© २०२३
बालापनमा फर्किन चाहन्छु म ।
बालापनमा फर्किने रहरले मज्जासित गाँजिरहेछ रहेछ मलाई । उडेर त्यसैले स्मृतिको गगनमा, फेरि फर्किन मन छ मलाई त्यही बालापनमा । त्यो बालापनमा जहाँ आमाले मीठो लयमा दन्त्यकथाझैं लाग्ने उनका असली कथाहरू सुनाउँथिन् ।
जस्तो कि कत्रो उमङ्गले ठूली आमाहरूसँग पहिलो पल्ट गएकी थिइन् आमा जिमरी घाटको मेलामा राम हेर्न । जस्तो कि बारीको कान्लामा घाँस काट्दा कसरी अँठ्याएथ्यो उनको हातले हरेउ । जस्तो कि पाँचनेको वनतिर भेडा चराउन जाँदा डहरमै चितुवासँग कसरी भएथ्यो जम्काभेट । अनि कसरी उम्केकी थिइन् उनी त्यो कालबाट र कसरी बचाएकी थिइन् भेडाका कलिला पाठापाठीहरूलाई । जस्तो कि माइत जाँदा कसरी पैल्याएकी थिइन् उनले हिउँले ढाकेको बाटो लेकको भिराले पखेराहरूमा ।
हो, म त्यही बालापनमा फर्किन चाहन्छु ।
त्यो बालापनमा जहाँ बाबाको जोसिलो र रौद्र लवजमा उही पुरानो लाहुरे–कथा सुनियोस् । उही गोर्खाली गाथा सुनियोस् ।
जस्तो कि सन् ७१ को लडाइँमा बाबाले कसरी आफू र आफ्ना ‘लम्बरी’हरूलाई बारुद र बमको ‘बौछार’बाट बचाउँदै भत्काएका थिए दुस्मनको किल्ला । जस्तो कि त्यसपछि कर्नेल सापबाट कसरी थापेका थिए छातीमा बहादुरीको तक्मा र बाहुलामा हवल्दारको बिल्ला ।
म त्यही बालापनमा फर्किन चाहन्छु । त्यो बालापनमा जहाँ बाबाकै कथा गुञ्जिरहोस् । जस्तो कि लडाइँपछि छुट्टीमा आउँदा मेरै लागि नाबालक साइजको जुत्ता खोज्दाखोज्दै
एक सुरमा, कसरी बितेको थियो पूरा दिन ‘गोरपुर’मा ।
तर म तिनको अपेक्षा अनुसार खरो उत्रिन नसकेको सन्तान भएको छु । मैले आमालाई सधैं सधैं हैरानी मात्रै दिएको छु । मैले बाबालाई सधैं सधैं ‘परेसानी’ मात्रै दिएको छु ।
कम्तीमा आमालाई मैले दिनु पर्ने थियो अलिकति विश्वास । बाबालाई दिनु पर्ने थियो अलिकति भरोसा ।
विश्वास–आफ्नै खुट्टामा उभिएला कि भन्ने ! भरोसा–अब त गरिखाला कि भन्ने !
तर म भने यायावरजस्तो हिँडिरहेछु सदा सदा । कहिले यहाँ छु, कहिले त्यहाँ । एउटा बेहोशी खहरे जस्तो । भौतारिइरहेको बादलजस्तो । त्यही बादललाई हुत्याउँदै हुत्ती हिाड्ने मानौं आवारा बतासजस्तो ।
मैले त बिताउनु पर्ने थियो नानीहरूसँग सुनौला शनिबारहरू । होमवर्क सिकाउँदा सिकाउँदै लेखाउनु थियो तिनलाई जीवनको धुनजस्तै कलरव सिर्जना गर्ने सुन्दर चराहरूको नाम । जस्तो कि ‘सा’ बाट सारी । जस्तो कि ‘रे’ बाट रेवती । जस्तो कि ‘ग’ बाट गौंथली ।
जस्तो कि ‘म’ बाट मलेवा ।
मैले त लेखाउन सिकाउनु पर्ने थियो तिनलाई, तिनका हातका कलिला औंलाहरूले ‘प’ बाट परेवा । ‘ध’ बाट धनेश । ‘नि’ बाट निलकण्ठ ।
अर्थात् जीवनको सरगम ।
अर्थात् सा रे ग म प ध नि सा ।
मैले त नानीहरूलाई देखाउनु पर्ने थियो अरूणोदय र गोधूलिको दुवै घाम । शुक्ल पक्षमा आकाशमा देखिने चन्द्रमाको मनोरम कला । भन्नु पर्ने थियो तिनलाई—खराब र असल हुन्छन् आफ्नै वरिपरि । खराब र असल हुन्छन् आफैंभित्र । देवता बन्ने कोशिस नगर्नू । दानव त बन्दै नबन्नू ।
तिमीहरू मानव बन्नू । सिर्फ मानव बन्नू ।
प्रियसीको हृदयको एउटा कुनामा सपनाको एउटा घडेरी जोरजाम गर्नु थियो । त्यसैमा बनाउनु थियो गौंथलीको गुँडजस्तै प्रेमको एउटा घर । रोप्नु थियो करेसाबारीमा मायाका बिरूवाहरू । फुलाउनु थियो आँगनको डिलमा खुसीका फूलहरू ।
तर प्यारी ! त्यो काम अधुरो छ अहिलेसम्म । तिमी भने जिन्दगीभरि बोकेर हिँडिरहेकीछ्यौ शिरमा दुःखको धौलागिरि । त्यो भारको केही अंश त मैले पनि त वहन गर्नुपथ्र्याे । तिमीले मलाई सम्पूर्ण दिएकी छ्यौ । मैले पनि तिम्रा ओठहरूलाई असाध्यै खुल्ने मुस्कान अलिकति त दिनु पर्ने थियो ।
तर, अहिलेसम्म अधुरै छन् ती सब काम !
माफी चाहन्छु म । आमा ! म माफी चाहन्छु । बाबा ! म माफी चाहन्छु । प्यारी ! म माफी चाहन्छु । नानीहरू ! म माफी चाहन्छु । प्यारा प्रियजन ! म माफी चाहन्छु ।
यी सारा अधुरा कामहरूको एकमुष्ट नाम त रहेछ जिन्दगी !
तथापि, अनवरत प्रयत्नरत छु । कोशिस जारी छ– पूरा गर्न सारा अधुरा कामहरू ।
जति असफलता हात लागे पनि हारेको छैन म । दुःखको पहाडले जति थिचे पनि थाकेको छैन म । मलाई थाहा छ, हार्नु अलिकति मर्नु हो । थाक्नु अलिकति मर्नु हो । मलाई स्वीकार छैन चिम्टी–चिम्टीमा मृत्युवरण गर्नु । स्वीकार छैन मलाई निराशाको शरण पर्नु ।
हो, कामहरू अधुरा छन् । अधुरा कामहरू छन् त्यसैले जीवन अधुरो छ । जीवन अधुरो छ
त्यसैले त म बाँचिरहेको छु । अनन्त संघर्षका साथ ।
एक उद्देश्यका साथ ।
एक उद्देश्यका साथ कि घाटको अन्तिम सिंढीबाट खस्दै खस्दै जानु अघि पूरा गर्नेछु सारा अधुरा काम । खरानी बनेर गण्डकीको प्रवाहमा बग्दै बग्दै जानु अघि पूरा गर्नेछु सारा अधुरा काम ।
अनवरत प्रयत्नरत छु ।
प्रयत्नरत छु–पूरा गर्न सारा अधुरा काम, सदा सदाका लागि छोड्नु अघि यो धाम ।