© २०२३
पछिल्लोकालमा महर्षिकल्प योगी नरहरीनाथले २०४२ सालमा गुल्मी सदरमुकाम तम्घासदेखि माथि डाँडामा अवस्थित तपोभूमि रेसुङ्गामा कोटीहोम महायज्ञ आयोजना गरे । रेसुङ्गाको आध्यात्मिक एवं धार्मिक तथा साँस्कृतिक महिमाको उत्खनन् र प्रचार प्रसार गर्दै सनातन धर्म संस्कृतिको संरक्षण एवं प्रबद्र्धन गर्ने उद्देश्यले योगीद्वारा उक्त कोटीहोम आयोजना गरिएको थियो । २०४२ सालपछि २०८० सालको बैशाख २३ गतेदेखि जेठ १ गतेसम्म रेसुङ्गामा अर्को ठूलो महायज्ञ श्रीराम महामहोत्सव सन्त भक्त दर्शन मेला आयोजना गरियो । २०४२ सालमा गठित रेसुङ्गा संरक्षण समितिद्वारा उक्त मेला आयोजना गरिएको थियो । भगवान रामचन्द्रको जन्म भूमि भारतको अयोध्या र रेसुङ्गावीचको त्रेता युगको सम्बन्ध पुनः जागृत गराउँदै रामायण पर्यटन सर्किटको विकास र प्रबद्र्धन गर्ने उद्देश्यले उक्त मेला आयोजना गरिएको थियो । मेलामा नेपाल र भारतका गरी ४ सय बढी साधु सन्त र ५० हजार बढी श्रोता एवं दर्शक सहभागी भएको तथ्याङ्क छ । मेलामा भारतको अयोध्या, बनारस, वृन्दावन, हरिद्वार, राजस्थान आदी क्षेत्रका साधु सन्तहरू सहभागी हुन आएका थिए । मेलाबाट करिब ६३ लाख रूपैयाँ सङ्कलन भएको छ । त्यसमध्ये २५ लाख रूपैयाँको बेद विद्याश्रम सञ्चालन र गोरक्षाकोलागि खर्च गर्ने गरी अक्षयकोष स्थापना गरिएको छ ।
रेसुङ्गा सत्य युगदेखिकै तपोभूमि एवं ज्ञान भूमि हो । सत्य, त्रेता र द्वापर युगमा यहाँ ठूल्ठूला महर्षिहरूले तपस्या गरी सिद्धि (ज्ञान) प्राप्त गरेको जनश्रुती लोकमा पाइन्छ । यहाँ तपस्या गर्ने महर्षिहरूमध्ये त्रेता युगका ऋष्यश्रृङ्ग लोकमा सबैभन्दा बढी प्रसिद्ध भए । उनकै नाम ऋष्यश्रृङ्गबाट रेसुङ्गा नामाकरण भएको मानिन्छ । ऋष्यश्रृङ्गबाट अपभ्रम्स भई रेसुङ्गा बनेको कुरामा हालसम्मका सबै अन्वेषक, विद्वान र ज्ञानीहरू एकमत छन् । उनै ऋष्यश्रृङ्गको प्रमुख आचार्यत्वमा गरिएको पुत्रेष्टि यज्ञपछि अयोध्याका राजा दशरथलाई पुत्ररत्न जन्म भएको मानिएको छ । ऋष्यश्रृङ्गको प्रमुख आचार्यत्वमा भएको यज्ञपछि राजा दशरथलाई चार पुत्ररत्न राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म भएको मानिएको छ । यो त्रेता युगको कुरा हो । रेसुङ्गा संरक्षण समितिको अभिलेख अनुसार रेसुङ्गामा त्रेतायुगमा महर्षि ऋष्यश्रृङ्ग आई बसेका हुन । ऋष्यश्रृङ्ग महान प्रभावशाली तपस्वी र सर्वश्रेष्ठ ऋत्विज थिए । उनी बह्रमाजीको सभाका सभासद थिए । मुनिकुमार ऋष्यश्रृङ्ग कोशी किनारबाट कसरी रेसुङ्गामा आए भन्ने रोचक आख्यान महाभारत र बाल्मीकीय रामायणमा रहेको छ । त्रेता युगमा कोशी किनारमा विभाण्डक मुनी तपस्या गर्थे । उनका छोरा ऋष्यश्रृङ्ग ब्रह्मचारी थिए । उनी अपरिमित तेजश्वी, विद्वान र प्रभावशाली थिए । वनमा बस्ने उनी तपस्या र स्वायाध्यायमै लिन थिए ।
त्यसै समयमा अंग देशमा ठूलो खडेरी पर्नाले हाहाकार मच्चीयो । अंग देशका राजा रोमपाद थिए । रोमपादले ठूल्ठूला विद्वान, ज्ञानी ज्योतीषहरू भेला गरेर के उपायले वर्षा होला भनि सोधे । विद्वानहरूले विभाण्डक पुत्र ऋष्यश्रृङ्गलाई राज्यमा प्रवेश गराएमा सुवृष्टि हुनेछ भने । अंग देशमा ऋष्यश्रृङ्गलाई ल्याउन अनेक फलफूल र मिष्ठान्नहरू बोकेर सुन्दरीहरू पठाइए । सुन्दरीहरूले अनेक उपाय लगाएर ऋष्यश्रृङ्गलाई अंग देशमा ल्याए । ऋष्यश्रृङ्गले कुच्नासाथ अंग देशमा वर्षा भयो । ऋष्यश्रृङ्गको प्रभावबाट प्रभावित राजा रोमपादले आफ्नी धर्मपुत्री शान्ताको मुनिकुमार ऋष्यश्रृङ्गसँग विवाह गरिदिए । ऋष्य श्रृङ्गको विवाह भएको थाहा पाएर उनका पिता विभाण्डक अंग देशमा पुगे । उनले बर बधुलाई आर्शिवाद दिँदै सन्तान प्राप्ती पछि मात्र कोशी किनारको आश्रममा फर्कनु भन्ने आदेश दिएर कतै हिँडे । ऋष्यश्रृङ्ग पत्नी शान्तासँग अंग देशमा बसे । उता अयोध्याका राजा दशरथलाई पुत्र प्राप्ती नभएर पुत्रेष्टि यज्ञ गराउने आचार्यको खोजी हुँदै थियो । दशरथको राजसभाबाट अनेक यज्ञ सहित पुत्रेष्टि यज्ञ सम्पन्न गराउन सक्ने आचार्य एकमात्र ऋष्यश्रृङ्ग हुन सक्छन् भन्ने निर्णय भयो । राजा दशरथ रानी सहित अंग देश पुगेर ऋष्यश्रृङ्गलाई पुत्रेष्टि यज्ञको प्रमुख आचार्य बनीदिन अनुरोध गरे ।
ऋष्यश्रृङ्गको प्रमुख आचार्यत्वमा सरयू नदीको उत्तर किनारमा यज्ञ मण्डप बनाइयो । त्यहाँ अग्नीस्टोम, अतिरात्र, ज्योतीस्टोम, आयुस्टोम, अभिजित, विश्वजित, आरतोर्याम, उक्थ सहित अश्वमेघ यज्ञ सम्पन्न गरिए । अन्तमा पुत्रेष्टि यज्ञ सम्पन्न भयो । यज्ञको अन्तमा हवन कुण्डबाट हातमा सुनको थालमा खीर लिएर दिव्य पुरुष प्रकट भए । त्यही दिव्य खीर खाएर राजा दशरथका तीन रानीबाट राम, लक्ष्मण, भरत र शत्रुघ्न चार पुत्र रत्नको जन्म भयो । दशरथको मनोरथ पूरा भएपछि ऋष्यश्रृङ्ग त्यहाँबाट हिँडे । कोशी किनारको आश्रममा जान पितृ आज्ञा थिएन । तसर्थ अयोध्याबाट उत्तर पूर्व हुँदै एकान्त र शान्त स्थल खोज्दै रेसुङ्गामा आए । तत्पश्चात महर्षि ऋष्यश्रृङ्गले रेसुङ्गामै बसेर तपस्या गरे । पछि ऋष्यश्रृङ्गको महिमा बुझेर उनलाई भेट्न राम र लक्ष्मण रेसुङ्गामा आए । रामले पानीका लागी बाण हानेर रामकुवाको निर्माण गरेको एवं लक्ष्मणले बाण हानेर तम्घासको चारी खोलामा पानी निकालेको भन्ने किम्बदन्ती छ । रहष्यको कुरा, राम कुवाको पानी न सुक्छ न त निकास नै छ । रेसुङ्गा र अयोध्यावीच यस्तो सुमधुर सम्बन्ध छ । रेसुङ्गा र अयोध्यावीचको यही पुरानो सम्बन्धलाई पुनः जागृत गराउँदै पर्यटकीय विकास गराउने उद्देश्यले रेसुङ्गा संरक्षण समितिले रेसुङ्गा र रामायण पर्यटन सर्किटको अवधारणा अघि बढाएको छ । भारतको अयोध्या र नेपालको जनकपुर धाम (रामचन्द्रकी रानी सीताको माइती नगर) एवं चितवनको वाल्मिकी आश्रम (रामायणका रचयिता वाल्मिकी ऋषीको आश्रम स्थल एवं राम र सीताका पुत्ररत्न लव र कुशको क्रिडास्थल) वीच सु–सम्बन्ध कायम गरी पर्यटकीय गतिविधि एवं पूर्वाधार बढाउने लक्ष्य छ ।
रेसुङ्गालाई पर्यटकीय गन्तव्यका रूपमा प्रबद्र्धन गर्ने उद्देश्यले अहिले पूर्वाधार निर्माणका काम भईरहेका छन् । रेसुङगामा ऋष्यश्रृङ्गको कुटी सानो रेसुङ्गामा थियो । त्यहाँ अहिले ऋष्यश्रृङ्गलाई सम्झाउने संरचनाहरू बन्दैछन् । महान प्रभावशाली, अद्वितीय ऋत्विज महर्षि ऋष्यश्रृङ्गको आश्रम स्थल भएकाले रेसुङ्गालाई पवित्र तपोभूमि र तिर्थ स्थलको रूपमा सबैले मान्दै आएका छन् ।
रेसुङ्गा, तपोभूमिका अतिरिक्त भगवान शिवको प्रिय भूमि पनि हो । यहाँ सिद्धस्थान छ । यो अति प्राचिन स्थान हो । साक्षात् भगवान शिव नै यहाँ सिद्देश्वर महादेवको रूपमा प्रकट भएको विश्वास गरिन्छ । यहाँ साउन महिनाभरी भगवान शिवको दुधधार र पूजाद्वारा अर्चना गरिन्छ । सिद्धस्थानप्रति मानिसहरूको ठूलो आस्था रहेको छ । त्यस्तै समुन्द्र मन्थनबाट निस्केको अमृत खसेको भूमिको रूपमा पनि रेसुङगा महिमाशाली छ । समुन्द्र मन्थनपछि भगवान विष्णुले मोहिनी अवतार लिएर देवताहरूलाई अमृत बाँड्दै थिए । अमृत बाँड्दै गर्दा दैत्यहरूले खालान भनेर गरुडले अमृतको घडा लिएर उडे । त्यसरी उड्दा घडा छचल्कीएर अमृतका बुँद पृथ्वीमा खसे । ति बुँद रेसुङ्गामा पनि परे । अमृतका बुँदहरू खसेको भूमि भएकाले यो भूमि देवप्रिय भयो । यहाँ देवताहरू आइ बसे । अमृतले सिंचेको भूमि भएकाले यहाँ गरेका साधना–तपश्या सिद्ध भए । यहाँ भगवान विष्णुका बाहन गरुडको वासस्थान समेत रहेको छ ।
रेसुङ्गा आध्यात्मिक–धार्मिक–साँस्कृतिक दृष्टिले जति मनोरम छ, उत्तिकै प्राकृतिक दृष्टिले पनि मनोरम छ । उच्च क्षेत्र हुनाले यहाँको हावापानी शितल छ । शान्त, एकान्त, शितल र मनोरम छ, रेसुङ्गा । यहाँको वनजङ्गलमा २ सय ५८ प्रजातिका चराचुरुङ्गीको साथै चितुवा, मृग, घोरल, खरायो आदी वन्यजन्तु पनि पाइन्छन् । रेसुङ्गामा सत्य युगमा भृगु, पुलह, पुलस्त्य आदी महर्षिहरूले तपस्या गरेको कुरा प्राचीन ग्रन्थहरूमा पाइन्छ । १९ औं शताब्दीका स्वामी शशिधर रेसुङ्गाका अर्का ठूला तपश्वी हुन । उनले भारतको मथुरामा पुगेर भगवान श्रीकृष्णको प्रत्यक्ष दर्शन पाएका थिए । देवर्षि नारद स्वयं प्रकट भई यिनलाई तत्वज्ञानको उपदेश दिएका थिए भनिन्छ । बेदान्त र हठ योगका प्रकाण्ड पण्डित शशिधर स्वामी जोसमनि सन्त सम्प्रदायका प्रबर्तक थिए । रेसुङ्गाका अर्का प्रसिद्ध तशस्वी महाप्रभु लक्ष्मीनारायण हुन । आवाल ब्रह्मचारी उनी चामत्कारीक अलौकिक शक्तिसम्पन्न महापुरुष थिए भनिन्छ । योगी छविलाल, ठाकुरप्रसाद र कमलापति पनि रेसुङ्गाका तपश्वी हुन ।
कमलापतिको अवसानपछि रेसुङ्गालाई ब्य्ूँझाउने र त्यहाँ धार्मिक पुनरुत्थान गर्ने प्रभु यदुकानन्द हुन । उनले महाराज जुद्ध शम्सेरलाई प्रभाव पारी रेसुङ्गामा ठूल्ठूला राजसी यज्ञहरू गरेका थिए । प्रभु यदुकानन्दको समयमा रेसुङ्गा दोस्रो सिंहदरबार झँै थियो भनिन्छ । यदुकानन्दपछि रेसुङ्गा केही समय प्रभावहीन र शुन्यप्रायः रह्यो । रेसुङ्गाको आध्यात्मिक, पौराणीक र ऐतिहासिक महत्व बुझेका महर्षिकल्प योगी नरहरीनाथले २०४२ सालमा कोटीहोम महायज्ञ सम्पन्न गरेपछि रेसुङ्गामा फेरी आध्यात्मिक पुनर्जागरण भयो । अहिले बाल ब्रहमचारी स्वामी तदर्थानन्द रेसुङ्गामा तपस्यारत छन् । रेसुङ्गा गुल्मी जिल्लाको मात्र नभई नेपाल राष्ट्रकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । यसको विकास र प्रबद्र्धन गर्न सरकारको ध्यानाकर्षण हुन जरुरी छ । यो वर्षदेखि रेसुङ्गा नगरपालिकाले जाउँ हिँड रेसुङ्गा कार्यक्रम सञ्चालन गरेको छ ।