशित भएको पाइन्छ । नवलपरासीमा २०४५ सालमा नयाँज्योति साप्ताहिक पत्रिकाको प्रकाशन भएको थियो । इतिहास हेर्दै आउँदा एउटा गर्वको बिषय यो होकि २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक ब्यवस्थामाथि ‘कु’ गरी तानाशाही पंचायती ब्यवस्था लादेर छापा पत्रिकामाथि दमनको नीति अपनाए तथापी दमनको प्रतिरोध गर्दै पत्रिकाहरू हिम्मतका साथ प्रकाशनमा आउनु नेपाली पत्रकारिताका लागि सुखद बिषय हो । प्रकाशन यात्राको बिस्तार प्रक्रियामा कतिपय जिल्लामा पंचायतको समयमा साहित्यिक पत्रकारिताको शुरुवात भएको पाइन्छ । यी साहित्यिक पत्रिकाहरूले पनि छापा पत्रकारिताको विकासका लागि टेवा पु¥याएको देखिन्छ । बर्दियामा २०३० ताका पत्रकारिता प्रकाशन कार्य स्थानीय बिद्यालयहरूबाट भएको देखिन्छ । २०२९ सालमा गुलरियास्थित महाकवि देवकोटा माध्यमिक बिद्यालयमा प्रकाशित बाणी र २०३० सालमा अमर सहिद दशरथ चन्द माबि राजापुरबाट प्रकाशित कर्णाली पत्रिकालाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । तर कालान्तरमा यी पत्रिकाहरूले निरन्तरता भने लिन सकेनन् । यस्तै रोल्पामा पनि २०३४ सालमा सुनछहारी नामक साहित्यिक पत्रिका प्रकाशन भएको पाइन्छ भने २०६३ सालमा आएर रोल्पा आवाज पाक्षिकको रूपमा जिल्लाकै पहिलो समाचारमूलक पत्रिकाको प्रकाशन शुरु भएको थियो । अर्घाखाँचीमा मोदनाथ प्रश्रितले २०३८ सालमा जयतु संस्कृतममार्फत पत्रकारिता शुरु गरेको देखिन्छ । लुम्बिनीका अन्य केही जिल्लामा २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि मात्रै पत्रकारिता शुरु भएको थियो । अर्घाखाँची जिल्लामा २०५४ सालमा भू–सन्देश र अर्घाखाँची सन्देश नामक पत्रिकाको प्रकाशनसंगै पत्रकारिताको शुरुवात भएको थियो । २०५५ सालमा प्यूठानमा गौमुखी मासिक पत्रिका पहिलो दर्ता रहेपनि यो प्रकाशन भने हुन सकेन । २०५७ सालमा रेसुङंगा शिखर सन्देश साप्ताहिकको प्रकाशनसंगै गुल्मीमा पत्रकारिताको शुरुवात भएको हो । त्यस्तै २०५८ पौष १ गतेदेखि प्रकाशित सोमेश्वर साप्ताहिकलाई कपिलवस्तुको पहिलो पत्रिकाको रूपमा लिइन्छ । बर्दियामा पनि २०४६ सालको राजनीतिक परिवर्तनपछि नै समाचारमूलक पत्रिकाको प्रकाशन आरम्भ भएको हो । लुम्विनी प्रदेशमा रुकुमपूर्व कान्छो जिल्लाकोरूपमा रहेको छ । यहाँ पत्रकारिताको शुरुवात २०६२÷२०६३ को जनआन्दोलनपछि भएपनि अहिलेसम्म प्रशासन कार्यालयमा पत्रिका दर्ता भएको देखिंदैन् । यसरी हेर्दा लुम्विनी प्रदेशका बिभिन्न जिल्लाहरूमा आ–आफ्नै परिबेश र सन्दर्भबाट पत्रिका प्रकाशन भई छापा पत्रकारिताको बाटो पक्रेको देखिन्छ ।
छापा पत्रकारिताको हालको अवस्था :
लुम्विनी प्रदेशका १२ जिल्लाको सुरुवाती अवस्थादेखि अहिलेसम्म सयौंको सङ्ख्यामा दर्ता भएको पाइएतापनि प्रेस काउन्सिल नेपालको बिवरण अनुसार ७० वटा पत्रिका मात्रै नियमित प्रकाशन भएको देखिन्छ । यस अनुसार पाल्पामा अहिले एक दैनिक, ४ साप्ताहिक, २ अर्धसाप्ताहिक, २ पाक्षिक र १ त्रैमासिक गरी १० पत्रिका प्रकाशनमा रहेका छन् । बाँकेमा १७४ पत्रपत्रिका दर्तामा छन् । शुक्रऋषि चौलागाईका अनुसार दैनिक/साप्ताहिक सहित करिब डेढ दर्जनको हाराहारीमा मात्र प्रकाशन भएको देखिन्छ । रूपन्देहीमा भने करिव दुई दर्जन पत्रपत्रिकाहरू संचालनमा छन् । प्यूठानमा १८ वटा पत्रिका दर्ता छन् तर केवल ३ साप्ताहिक पत्रिका मात्र नियमित संचालनमा रहेका छन् । नवलपरासीमा करिव ४ दर्जन पत्रपत्रिकाहरू दर्ता रहेपनि केवल ५ वटा पत्रिकाहरू मात्र प्रकाशनमा रहेको बताइन्छ । यस्तै बर्दिया जिल्लामा ४० वटा पत्रिका दर्ता रहेपनि ८ वटा पत्रिका मात्र नियमित छन् । प्रादेशिक राजधानी दाङमा हालसम्म २३ वटा पत्रिका दर्ता रहेपनि १० वटा पत्रिका मात्रै नियमित रहेको देखिन्छ । रोल्पामा हालसम्म १३ वटा पत्रिका दर्तामा छन भने प्रकाशनमा त्रैमासिक र पाक्षिक सहित ६ वटा मात्रै नियमित प्रकाशनमा छन् । अर्घाखाँचीमा अहिले सम्म १ दर्जन भन्दाबढी पत्रपत्रिकाहरू छन् तर कुनैपनि पत्रिकाहरू नियमित प्रकाशनमा छैनन् । कपिलवस्तु जिल्लामा १३ पत्रपत्रिका दर्ता भएको देखिन्छ । कपिलबस्तुबाट पत्रकार डिलाराम भुसालका अनुसार चारवटा मात्रै नियमित देखिन्छन् । तिलाचन पाण्डेका अनुसार गुल्मीमा कुनैपनि समाचारमूलक पत्रिका प्रकाशन हुने गरेको देखिदैन । यसरी दर्तामा रहेका पत्रिकामध्ये समग्र लुम्बिनी प्रदेशभर एक चौथाई पत्रिकामात्र नियमित संचालनमा रहेका छन । प्रकाशनमा रहेका पत्रिकाहरू पनि दयनिय अवस्थामा छन् । आखिर किन यसरी लुम्विनीको छापा पत्रकारिता कमजोर छ ? यो अहिलेको गम्भीर खोजीनीतिको बिषय बन्नु जरुरी छ । यसर्थ प्रस्तुत आलेखमा यसका केही कारणहरू खोतल्ने प्रयास गरिएको छ ।
कमजोर हुनुका कारणहरू :
क) अनलाइन/डिजिटल प्रबिधिको प्रभावः नेपालको राजनीतिक परिबर्तनको आन्दोलनको बिभिन्न कालखण्डमा छापा पत्रकारिताले उल्लेख्य भूमिका खेलेको भएतापनि बिस्तारै कमजोर हनुमा अनलाइन संचारमाध्यमको प्रवेशको प्रभाव मुख्य कारणको रूपमा लिन सकिन्छ । अहिले पत्रपत्रिकालाई अनलाइन संस्करणमा परिणत गर्ने प्रक्रियामा हातहातमा मोवाइल हुनु र छिनछिनमा अनलाइनबाट जानकारी प्राप्त हुने भएका कारण छापा पत्रकारिताप्रति चासो घटाएको छ । साथै सामाजिक संजालप्रतिको बढ्दो लतले पनि पठन संस्कृतिमा ह्रास ल्याएको देखिन्छ ।
ख) लगानी ब्यबस्थापनमा समस्याः संचार माध्यमलाई ब्यबस्थित रूपमा संचालन गर्नका लागि लगानी पक्ष नै महत्वपूर्ण छ । हामी कहाँ लगानी पक्षमा ध्यान नदिई संचार माध्यम संचालनमा ल्याउन खोज्ने हचुवा शैलीले तेल बिनाको सेल खोज्नु जस्तै भएको छ । शहरिया भन्दा पहाडी बेल्टमा हेर्दा पत्रिका दर्ता गर्ने र पर्वे पत्रकारिताको सोंच राखिनुले पनि छापा संचारमाध्यम गतिलो रूपमा संचालनमा आउन सकेको छैन । यसले जनतामा झन बिश्वास घटाएको छ ।
ग) ब्यवस्थापकीय सीपको कमीः पत्रकारितालाई ब्यवसायिक सोंचसहित दिगोरूपमा संचालन गर्नका लागि ब्यवस्थापकीय सीप नै मुख्य पक्ष हो । बिडम्वना यहाँ त बिना ब्यवस्थापन मिडिया जस्तो संबेदनशील पक्षमा साहस भनौं कि दुस्साहस जवर्जस्त रूपमा देखासिकी र प्रतिशोधपूर्ण भावनाले पनि मिडिया संचालन गर्न खोजेको देखिन्छ । यसको असर अन्ततः निरन्तरतामा जोडिने गरेको छ । पत्रिका संचालनका लागि आवश्यक उपकरण नुहुनु, लेखा ब्यवस्थापन नहुनु, न्यूनतम रूपमा आवश्यक पर्ने एउटा कार्यालय समेत नहुनु र एउटै ब्यक्ति सम्पादकदेखि हक सम्मको भूमिकामा रहँदै बिज्ञापन संकलनकर्ताको भूमिकामा जोडिनु । अझ स्पष्ट साथ भन्ने हो भने सम्पादक र प्रकाशक दोहोरो भूमिका एकै ब्यक्तिबाट हुनुले पनि छापा पत्रकारिताको ब्यवस्थापनमा समस्या खडा गरेको छ ।
घ) साँघुरो बिज्ञापन र पत्रिकाको बजारः पत्रपत्रिका फस्टाउन र नियमित रूपमा संचालन हुन नसक्नुका पछाडी साँघुरो बिज्ञापन बजार नै हो । लुम्बिनी प्रदेशका पत्रकारहरूले बिभिन्न गोष्ठी र कार्यक्रममा बिज्ञापनका लागि आवाज उठाउँदै आएका छन । तर प्रकाशन भएका पत्रिकाहरू बिशाल समुदायमा पुग्न सकेको देखिन्न । सीमित आसपासका क्षेत्रमा मुस्किलले देखिने गर्दछ । जसले गर्दा बिज्ञापनदाताले पनि बिज्ञापन दिन नचाहनु स्वभाविकै हो । बिज्ञापनदाताले पनि लगानी गरेपछि प्रतिफल खोज्नु स्वाभाविकै हो । पर्वे सिजनमा प्रकाशन हुने अनि ठूलो मात्रामा बिज्ञापनको आशा गरिनुले स्वरोजगारमुखी पत्रकारितामा एकहदसम्म सहयोग पुर्याएको होला तर दिर्घकालीन रूपमा यो कार्यशैलीले टिकाउन हम्मेहम्मे परेको छ । अर्कोतर्फ स्थानीय स्तरमा प्रकाशनमा रहेका पत्रिकाहरूले समाचार सामाग्रीमा साभार शैली अपनाउनुले पनि आकर्षण घटाएको देखिन्छ । यस्तै पत्रिका किनेर पढ्नुपर्छ भन्ने सोंचको अभाव देखिनुले पनि पत्रिका प्रकाशनमा बाधा उत्पन्न गरेको छ । निशुल्क बितरण गर्नकै लागि किन धेरै मिहेनत गर्ने ? भन्ने सोंचले प्रकाशकमा धारणा बसेको छ र पत्रिकाहरू गुणस्तरयुक्त बन्न नसक्दा छापा पत्रकारिता कमजोर देखिन्छ ।
ङ) ब्यावसायिक सोंच र संस्थागत प्रयासको अभावः छापा संचार माध्यम संचालनमा ल्याउन ब्यावसायिक सोंच र आँट नै हुनुपर्दछ तर हामीमध्ये अधिकांशमा यो सोंचको अभाव नै देखिन्छ । राजनीतिक आस्थालाई त्यागेर पत्रकारहरू संगठित भई संस्थागत रूपमा पत्रिका निकाल्नु पर्दछ भन्ने सोंचको बिकास हुन नसक्नु पनि निरन्तरता अभावको मुख्य कारण हो । पछिल्लोसमय सवै सम्पादक नै बन्नुपर्ने संंस्कार बिकास हुन थालेको छ । समाजमा म पनि सम्पादक हो भनेर फूर्ति देखाउन पत्रिका दर्ता गर्ने र प्रकाशनमा भने ध्यान नै नभएको प्रबृति पनि हावी हुन थालेको छ । यसले ब्यवसायिक र दिगोरूपमा पत्रिका प्रकाशन गर्ने सोंच नरहेको प्रष्ट पार्दछ । सबै जिम्मेवारी एक्लैले बहन गर्ने सोंचले पनि पत्रिकाको भविष्य संकटमा परेको छ ।
जनशक्तिः योग्यता आचरण र पलायन
पत्रकारिता भनेको बौद्धिक पेशा हो । समाजलाई सुसूचित गर्ने महत्वपूर्ण माध्यम हो भन्नेतर्फ सवै जानकार रहँदारहँदै पनि पत्रकारितामा एकातिर जनशक्तिको अभावमै जवर्जस्त रूपमा संचालन गर्ने प्रयास थालिएका छन् भने अर्कोतर्फ स्वयं पत्रकारका बिषयमा उठेका सांस्कृतिक आचरणका कुराले पनि संचारक्षेत्रमा कतिपय अविश्वास खडा गरेको छ । पत्रकारितामा आवश्यक पर्ने योग्यतादेखि पठन संस्कृतिको अभाव देखिनु, भाषागत शुद्धाशुद्धीमा ध्यान दिन नसक्नु, पत्रकार आचारसंहिताको ख्याल नगरिनु अर्कोतर्फ उत्पादन भएका केही जनशक्ति पनि ब्यबस्थापकीय पक्षमा देखिएका कमजोर तौर तरिकाले पेशाबाटै पलायन हुने अवस्था देखिनु आदि । यस्ता कैयन उदाहरण छन । एउटा ब्यक्ति उत्पादन गर्न जति मेहनत जरुरी छ त्यत्तिकै रूपमा टिकाउन पनि गाह्रो छ । यसका लागि ब्यक्तिका आचरण, योग्यता र पलायनका समस्या पनि छापा पत्रकारिता भित्रका संकट हुन भन्ने लाग्दछ ।
यसरी समकालीन परिबेशमा छापा पत्रकारिताको एक पक्षबाट आवश्यकताबोध महसुस हुँदाहुदै पनि छापामा आशाजनक बातावरण सृजना हुन सकेको छैन । यसका पछाडि राज्यपक्षले अहिलेसम्म पनि बिज्ञापन नीतिदेखि पत्रकारको क्षमता बिकासमा पर्याप्त ध्यान दिन नसक्नु पनि अर्को कारणको रूपमा लिन सकिन्छ । स्थानीय पत्रपत्रिकाको लागि स्थानीय तह जिम्मेवार बन्न नसक्नु या नवनाइनुले पनि निरन्तरमा ठेस लाग्ने काम भएको छ । राजनीतिक दलदलको प्रभाव पनि उत्तिकै सशक्त बनेर भित्रिँदा मिडियामा पक्षधरताको दृष्टिकोणले काम गरेको छ । यसैले छापा पत्रकारितालाई निरन्तरता दिन समयसापेक्ष आवश्यक पर्ने ब्यवस्थापकीय पक्षमा ध्यान दिनैपर्दछ । बर्तमान प्रतिष्पर्धाको बजारमा सन्तुलित भई ब्यावसायिक सोंचका साथ गुण पक्षमा ध्यान दिन नसक्ने हो भने अझैपनि कैयन पत्रिकाहरू ढोका बन्दको स्थितिमा पुग्नेछन् ।
सन्दर्भ सामग्रीः पाल्पा बिकास केन्द्रको प्रकाशन, लुम्विनी प्रदेशको पत्रकारिता र कोरोना कहर
सूचना, नेपाल पत्रकार महासंघ प्यूठानको मुखपत्र २०७४
लेखकः नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य हुनुहुन्छ ।