© २०२३
प्यूठान नगरपालिकालाई पूर्ण भर्ना नगरको रुपमा घोषणा गरिएको छ । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलको उपस्थितीमा नगरलाई पूर्ण भर्ना नगर घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश पाँचका मूख्यमन्त्री शंकर पोख्रेलले प्यूठानी भूमीमा प्रशस्त संभावना भएको औल्याएका छन् । प्यूठानका धेरै भूभागमा आफू पुगेको विगत सम्झदै उनले यहाँको हरेक क्षेत्रमा संभावना भएको बताए । आइतवार विजुवारमा आयोजित आधारभूत तहका विद्यार्थी पूर्ण भर्ना घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै पोखे्रेलले संभावना केलाउँदै भने,‘प्यूठानको माटोमा सुन पनि फलाउन सकिन्छ भन्ने सोँचले मेहनत गरौँ ।’
जिल्लाको उर्वर झिमरुकको कृषिभूमीलाई व्यवसायिक र आधुनिकीकरण गरी खेती गर्न उनले जोड दिए । ‘जग्गा नहुनेले चिन्ता नगर्नुस्’,पोख्रेलले भने,‘सोँच र लगानी हुनुप¥यो जग्गाको सरकारले व्यवस्था मिलाउछ ।’ व्यवसायिक किसानलाई हौसला प्रदान गर्नेगरी प्रदेश सरकारले करारखेतीको योजना अघि सारेको समेत उनले जानकारी गराए । यूवाहरु दिनप्रतिदिन वैदेशिक रोजगारमा पुगेको बताउँदै उनले दश जनशक्ति स्वदेशमै टिक्ने खालको वातावरण राज्यले गर्ने उल्लेख गरे ।
चालु शैक्षिक शत्रमा आधारभूत तहका सवै बालवालिकाहरु विद्यालय भर्ना भएपछि प्यूठान नगरपालिकालाई पूर्ण भर्ना घोषणा गरिएको हो । घोषणा सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले समृद्धिको ढोका खोल्ने पहिलो खुड्किला शिक्षा नै भएको बताए । ‘बालवालिकाहरुलाई विद्यालयमा टिकाउने खालको वातावरण बनाउनुपर्छ’,उनले भने,‘भर्नाभन्दा ठूलो चुनौती टिकाउने हो ।’ पहाडी जिल्ला भएरपनि प्यूठान शैक्षिक क्षेत्रमा अगाडी देखिएकाले उनले खुसी व्यक्त गरे । शैक्षिक क्षेत्रमा सरकारले प्रदेशलाई धेरै अधिकार दिएको उनले जानकारी गराए । पोख्रेलले अवको राजनीति समाज बदल्ने खालको हुनुपर्नेमा जोड समेत दिए ।
पाँचदेखि १२ वर्ष उमेर समूहका सवै बालवालिकाहरु विद्यालय भर्ना भइसकेको नगरपालिकाले जनाएको छ । विद्यार्थीलाई भर्ना गराउने, विद्यालयमा टिकाउने, सिकाउने र बिकाउने खालको वातावरण बनाउनतर्फ शिक्षा विभागका उपसचिव नरहरी अर्यालले जोड दिए । उनका अनुसार आधारभूत तहका बालवालिका पूर्ण भर्ना घोषणा गर्ने स्थानीय तहमध्ये प्यूठान नगरपालिका तेस्रोमा पर्छ । यसअघि बर्दियाको बारवर्दिया नगरपालिका र सप्तरीको सुरुंगा नगरपालिका घोषणा भइसकेको अर्यालले जानकारी दिए ।
सामुदायिक र संस्थागत गरी प्यूठान नगरक्षेत्रमा रहेका ६४ वटा विद्यालय र ६९ वटा बालविकास केन्द्रमा आधारभूत तहका बालवालिकाहरु भर्ना भएको नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी गराएका छन् । एकदेखि आठ कक्षासम्म नौ हजार सात सय ११ जना बालवालिकाहरु विद्यालय भर्ना भएका छन् । आधारभूत तहमा नगरपालिकाको औषत सिकाई उपलव्धी ६० प्रतिशत रहेको छ । जिल्लाभर अझैपनि आठ प्रतिशत बालवालिकाहरु विद्यालयको पहुँच बाहिर रहेको सरोकारवाला निकायले जानकारी दिए । जिल्ला सम्वन्य समितिका प्रमुखका केशवराज आचार्यले समग्र प्यूठानको विकास निर्माण सम्वन्धी मागपत्र मुख्यमन्त्री पोख्रेललाई बुझाएका छन् । कालिका विकास केन्द्र नेपाल, सेभ द चिल्डे«नको सहयोगमा नगरपालिकाले घोषणा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नगरक्षेत्रमा रहेका विभिन्न कला, संस्कृतिहरु प्रदर्शन गरिएको छ