© २०२३
मुल्ला एकदिन लुसुक्क बड्का मुल्लाको घरमा छिर्यो । सोफामा के बसेको थियो उसको नाकमा मगमगी सिंके धूपको बासना आयो । धूपको बासना नाकले लिँदै थियो कानमा टिँग टिँगको घण्टी बज्यो । त्यो सुनेको आवाज कानबाट ओर्लन नपाउँदै शंख फुकेको आवाज आयो । शंख पनि यस्तो फुकिएको थियो कि मानौँ कसैले जिब्रो टोक्यो र उसलाई घाटमा लैजाने बेलामा लौ मलाम जाने बेला भयो भनेर छिमेकीलाई जानकारी दिन बजाएजस्तो थियो । कसले यस्तो कमालको शंख बजायो भनेर मुल्लाले पल्लो कोठामा हेर्यो । देख्छ त धोती, बनियान फेरेर बड्का मुल्लाले नित्य पूजा गररिरहेका थिए । मुल्लाले बड्का मुल्लाको टाउकोमा हेर्यो । झण्डै एक बित्ताको शिखा पारिएको टुप्पी लर्केको थियो । बनियानभित्र जनैको आकार प्रष्ट देखिन्थ्यो । मुल्लाले मनमनै सोँच्योः व्दन्व्दात्मक भौतिकवादको प्रशिक्षण दिने बड्का मुल्ला, स्वर्ग नर्क वाहियात कुरा हुन् भन्ने दार्शनिक, ईश्वर, स्वर्ग, नर्क सबै कहानी हुन् भन्ने भौतिकवादीले यसरी स्वर्ग जानको लागि ईश्वरको स्तुती गर्दैछन् । के देख्नुपरेको हो यो ? कस्ता ढोँगी हुन् यिनी ?
बड्का मुल्ला पूजाकर्म सकेपछि बैठकमा आए । मुल्लाले सोधिहाल्योः के देख्नुपर्यो आज, भौतिकवादी नेताको आध्यात्मवादी चाल ? बड्का मुल्लाले भनेः भोट नै त्यहिभित्र छिपेको छ । युवाकालको जोस सकियो । अब यस्तै गरेर बुढापाकाको मन रिझाउने हो । भोट तान्ने हो । बुद्धि छ भने तिमीले पनि त्यसै गर । नेपालका माओहरु पनि पशुपतिमा टाउको टेकाउन जान थालेका छन् । भएन त भौतिकवादको सत्यानास ?