© २०२३
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफुले राजनैतिक बन्दीका रुपमा १८ महिना कारागार जिवन व्यतित गरेको जिल्ला कारागार कपिलवस्तुको अवलोकन भ्रमण गरेका छन । निरंकुश पञ्चायत शासन विरुद्धको आन्दोलनका क्रममा अध्यक्ष तिमल्सिना चार वर्ष जेल बसेका थिए । सोहि क्रममा उनले बिसं २०४२ देखि २०४४ साल सम्म १८ महिना कपिलवस्तु कारागारमा बिताएका थिए ।
पोखरा स्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिव रहँदा गिरफ्तार भई शान्ति सुरक्षा अन्तर्गत राजबन्दीका रुपमा अध्यक्ष तिमिल्सिना पोखरा, तौलिहवा, भैरहवा, वीरगन्ज, काठमाडौंको केन्द्रीय भद्रगोल कारागार र नख्खु जेल गरी चार वर्ष जेल बसेर २०४६ सालमा रिहा भएका थिए । अध्यक्ष तिमिल्सिनाले आफू जेल बसेको समय भन्दा अहिलेको अवस्था सुधार भएको पाइएको बताए । कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्ने बताउँदै कैदीहरुलाई शिक्षा तथा सीप सिकाउनुपर्ने उनले सुझाव दिए । कपिलवस्तु कारागारको थप सुधारका लागि सरकार समक्ष पहल गर्ने उनले बताए ।
सो क्रममा उनले कारागारका कैदी बन्दीका लागि मास्क उपलब्ध गराएका थिए । अध्यक्ष तिमिल्सिनाले कारागार प्रशासन सँग आफु बस्दाको कारागारको कैदी लगत मगाएर हेरेका थिए । कारागार प्रशासनमा सुरक्षित राखिएको त्यस बेलाको कैदी लगतमा उनको नाम भेटिएको थियो ।
३ सय ५२ जना क्षमता भएको कपिलवस्तु कारागारमा हाल ४ सय ५२ जना कैदी बन्दी रहेको कपिलवस्तु कारागार प्रमुख राकेश पाण्डेयले जानकारी दिए । कारागारको १ नम्बर ब्लकको क्षमता १ सय ७२ जनाको रहे पनि सो ब्लकमा अहिले १ सय ९८ जना कैदी बन्दी छन । त्यसै गरि १ सय ८० जना कैदीबन्दी राख्ने क्षमताको २ नम्बर ब्लकमा २ सय ५४ कैदीबन्दी रहेको जनाईको छ । कारागारमा १ महिला सहित ४ सय २१ स्वदेशी र ३१ जना बिदेशी कैदीबन्दी रहेका छन ।
अध्यक्ष तिमिल्सिनाको टोलीलाई कारागार प्रमुख राकेश पाण्डेय, लेखापाल शिवकुमार यादव, कारागार सुरक्षा प्रमुख प्रहरी नायब निरिक्षक लिल बहादुर कुवर र नेपाली सेनाका क्याप्टेन माधव घिमिरे लगायतले कारागार बारेको आवश्यक सुचना र जानकारी दिएका थिए ।