© २०२३
रूपन्देही नेपाल–अंग्रेज भीषण युद्ध भएको रणभूमिमा परिणत अंग्रेज सेनालाई परास्त गरि सार्वभौम नेपालको अस्तित्व रक्षामा महत्वपूर्ण योगदान रहेको पुण्यभूमि हो । युद्धकालीन समयबाट तरङ्गित कति दशक लाग्यो भन्ने खोजको विषय हो ।
जहाँनिया राणा शासनको अन्त्यतिर बटौली एउटा महत्वपूर्ण ब्यापारिक केन्द्रको रूपमा स्थापित भईसकेको थियो । त्यसताका अहिलेको कालीगण्डकी र राप्ती नदीको जलाधार क्षेत्र भित्रका गाउँबस्तीको घ्यु बेच्ने र नुन तेल किन्ने बजार हो बटौली ।
पहाडतर्फ सडक संजाल नभएका कारण यातायातका साधनको कल्पना पनि गर्न सकिने अबस्था थिएन । तत्कालिन बटौली बजार आफ्नो घरमा छ महिना वा वर्ष दिनसम्मका लागि चाहिने नुन, तेल, वरापरी (लत्ता कपडा) जस्ता अत्यावश्यक दैनिक उपभोग्य सामाग्री आफै पिठ्युमा बोकी हिड्ने ढाक्रे र पहाडी भेगमा सानातिना खुद्रा, किराना र कपडा पसलमा राखिने सामाग्री बोक्ने भरियाको भरमा चल्दथ्यो ।
सडक सञ्जाल र यातायातमा नामः
पूर्वको सिमाना मेची नदीदेखि पश्चिमी सिमाना महाकाली नदीसम्मको पूर्व–पश्चिम राजमार्ग र मध्य नेपाल दक्षिणी भारतिय सिमाना सुनौलीदेखि नेपालको पर्यटकीय राजधानी भनेर चिनिने तालै तालको शहर पोखरासम्मको सिद्धार्थ राजमार्ग निर्माण भैसकेपछि रूपन्देहीको सेरोफेरोमा रहनेहरूको लगानीको प्राथमिकता यात्रु बाहक र मालबाहक सवारी साधनमा गरेको देखिन्छ ।
कुनै समय कसैको घर वा टोल चिनाउनु पर्दा गाडीको नम्वरले सम्बोधन गरेर चिनाउने प्रभावले होला अहिले पनि यातायात सम्वद्ध संघ सस्थाहरू देशकै प्रतिष्ठित र प्रभावशाली संस्थाको रूपमा स्थापित छन । सडक संजालको बिस्तारसंगै यातायात क्षेत्रमा भएको लगानी रूपन्देहीको अतिरिक्त अन्य छिमेकी जिल्ला र नयाँ नयाँ बजार क्षेत्रमा बिस्तार हुनथाल्यो ।
चालिसको दशकसम्म आफ्ना उद्योगबाट उत्पादित बस्तु आफ्नै गाडीबाट अर्को बजार क्षेत्रको व्यापारी कहाँ पुयाउने प्रचलन जस्तै भएको थियो । यसरी रूपन्देहीमा उद्योग, व्यापार र यातायात गरि तिनवटा क्षेत्रमा लगानीको प्राथमिकता रहेको देखिन्छ ।
उद्योगको अधोगति यात्राः
२०४६ सालपछिको राजनैतिक परिवर्तन संगसगै सरकारले अवलम्वन गरेको प्रतिस्पर्धात्मक खुल्ला अर्थनीतिका कारण हाम्रो व्यापार प्रणालीमा व्यापक परिवर्तन आयो । उदारिकरणका वहानामा विदेशमा उत्पादित बस्तुको नेपाली बजारमा भएको सहज पहुँचले हाम्रो आन्तरिक उत्पादनलाई विस्तापित गर्दै विदेशी र बहुराष्ट्रिय कम्पनीको पकड बजारमा बढ्दै गयो ।
हाम्रो भन्दा धेरै अन्तरमा उत्पादन लागत कममा उत्पादित बस्तु नेपाली बजारमा छ्याप्छ्याप्ती हुनथाले पछि हाम्रा उद्योगहरू क्रमसः बन्द हुन थाले । यो पृष्ठभूमिमा रहेको राष्ट्रिय अर्थतन्त्रबाट रूपन्देही अछुतो रहने कुरै भएन ।
विद्यालय शिक्षामा फड्कोः
अर्थतन्त्रमा जस्तै २०४६ को राजनैतिक परिवर्तनपछि शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तन आयो । विद्यालय तहमा नीजि क्षेत्रको लगाउने नीति अन्तरगत विद्यालय तहको शिक्षामा नीजि क्षेत्रको लगानी र पहुँच बढ्न थाल्यो ।
२०४६ भन्दा अघि काठमाण्डौ उपत्यकाभित्र केही नीजि विद्यालय भएपनि उपत्यकाबाहिर नीजि विद्यालयको प्रभाव नगण्य जस्तै थियो । उपत्यका बाहिरका हुने खानेका छोरा छोरी कि त काठमाण्डौ जान्थे कि त छिमेकी भारतका शहरहरूमा । रूपन्देहीमा पनि शिक्षामा देखिएको यो रिक्ततालाई नजिकबाट हेरेका केही शिक्षाप्रेमीको अगुवाईमा निजी क्षेत्रको कतिपय अवस्थामा ब्यक्तिगत र कतिपय अवस्थामा सामूहिक लगानी निजी विद्यालयहरू खुल्न थाले ।
बजार क्षेत्र र त्यस आसपास शंकरनगरको न्युलाइट, बुटवलको न्यु होराइजन, दीपबोर्डिङ, बुटवल इलिट, एभरेष्ट, भैरहवाको सनसाइन जस्ता स्कुलहरू संगसगै बजार उन्मुख क्षेत्र मात्र होइन ग्रामिण भेगको दुरदराजमा समेत नीजि विद्यालय संचालनमा रहेका छन । रूपन्देहीकै सन्दर्भमा हेर्ने हो भने विद्यार्थी भर्नाको अनुपात सामुदायिक विद्यालयमा भन्दा धेरै गुणा नीजि विद्यालयको रहेको छ । विद्यालय संख्याको हिसावले पनि सामुदायिक भन्दा नीजि विद्यालयको संख्या धेरै छ ।
स्थापना र संचालनको केही वर्ष मै तत्कालिन उच्च शिक्षाको फलामेद्वार मानिने एसएलसी बोर्डमा २÷२ पटकसम्म प्रथम स्थान ल्याउने न्यु होराइजन र एभरेस्ट बोर्डिङ मात्र होइन बोर्डको १० स्थानभित्र धेरै विद्यालयका विद्यार्थीहरूले आफ्नो विद्यालय र आफ्नो ब्यतिगत नाम र स्थानमात्र सुरक्षित गराएनन् रूपन्देहीबाट बाहिर हुनेहरूले छोराछोरी पढाउने रोजाइको जिल्ला बनाउन समेत योगदान पु¥याए । रूपन्देहीका नीजि विद्यालयको योगदानमा जाज्वल्यमान उपस्थितिका लागि माध्यम बनेका सबल र सफल अभ्यासलाई नजिकबाट नियालेका सामुदायिक विद्यालयहरू समेत विद्यार्थी संख्या र रिजल्टका हिसावले देशभर मै उत्कृष्ट छन ।
कालिका, कान्ति, नवीन, शान्ति हुदै अन्य विद्यालयको भौतिक र शैक्षिक परिवर्तनले अभिभावकलाई आकर्षण गरिहेको छ । शहर बजार क्षेत्र अर्थात उपमहानगर र नगरपालिकाभित्रका मात्र होइन गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय पनि उत्तिकै गुणात्मक उपलब्धी गर्नका लागि प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन । गुणात्मक परिवर्तनका लागि सामुदायिक र संस्थागत विद्यालयबीचको मित्रवत प्रतिस्पर्धा देशकै लागि उदाहरणीय बन्न सक्छ ।
उच्चशिक्षामा उच्चताः
विद्यालय तहको मात्र होइन उच्च शिक्षामा समेत रूपन्देहीको महत्वपूर्ण योगदान रहेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थी संख्याको अनुपातमा स्नातकोत्तरसम्म पठनपाठन हुने दुई आंगिक क्याम्पसहरू यहीँ रहेका छन ।
यी क्याम्पस विद्यार्थी संख्या मात्र होइन परिक्षाफलका दृष्टिकोणबाट समेत प्रशंसायोग्य छन । त्रिभुवन विश्वविद्यालयको सम्वन्धन प्राप्त देशकै चर्चित सामुदायिक क्याम्पसको संख्यापनि उल्लेख्य छ । निजी क्षेत्रबाट समेत अनुमति लिई संचालनमा आएका छन । सामुदायिक र नीजि कलेजका विद्यार्थीको संख्या समेत उल्लेख्य छ ।
त्रिभुवन विश्वविद्यालयको मात्र होइन रूपन्देहीमै केन्द्रिय क्याम्पस रहेको लुम्बिनी वौद्ध विश्वविद्यालय पनि रूपन्देहीमै छ । पछिल्लोसमय चाइनिज, श्रीलंकन, बर्मिज, थाइल्याण्ड लगायत विश्वका विभिन्न विश्वविद्यालयसंगको सहकार्यमा आधुनिक अन्तराष्ट्रिय स्तरको जनशक्ती तयार गर्ने गरि शिक्षा प्रदान गर्दैछ ।
स्वदेशी काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र विदेशी लिंकन अनि एसिया प्यासिफिक युनिभरसिटी अफ टेक्नोजोजी एण्ड इनोभेसन नामक विश्वविद्यालयबाट सम्वन्धन लिई विभिन्न विधामा अध्ययन अध्यापन भएको छ । रूपन्देहीका पालिकाहरूमा लुम्बिनी, बुटवल, सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह, कञ्चन, शुद्धोदन, सियारी र मायादेवीमा उच्चशिक्षा पठनपाठनको पहुँच पुगेको छ ।
प्राविधिक शिक्षामा नामः
स्थानिय तह, व्यावसायिक संघ सस्थाको अगुवाई र संचालनमा रहेको देशकै प्रतिष्ठित सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयको रूपमा स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । मध्यम स्तरको प्राविधिक जनशक्ती तैयार गर्ने भनिएको बुटवल टेक्निकल इन्ष्टिच्यूटको प्रभाव हेर्ने हो भने कुनै विश्वविद्यालयको भन्दा कम छैन । रूपन्देहीमा स्थापित धेरै उद्योगहरूका संचालक कुनै समय बिटिआइ पढेको सुन्न र देख्न पाइन्छ ।
के रोज्ने, के पढ्ने ?
समग्रमा हेर्दा प्राविधिक धारतर्फ त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयतर्फको एमविविस, पोखरा विश्वविद्यालयतर्फको इन्जिनियरिङको अध्ययनको अवसरसंगै ब्यवस्थापनतर्फका बिबिए, एमबिए, बिबिएस, एमबिएस, बिएस्सी, सिएसआइटी लगायतका बिषयमा विद्यार्थीको रोजाईका विषयहरू क्याम्पस छानीछानी पढ्न पाइने अवसर रूपन्देहीले दिइरहेको छ । पछिल्लोसमय सिटिइभिटी अन्तरगतका ३ महिनेदेखि ३ वर्षे डिप्लोमा लेभलका सबै विषय अध्ययनको लागि समेत रूपन्देही महत्वपूर्ण प्रमुख गन्तव्य बनेको छ ।
अबको बाटोः
औपचारिक अध्ययनपछिका स्वरोजगार बन्ने र रोजगारीका अवसर प्राप्तिका धेरै संभावना भएको कारण पनि रूपन्देही उच्च शिक्षाको नयाँ केन्द्र बनिरहेको छ । यसलाई बिस्तार गर्न र गुणस्तर बढाउनमा सरकार र समुदायको भूमिका भने अझै सकिएको छैन् । यसलाई बढाउन बिषय केन्द्रित बहस, छलफल गर्दै उपायको पहिचान गर्दै कार्यान्वयनमा ल्याउन जरुरी छ । यो काम नागरिक समाज र सरकार दुबैले गर्न सक्छन् ।