© २०२३
दुई दिन लगातार झरी पर्दा पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार जलमग्न भयो । झरही खोलामा बाढी आउँदा परासीको केहि क्षेत्र विगतका वर्षहरुमा डुबानमा पर्ने गरेको देखेका परासीबासीले भदौ ११ गते बिहान नहँुदै डुबानको वितण्डा सामना गर्नुप¥यो । बजारका सबै घरभित्र ४ फुटसम्म पानी भरिदा बसाइ कष्टकर त भयो नै करोडाँै रुपैयाको धनजनको क्षति भयो. । मुख्य सडकहरु खोलामा परिणत भए । धेरै ठाउँका घरहरुमा पानी पसेको कारणले घरभित्र हिलाम्मे अवस्थामा नगरवासीहरु बस्न बाध्य भए । दैनिक बसाइ र ब्यापार व्यवसायमा निकै असर पुग्यो ।
परासीमामात्र नभएर बर्दघाट नगरपालिकाको मुख्य बजार क्षेत्र जलमग्न भएको थियो । भर्खर बनाइएको ६ लेन सडक नदिजस्तो मात्र बनेन त्यो सडकको कारणले छेउँछाउँका वस्तीहरुमा समेत पानी पस्यो भने सडकमा जाल थापेर माछा मारेका अनौठा दृश्यहरु समेत देख्न पाइयो । भैरहवा बजारका केहि स्थानमा डुवानले आवतजावत गर्नसमेत समस्या भयो । पानी पर्नासाथ सडक नदि बन्ने दृश्य बुटवलको मिलनचोक, राजमार्ग चौराहाको लागि नया दृश्य हैन । अचेल एकदिन पानी पर्दा पनि सैनामैनाको रामापुर कलोनी, मुर्गिया, देवदहको खैरेनी, तिलोत्तमा नगरपालिकाका भलवारी, चापरहट्टि, शंकरनगर नयाँमिल, मणिग्राम, शान्तिनगर जस्ता ठाउँहरु जलमग्न हुने गरेका छन् । ठुला खोलाहरु नभएको र ठूलो पानी पनि नपर्दै नगरपालिकाका मुख्य क्षेत्रहरु डुवानमा पर्दा हाम्रो ठाउँको शहरिकरणको भविस्य कस्तो होला भन्ने प्रश्न उब्जिएको छ ।
शहरी क्षेत्रमा डुबान हुनुमा मानवीय दोष नै बढी रहेको देखिन्छ । तराईका कुनैपनि नगरपालिकाहरू योजनावद्ध ढंगले निर्माण गरिएका नगरपालिकाहरू हैनन् । आफूखुशी ढंगले घर र सडक निर्माण गरेर बाक्लो वस्तीहरु बनेका क्षेत्र नै अहिलेका नगरपालिकाहरू हुन् । मुख्य बजार क्षेत्र र महंगा घडेरी भएका अन्य क्षेत्रमा घर बनाउँदा खालि जमिन छोड्ने चलन छैन । जसले गर्दा वर्षातको पानी जमिन भित्र सोसिने ठाउँसमेत पाइदैन । शहरी क्षेत्रमा वर्षाको पानी जमीनभित्र प्रवेश गर्न नपाउँदा सबैजसो पानी बाटो र नालाबाट बग्दै गएर खुला ठाउँमा पुग्ने गरेको पाइन्छ । कतै खुला ठाउँ फेला नपर्दासम्म सडक, नाला हुँदै छेउँछाउँका घर भित्रसमेत भेलको रुपमा यस्तो पानी पस्ने गरेको छ ।
शहरी क्षेत्र डुवानमा पर्नुको अर्को मुख्य कारण सडक निर्माणमा गरिएको लापरवाही हो । भैरहवा, परासी, लुम्बिनी, तौलिहवा, नेपालगंजको अधिकांश भुसतह होचो भएकोले वर्षातको समयमा पानी जम्ने सम्भावना बढी हुन्छ । यी क्षेत्रमा होचो भागमा जम्मा भएको पानी घोलाको रुपमा बग्ने गर्दथ्यो । पछिल्लो समयमा यी नगरपालिकामा मुख्य र भित्रि सडक निर्माणमा तीव्रता आएको छ । नाली मिचेर सडक बनाउने, सडकको विचमा पानी निकासको लागि कल्भर्ट नराख्ने, वरिपरिको जमिन भन्दा धेरै अग्लो सडक बनाउने गरिएकोले सडकहरुले वर्षातको समयमा बाँधको काम गरेकोले पानी निकास हुन नसक्दा शहरी क्षेत्रमा डुवान हुने गरेको देखिन्छ । शहरी क्षेत्र र घना बसोवास क्षेत्रहरुमा ढल निकासको व्यवस्था छैन र बनाइएका ढलहरु पनि मर्मत सम्भारको कमीले गर्दा भत्किएका र पुरिएका छन् । ढलको अभावले गर्दा वर्षायाममा घना वस्ती र बजारको पनि सडक र घरहरुको विचबाट बग्ने गरेको छ । आफ्नो घर अगाडिको नाला र ढल आफुले मिच्ने, पुर्ने अनि वर्षायाममा बाटोले ढलको रुप लिँदा सरकारलाई सराप्ने प्रवृत्तिले गर्दा शहरी क्षेत्रमा डुवान समस्या बढिरहेका छ ।
अचेल पानी पर्नासाथ बुटवल–बेलहिया सडकमा यातावात नै अवरुद्ध हुनेगरी डुवान हुने गरेको छ । सडक छेउँमा नाला बनाउँदा फलामे हुक भएका सिमेन्टेड स्लाब प्रयोग गरिएको छ । स्लाबमा भएका हुकमा फोहरमैला अड्किएर सडक किनारको नाली भरिएको र अधिकांश ठाउमा सडक भन्दा नाली अग्लो भएकोले सडक किनारको नालिबाट नभई मुख्य सडकमा नै वर्षातको पानी खोलाजस्तै गरि बग्ने गरेको छ । सडक बनाउँदा नाली बनाइएको भएपनि त्यो नालीको पानी बगेर जाने अर्थात् ढल निकासको गन्तब्य नै छैन, जसले गर्दा सडक सधैभरी वर्षातको समयमा खोला बन्ने र सडकले शहरी क्षेत्रमा दीर्घकालिन रुपमा डुवान समस्या उत्पन्न गरिरहने संकेत देखा परिसकेका छन् ।
तराईका किसानहरु नदीमा आधारित सिंचाइमा आश्रित रहँदै आएका छन् । सिचाइका लागि किसानहरुले तराइमा कुलो र नहरको जालो नै निर्माण गरेका छन् । यी कुलाहरुले सिंचाइमा सघाएका मात्र छैनन्, वर्षातको ढल निकासको कामसमेत गरिरहेका छन् । तराईका पुराना शहर र त्यसको छेउँछाउँका क्षेत्रमा वस्ती विस्तार हुदै जादा प्लटिंग र सडक निर्माणले तिब्रता पाएको छ, जसको प्रत्यक्ष असर त्यहाका कुलोहरुमा परेको छ । कुलोलाई साँघुरो पारेर घर, पर्खाल बनाइएको कारणले जीवित कुलोहरु पनि अत्यन्त साँघुरा बनेका छन् । अतिक्रमणले गर्दा बर्दघाट, सुनवल, देवदह, बुटवल, तिलोत्तमा, सैनामैना नगरपालिकाका बजार क्षेत्रका कुलोहरु अहिले हराइसकेका छन् । केहि ठाउँका कुलोहरु चुरेको खहरे खोलाका कारणले भुक्षयको चपेटामा परेर हराउँदै गैरहेका छन् ।
सबै नगरपालिका र नगरोन्मुख क्षेत्रका खोला र घोलाहरु पुरिएका र खुम्चिएका छन् । २ दशक अघिसम्म २० फुटसम्म चौडा भएका कुला र खोल्साहरू अहिले ३ फुटमा सिमित गरिएको छ । खासगरी शहरी क्षेत्रमा रहेका पानीका प्राकृतिक वहावको रुपमा रहेका खोल्सा, घोला र खोलाहरु मिचेर पर्खाल लगाएर घर र अन्य भौतिक निर्माण गर्ने क्रम बढ्दो छ । नदि उकास जग्गामा वस्ती बसाल्ने र नदीलाई नै साँघुरो बनाउँदै जाने प्रवृत्ति जताततै बढिरहेको छ । नदि साघुरो हुदा लामो समय भएको वर्षाको पानीलाई नदीले थेग्न सक्दैन र बाढी बनेर वस्तीमा पस्ने गरेको छ. परासी, बर्दघाट र खैरेनी बजारडुबानमा पर्नुको मुख्य कारण यहि हो । अहिले शहरी क्षेत्रमात्र नभएर नगरोन्मुख क्षेत्रमा समेत वर्षातको पानी बगेर निस्कने प्राकृतिक संरचनाहरु नै जीवित छैनन् । आकाशबाट परेको र चूरेको क्षेत्रबाट आएको पानी सोसिने ठाउँ नहुने र जम्मा भएको पानी बाहिर निस्कने ठाउँ समेत अति कम भएको कारणले गर्दा शहरी क्षेत्रमा डुवानको समस्या विस्तारै बढ्दै गएको छ ।
शहरी क्षेत्रमा हुने डुवान जल उत्पन्न प्रकोप नभएर मानव निर्मित प्रकोप हो । खोलाको बाढी पसेर डुवान हुनुलाई स्वाभाविक मान्न सकिन्छ तर अव्यवस्थित बसोबास, अदुरदर्शी तथा अबैज्ञानिक भौतिक निर्माणजस्ता कारणले भैरहेको डुवानका मुख्य दोषी स्थानीय वासिन्दा, नगरपालिका र भौतिक निर्माणका कामहरु गर्ने सरकारी निकाय नै हुन् । केहि व्यक्तिहरुको स्वार्थ र जिम्मेवार निकायको लापरवाहीको कारणले शहरी क्षेत्रमा डुवान समस्या बढिरहेका छन् र त्यसबाट शहरी क्षेत्रको बसाइ, सुन्दरता, आवतजावत र ढलनिकासमा प्रतिकुल असर परिरहेको छ । अहिले यो समस्यालाई गम्भीर रुपामा हेरिएन भने आउँदा वर्षहरुमा नगरवासिहरुले अझै बढी डुवान समस्या भोग्नुपर्ने अवस्था आउने निश्चित छ । त्यसैले तीनै तहका सरकारले हिम्मत गरेर पहिलेका खोला, कुलो र खोल्साहरुमा भएका अतिक्रमणलाई हटाएर पूर्ववत अवस्थामा ल्याउने कार्य गर्नु पर्छ । भित्रि सडक बनाउँदा अनिवार्य रुपमा नालाहरु बनाउने र ती नालिहरुमा बग्ने पानीको निकासको व्यवस्था समेत गर्नु पर्छ । मुख्य राजमार्गका नालिहरु सफा गर्ने र त्यसको निकासको व्यवस्था गरेमा राजमार्गमा बग्ने खोलालाई नियन्त्रण गर्न सकिन्छ । आफुले घर बनाउँदा र आफ्नो क्षेत्रमा भौतिक निर्माणका कामहरु हुँदा पानीको निकास रोकिनु हुँदैन भन्ने कुरामा सचेत हुने हो भने पक्कैपनि शहरी डुबान समस्या अन्त्य गर्न सकिने छ ।