© २०२३
ऊ हाम्रो जमानाको दुःको वारिस हो । हाम्रै समयको प्रतिनिधि पात्र !
ऊ हाम्रै माझमा छ । तर पनि उसको यहाँ उपस्थिति छैन । उसको अनुपस्थितिका कारणहरू छन् ।
जस्तो कि ऊ कहिल्यै कुनै राजनीतिक दलको झोला बोकुवा बनेन । तिनको मसाल, झण्डा, डण्डा वा बन्दुक बोकुवा पनि भएन । न ऊ घाम छापे भयो, न रुख छापे । न ऊ गाई छापे भयो, न घण्टी छापे वा हलो छापे । यस्तै यस्तै कुनै छापे भएन । ऊ मानौं अमूक प्राणी ! उसले कहिल्यै टाँठाबाठाहरूको बोलीमा लोली मिलाएन । ऊ कहिल्यै भविष्य खोज्न काठमाण्डौ पसेन । विदेशका महानगरहरूमा गएर धन पैसा कमाउने अवसर त उसले पाउँदै पाएन । ऊ त हरेक अवसरहरूबाट वञ्चित ! उसका साना साना सपनाहरू कहिल्यै विपना भएनन् । उसका सानासाना रहरहरू कहिल्यै पूरा भएनन् ।
राजा महाराजाहरू बितेर गए । बितेर गए विख्यात नेताहरू । लामालामा कालखण्डहरू बितेर गए । बितेर गए उसका दुःखिया पुर्खाहरू पनि । तर बितेर गएनन् पुर्खादेखिका दुःखहरू । ती दुःखहरू त वंशानुगत रोगजस्तै सर्दै सर्दै उसकै थाप्लोमा थपक्क बस्न आइपुगे ।
अनेक शासन र सत्ता पल्टेर गए । पल्टेर गए अनेक व्यवस्था । समयको आँधीले उहिल्यै राजा महाराजाहरूले बनाएका दरबार र रनिवासहरू ढले । ढल्न त भूकम्पले उसको घर पनि ढल्यो । तर पल्टिएन जात व्यवस्थाले निर्माण गरेका विभेदका पर्खालहरू । कथित धर्मद्वारा निर्देशित राज्यसत्ताको क्रूर चरित्र पल्टिएन । उसको फराकिलो क्षितिज छेक्ने दुःखका पहाडहरू ढलेनन् । ढलेनन् उसको खुट्टामा नेल ठोक्ने सामन्ती संस्कृतिका धरोहरहरू ।
अन्त्याँटी ऊ लोकतन्त्र नामक लुटतन्त्रको शूलीमा टाँगिएको छ । उसका हातहरूमा उसकै झल्ला सांसद्हरूले पारित गरीवरी ल्याएका कानुनका किला ठोकिएको छ । उसका खुट्टाहरूमा कथित गणतन्त्रको काँटी ठोकिएको छ । जीससलाई क्रसमा किलाकाँटी ठोकेर झुण्डयाएपछि शरीरबाट अत्यधिक रक्तश्राव भई शरीरमा पानी कम भएको थियो । पानी कम भएकाले जिससलाई तीब्र प्यास लागेको थियो ।
लाग्न त उसलाई पनि त्यस्तै प्यास लागेको छ । रगत, पसिना र आँसु बग्दा बग्दै उसको शरीरमा पनि पानी कम्ती भएको छ । जति जति बग्दै जान्छ रगत, पसिना र आँसु, त्यति नै उसको शरीर सुक्छ र उसलाई तीब्र प्यास लाग्छ तर त्यो प्यास पानीको प्यास होइन । त्यो प्यास जिन्दगानीको प्यास हो । मान्छेको जुनी लिएर जन्मेपछि मान्छे बन्न पाउने अधिकारको प्यास हो । मान्छेका बीचमा मान्छे जस्तै भएर बाँच्न पाउने आकाङ्क्षाको प्यास हो ।
शूलीमा झुण्डिरहेका जिससलाई ‘प्यास मेटाऊ’ भनी यहुदीहरूले फोहर नालीमा चोबेर मशाल दिएजस्तै दिन दुगुना रात चौगुना लुटतन्त्र व्याप्त भइरहेको व्यवस्थाले उसलाई गरिबी, अभाव, अपमान र असमानताको अन्त्यहीन खाडल दिएको छ । व्यवस्थाले उसलाई पल पलको मृत्यु दिएको छ र बाँकी सबै कुरा उबाट खोसेको छ । आमाबाबाको स्वास्थ्य खोसेको छ । नानीहको शिक्षा खोसेको छ । चेलीहरको यौवन खोसेको छ । पत्नीको भरोसा खोसेको छ । दाजुभाइका ताकत खोसेको छ । घरको धुरीखम्बा खोसेको छ । चुल्होको आगो खोसेको छ ।
झन्पछि झन्झन् बिजुलीको नाममा, बाटाका नाममा र कतिसम्म भने केवल कारका नाममा आदिकालदेखि उसले उपयोग गर्दै आएको जल, जमीन र जंगल खोसेको छ ।
दुःख त के भने उसलाई थाहा छ यो कुरा ! थाहा छ कसले खोसिरहेको छ उसको अमूल्य जीवन । कसले मारिरहेको छ उसको वर्तमान । तैपनि उसको दुःखी अनुहार तम्तमाइलो हुँदैन । तैपनि उसको आँसु भरिएका आँखाहरूमा ज्वाला उठ्दैन । फोरा उठेका उसका हातले कस्दैनन् मुट्ठीहरू । ऊ त बस् हरेक चार पाँच वर्षमा आइरहने चुनाव कुरीबस्छ ।
सरकार फेरिएपछि उसको जीवन पनि फेरिएला कि भन्ने आशा गर्दछ ।
जिससले क्रसमा झुण्डयाएर आफूलाई अनेक अपमान गर्नेहरूलाई माफ गरिदिएका थिए । जिससले भनेका थिए–‘यिनीहरूलाई आफूले के गरिरहेको छु भन्ने कुरा थाहा छैन ।’
दुःख त के भने उसलाई थाहा छैन कि ऊ लुटतन्त्रको क्रसमा झुण्डयाइएको छ ।
थप दुःख त के भने– ऊ आफूलाई लुटतन्त्रको क्रसमा झुण्डयाउनेहरूको बीचबाट नै देशको राजनीति र सत्तामा कुनै महान् जादुगर आइहाल्ला र उसका आकाङ्क्षाहरूलाई मायाले स्पर्श गर्ला भन्ने आशा गरिरहेछ । उसलाई थाहा छैन–यस्तो लुटतन्त्रमा कुनै ‘नायक’ आउला र त्यससँगै सुदिन पनि आउला भन्ने आशा गर्नु केवल दास मनोवृत्तिको शिकार हुनु हो ।
प्रिय पाठक ! हाम्रो समयको सबैभन्दा ठूलो तप्काको यो पात्र के सँधैभरि दास मनोवृत्तिको शिकार भइरहला त ?