© २०२३
कोशी प्रदेश नामाकरण भएपछि पूर्वी नेपालमा जातीय पहिचान खोसिएको भन्दै प्रदेशको नाम बदल्न आन्दोलन भैरहेको छ र राई लिम्बुहरूले यसको नेतृत्व गरिरहेका छन् । एकजना अधिवक्ताले तामाङ र मगरमा हुने विवाह संस्कारको विरुद्धमा बोलेर जातलाई होच्याउने काम गरेको भन्दै यी जातीय समूहहरूले पनि सडक र सामाजिक सञ्जाल तताईरहेका छन् । २०४६ सालयता शासन, राजनीति र नोकरीमा जातीय पहिचानको कुरालाई लिएर धेरै आन्दोलन र सडक संघर्षहरू भएका छन् । आफ्नो जातको आधारमा संगठित हुने, जातीय पोशाक लगाउने, जातीय दिवस मनाउन भेला हुने जस्ता काममा जनजातीहरूको सहभागिता निकै बढेको छ । नामको पछाडी जोडिएको थर र त्यो थर समेट्ने जातको बारेमा निकै चासो बढिरहेको भएपनि त्यो जनजातीय पहिचान दिलाउने आधारहरू कमजोर हँुदै गएकोमा भने निकै कम मात्र चिन्ता व्यक्त हुने गरेको छ ।
पहिचानः
आदिवासी जनजातिको कुरा गर्दा आइएलओ १६९ लाई अघि सार्ने गरिन्छ । आईएलओ १६९ को धारा १ उपधारा १ को (क) ले कुनै स्वतन्त्र देशमा राष्ट्रिय समाजका समुदायहरूभन्दा सामाजिक, सांस्कृतिक र आर्थिक स्थितिहरूका कारण फरक रहेका र जसको अवस्था आंशिक वा पूर्णरूपमा उनीहरूको आफ्नै प्रथाहरू वा परम्पराहरू वा विशेष कानुन वा नियमहरूले सञ्चालित जनताहरू त्यहाँका जनजाति (ट्राइबल) हुन् ।’ भनि परिभाषित गरेको छ । यो परिभाषाले कुनै जातजातिलाई जनजाति भनेर स्वीकार्नका लागि कुनै स्वतन्त्र देशमा राष्ट्रिय समाजका समुदायहरू रहेको हुनुपर्ने, त्यो राष्ट्रिय समाजका समुदायहरूले फरक सामाजिक, सांस्कृतिक वा आर्थिक अवस्था मानिआएको हुनुपर्ने अनि राष्ट्रिय समाजका समुदायहरूले स्वीकारेको सामाजिक, सांस्कृतिक र आर्थिक स्थितिभन्दा अलग्गै र फरक रूपमा आफ्नो सामाजिक, सांस्कृतिक र आर्थिक स्थिति रहेको अरू समुदाय हुनुपर्ने र त्यो समुदायले आफ्नै अलग्गै प्रथा वा परम्परा वा आफूले मानिआएका आफ्ना कानुन वा नियमबाट आफू सञ्चालित भएको हुनुपर्ने स्पष्ट पारेको छ ।
आईएलओ १६९ को धारा १ को उपधारा १ (ख) बमोजिम कुनै स्वतन्त्र देशका ती जनताहरूलाई आदिवासी (इन्डिजिनियस) मानिन्छ, जो त्यो भूभाग नियन्त्रणमा जाँदा वा उपनिवेश कायम हुँदा वा हालको देशको सिमाना कायम हुँदा त्यो देश वा देशको भूभागमा बसोबास गरेको जनसंख्याका सन्तानहरू हुन्, जसले आफ्नो कानुनी हैसियत जस्तोसुकै रहे पनि आफ्ना केही वा सबै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संस्थाहरूलाई कायम राखेका छन् ।’
आइएलओ महासन्धि र जनजाती संघ संगठनहरूको आफ्नै परिभाषालाई आधार मान्दा देशको निश्चित भूभागमा बसोबास गर्दै राज्यको मूल प्रवाह भन्दा बाहिर रहेर आफ्नै खालको सांस्कृतिक र सामाजिक अभ्यास गर्दै आएका जातीय समूहहरू नै जनजातिको रूपमा कहलिएको पाइन्छ । आदिबासी जनजातिहरूको मुख्य पहिचान भनेको प्रकृतिसंग उनीहरूको निकट सम्बन्ध हो । जल, जमिन र जंगल जनजातिका पहिचान र जीविकोपार्जनका मुख्य आधारहरू समेत हुन् । तर पछिल्लो समयमा प्राकृतिक श्रोतसंग जनजातिहरूको सम्बन्ध विस्तारै टाढिदै गएको छ । यस्तो किन हुदैछ भन्ने बुझ्नको लागि तीनवटा तथ्यहरू पर्याप्त हुन्छन ।
छोड्दै थातथलोः
२०७८ को जनगणना अनुसार पहाड र हिमालका ५९ वटा र तराईका १६ वटा जनजाति समुहको जनसंख्या एक करोड आठ लाख छ, जुन कुल जनसंख्याको ३४.६ प्रतिशत हो । जनजाति समूहहरू क्षेत्रीय हिसाबले दुई फरक सांस्कृतिक समूहमा विभाजित छन्– पहाडी जनजाति र तराई जनजाति । पहाडी क्षेत्रका आदिबासी जनजाति समुहहरू मगर, तामाङ, राइ गुरुङ र लिम्बुले मात्र देशको कूल जनजातिको ६५.४ र पहाडी जनजातिको ८४ प्रतिशत भन्दा बढी हिस्सा ओगटेका छन् । कूल जनजातिमध्ये तराईका जनजातिको संख्या करिब २२ लाख ७० हजार रहेको छ । तराईमा थारुले मात्र तराइको कूल जनजाति जनसंख्याको ७९.७ प्रतिशत जनसंख्या ओगटेका छन् । समग्रमा हेर्दा यी ७ वटा जातीय समुहहरूले देशको कूल जनजाति जनसंख्याको ८३.३ प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।
नेपालका सबै जिल्लाहरूमा जनजातिको उपस्थिति उल्लेख्य संख्यामा भएपनि तराईमा भन्दा पहाडमै जनजातिको संख्या धेरै भएको देखिन्छ । जातीयरूपमा पूर्वमा राई लिम्बु, विचमा नेवार, तामाङ र चेपाङ, पश्चिममा गुरुङ, मगर तथा तराईमा थारुको उपस्थिति राम्रो भएपनि रसुवामा तामाङ, पाल्पामा मगर र बर्दियामा थारु बाहेक जिल्लामै आधा जनसंख्या ओगट्ने कुनैपनि जनजाति समूह भएको देखिदैन् । २०६८ सालको जनगणनालाई आधार मान्दा ४ जिल्लामा राई, ३ जिल्लामा लिम्बु, २ जिल्लामा नेवार, ७ जिल्लामा मगर, ४ जिल्लामा गुरुङ, ७ जिल्लामा तामाङ र ३ जिल्लामा थारु ठूलो जातीय समूहको रूपमा रहेको देखिन्छ । २०७८ मा अरू जनजातिको प्रभुत्व भएका जिल्लाको संख्या यथावत छ भने गुरुङ पहिलो स्थानमा भएका दुई जिल्ला घटेका छन् भने मगर पहिलो स्थानमा भएको जिल्ला बढेको छ । २०५८ सालमा कुनै एक जनजाति जनसंख्याको हिसाबले पहिलो स्थानमा भएका जिल्लाहरू ३४ वटा रहेकोमा २०६८ सालमा आइपुग्दा यस्ता जिल्लाहरूको संख्या ३० हुन पुगेको थियो । वि.स. २०७८ मा आइपुग्दा २९ जिल्लामा कुनै एक जनजाति पहिलो स्थानमा रहेको देखिन्छ । वि.स. २०६८ मा कुनै एक जनजाति समुह दोश्रो स्थानमा रहेका जिल्लाहरूको संख्या २० रहेकोमा २०७८ मा यस्ता जिल्लाहरूको संख्या १४ वटा रहेका छन् ।
सबै जिल्लामा जनजाति समूहको जनसांख्यिक स्थान खस्किएको देखिन्छ । आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्ने प्रवृति जनजातिहरूमा बढ्दै गएको छ । राष्ट्रिय निकुन्ज, आरक्ष र संरक्षण क्षेत्रको स्थापना तथा विभिन्न विकास निर्माण आयोजनाहरूको निर्माणको क्रममा धेरै आदिबासी जनजातिहरूको प्राकृतिक श्रोतसंगको साइनो कमजोर भएको थियो तर विस्थापित भएर जाँदापनि उनीहरूले प्राकृतिक श्रोतसंगको सम्बन्धलाई त्याग्न सकेका थिएनन् । तर, पछिल्लो अवस्थामा जनजातिहरू स्वेच्छाले आफ्नो पैत्रिक थलो छोडेर मिश्रित समाजमा बसाई सरेर जाने गरेका छन् । बसाई सर्ने जनजातिहरूको रोजाई प्राकृतिक श्रोतहरूको प्रचुरता भएका ठाउँहरू भन्दापनि विदेश र शहरी क्षेत्रहरू हुने गरेका छन् । यस्तो प्रवृतिले जनजातिहरूको सघनता पातलिदै मात्र गएको छैन, जनजातिका पहिचानका आधारहरू समेत कमजोर हुदै गएका छन् ।
त्याग्दै संस्कृतिः
प्रकृति पुजक र हिन्दु वर्ण व्यवस्थामा नपर्ने समुहलाई जनजाति भन्ने गरिएको छ तर २०६८ को जनगणनालाई आधार बनाउँदा ठूला जनजाति समूहहरू मध्येमा पर्ने थारुको ९४ प्रतिशत, मगरको ७९ प्रतिशत, नेवारको ९७.४ प्रतिशत हिन्दु धर्मावलम्बी रहेका छन् । त्यसैगरी ८७.३ प्रतिशत तामाङ, ६२.७ प्रतिशत गुरुङ, ९८.३ प्रतिशत शेर्पा, ९८.३ प्रतिशत भोटे, ९१.३ प्रतिशत योल्मो जनजातिहरूले बौद्ध धर्म मान्दै आएको पाइन्छ । राई, लिम्बु र याख्खाले कुल किराँत जनसंख्याको ८१.२ प्रतिशत हिस्सा ओगटेका छन् । नेपालमा सनातनदेखि मान्दै आएका धर्महरूलाई छोडेर क्रिश्चियन बन्ने प्रवृति बढिरहेको अवस्थामा यसको मारमा जनजातिहरू बढी परेको देखिएको छ । २०५८ सालमा भन्दा २०६८ सालमा क्रिश्चियन बनेका जनजातिहरूको संख्या करिब ५ गुणाले वृद्धि भएको छ । प्राकृतिक श्रोतसंग बढी नजिक रहेका मानिने तामाङ, राई, मगर, चेपाङ र लिम्बु अहिले नेपालमा क्रिश्चियन धर्मावलम्बीका ठूला समूहहरू बनेका छन् । वि.स. २०५८ मा यी ५ वटा जनजातिले देशको कूल क्रिश्चियन जनसंख्याको ८६.९३ प्रतिशत हिस्सा ओगटेकोमा २०६८ सालमा नेवार, थारु र सन्थाल थपिएर ८ वटा जनजातिले क्रिश्चियन जनसंख्यामा ७१.५६ प्रतिशत हिस्सा बोकेका छन् । २०७८ को जनगणना विश्लेषण गर्दा मगर, तामाङ, शेर्पा, राई, लिम्बु, चेपाङ, तामाङ, नेवार र सुनुवार तथा तराईका थारुहरूको जनसंख्या बढी भएका जिल्लाहरूमा राष्ट्रिय औशत भन्दा क्रिश्चियन धर्म मान्नेहरूको जनसंख्या अनुपात धेरै भएको देखिन्छ । कामी, सार्की र क्षेत्रीलाई छोड्ने हो भने बाँकी क्रिश्चियनहरूमा जनजाती समूहकै व्यक्तिहरू रहेका छन् । धर्मान्तरणसंगै जनजातिको प्राकृतिक श्रोतमा आधारित संस्कार, मूल्य मान्यता र दैनिक व्यवहारहरू समेत बदलिएका छन् । प्राकृतिक श्रोतको उपयोग गर्ने प्रवृत्ति उस्तै रहेपनि प्रकृतिप्रतिको सम्मान र प्राकृतिक श्रोतको उपयोग तथा संरक्षण सम्बन्धि परम्परागत ज्ञान हराउदै गएको छ ।
भाषा बिर्सदैः
जनजातीय पहिचानको अर्को मुख्य आधार भाषा हो । जनजाति समुदायको पछिल्लो पुस्ता आफ्नो जातीय मातृभाषा बोल्न नजान्ने भैसकेका छन् । २०७८ को जनगणना अनुसार जनजाति समुदायले बोल्ने भाषाहरूमध्ये एक लाख जना भन्दा बढी वक्ताले मातृभाषाको रूपमा बोल्ने भाषा १० वटा मात्र छन् । आफ्नो पुर्खाको भाषा राई भएकाको ३६ प्रतिशत, मगर (ढुट) भएकाहरूको ३५%, गुरुङ र मगर ( खाम) भाषीको ३०%, नेवारी बोल्नेको २७ %, लिम्बु भाषीको १४% र तामाङ भाषीको ११ प्रतिशत जनसंख्याले आफ्नो पुर्खाको भाषालाई मातृभाषाको रूपमा बोल्दैनन् । जनजातिको कूल जनसंख्याको आधारमा विश्लेषण गर्दा ५५% मगर, ४०% गुरुङ र ३६% नेवारले आफ्नो मातृभाषाको रूपमा अर्कै भाषा बोल्ने गरेको देखिन्छ । एक लाख भन्दा कम जनसंख्या भएका जनजाति समूहहरूहरूका मानिसले आफ्नो जातीय भाषालाई बोलीचालीको भाषाको रूपमा त्याग्दै गएको देखिन्छ । जनजाति समुदायले बोल्ने भाषामै उनीहरूको सस्कार, सस्कृति, प्राकृतिक श्रोत सम्बन्धि ज्ञान समेटिएको हुन्छ । भाषा भुल्दै जाँदा जनजातिका सस्कार, सस्कृति र ज्ञान पछिल्लो पुस्तामा हराउदै जान थालेको प्रष्ट लक्षणहरू देखिएका छन् ।
जनजाति समूहहरू पछिल्लो ५० वर्षमा आफ्नो पहिचानको लागि आवाज उठाउन निकै सक्रिय रहेका छन् । धेरै आन्दोलनको ध्यान जनजातिलाई अहिन्दुकरण गर्नुमै सिमित रहेकोले पनि जनजातिहरू आपसमै पनि विभाजित भैरहेका छन् । ‘हामी हिन्दु हैनौ’ भनेर चिच्याईरहदा हामी यो हौ भन्ने सिकाएनन् । यहि कारणले गर्दा जनजातिहरू धर्मान्तरण गरि इशाई बन्ने क्रमले तीव्रता पाएको छ । कुनै अदृश्य शक्तिले जनजातिलाई समेत आपसमा अलग समूह बनाउने प्रतिष्पर्धामा धकेलेको छ । यसपालिको जनगणनामा केही मगरहरू छुट्टिएर पुन लेखाए । जात फरक बनाउने अभियान राई, लिम्बु, किराँत, तामाङ र गुरुङमा भुसको आगो झैँ सल्किरहेको छ । यसले जनजातिको पहिचानलाई अझ विभाजित र कमजोर बनाउने देखिन्छ ।
भुगोल, भाषा र धर्म त्यागको प्रक्रियाले जनजातिहरूको आदिबासीको पहिचान कमजोर भएको मात्र छैन, प्रकृति पुजक भन्ने उनीहरूको पहिचान र व्यवहारपनि जरैदेखि मक्किदै जान थालेको आभाष हुन्छ । पछिल्लो समयमा जनजातिहरूले प्राकृतिक श्रोतमा अग्राधिकारको माग र पहिचानको लडाई चलिरहँदा जनजाति अगुवाहरूले पहिचानको आधारहरू थातथलो र सँस्कार संरक्षणतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । अन्यथा जनजातिहरूसंग भविष्यमा थर बाहेक पहिचानका अन्य आधारहरू बाँकी नहुन सक्नेछन् ।