© २०२३
आज श्रावण २ गतेदेखि अधिकमासको प्रारम्भ हुँदैछ । सबैले अधिकमास या मलमास भनेर सुनेका त छौँ तर अधिकमास भनेको के हो र यसलाई किन अधिकमास भनिन्छ भन्ने विषय धेरैलाई पक्कै याद पनि छैन होला । त्यसैले यहाँ यही अधिकमासको बारेमा केही बुझाउने प्रयास गरिएको छ ।
पाश्चात्यहरूले मान्ने महिनाहरू सूर्यका मात्र आधारमा छन् भने मुसलमानहरूले मान्ने महिना चान्द्रमाका आधारमा मात्रै छन् । तर हामीले मान्ने महिनाहरू सूर्य र चन्द्रमा दुवैका आधारमा छन् । त्यसैले हामीले हाम्रा दैनिक व्यवहारमा सौरमास र चन्द्रमास मान्दै आएको कुरा लगभग धेरैलाई थाहा नै छ । किनभने व्यवहारमा प्रयोग हुने सङ्क्रान्तिले सौरमहिनाको प्रतिनिधित्व गर्दछ भने दसैँ, तिहार, कृष्णजन्माष्टमी आदि हाम्रा चाड पर्वहरूले चान्द्र महिनाको प्रतिनिधित्व गर्दछन् । अधिकमास के हो भन्ने बुझ्न पहिले सौर महिना र चान्द्र महिनाको बारेमा जानकारी लिनुपर्ने भएकाले पहिले यी महिनाहरूको बारेमा केही परिभाषा दिने प्रयास गरिन्छ ।
आज यो महिनाको फल्नो गते हो भन्ने विषय सौरमहिना सम्बन्धी हो । गते भनेको सौरमहिनाको अवयव भएकाले गते–गते मिलेर सौरमहिना बन्दछ । कसैले कुनै दिन आज वैशाख महिनाको ५ गते हो भन्यो भने सूर्य मीन राशीको भोग पूरा गरी मेष राशीको क्षेत्रबाट पनि केही अगाडि बढेछन् भन्ने बुझ्नुपर्दछ । १–२–३ हुँदै गते बढ्दै जानु भनेको वृत्तरूपमा देखिएको आकाशको ३६० अंशलाई १२ भाग लगाइएको मध्येको कुनै भागमा सूर्य अगाडि बढिरहेछन् भन्ने जान्नुपर्दछ । त्यसैले सूर्यको गति अनुसार मानिने महिना नै सौरमहिना हो । सौरमहिना मोटामोटी ३० दिनका हुन्छन् भने पनि स्पष्टमानमा कहिले २९ त कहिले ३१ त्यस्तै कहिलेकाहिँ त ३२ पनि हुन्छन् । अतः सूर्यले एक राशी पार गरी महिना पूरा हुन लाग्ने समय नै सौरमहिना हो ।
तिथि–तिथि मिलेर चान्द्रमहिना बन्दछ । त्यसैले तिथि चान्द्रमहिनाको अवयव हो भन्ने बुझ्नुपर्दछ । चान्द्रमहिनालाई दुई भाग लगाइएको हुन्छ– शुक्लपक्ष र कृष्णपक्ष । कसैले आज वैशाखशुक्ल प्रतिपदा हो भन्यो भने एक महिनामा हुने कृष्णपक्ष र शुक्लपक्षमध्ये १५ तिथिको कृष्णपक्ष पूरा भई आज शुक्लपक्षको पहिलो तिथि रहेछ भन्ने बुझ्नुपर्दछ । तिथिलाई हाम्रा आचार्यहरूले सूर्य र चन्द्रमाको राशिभोगको अन्तर अनुसार गणना गर्ने गरेका छन् । तिथि ३० संख्यामा हुने हुनाले ३६० अंशलाई ३० ले भाग गरी आएको भागफल १२ अंश नै एउटा तिथिको मान हुन आउँछ । सूर्य र चन्द्रमा एकै राशीमा भएको समय अमावास्या तिथि हुन्छ भने त्यसपछि तिनीहरूको अन्तर १२ अंशका भागले जति बढ्दै जान्छ त्यति नै संख्यामा तिथि बढ्दै बढ्दै जाने हुन्छन् । अतः चन्द्रमा नदेखिने एक अमावास्यादेखि अर्को अमावास्यासम्मको समय नै चान्द्रमास हो ।
सूर्यदेखि नापिएको चन्द्रको गति अनुसार मानिने महिनालाई चान्द्रमहिना भनिएको हो । आकाशमा सौरमहिनाको अवस्था हामीले अनुभव गर्न नसकिएपनि चान्द्रमहिनाको भने प्रत्यक्ष अनुभव गरिरहेका हुन्छौँ । अमावास्याका दिन नदेखिएका चन्द्रमा शुक्लप्रतिपदाबाट विस्तारै देखिन थाल्दछन् भने पूर्णिमाको दिन त पूर्ण वृत्ताकारमा देखिन्छन् । त्यसपछि कृष्णप्रतिपदाका दिनदेखि विस्तारै साना देखिँदै गएका चन्द्रमा अमावास्याका दिन पूर्णरूपमा नदेखिने हुन्छन् । आखिर आकाशमा यस्तो अनुभव हुने समयलाई नै हाम्रा आचार्यहरूले चान्द्रमहिनाको नाम दिएका हुन् । तिथिका हिसाबले ३० तिथिको एक चान्द्रमहिना हुने भनिएतापनि दिनका हिसाबले साढे उनन्तिस सावनदिनको एक चान्द्रमास हुन्छ ।
बाह्र सौरमहिना मिलेर एक सौरवर्ष हुन्छ भने त्यस्तै बाह्र चान्द्रमहिना नै मिलेर एक चान्द्रवर्ष हुन्छ । माथि भनिए अनुसार २९ देखि ३२ सम्मका १२ सौरमहिनाका दिन मिलेर ३६५ दिन र केही समयको एकसौरवर्ष हुन्छ । त्यस्तै साढे उनन्तिस सावन दिनका १२ चान्द्रमहिनाका दिन मिलेर ३५४ दिनको एक चान्द्रवर्ष हुन आउँछ । यी सौरवर्ष र चान्द्रवर्ष बराबर भएका भए त केही आपत नै हुँदैनथ्यो । तर यिनीहरूको अन्तर वार्षिकरूपमा लगभग ११ दिनको हुने भयो । अर्थात् कुनै वर्ष एकै दिनका दिन प्रारम्भ भएका दुबै सौर–चान्द्रवर्षमध्ये अर्को वर्ष सौरवर्षको प्रारम्भ चान्द्रवर्षको प्रारम्भ भन्दा ११ दिन ढिलो हुने भयो । यो अन्तर बढ्दै गयो भने लगभग ३३ वर्षमा पुरा एक वर्षकै फरक पर्ने भयो । यस्तो किसिमको अन्तर पार्नु आचार्यहरूले उचित मानेनन् । त्यसैले वर्षमा ११ दिनले बढ्दै गएको सौरचान्द्रमासको अन्तरलाई एकत्रित गरी लगभग तीन वर्षमा एक चान्द्रमहिना थप्ने रीति चलाए । यही थपिएको महिना नै अधिकमहिना हो । जसलाई हामीले व्यवहारमा मलमास या पुरुषोत्तम मास पनि भन्ने गरेका छौँ । त्यसैले अधिकमास परेका वर्ष १३ चान्द्रमहिनाको एक चान्द्रवर्ष भएको हो ।
अधिकमास भएको चान्द्र महिनाभित्र सौरमहिनाको सङ्क्रान्ति परेको हुँदैन । त्यसैले यो वर्ष परेको श्रावण अधिकमासभित्र एउटा पनि सूर्य संक्रान्ति छैनन् । अर्थात् श्रावण २ गतेबाट सुरु भएको अधिकमास श्रावण ३१ गतेका दिन सकिनेछ । अधिकमासका समयमा शास्त्रहरूले के कुरा गर्ने र के कुरा नगर्ने भनेर स्पष्ट बताएका छन् । मुहूर्तचिन्तामणिमा रामदैवज्ञले यो समयमा गृहप्रवेश, एकादशी आदि व्रतारम्भ, देवस्थापन, मन्त्रग्रहण, चौलकर्म, व्रतबन्ध, विवाह, कर्णवेध, गृहारम्भ आदि एवम् काम्य कर्महरू गर्न नहुने बताएका छन् भने जातकर्म, नामकरण, अन्नप्राशन आदि यति दिन यति महिनामा गर्नैपर्ने भन्ने शास्त्रवचनले युक्त कर्महरू रोक्न नपर्ने बताएका छन् ।
अन्त्यमा यस किसिमको गणितीय आधारले बनाइएको अधिकमासलाई एकदमै केही पनि होइन भनेर पनि होइन र ओहो के के न रहेछ यसबेला त दानकर्म आदि गरेर स्वर्गै गइने रहेछ क्यारे भनेर पनि होइन कि शास्त्रहरूले जे काम गर्न भनेका छन्, त्यस्तै जे काम नगर्न भनेका छन् ती सबै कुराहरूको विचार गरी कार्य गर्दा अत्यन्त उत्तम हुन जान्छ । विशेषगरेर काँसको थालमा ३३ मालपुवालाई पहेँलो पिताम्बरले छोपेर सुनको प्रतिमासहित दान गर्ने कामका लागि त्यस्ता मठ मन्दिरहरू जहाँका आम्दानीले गुूरुकुलहरू चलेका छन्, ती पण्डितजीहरू जसले आफूले गर्नपर्ने सन्ध्याबन्धन आदि कर्म नछोडिकन संस्कृत र संस्कारको सेवा गरिरहेका छन्, जसले गुरुकुलमा बसेर विद्याध्ययन गराइरहेका छन् त्यस्ता सुस्थान र सुपात्रहरू रोज्न सकियो भने बल्ल पुरुषोत्तम मासमा गरिएको दानको सदुपयोग हुन जानेछ । अस्तु ।