© २०२३
राज्यकोषको दुरूपयोग बढिरहेको बर्तमान अवस्थामा सरकारका मन्त्री र सांसदहरूलाई सरकारी बजेट सकेर सुविधामोहको होडबाजी चलिरहेको छ । यतिसम्मकी काठमाण्डौंमा घर हुने सांसदले राज्यबाट पाइने घरभाडा रकममा मन थाम्न नसकेको खबर पनि सार्वजनिक भएको छ । स्वास्थ्य सुविधाको नाममा करोडौ रकम कुम्ल्याएका छन् र विदेश शयर गरेका छन् । हिजो भुकम्पपीडितका लागि आएको त्रिपाल दगुराउने र कोरोनाका बिरामीलाई ल्याइएका औषधी, खोप र अक्सिजन समेत लुकाउने र आफन्तलाई बाँडेका कुरा तपाई हामीले सुनेको र भोगेकै हो । स्थानीय तहको निर्वाचन भएपछि अधिकांश जनप्रतिनिधि महंगा गाडीमा डुल्न नपाएर झगडा गरेका छन् । आफ्नो तलब आफै निर्धारण गरेका छन् । अझ तलब थोरै भयो भन्ने आवाज पनि बेला–बेलामा सुनिन्छ । त्यतिमात्र नभएर आजभोली कर्मचारी जस्तो राज्यकोषबाट तलब सुबिधा लिएर १० देखि ४ बजेसम्म औपचारिक कार्यक्रममा मात्र सिमित हुन थालेका छन् । अर्कोतिर देशमा केही संभावना र आशाका किरणहरू पलाएका छन् ।
प्रचण्ड सरकारले अघिल्ला सरकार, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सर्बोच्च अदालतले जोगाएका नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, पशुपतिनाथको जलहरी र सुन तस्करी लगायतका काण्डमा मुछिएका ठूला माछालाई समातेर जेल कोच्ने काम गरेको छ । त्यस्तैगरि खोटाङमा जन्मिएका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) र काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अहिले देश तथा विदेशमा चर्चामा छन् । सबैको मन मनमा र सामाजिक सञ्जालमा भाइरल भएका पात्र हुन् । साम्पाङ ब्रिटिश लाहुरेका छोरा हुन् र स्नातक पास गरेका छन् भने बालेन पेशाले इन्जिनियर हुन् । इन्जिनियरिङमा भारतबाट स्नातकोत्तर र युवापुस्तामा ¥यापरको रूपमा परिचित छन् । वास्तवमा यिनीहरूले जनताको मन जितिरहेका छन् । केटाकेटी, युवा, प्रौढ र बृद्धसम्म सबैको मन–मनमा बस्न सफल आजका हिरोहरू हुन् । सबैको प्रिय मान्छे बनिरहेछन्, यि सेलीब्रेटीहरू । यिनलाई भनिन्छ– जनप्रतिनिधि वा जनताको असल प्रतिनिधि । वास्तवमै नमूना बनेर देखाइरहेका छन । त्यसैले आगामी कार्यकालमा फेरि जनताले पक्कै खोज्नेछन् । आखिरमा मानिसले चाहे के गर्न सकिदैन ? सबै सम्भव रहेछ । मात्र काम गर्ने इच्छाशक्ति, तत्परता र कार्यान्वयन नै मुख्य कुरा रहेछ । हाम्रा असली नायक बनी उदाए र सबैको प्रशंसाको पात्र बनीरहेका छन् । मन्त्री, सांसदले गर्न नसकेका कामहरू संघीय सरकारलाई पनि चुनौती दिदै अगाडि बढिरहेका छन् । खाई–नखाई दिनरात जनताको पिरमर्कामा हाजिर छन् उनीहरू । सायद स्वतन्त्र भएरपनि होला, स्वविवेकले काम गर्न पाएका छन् । पार्टीमा जस्तो नेता÷कार्यकर्ताको अधिनमा बस्नुपरेको छैन । एकाध घटना बाहेक अन्य अवस्थामा अवरोध छैन ।
स्थानीय तहदेखि संघीय सरकारमा सुविधा भोगी जनप्रतिनिधि बढिरहेका बेला सुशासनमा केही प्रगति देखिएका छन् । इच्छाकामना गाउँपालिका ४ चितवनका वडा अध्यक्ष रुद्रप्रसाद गिरीले आफ्नो तलबभत्ता विपन्न परिवारको लागि स्वास्थ्य बीमा गरिदिएका छन् । पहिलो कार्यकालमा बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफ्नै सवारी साधन प्रयोग गरेका थिए । नगरपालिकाबाट तलबभत्ता र इन्धन समेत नलिई जनताको काममा अहोरात्र खटेका थिए । गरिब र दिनदुःखीको सेवामा आफ्नो तलबभत्ता र नीजि सम्पत्ति लगाउनु महान कार्य हो । त्यस्तै सर्लाही हरिवन नगरपालिकाका केही वडा अध्यक्षहरूले मोटरसाइकल किन्न दिएको पैसा विद्यालय, खानेपानी र स्वास्थ्यचौकी निर्माणमा खर्च गरेको पनि सुन्नमा आए । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले प्रदेश सभाबाट प्राप्त बैठक भत्ता, मासिक पारिश्रमिक एवं अन्य सुविधाबाट आएको रकम सामाजिक कार्यमा खर्च गरेको समाचार पनि हामी सुनेका थियौं । कटारी नगरपालिका उदयपुरका उप–प्रमुख भीम कुमारी राउतले नगरपालिकाले गाडी किन्न दिएको ४० लाख रूपैयाँ अस्पतालमा एम्बुलेन्स किन्न खर्चिनुभयो । छायाँनाथ रारा नगरपालिका ४, मुगुका अध्यक्ष बिष्णुकुमार भामले पनि आफ्नो तलब, बैठकभत्ता लगायतबाट आउने रकम वडाका दलित, बिपन्न, असहाय, टुहुरा बालबालिकालाई आर्थिक सहयोगसँगै शौचालय निर्माण गरेका थिए ।
गैडाकोट नगरपालिका ९ नवलपुरका वडा अध्यक्ष धामनाथ सापकोटाले पनि तलबभत्ता वापत बुझेको सबै रकम मृगौला पीडित, किसान, मन्दिर निर्माण लगायत सामाजिक कार्यमा खर्चेका थिए । त्यस्तैगरि पहिलो कार्यकालमै झापा जिल्ला कमला गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कृषि र पशुपालनमा गाउँपालिकालाई चिनाएकी थिइन् । त्यतिमात्र नभएर बेरुजु कम रहेका देशभरका १० पालिकामध्ये चौथो नम्बरमा आएको थियो । चितवन भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले ६ सय १० किलोमिटर कालोपत्रे र ४ सय ५० किलोमिटर सडक ग्राभेल गरेकी थिइन् । भरतपुरमा देशकै सबैभन्दा लामो रिङरोड, त्यस्तै अन्तराष्ट्रिय क्रिकेट रंगशाला, सिटीहल र मेट्रोप्लाजा लगायतका पूर्वाधार निर्माणाधिन छन् । भागेश्वर गाउँपालिका डढेल्धुराका अध्यक्ष कौशिला भट्टले छात्राहरूलाई निशुल्क प्याड उपलब्ध गराउन गाउँमै भेन्डिङ मेशिन जडान गरेकी थिइन् । म्यादे गाउँपालिका तनहुका अध्यक्ष मायादेवी राना (आले) ले पालिकालाई सुन्तला र आलुमा आत्मनिर्भर बनाएकी थिइन् ।
कोही भने खलनायक बनी उदाए, करोडौं कुम्ल्याए र अझै कति कुम्लाउने हुन् यकिन छैन । जो जनताको रियल हिरो बन्न सकेनन् । बन्न पनि कहाँ सक्छन् र ? नेपालका पार्टीहरूले गतिला उम्मेदवार उठाउन कहिल्यै सकेनन् । वास्तविक राजनीतिकर्मी कहिल्यै प्रतिनिधि बन्ने अवसर पाएनन् । उही दलाल, ठेकेदार, ब्यापारी, उद्योगी, जमिन्दार, साहु, मालिक, एनजियोकर्मी, शिक्षक, प्रधानपञ्च लगायतका पात्रहरू नेताका रोजाईमा पर्छन् । चाहे त्यो भुई मान्छेको अधिकारको कुरा गर्ने कम्युनिष्ट पार्टी होस्, चाहे त्यो प्रजातन्त्र र लोकतन्त्रको वकालत गर्ने कांग्रेस होस् वा के–के जातिका कुरा गर्ने दल हुन् । जसको पार्टीमा कुनै लगानी र योगदान छैन उसलाई पार्टी, जनतार देशको के मतलब ? उनीहरूले आफ्नो व्यक्तिगत स्वार्थ बाहेक अरू केही देख्दैनन् । जसको पार्टीमा लगानी र योगदान हुन्छ उसलाई पार्टी, जनता र राष्ट्रको माया लाग्छ किनकी उसको पसिना र रगत बगेको छ । अहिलेका हाम्रा जनप्रतिनिधि त यस्ता भए, पार्टी भनेको के हो ? पार्टीको दर्शन के हो ? पार्टीले के–के एजेण्डा उठाएको छ ? केही थाहा छैन । पार्टीको सिद्धान्त, कार्यनीति र रणनीतिको वारेमा त झन के भनौ ? कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेझै छ । कठै बिचरा ! के थाहा हुनु ? माथिको निर्देशन अनुसार र अरूको इसारामा काम गर्नुपर्छ । त्यस्तैगरी राजनीतिकर्मी रहेछन् भनेपनि फरक स्कुलिङबाट आएका हुन्छन् । पार्टीको एजेण्डा र कामको तौर तरिका मिल्दैन फरक हुन्छ, कसरी काम गर्ने । जसको नीति उसको नेतृत्व भनेको त एकादेशको कथा जस्तै हो । अहिले केही जनप्रतिनिधिहरू दुधको साक्षी बिरालो र चोरलाई बैङकको चावी जिम्मा दिएको जस्तो भएको छ । यस्ता प्रतिनिधिले जनताको हित र भलोको लागि काम गर्छ भनेर कसरी पत्याउने ? अहिलेको चुनाव जुवा खेल जस्ता बनेका छन् र पार्टी भनेको जुवा खेलाउने घर क्याफे र वार जस्तै बनेका छन् । चुनावमा साहु ब्याज ऋण, धन र सहयोग गरेर लाखौ÷करोडौ रूपैयाको खोलो बगाउँछन् । ‘पैसा फेको, तमासा देखो’ नारा बाहेक उम्मेदवार जनप्रतिनिधिको अरू नारा र एजेण्डा केही हुँदैन । अनि यिनलाई देश, जनता र समाजको के माया लाग्छ र ? पछि पैसा उठाउन कानुनी र गैह्रकानूनी सबै अस्त्र प्रयोग गर्छन् । अहिले जताततै फोन उठेन, काम भएन भन्ने गुनासो छ तर गुनासो सुन्ने संस्कार छैन हाम्रा जनप्रतिनिधिको । राम्रा जनप्रतिनिधिको फोन उठ्दैन र उठाउने फुर्सद पनि छैन । पार्टीका नेतृत्व र जनप्रतिनिधिहरूले जनता, मतदाता, कार्यकर्ता र शुभचिन्तकलाई फोन गर्ने र भेटेर छलफल गर्ने टाढाको कुरा हो । बरु कार्यकर्ता र मतदाताले फोन गर्दा तनाव भएर ब्लगलिष्ट÷ब्यस्ततामा नम्बर राख्ने अनि जिन्दगीभर आफ्ना पछाडी हिड्ने कार्यकर्ता, शुभचिन्तक र साथीहरू देखेर रिस उठ्छ । तथानाम सरापेर मन हलुङ्गो पार्छन् र अन्य दलका व्यक्तिहरूसँग मायाप्रेम गाँस्छन् । जसरी हुन्छ, आफ्नो स्वार्थ पूर्ति गर्ने मनोविज्ञानका साथ अगाडि बढ्छन् । चुनाव भन्दा अगाडि कुकुर र बिरालोलाई पनि नमस्ते गर्ने ब्यक्ति पछि उसैलाई हजारपल्ट नमस्कार गर्दा फर्काउदैनन्, कसैलाई पनि चिन्दैनन्, पाउ मोल्नुपर्छ र जि हजुरी गर्नुपर्छ । कस्तो उल्टो परिस्थिति बन्छ यतिबेला सोच्नै सकिन्न ।
आलोचना गर्दा उल्टै रिसाउँछन्, सर्पले जस्तै मनमा इख राखेर बस्छन् र दुस्मनलाई जस्तो व्यवहार गर्छन् । जितेर गएपछि त कसैलाई मान्छे गन्दैनन् । सिंहजस्तो बनी अरूलाई निरिह देख्छन् र पशुको जस्तो व्यवहार गर्छन् । चाहे त्यो वडा सदस्य नै किन नहोस् । अधिकांश जनप्रतिनिधिहरू डोजर मालिक, ठेकेदार, व्यापारी छन् । नभए तिनका आफन्तका छन् । ठेक्का पट्टामा खुल्ला प्रतिष्पर्धा हुनै पाउँदैन । वडा, पालिका र गाउँपालिकाको घेराबाट अन्यत्र जान पाउँदैन् । केही नयाँ फरक खालका काम गरेर देखाउन सकेका छैनन् । खाली उही पुरानै कर्मकाण्डी काम गरेर दिन कटाईरहेका छन् । यस्ताबाट के आशा गर्नु । अरूले पत्याओस् या नपत्याओस् मै जान्ने, मै सुन्ने र मै बुझ्ने क्या चाहियो । अरूलाई फोन गर्नु र सल्लाह, सुझाव लिनु त धेरै टाढाको कुरा हो । आफू अन्य ग्रहबाट आएको, देवताको रूपमा अवतार भएको र आकाशबाट झरेको जस्तो ठान्छन् । उनीहरूलाई पहिला कुनै पार्टीले टिकट दिएर उम्मेदवारी बनाएको थियो र पार्टीको सदस्य पनि थिए तर जितेर गएपछि सबैको साझा प्रतिनिधी हो त्यसैले सोही अनुसार कसैलाई काखा कसैलाई पाखा नगरेर काम गर्नुपर्छ । कुनैपनि गुट–उपगुटको नभएर पार्टीको, पार्टीको मात्र नभएर सबैको साझा मान्छे बन्नुपर्छ । त्यसैको लागि सबैलाई फोन गर्ने, सबैसँग सुझाब सल्लाह लिने ग¥यौं भने हामी सानो भइदैन बरु राजनीतिक उचाई बढ्छ र सामाजिक व्यक्तित्व बनिन्छ । सल्लाह, छलफल, अन्तरक्रिया र बहसले मानिसलाई निखार्दै र तिखार्दै लैजान्छ । पार्टीको नेतृत्व र जनप्रतिनिधि त सबैको आँखाको नानी जस्तै बन्नुपर्छ । ताकी आगामी दिनमा पार्टीमा मात्र नभएर अन्य दल र जनताबाट ‘फेरि एकपटक’ नारा घन्कियोस् ।
आहा ! फल्ना व्यक्तिले कस्तो राम्रो काम गरेको थियो भनेर सम्झन योग्य बन्नुपर्छ । अर्को कार्यकाल पनि उसैलाई भोट दिने हो भन्ने वातावरण बनाउनुपर्छ । जनतालाई दुनियाँ बदल्ने सपना देखाउनुपर्दैन । वर्षमा एउटा राम्रो काम जनताले देख्ने र महसुस गर्ने भए पुग्छ । जनतालाई सुनको महल र हिराको भ¥याङ चाहिएको छैन । आफ्नै रगत र पसिनाबाट राज्यलाई तिरेको कर पक्षपात नगरी सबै ठाउँमा आवश्यकताको आधारमा वितरण गरिदिए पुग्छ । कसैलाई शत्रु नसम्झेर मित्र ठानेर असल व्यवहार गरिदिए पुग्छ । मतदाता र जनता चाहन्छन् दुःख देख्ने र बुझ्ने जनप्रतिनिधि, चाहे त्यो प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, पालिका प्रमुख होस् वा वडा अध्यक्ष । उनीहरूले स्थानीय माग र आवश्यकता अनुसार क्रियाकलाप गर्ने हो । जनताको मालिक होइन सेवक बनेर २४ सैं घन्टा सामाजिक कार्यमा खट्नुपर्छ । उक्त कार्य गर्न सकेको खण्डमा आफ्नो जिम्मेवारी र दायित्व पूरा हुन्छ र बल्ल असल जनप्रतिनिधि भन्न लायक बनिन्छ ।