© २०२३
चानचुने कुरा होइन तर कोही केही बोलिरहेका छैनन् । त्यसैले यहाँ अनेकन हल्लाहरूको बीचमा पनि डरलाग्दो मौनता व्याप्त छ ।
त्रासदीमाथि त्रासदीजस्तो संविधानमाथि खेल्ने काम निरन्तर चलिरहेको छ । संविधानको हुर्मत लिने, संविधानलाई सत्ता स्वार्थ अनुरूप परिभाषित गर्ने र आफ्नो अहङ्कार अनुकूल अर्थ लगाउने काम निरन्तर चलिरहेको छ !
निरन्तर चलिरहेको छ–‘संविधान–संविधान’ खेल ।
समानान्तरमा राजनीतिमा पहिचानको खोजी गर्नेहरूको आवाज मानौं हराइगयो । त्यो आवाजको प्रतिध्वनि मानौं कोशी, गण्डकी, र कर्णालीको प्रवाहमा बग्दै बग्दै गयो र विलुप्त भयो । ‘खुवालुङ बचाऊ’ वा ‘कालीगण्डकी बचाऊ’ आन्दोलनको आवाज मत्थर हुँदै जाँदा पहिचान र सामथ्र्यको आधारमा प्रदेशहरूको नामाकरण गरिनु पर्दछ भन्ने आवाज ‘कोमा’मा जानु कथित अग्रगामी राष्ट्रको लागि एउटा त्रासदी सिवाय केही थिएन ।
सम्वत् २०६५ जेठ १५ ।
‘एक जुगमा एक चोटि’ आएको एउटा दिन थियो । कवि गोपाल प्रसाद रिमालको एक जुगमा एकचोटि आएको एउटा दिन ! त्यो दिन आएपछि देशको राजनीति, संस्कृति र भूगोलमा जन अपेक्षित परिवर्तनका झिल्काहरू देखिनु पर्दथ्यो । अन्तिम किनारका मानिसहरूको जीवनमा युगान्तकारी परिवर्तन हुनु पर्दथ्यो । तर ती केही पनि भएनन् । जुन परिवर्तनका लागि सङ्घीयतालाई आत्मसात गरिएको थियो, त्यसको प्रस्थान बिन्दु नै गलत भइदियो । प्रदेशहरू अन्तिम किनारको सम्मान, पहिचान र सामथ्र्यको प्रतिविम्व हुन सकेनन् ।
राजा महेन्द्रले सम्बत् २०१८ बैशाखमा १ मा प्रदेशहरूको जे नामाकरण गरिदिएका थिए, गणतन्त्र र सङ्घीयताका कथित सारथिहरूले तिनै नामलाई टपक्क टिपेर थपक्क पुर्नस्थापित गरिदिए । तिनलाई राजा महेन्द्र बहुतै दुरदर्शी लागे । अनि ती मानौं महेन्द्रकै पिछलग्गु भै गए । दशकौंदेखि पहिचान खोजिरहेका अन्तिम किनारका मानिसहरूलाई ट्वाँ पारेर गणतन्त्रका कथित सारथिहरूले प्रदेशको पुर्नन्वारान फटाफट महेन्द्रीय शैलीमा सम्पन्न गरे ।
विडम्वना त के भने त्यत्रो लामो र कठिन संघर्षबाट खारिएर आएका भनिएका बीचका र तलका नेतागण कथित शीर्ष नेतृत्वका अघि लम्पसार परे । तिनले विमतिका स्वरहरू उठाउन सकेनन् । तिनले अन्तिम किनारका मानिसहरूलाई पहिचान दिनु पर्दछ भनेनन् । तिनले अन्तिम किनारको आत्मसम्मानलाई स्वीकार गर्न सकेनन् । तिनले अन्तिम किनारलाई केवल भोट बैंक बनाउन छक्कापञ्जा सिवाय अरू केही पनि गर्नु छ भन्ने ठानेनन् ।
राजनीतिमा महेन्द्रीय भाष्यको एउटै निष्कर्ष छ । त्यो हो शासनतन्त्र । शासनतन्त्र । र, शासनतन्त्र । जसरी पनि शासन गर्नु र शक्तिशाली शासक बनिरहनु त्यो भाष्यको उद्देश्य हो । त्यही उद्देश्यमा गणतन्त्रको कथित शीर्ष नेतृत्व यसरी लाग्यो कि त्यसले गणतन्त्रको चीरहरण गर्न पछि परेन । त्यसले सङ्घीयतालाई घाउमाथि घाउ दिन कुनै संकोच मानेन । अन्तिम किनारलाई ठाडै उपेक्षा गर्न त्यसलाई कुनै धौ भएन । नैतिकता, इमानजमान र विवेकका सारा वस्त्र फुकालेर नांगिन त्यसलाई लाज लागेन ।
अनि यिनै विद्रुप प्रक्रियाहरूको समानान्तरमा शुुरु भएको हो संविधानमाथि खेल्ने काम । संविधानको हुर्मत लिने काम । संविधानलाई सत्ता स्वार्थ अनुरूप परिभाषित गर्ने काम । आफ्नो अनुकुल अर्थ लगाउने काम !
एकादेशमा जस्तै झण्डै दुई तिहाइ बहुमतका साथ सत्तारुढ थियो एउटा दल । तर त्यसको शीर्ष नेतृत्वले आफ्नो अहङ्कार र स्वार्थका लागि जननिर्वाचित प्रतिनिधि सभालाई भङ्ग गर्यो । उसले त्यसलाई प्रधानमन्त्रीको संवैधानिक अधिकार भन्यो । अरूहरूले भने त्यसलाई संविधानविपरीतको कदम भने । संविधानलाई एउटा पक्षले आफ्नो स्वार्थ अनुकुल व्याख्या गर्यो, अर्को पक्षले आफ्नो स्वार्थ अनुकुल । अन्तिम किनार भने केवल ट्वाँ पर्यो।
सर्वोच्च अदालतले प्रतिनिधि सभालाई भङ्ग गर्नु संविधान विपरीत भन्यो र पुर्नस्थापित गरिदियो । तर त्यही नेतृत्वले दोस्रो पटक फेरि प्रतिनिधि सभालाई भङ्ग गर्यो । उसले त्यसलाई फेरि पनि प्रधानमन्त्रीको संवैधानिक अधिकार भन्यो । अरूले त्यसलाई फेरि पनि संविधानविपरीतको कदम भने ।
सर्वोच्च अदालतले प्रतिनिधि सभालाई फेरि पुर्नस्थापित गरिदियो !
तीन साता अघि कोशी प्रदेशमा सभामुखले धरि आफ्नो स्वार्थ अनुकूल संविधानको व्याख्या गरेर सत्तापक्षका लागि भोट हालेर सरकार गठन भयो । सत्ताच्यूत भएर रनाहा परेको अर्को पक्षले त्यसलाई संविधान विपरीत भनेर मुद्दा हाल्यो । अदालतले सभामुखको त्यो मतलाई मान्यता दिएन । उक्त सरकार २० दिनमा नै ढल्यो र अर्को सरकार गठनको प्रक्रियामा गयो ।
अदालतले संविधानको सन्दर्भमा गर्ने व्याख्या, त्यो व्याख्यामा अन्तरनिहीत सत्ता सापेक्षता वा निरपेक्षता विमर्शको अर्को पाटो होला तर राजनीतिक नेतृत्व संविधानको अर्थ लगाउने सन्दर्भमा कति खोटो छ भन्ने कुरा पटक पटक संसद् भंग गर्ने बलमिच्याइँ र अनवरत् रूपमा चलिरहेको सङ्घीय र प्रदेश सरकार गठन प्रक्रियाको विद्रुप दृश्यहरूले प्रष्ट पार्दछन् ।
भनिन्छ–दृष्टिविहीनहरूले छामिरहेको हात्तीबारे सही निष्कर्ष निस्कन सक्तैन । तिनको अनुमानले जे भ्याउँछ हात्तीका बारेमा तिनले त्यही धारणा बनाउँछन् र त्यही अनुसार आफ्नो विचार व्यक्त गर्दछन् । ती निरीह होलान् तर तिनको नियतमा खोट हुँदैन । नियतमा खोट त गणतन्त्रका कथित नेतृत्वमा छ । हात्ती हो भन्ने जान्दाजान्दै पनि सत्ता स्वार्थका लागि तिनले कहिले हात्तीलाई मुसा भनिदिएका छन् । कहिले भनिदिएका छन् घोडा । कहिले स्याल भनिदिएका छन्, त कहिले बाघ भनिदिएका छन् ।
संविधान यस्तो किन भयो ? शाब्दिक अर्थ हराएर संविधान किन व्यञ्जनामा प्रवेश गर्दछ ? कसले बनाएको हो यस्तो कविता जस्तो संविधान ? जसले जे अर्थ लगाए पनि हुने कथित उत्तरआधुनिक कविता जस्तो संविधान पनि कहीं संविधान हुन्छ ?
अन्तिम किनारले संविधानको नाममा कुनै कविता वा कवितासङ्ग्रह खोजेको थिएन । संविधानमा कुनै प्रतीक र विम्ब खोजेको थिएन । कुनै उपमा र उपमेय खोजेको थिएन । अन्तिम किनारले त तिनको जीवनजस्तै सीधासाधा अर्थ लाग्ने संविधान खोजेको थियो । सुनेर अडकल लगाउन नै धौ हुने संविधानको दफा उपदफाहरू खोजेको थिएन । अन्तिम किनारले सेतो सेतो देखिने र कालो कालो देखिने संविधान खोजेको थियो ।
तर, त्यो चिरप्रतीक्षित संविधानको किताप मानौं कविताको किताप बनिदियो । मानौं कथित उत्तर आधुनिक कविताको एउटा सङ्ग्रह !
अन्तिम किनारलाई थाहा छैन–आफूलाई आजीवन ‘माननीय’ ठान्ने संविधान सभाका सदस्यहरू अहिले के गरिरहेका छन् ? तिनले आफूले बनाएको संविधानको त्रासदीपूर्ण प्रयोग देखेर केही सोंच्दा हुन् कि नाई ? संविधान निर्माणको क्रममा आफूमाथि परेको आफ्नै नेतृत्वको चाबुकको पीडा ती अहिले महसुश गर्दा हुन् नाई ?
सत्ताले संविधानमाथि निरन्तर नयाँ नयाँ प्रयोग गर्दै आइरहेको छ । संविधानको अर्थ लगाउने क्रममा सत्ताधारीहरूले केवल आफ्नो स्वार्थ हेरिरहेका छन् । खासमा अन्तिम किनारलाई न्याय दिने र देशको मूल प्रवाहमा मिसिन बाटो देखाउने कितापको रूपमा यो संविधान तिनकोे निर्दोष रातो रगतले लेखिएको थिएन । यो संविधान एउटा उत्तरआधुनिक कविता सङ्ग्रहको रूपमा सत्ता षडयन्त्रको कालो अंगारले लेखिएको थियो ।