© २०२३
हामी निर्वाचित भएको पाचौं वर्षमा छौं । त्रिवेणी गाउँपालिकामा निर्वाचित भएर आउँदा हामी बस्ने गाउँपालिका भवनमै समस्या थियो । अध्यक्ष, उपाध्यक्ष तथा कर्मचारीको कार्यकक्ष एउटै कोठामा थियो । सोही भवनमा २ वटा वडा कार्यालय थिए जो एउटा कोठामा सिमित भएर सेवा दिनुपर्ने वाध्यता थियो । कर्मचारी जनशक्ति निकै कम थियो । एक जना कार्यकारी अधिकृत, नायव सुव्वा र २ वटा वडा हेर्ने गरि एक जना वडा सचिव । कर्मचारी जनशक्ति पनि कम, हामी पनि भर्खरै निर्वाचित भएर आएको, ऐन नियम र कानून केहि पनि नभएको अवस्था थियो । यस्तो परिवेशमा गाउँपालिकामा सडक, खानेपानी, बत्ति, विद्यालय, स्वास्थ्य संस्था सवै अस्तव्यस्त थिए । विगत सम्झदै गाउपालिका अध्यक्ष शान्तकुमार वलीले वेलिविस्तार लगाए ।
विद्यालय जानु पर्ने बेला कामको खोजीमा हिंडेका बालबालिकाको लस्कर देखेर गाउँपालिका अध्यक्ष वली शान्त रहन सकेनन् । दशकौंदेखि रोल्पाका युवायुवतीसँगै बालबालिकासमेत पढाइ छाडेर इटा भट्टामा काम गर्न जाने प्रचलनले त्रिवेणी गाउँपालिकाको नारा ‘समृद्ध त्रिवेणी’ लाई जिस्काइरहेको थियो । अध्यक्ष वलीले यो अवस्था अन्त्य गरी बालबालिकालाई विद्यालयमा लैजाने योजना बनाउन थाले ।
फलस्वरुप पाँच वर्षभित्र गाउँपालिकालाई बालश्रममुक्त वनाउने संकल्प सहित त्रिवेणीले शिक्षा र बालबालिका सम्वन्धी पाँचवटा कानून तर्जुमा ग¥यो । अब गाउँपालिका बालश्रममुक्त वनि सकेको छ । सातैवटा वडालाई बालश्रम मुक्त घोषणा गरेको उसले गत पुष २९ गते गाउँपालिकालाई नै वालश्रम मुक्त घोषणा गरिे लुम्विनी प्रदेशकै पहिलो बालश्रममुक्त गाउँपालिका बनेको छ ।
अध्यक्ष वलीको रणनीतिक कार्ययोजना अनुरुप सुरुमा गाउँपालिकाले श्रममा गएका बालबालिकाको विवरण तयार प¥यो । गाउँपालिकाले गरेको सर्वेक्षणबाट काठमाडौंका ईटाभट्टा साथै देशका अन्य शहर र भारतमा समेत गरी कुल २२७ जना बालबालिका श्रममा गएको पाइयो । बालश्रमको मुख्य कारण अभिभावकको गरिबी र दावँलीकोे देखासिकी भन्ने पनि सर्वेक्षणबाट थाहा लाग्यो ।
अहिले तीे सवै बालबालिका घर फर्किसकेका छन् । फर्केकामध्ये विद्यालय जाने उमेरका १७३ जनाले विभिन्न विद्यालयमा भर्ना भई नियमित पठनपाठन गरिरहेका छन् । गाउँपालिका भित्रका विभिन्न होटल–रेस्टुरेन्टमा मजदुरी गर्ने नौ जना बालबालिका पनि मुक्त भईसकेका छन् ।
बालबालिकालाई विद्यालयसम्म ल्याए पनि उनीहरुको परिवारको गर्जो टार्ने व्यवस्था नभएसम्म विद्यालयमा टिकाइराख्न सहज थिएन । त्यसैले गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थासँग समन्वय गरी बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरेको छ । “जीविकोपार्जनकै समस्या भोगिरहेका गरिब बालबालिकाका परिवारका लागि बाख्रापालन, कुखुरापालन, तरकारी खेती जस्ता आयआर्जनका काममा सहयोग गरेका छौं,” अध्यक्ष वली भन्छन् ।
गाउँपालिकाले २९ घरधुरीलाई बंगुरपालन, ७४ घरधुरीलाई कुखुरापालन र १२६ घरधुरीलाई बाख्रापालनमा सहयोग गरेको छ । त्यस्तै सीप विकासअन्तर्गत २३ जनालाई हाउस वायरिङको तालीम, १६ जनालाई सिलाइकटाई, १५ जनलाई डकर्मी, १० जनालाई सिकर्मी, १० जनालाई कपाल काट्ने, ९ जनालाई खाजा नास्ता बनाउने, ९ जनालाई ब्युटीपार्लर, र ४ जनालाई मोटरसाइकल मर्मतको तालीम पनि दिएको छ । तालीम र आयआर्जनमा सहयोगले बालबालिकालाई विद्यालय आउन सहज भएको छ । मजदुरमा जान वाध्य बालबालिकाको लागि भन्दै खडा गरिएको बालबालिका अक्षय कोषमा गाउँपालिकाले ३८ लाख जम्मा गरेको छ । यही कोषवाट श्रमवाट फर्किएका बालबालिकालाई सहयोग गर्दै आएका छौं त्रिवेणी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख हिरा वुढामगर बताउँछिन् ।
निजी विद्यालयविहिन गाउँपालिका
निजी र सरकारी शिक्षाको विभेदलाई अन्त्य गरी सबैलाई समान गुणस्तरीय शिक्षा दिन भन्दै त्रिवेणी गाउँपालिकाले निजी विद्यालयहरु लाई सरकारी विद्यालयमा समायोजन गरेको छ । त्यस्तै विद्यार्थी संख्या अत्यन्तै न्यून भएका सरकारी विद्यालयलाई पनि नजिकको अर्को विद्यालयमा समायोजन गरिएको छ ।
नर्सरी देखि कक्षा १० सम्म पढाई भइरहेको शिखर जलजला एकेडेमी बोर्डिङ स्कुल, त्रिवेणी– ५ जुँगारलाई जनजागृति मावि त्रिवेणीमा समायोजन गरिएको छ । समायोजनसँगै शिक्षा मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ मा जनजागृति माविलाई नमुना विद्यालयको रुपमा छनौट ग¥यो । उक्त विद्यालयले यसै वर्षदेखि नमूना विद्यालय विकास कार्यक्रम कार्यान्वयन गर्ने गरि ५ वर्षे गुरुयोजना समेत वनाएको छ । अहिले यो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको छ ।
त्यस्तै निजी स्तरमा सञ्चालन भएको मदरल्याण्ड एजुकेयर एकेडेमी प्रालीलाई शुक्र मावि झुम्लुङमा, रोल्पा सनराइज इंग्लिस बोर्डिङ स्कुललाई विरेन्द्र मावि गाङमा र बुढागाउँ मदरल्याड एकेडेमी प्रालीलाई सरस्वती मावि लिङदुङमा समायोजन गरिएको छ । त्रिवेणी गाउँपालिकामा सञ्चालित सबै निजी विद्यालयहरु सरकारीमा समायोजन भएपछि अहिले गाउँपालिका निजी विद्यालयविहिन भएको छ ।
विद्यार्थी संख्या कम रहेका तीन वटा सरकारी विद्यालयहरु समेत नजिकको अर्को सरकारी विद्यालयमा समायोजन भएका छन । जनजागरण प्रावि खालीचौर, नवज्योति प्रावि दारिमचौर र जनमिलन प्रावि धारमखोला क्रमशः जनजागृति मावि जुँगार, अरनिको मावि नुवागाउँ र सरस्वती मावि काउलाबोटमा समायोजन भएका छन् ।
विद्यार्थी संख्या कम भएका सरकारी विद्यालयका केही कक्षाहरु अर्को विद्यालयमा पनि समायोजन गरिएको छ । बालसेवा प्रावि जप्काको कक्षा ४ र ५ लाई शिव मावि द्वारपानीमा र जनसेवा आवि रामिडाँडाको कक्षा ६, ७ र ८ लाई सरस्वती मावि लिङदुङमा समायोजन गरिएको छ । बालसेवा आधारभूत विद्यालयमा अहिले कक्षा ३ सम्म र जनसेवा आधारभूत विद्यालयले अहिले कक्षा ५ सम्ममात्र पठनपाठन हुन्छ ।
त्रिवेणी गाउँपालिकाले समायोजन हुने विद्यालयमध्ये मावि तहका लागि रु. ५ लाख, निमावि तहका लागि रु. ३ लाख र प्रावि तहका लागि रु. २ लाख बजेट उपलब्ध गराएको थियो । समायोजन भएका विद्यालयलाई प्राथमिकता दिई अन्य सेवा–सुविधा उपलब्ध गराउने नीति रहेको गाउँपालिकाको शिक्षा शाखाको भनाई छ ।
निजी विद्यालयहरु सरकारीमा समायोजन भएसँगै पढाइको गुणस्तरमा पनि सुधार भएको अभिभावकहरु बताउँछन् । समायोजनसँगै निजीका शिक्षकहरु सरकारी विद्यालयमा आएका छन् । “बोर्डिङ स्कुलका सरहरुले पढाउन थालेपछि अधिकांश विद्यालयमा अंग्रेजी माध्यममा पढाई हुन थालेको छ,” अभिभावक खुसीराम केसीले भने । उनका अनुसार शिक्षाको गुणस्तर निजीभन्दा राम्रो बनाउने शर्तमा मात्रै विद्यालय समायोजनको सहमति दिइएको हो । “निजीमा पढ्दै गरेका मेरा छोराछोरी सरकारीमा भर्ना गर्दा पढाई कस्तो होला भन्ने लागेको थियो तर, अहिले ढुक्क भएका छौं,” केसीले सुनाए ।
डिप्लोमा तहको पशुविज्ञान र बाली विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि त्रिवेणी गाउँपालिकाले प्रति विद्यार्थी रु. १ लाखका दरले छात्रवृत्तिको व्यवस्था गरेको छ । गाउँपालिकाले हरेक वडाबाट १/१ जना छात्रा–छात्रा गरी बाली विज्ञान तर्फ १४ जना र पशु स्वास्थ्य विज्ञान तर्फ १४ जना जनालाई छात्रवृत्ति दिने गरेको छ ।
त्रिवेणी गाउँपालिकाले पनि निजी शिक्षक अनुदान शीर्षकमा बजेट विनियोजन गरी शिक्षामा अभिभावकको भार कम गरेको छ । बालविकास सहजकर्ता र विद्यालय कर्मचारीका लागि यो गाउँपालिकाले सरकारले उपलव्ध गराउदै आएको सुविधामा रु. २ हजार थप गरेको छ ।
त्रिवेणी गाउँपालिकाले २६ जना अनुदान शिक्षकका लागि रु. ६० लाख विनियोजन गरेको छ । आधारभूत तहका लागि रु. १५ हजार, माध्यमिक तहका लागि रु. २० हजार र प्राविधिक प्रशिक्षकका लागि रु. २९ हजारका दरले तलव सुविधा उपलव्ध गराएको छ । गाउँपालिकाले बालशिक्षा सहजकर्ता, विद्यालय कर्मचारी र कार्यालय सहयोगीहरुको तलव भत्ता रु १५ हजारका दरले दिने निर्णय गरेको छ ।
पालिकाभित्रका सबै १२ वटै माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गर्ने जिल्लाको पहिलो हो, त्रवेणी गाउँपालिका । विद्यालयका नर्सलाई प्राथमिक उपचार र स्वास्थ्य परीक्षणका साथै किशोरकिशोरीको प्रजनन तथा यौन स्वास्थ्यबारे सचेतीकरण, महिनाबारी व्यवस्थापन, हिंसाबाट बालबालिकालाई सुरक्षा र सीप हस्तान्तरणको जिम्मेवारी दिइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढा बताउँछन् । विद्यालयमा खानेपानी व्यवस्थापन तथा सरसफाइ सञ्चालन, खोप कार्यक्रम र स्वास्थ्य शिक्षा सञ्चालनको जिम्मा पनि नर्सहरुले लिएका छन् ।
जनजागृति मावि जुगारमा कार्यरत स्टाफ नर्स आयुषा घर्तीमगर भन्छिन्, “म आफैं महिला भएकाले पनि होला महिनाबारी र प्रजनन् स्वास्थ्यबारे किशोरीहरुले खुलेर कुरा गर्छन् । उनीहरुका समस्या सम्बोधन हुँदा स्कुल आउने दर पनि बढेको छ ।” विद्यार्थीहरुमा धेरैजसो ज्वरो, रुघाखोकी, टाउको दुख्ने, पेट दुख्ने र चोटपटकको समस्या हुने गरेको उनी बताउँछिन् । विद्यालयमा नर्स कार्यक्रमले बालबालिकाको शिक्षामा ठूलो परिवर्तन ल्याएकोे गाउँपालिकाको दावि छ ।
“कक्षा कोठामा पढ्दापढ्दै महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने कुराले सधै पिरोल्थ्यो विद्यालय नर्सिङ कार्यक्रमपछि यस्तो समस्या टरेको छ,” जनजागृति मावि जुगारको कक्षा १० की छात्रा विनिता केसी भन्छिन् । महिनाबारी हुँदा अधिकांश छात्राले ३÷४ दिन विद्यालय छोड्ने गरेकोमा विद्यालयमा नर्स आएपछि विद्यार्थी अनुपस्थित दर ह्वात्तै घटेको छ ।
संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा विद्यालयमा नर्सिङ सेवा सुरु भएको हो । उनीहरुको खर्च व्यवस्थापन नेपाल सरकारको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत योगदान रहन्छ ।
यस गाउँपालिकामा हाल ५ वटा स्वास्थ्य चौकी र २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् । गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको लागि जुगारमा २० रोपनीभन्दा बढी जग्गा दानपत्र मार्फत प्राप्त गरि २ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि टेण्डर स्वीकृत तथा शिलान्यास भईसकेको जनाएको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गरी जुगार स्वास्थ्य चौकीमा कोभिड विशेष अस्थायी अस्पताल स्थापना गरी मेडिकल अधिकृतबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य संस्थामा डिजिटल एक्स–रे सेवाका लागि गाउँपालिकाद्वारा रेडियोग्राफर कर्मचारी पदपूर्ती गरि डिजिटल एक्स–रे सेवा सर्वसुलभ रुपमा सञ्चालनमा रहेको छ । पालिकास्तरमा बिरामी ओसारपसारको लागि एम्बुलेन्स सञ्चालन गरिएको गाउँपालिकाको भनाई छ ।
गाउँपालिकाका ७ वटै वडा कार्यालय र स्वास्थ्य चौकी लगायतका मुख्य क्षेत्रमा सडक सञ्जाल विस्तार भएको छ । करिब ३०० किलोमिटर बढी कच्ची, ग्राभेल सडक र गाउँपालिकाक केन्द्र आसपासमा ३ किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ ।
त्रिवेणी उज्यालो कार्यक्रम संचालन गरेको गाउँपालिकाले हालसम्म करिब ७५ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा आएको जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म शतप्रतिशत जनतासमक्ष विद्युत पहुँच पुर्याइ त्रिवेणी उज्यालो कार्यक्रम घोषणा गर्ने लक्ष्य रहेको छ गाउँपालिका अध्यक्ष वलीले भने ।
आज त्रिवेणी फेरिएको छ । कुरा वा भाषणमा हैन व्यवहारमै त्रिवेणी फेरिएको छ । काम गर्ने संकल्प र भिजन भए छोटै समयमा परिवर्तन गर्न सकिने रहेछ भन्ने उदाहरण वनेको छ त्रिवेणी रोल्पाका शिक्षा पत्रकार दिनेश सुवेदी भन्छन ।