© २०२३
दिल साहनी
शिलाङबाट अखिल भारत नेपाली छात्र फेडरेसनको सम्मेलनमा भाग लिन हामीहरू दिल साहनी, टंकप्रसाद पोखरेल, ईश्वरीप्रसाद खनाल ,धर्मलाल भुसाल लगायतका साथीहरू बनारस पुगेका थियौं । छात्र फेडरेसनको सम्मेलन बनारसको मैदागिनमा हँुदै थियो । त्यस सम्मेलनमा पुष्पलाल वीपी कोइराला आदिले सम्बोधन गर्ने भन्ने थियो । मैदागिनमा छात्र फेडरेसनको सम्मेलन हुन नदिन नेपाली कांग्रेसका युवा नेता प्रदीप गिरीहरूले निकै कसरत गरेका थिए । तर त्यसलाई चिरेर मैदागिनमा छात्र फेडरेशनको सम्मेलन भयो । यसलाई पुष्पलालले सम्बोधन गरे । केही भारतीय बाम नेताले सम्बोधन गरे । तर वीपी कोइराला त्यहाँ उपस्थित भएनन् । सम्मेलनले छात्र फेडरेशनको नेतृत्व चयन गर्यो । छात्र फेडरेशनको अध्यक्षमा मोहन चापागाई चुनिएका थिए । दिल साहनी उपाध्यक्षमा निर्वाचित भएका थिए । महासचिवमा टंकप्रसाद पोखरेल चुनिएका थिए । साहित्य सचिवमा धर्मलाल भुसाल चुनिएका थिए ।
वीपी कोइराला पनि सम्मेलनमा संवोधन आउने कुरा प्रचार गरिए पनि उनी उपस्थित भएनन् । वीपी कोइरालालाई भेट्न देख्न चाहेको मेरो इच्छा पुरा हुन सकेन । यसैले मैले साथीहरूसित वीपी कोइरालालाई उनकै निवासमा गएर भेट्ने प्रस्ताव राखें । मेरो प्रस्ताव सर्बसहमतिमा पास भयो । कुरा के भने मैले साथीहरूबीच राखेको कुरालाई उनीहरूले साथ दिए । त्यतिबेला वीपी कोइराला बनारसको नजिकै सारनाथमा बस्दथे । हामी मोहन चापागाई, ईश्वरी प्रसाद खनाल धर्म भुसाल लगायतका साथीहरू सारनाथ पुग्यौं । त्यतिबेला वी पी कोइराला कतै बाहिर गएका रहेछन् । हामी उनको निवासमा नेपाली कांग्रेसका कार्यकर्ता तथा परिवारका मान्छेसित कुराकानी गर्दै बसिरह्यौं । बीपी कोइरालाको प्रतीक्षामा बसिरह्यौं । हामीलाई बीपी कोइरालाकी बुहारी र नातिनीहरूले अत्यन्त मिठो चिया बनाएर खुवाए । त्यहाँ मनिषा कोइराला पनि थिइन् कि ? त्यस बारे म केही भन्न सक्दिन ।
केही बेरपछि वीपी कोइराला आए । मैले उनलाई परैबाट देखें र चिनें पनि । दौरा सुरवाल लगाएका वीपी कोइराला निकै पातला र अग्ला देखिन्थे । उनको व्यक्तित्व निकै आकर्षक थियो । प्रभावशाली थियो ।
बीपी कोइराला र म आमने सामने बसेका थियौं । बीचमा एउटा टेवल थियो । शुरुमा नै मैले वीपी कोइरालाको छात्र फेडरेशनको सम्मेलनका सन्दर्भमा अनुपस्थितिको सम्बन्धमा आलोचना गरेको हुनाले उनी मसित जंगिएर टेबल ठोक्न पुगे । हामीबीच चर्को बहस भयो । उनले मलाई नाजवाब बनाउने प्रयत्न गरे । मैले पनि उनलाई नाजवाब बनाउने प्रयत्न गरें । वास्तवमा वीपी कोइराला सजिलै आलोचना पचाउन सक्ने व्यक्ति होइन रहेछन् । यो कुरा मलाई थाहा भएको भए मैले उनको आलोचना गर्ने थिइन होला शायद । फेरि मैले वीपी कोइरालाको आलोचना गर्न खोजेको पनि होइन । सामान्य टिप्पणी गर्दा उनको आलोचना हुन पुगेछ । यस आलोचनाको लागि मलाई सबै साथीहरूले प्रशंसा गरे । कुरा पुष्पलालसम्म पुग्यो । पुष्पलालले पनि मेरो आलोचनाको प्रशंसा गरे ।
आलोचना खप्न नसकेर वीपी कोइराला मसित जति जंगिए पनि पछि उनी निकै सहज सरल बने । बिनम्र बने । म भने वीपीको प्रश्नको जबाव कडा तरिकाले दिए पनि उनी जस्तो जंगिएको थिइन । जंगिने कुरा पनि भएन । त्यतिबेला उनले हामीसित राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा बिस्तृत बहस गरे । चर्चा गरे । धेरै मुलुकका क्रान्ति र परिवर्तनका कुरा गरे । मलाई लाग्दछ नेपाली कांग्रेसमा वीपी कोइरालाको हाइटको एउटा पनि नेता जन्मेको छैन । उनी राजा महेन्द्र जस्तै पंडित जवाहरलाललाई पनि टक्कर दिन सक्ने नेता हुन् । उनी नेपाली जनताको अगाडि जति गर्जे पनि मोदीको अगाडि मुसा हुन पुग्ने हाम्रा अहिलेका काम चलाउ नेता जस्ता नेता होइनन् । गल्ती महेन्द्रले गरे । वी पीले गरे । तर पनि उनीहरूको योग्यता र क्षमतामाथि कसैले प्रश्न उठाउन सक्दैन ।
मैले त्यतिबेला तपाइँले पनि नेपालमा क्रान्ति गर्ने कुरा गर्नु हुन्छ । कम्युनिष्ट नेताले पनि त्यही भन्छन् । तपाइंँहरू मिलेर किन क्रान्ति गर्नुहुन्न भन्ने प्रश्न गर्दा वीपीले भनेका थिए – मैले कुनै कम्युनिष्ट नेतालाई चिन्दिन । मैले चिन्ने भनेको पुष्पलाललाई हो । पुष्पलाल र मेरो निकै राम्रो सम्बन्ध छ । म पुष्पलालकोमा जाने गर्दछु । पुष्पलाल पनि मकहाँ आउने गर्दछन् । हामीबीच राम्रै सम्बन्ध छ । पुष्पलाल नेपालको समस्या भनेको आर्थिक समस्या हो भन्दछन् । म भन्दछु नेपालको समस्या भनेको राजनैतिक समस्या हो । पुष्पलालले मेरो राजनैतिक कार्यक्रमलाई समर्थन गर्छन् भने म उनको आर्थिक कार्यक्रमलाई समर्थन गर्न सक्दछु । हामी मिलेर क्रान्ति गर्न सक्दछौं ।
एक दिन हामी बनारसको दशपुत्र गल्लीमा पार्टी कार्यालयमा पुष्पलालसित कुराकानी गर्दै बसिरहेको थियौं । त्यति नै बेला वीपी कोइराला र सुशीला कोइराला पार्टी कार्यालयतिर आइरहेको खबर आयो । हामी पुष्पलालसित भूइंमा नै बसेर कुराकानी गरिरहको थियौं । वीपी कोइराला आउने भएपछि उनलाई भुईमा बसाल्न भएन भनेर हतार हतार कम्तीमा पनि उनीहरूको लागि कुर्सी टेवलको व्यवस्था गर्न पर्यो । वीपी कोइराला हामीसित भूईमा बस्न तयार भए पनि उनको सम्मानको लागि कुर्सी टेबल चाहिन्छ भन्ने हामी सबैको धारणा भयो । अन्ततः जसरी तसरी त्यसको व्यवस्था गरियो पनि ।
त्यस दिन पुष्पलाल र वीपी कोइरालबीच त्यस्तो कुनै गंभीर बार्ता भएन । उनीहरूबीचको भेट भलाकुसारीसम्म सीमित रह्यो । त्यस दिन उनीहरूबीच भएको अरु कुनै कुराको पनि सम्झना छैन मलाई । मात्र म चियाको सम्बन्धमा कुराकानी भएको स्मरण गर्दछु । वीपी कोइराला र सुशीला कोइरालाका लागि चिया पानीको व्यवस्था गरिएको थियो । निश्चित रुपमा बनारसमा दार्जीलिङ वा आसाममा जस्तो चियाको खेती नगरिए पनि मीठो चिया बनाइन्छ । सुकमेल अलैंची अदुवा कुनि के के राखेर चिया तयार गरिन्छ । यसैले बनारसको चियाको विशेष प्रकारको स्वाद हुन्छ । शायद त्यस्तै स्वाद भएको चिया वीपी र सुशीलाहरूलाई टक्राइएको थियो । वीपीले त खासै चियाको बारेका केही कुरा गरेजस्तो लाग्दैन । तर सुशीला कोइरालाले चियाको बारेमा लामै कुराकानी गरिन् । मलाई लाग्यो पुष्पलालजस्तै सुशीला कोइराला पनि चियाकी शौखिन रहिछन् ।
जे होस, मैले साथीहरूसित पहिलोपल्ट वीपी कोइरालालाई सारनाथमा भेट्दा उनले पुष्पलालसित राम्रो मित्रता भएको र उनीहरूले एकले अर्कोलाई भेट्ने कुराको पुष्टि एक्कासि त्यस दिन वीपी कोइराल सुशीला कोइरालासित पार्टी कार्यालयमा भलाकुसारी गर्न आएको कुराले गरेको थियो । मेरो यो वीपी कोइरालासितको दोस्रो साक्षात्कार थियो ।
अहिले नेपाली कांग्रेसमा वीपी कोइराला जस्तो कुशल नेता छैन । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको हाइटको नेता पनि छैनन् । नेपाल कम्युनिष्ट पार्टीमा पुष्पलाल जस्ता समर्पित र सिद्धाननिष्ट नेताको पनि एक प्रकारले खडेरी परेको छ भन्न पनि सकिन्छ । अनिकाल परेको छ भन्न सकिन्छ । नेपाली कांग्रेस त वीपी कोइरालाको बाटोबाट कोशौं माइल पर पुगिसकेको छ । नेपाल कम्युनिष्ट पार्टी छ । तर त्यसका नेता पुष्पलालका बाटोबाट हजारौं माइल परे पुगिसकेका छन् भन्न सकिन्छ । नाम त अझ पनि उनीहरू पुष्पलालकै लिन्छन् । तर काम भने पुष्पलालको सिद्धान्तको ठीक विपरीत गर्दछन् । नेपाली कांग्रेसले गणशेमान सिंहलाई सर्वमान्य नेता भन्दथ्यो । तर उनी सर्व अमान्य भएर त होला अन्तमा उनी नेपाली कांग्रेसमा जन्मे हुर्के पनि त्यसबाट सन्यास लिन पुगे । यतिबेला पुष्पलाल पनि गणेशमान सिंहजस्तै सर्वमान्य नेता भए पनि उनी यस अर्थमा सर्व अमान्य नेता भएका छन् कि उनका असली अनुयायी हौं भनेर आफूलाई पुष्पलाल उत्तराधिकारी घोषित गर्नेहरूले पुष्पलालको बाटो छोडिसकेका छन् । पुष्पलालको सिद्धान्त छोडिसकेका छन् । राजनीति छोडिसकेका छन् । मात्र उनको नाम भजाउन चाहन्छन् । गरिरहेका पनि त्यही छन् ।