© २०२३
पाँच वर्ष अघि नौवहिनी गाउँपालिका–८ फोप्ली प्यूठानमा घनाबस्तीलाई नै जोखिम पार्ने गरी पहिरो गयो । सिंगो गाउँ क्षतविक्षत भयो । पहिरोमा पुरिएर २८ जनाले ज्यान गुमाए । सयौँको विचल्ली भयो । गाउँ अहिले पनि जोखिममै छ ।
पहिरो जानुको प्रमुख कारण बन्यो जथाभावी खनिएका सडक । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका घरैपिच्छेका सडकले मानवीय र भौतिक क्षति निम्तायो । प्यूठानका गाउँ गाउँमा अझै पनि वातावरणको वेवास्ता गरेर सडक निर्माण गर्ने काम रोकिएको छैन् । अस्तव्यस्त तरिकाले खनिएका सडकले वातवरणमा दिर्घकालिन असर पार्ने देखिएको छ ।
वर्षेनी पानीको मुहान सुक्दै गएका छन् । पहिरो जाने, बाटो मुनिका खेतवारी पुरिदिने, वन्यजन्तुको बासस्थान मासिने जस्ता समस्याहरु हुन थालेको डिभिजन वन कार्यालय प्यूठानका प्रमुख अजित कर्ण बताउँछन् । ‘पहाडको माटो कोमल हुन्छ’,उनले भने,‘बाटो खन्दा बृक्षारोपणलाई पनि बजेट विनियोजन गरेर काम गर्नुपर्छ, तबमात्र वातावरणमा असर पर्दैन् ।’ सडक निर्माण गर्दा वातावरणमैत्री हुनुपर्ने उनको भनाई छ । सरुमारानी गाउँपालिकाको बडडाँडा नजिकै निर्माण गरिएको सडकको पर्खालमा वृक्षारोपण गरिएको र यसबाट सवैले पाठ सिक्न सकिने उनले बताए । सडक निर्माण गर्ने सम्वन्धित निकायले यसतर्फ ध्यान दिएमा दिर्घकालिन असरबाट जोगिन सकिने उनले सुनाए ।
सरकारी निकायमा विनियोजित बजेटको लाखौँ, करोडौँ बजेटमा अनिवार्य १० प्रतिशत जनश्रमदान गर्नुपर्ने सरकारी प्रावधान भएपनि अधिकांश गाउँमा स्थानीय श्रम गर्न मान्दैनन् । उक्त प्रावधान कागजमा मात्र सिमित हुने गरेको देखिएको छ । तर, स्वर्गद्धारी नगरपालिका ६ बेलवासका स्थानीय कोदाली र फरिया लिएर सडक खन्न पुगेका छन् । वडाले यसपाली सडक खन्ने पैसा नदिएपछि उनीहरु आफैँ कस्सिएका हुन् । दुई वर्ष अघि वडा कार्यालयले स्थानीय बाँसपानी–डाँडाखर्क सडक निर्माणका लागि साढे तीन लाख रुपैयाँ विनियोजन ग¥यो । दुई किलोमिटर सडक निर्माणका लागि विनियोजन भएको बजेटले आधा मात्र काम भयो । खन्दाखन्दै बजेट सकियो । सडक अलपत्र प¥यो । स्थानीयको गाउँमा मोटरबाटो ल्याउने सपना बीचमै अँधुरो भयो ।
वर्षौ वित्यो, तर सडक निर्माणले गति लिएन् । बजेट विनियोजन गर्न स्थानीय सरकारले चासो देखाएन । वडा कार्यालयले वेवास्ता गरेको स्थानीयको आरोप छ । स्थानीयको जोडबलका कारण गत आर्थिक वर्षमा वडा कार्यालयले एक लाख रुपैयाँ बजेट त छुट्टायो । तर, त्यसले काम गरेन । कोरोनाको बाहाना देखाउँदै वडा कार्यालयले बजेट रकमान्तर ग¥यो । फेरि पनि सडक लैजाने सपनामा तुषारापात लाग्यो ।
अहिले गाउँलेहरु निराश छन् । करिव दुई किलोमिटर सडक निर्माण गर्ने स्थानीयको सपना वर्षौदेखि सपनामै सिमित छ । मेलापात आउजाउ गर्ने किसान र पढ्न जाने विद्यार्थीहरु सडक नहुँदा बढी मर्कामा छन् । ‘वडा कार्यालयमा जति माग गरेपनि बजेट हालेनन्’,स्थानीय ४२ वर्षिय बसन्त भण्डारीले भने, ‘अव यिनिहरुको आश गरेर गाउँमा बाटो नआउने नै भयो भनेर सवै मिलेर खनेका हौँ ।’ गाउँका स्थानीयबासी, यूवा र शिक्षकहरु गरी ८० जनाको समूहले करिव १ किलोमिटर जति बाटो निर्माण गरेका छन् । उनीहरुले खनेको बाटोमा मोटरसाइकल सजिलै लैजान मिल्छ ।
‘मोटरसाइकल लैजाने खालको बाटो बनाउन सकिदो रहेछ’,भण्डारीले भने, ‘स्थानीय सरकारले बजेट दिने हो भने धेरै श्रमिकहरु खटाएर फराकिलो बाटो पनि खन्न सकिन्छ ।’ उनले स्थानीय सरकारले विकास निर्माणमा चासो नदिएपछि गाउँलेहरु मिलेर पनि काम गर्न सकिन्छ र जनताका पीडा नबुझ्ने जनप्रतिनिधीलाई सन्देश दिन पनि खोजिएको बताए । सडकको बीचका केही भागमा चट्टान देखिएको त्यसलाई हटाउन श्रमदानबाट संभव नभएकाले डोजर नै प्रयोग गर्नुपर्ने देखिएको भण्डारीले सुनाए । सडक खन्नका लागि बजेट आउने आशामा रहेका गाउँका नागरिकहरु निराशा हुनुपरेको उनको भनाई छ । स्थानीयले गाउँमा पाइने कोदाली, फरुवा, गैटी लगाएतका साधनले बाटो खनेका छन् ।
स्थानीय खन्नीखोला, डाँडाखर्क र अनिखर्कका विद्यार्थीहरु दैनिक यसै बाटो भएर ओहोरदोहोर गर्ने सूर्योदय माध्यमिक विद्यालय बेलवासका प्रधानाध्यापक विष्णुप्रसाद पोखरेलले जानकारी दिए । विद्यार्थी आउन समस्या भएकाले बाटो निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
भौगोलिक हिसावले यस क्षेत्रमा बजेट विनियोजन गरेर डोजर लगाउने अवस्था नरहेको स्वर्गद्धारी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष गिर बहादुर गुरुङले जानकारी दिए । ‘स्थानीय स्रोत साधनबाट गाउँलेहरुले बाटो खन्नुभएको छ, यो राम्रो पक्ष हो’,उनले भने,‘गाउँको विकासमा जागरुक हुने नागरिकहरुलाई हामी धन्यवाद दिन्छौँ । यसको अध्ययन अवलोकनपछि वडाले बजेट हाल्छ र बाटो खन्छ ।’
वडाले २ सय २८ वटा योजनाहरु वार्षिक संचालन गर्दै आइरहेका कारण प्राथमिकतामा आधारमा बजेट खर्च गर्ने गरिएको उनले जानकारी गराए । वडाले बाटो नखनेको भनेर गाउँका कतिपय व्यक्तिहरुले यसलाई राजनीतिकरण गरेको समेत उनले आरोप लगाए । बाटो निर्माण गर्नुपूर्व गाउँको भूगोलको विस्तृत अध्ययन गर्ने योजनामा रहेको समेत गुरुङले बताए ।
पछिल्लो समय गाँउगाँउमा डोजर प्रयोग गरेर मोटरवाटो पु¥याउने प्रतिस्पर्धाले गाँउबस्ती जोखिममा पर्ने गरेका छन् । स्थानीय सरकार आइसकेपछि डोजरले बाटो खन्ने क्रम बढेको हो । अधिकांश जनप्रतिनिधी डोजरका मालिक बन्दा डोजर आतंक बढी भएको हो । वातावरणीय प्रभाव र बस्ती जोखिम हुनबाट जोगिनका लागि चट्टान बाहेकको क्षेत्रमा मानवीय श्रम शक्ति नै विकास निर्माणमा जुट्ने अभियानलाई स्थानीय सरकारले प्रोत्साहन गर्नुपर्ने नागरिकहरुले सुझाव दिएका छन् ।