© २०२३
गर्मी समय तथा मौसमको परिवर्तनसंगै बर्षादको समयमा प्रायः गरेर आँखा पाक्ने रोग कन्जनटिभाईटिस बिगतका केही दिनदेखि कपिलबस्तु, रूपन्देही लगायत देशका बिभिन्न स्थानमा प्रकोपकै रूपमा देखापरेको छ । पूर्वी तराईका अधिकांश जिल्लाबाट सुरु भई पश्चिम तराईका जिल्लाहरूमा समेत तिब्ररूपमा फैलिरहेको छ । कतिपय अफिस, बिद्यालय, कलेज, संघ संस्था, बित्तिय संस्थाहरूमा कार्यरत कर्मचारी, शिक्षक, सेबाग्राही र बिद्यार्थीहरू लगायत समाजका अन्य मानिसहरूमा यो रोगले आक्रमण गरेको पाईएको छ । यसरी मानिसहरूको बढी भीडभाड रहने ठाउँहरूमा रोगको सर्नसक्ने दरपनि बढी रहने र रोग फैलने सम्भावना पनि त्यति नै बढी रहन्छ । धेरैजसो बालबालिकाहरूमा महामारीकै अबस्थामा पनि रहन सक्दछ ।
त्यसैकारण कतिपय ठाउँका बिद्यालयहरू समेत यो रोगका कारण केही दिन बन्द गर्नुपर्ने अबस्थामा समेत पुगेको अबस्था रहेको छ । तरपनि यो रोग बालबालिकामा मात्र नभएर सबै उमेर समूहका मानिसहरूमा देखापर्न सक्दछ । एकजनाबाट अर्कोमा सजिलै सर्ने भएकाले यो रोग एकैपटक धेरैजनामा देखिन सक्दछ । हरेक बर्ष मौसम परिबर्तनको समयमा र धेरैजसो बर्षादको समयमा यो रोग देखिने गर्दछ ।
बर्षायाममा यसको किटाणु सक्रिय रहने गर्दछ । यो रोग प्रायः गरेर भाईरसको कारणले हुने गरेतापनि ब्याक्टेरिया र बिभिन्न एलर्जीको कारणबाट पनि देखिन सक्छ भनिएको छ । आँखा पाक्ने रोग जुनसुकै उमेर समूहमा पनि हुन सक्दछ । एउटा वा दुबै आँखामा रोग देखिन सक्दछ । भाईरस, ब्याक्टेरीया र बिभिन्न एलर्जीका कारणले आँखामा समस्या देखिन्छ । यदी समयमा यो रोगको बारेमा जानकारी लिन सकिएन वा यसको सर्ने तरीका लक्षण तथा चिन्ह र बच्ने उपायको बारेमा अभिमुखिकरण गर्न सकिएन भने यसले महामारीकै रूप नलेला भन्न सकिन्न । त्यसैले यो रोगको बारेमा समुदाय, संघ संस्था, बिद्यालय र मानिसको भिडभाड हुने हरेक ठाँउमा स्वास्थ्य शिक्षा तथा यस रोगको बारेमा अभिमुखिकरण कार्यक्रम गरेर साथै समस्या देखिईहालेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर औषधी लिएर यो रोगबाट बच्न सकिन्छ ।
यसका प्रमुख लक्षण तथा चिन्हहरूः
–एक्कासी एउटा आँखा वा दुबै आँखा रातो हुने ।
–आँखा धेरै रातो हुने वा आँखा टाँसिने । साथै आँखा चिलाउने ।
–आँखाबाट बारम्बार पानी बगिरहने ।
–आँखामा कचेरा लाग्ने तथा टाँसिने साथै बिझाउने ।
–आँखा सुन्निने अथवा आँसु बगिरहने ।
–आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने । धमिलो देख्ने पनि हुन सक्छ ।
–समस्या बढ्दै गएमा कहिलेकाँही रुघाखोकी पनि लाग्न सक्दछ ।
–कान तथा घाँटीको छेउमा सुनिन पनि सक्दछ ।
समस्या भएमा के गर्ने ? साबधानीका उपायहरूः
समस्या देखापरिहालेमा नआत्तिने । हतोत्साही नहुने ।
जथाभावी रूपमा आँखा नचिलाउने ।
आँखा छुनुभन्दा पहिले साबुन पानीले राम्रोसंग हात सफा गर्ने ।
पटक पटक सफाचिसो पानीले आँखा सफागर्ने ।
आँखा छोईसकेपछी पनि हरेक पटक सफा साबुनपानीले हात सफागर्ने ।
अरूले प्रयोग गरेका तौलिया रुमालहरू प्रयोग नगर्ने ।
आफूले प्रयोग गरिसकेपछि राम्ररी साबुन पानीले सफा गर्ने ।
ब्यक्तिगत सरसफाई, स्वस्थ र पौस्टिक खानामा ध्यान दिने ।
कालो चश्माको प्रयोग गर्ने ।
आफू सुतेको बेडका तन्ना तकियाहरू दैनिक सफा गर्ने ।
जथाभावीरूपमा औषधिको प्रगोग नगर्ने ।
सामूहिक रूपमा एउटै बोत्तलको औषधि प्रयोग नगर्ने ।
समस्या देखापर्ना साथ स्वास्थ्यकर्मी वा डाक्टरलाई भेटी परामर्श लिने ।
त्यसैगरी तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
डाक्टरको सल्लाह बिना कुनैपनि औषधिको प्रयोग नगर्ने ।
संक्रमित बिद्यार्थी, शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरू समेत संक्रमित अवधिमा बिदामा बस्ने ।
गलत धारणा र अन्धविश्वासको कुरा र समाचारमा ध्यान नदिने ।
आँखा पाक्ने रोगको प्रकोप अझै केही दिन यथावत रहने देखिएकोले यसका बिषयमा सचेतना जरुरी छ । अहिले विभिन्न संघ संस्थाहरूले आँखा शिविर तथा विभिन्न स्वास्थ्य शिविर आयोजना गरेर समुदायलाई प्रकोपबाट बचाउन प्रयास जारी राखेका छन । यस प्रकारका अभियानमूलक कार्यक्रम आगामी दिनमा पनि जरुरी छ । संक्रमित आफैले सावधानी अपनाउने हो भने धेरै संक्रमणबाट बच्न सकिने भएकोले आँखा पाक्ने रोग वा प्रकोपबाट बच्न स्वास्थ्य सावधानीका साथै घर वरिपरीको वातावरण सफा राख्ने र आफूपनि सफा भएर बस्ने हो भने यो प्रकोपबाट बच्न सकिन्छ ।