© २०२३
हरेक मानिसमा आ–आफ्नो स्वभाव हुन्छ । एकजनाको स्वभाव अर्को जनासंग मिल्दैन । शरीरका अंगप्रत्यंग मिले पनि मन अर्थात स्वभाव फरक भएका कारणले कार्यहरु फरक फरक हुने गर्दछन् । हरेक कुरा दृष्टकोण अर्थात हेराई या स्वभावमा फरक पर्दछ । यही फरक भएका कारणले कार्यहरु पनि फरक फरक हुने गर्दछन् । यो दुनियाँमा एउटै स्वभाव भएको भए के हुन्थ्यो ?
एकछिन कल्पना गरौं न । के यो सम्भव छ ? मानव सृष्टिको क्रममा हरेकको स्वभाव फरक हुँदै आएको छ र यो भोलीका दिनमा जन्मनेहरुमा पनि फरक स्वभाव हुने निश्चित छ । मानिसको मन अर्थात स्वभाव फरक भएको हुनाले फरक कार्यहरु हुने गर्दछन् । तर सबै सबै स्वभाव फरक हुन्छ भन्ने पनि होइन । स्थान, जन्म वा वंशको आधारमा केही कुराहरु मिल्न सक्दछ । यो स्वभाव मिल्दैमा ठूलो नोक्सान हुन्छ भन्ने होईन । कहिलेकाँही हामी बैठक वा गोष्ठीमा सहभागी हुन्छौ । कुनै विषयमा छलफल हुँदा कतिजनाको एउटै राय आउँछ भने थोरै मात्रको फरक राय आउँछ । फरक राय वा विचारलाई अन्यथा लिनु हुँदैन ।
स्वभावजन्य आउने कुरालाई अन्यथा भन्नुभन्दा पनि उसको चित्त बुझाउन सक्ने हो भने सहमति जनाउने वातावरण पनि बन्न सक्छ । फरक विचारबाट कुनै नयाँ कुराको सिकाई हुने भएकाले फरक विचार आउनबाट रोक्नु हुँदैन । हरेक कुरा वा काम गर्दा चित्त, मन वा विचार शुद्ध हुन जरुरी छ । यसले मानिसलाई समाजमा मिल्न सक्ने बनाउँछ । हाम्रो समाजमा रहेका कतिपय मानिसहरु शुद्ध चित्त वा शुद्ध विचारका हुँदैनन् । त्यही शुद्ध विचार नभएकालाई कलुषित मन भएको भनिन्छ । शुद्ध मन भएकोहरुको संख्या केही कम हुन्छ जस्तो लाग्छ । तुलनात्मक रुपमा हाम्रो समाजमा शुद्ध विचार भएकाभन्दा कलुषित मन भएकाहरुको संख्या बढ्ता हुनसक्छ ।
यो कसरी भन्न सकिन्छ भने हरेक मानिसको स्वभावले यसको जानकारी दिन्छ । बोली र चलन तथा हावभाव अनि चालचलनबाट यस्ता कुरा थाहा पाउन सकिन्छ । यसका लागि वेग्लै मापनको औजार प्रयोग गर्नुपर्दैन । मानिसको शुद्धता भनेको पहिलोमा उसको बचन हो । मन शुद्ध नभएकाहरुले प्रिय वचन प्रयोग गर्न सक्दैनन् । उनीहरुलाई आफूमात्र ठूलो वा सम्मानित भन्ने लाग्दछ । अझ यसमा धनको घमण्ड भएकाहरु अरुको तुलनामा आफूलाई बढ्ता ज्ञानी र सत्कर्मी ठान्ने गर्दछन् । धनको घमण्डले मातेका र तातेकाहरु कहिल्यै पनि कसैसंग प्रिय वचन प्रयोग गर्न जान्दैनन् । उनीहरुले आफू यो दुनियाँको नभएर अरु कुनै दुनियाँको र आफ्नो जन्म सम्भ्रान्त परिवारमा भएको भ्रममा परेका हुन्छन् । धन हरेक मानिसको लागि प्रिय त हुन्छ तर यसलाई कसरी आर्जन गर्ने र कसरी खर्च गर्ने भन्ने कुराको ज्ञान भएका मात्र ज्ञानी हुन्छन् । ज्ञानी हुनु भनेको हरेक मानवलाई मानवीय व्यवहार गर्न जान्ने र सबैको आत्मा हुन्छ, आत्मामा चोट पर्ने भावनाका साथ कुनै पनि बोली वचन राख्नु हुँदैन भन्ने कुरा मनमा भएको हुनुपर्दछ । यसलाई भनिन्छ शुद्ध मन भएको ।
कहिलेकाँही ज्ञानी भनिनेहरुको मनमा केही द्वन्द्व सिर्जना भएको हुनसक्छ त्यो समयमा उनीको मन शुद्ध नभएको हुन सक्छ । यस प्रकारको चिन्तन उनीहरुमा आउँदैन भन्ने होइन किनकी यो मानव शरीरमा कहिलेकाँही विभिन्न कोणबाट त्यस्ता खालका विकारहरु उत्पन्न हुनसक्छन् । यस्तो समयमा उनीहरुले आफूलाई सम्यम राख्न सक्नुपर्दछ । यदि आफूलाई संयम राख्न सकेनन् भने चित्त कलुषित भएको व्यक्ति सरह उनीहरु पनि पर्दछन् । जो व्यक्तिले आदर्शका कुरा गर्दछ उसले त्यो आदर्शको व्यवहार प्रकट गर्न सक्नुपर्दछ । हरेक समयमा आफूलाई संयम राख्न सक्नु नै उसको महानता हो । यो महानता सबैमा आउन सक्दैन । त्यसकारण स्वभाव फरक हुन्छ भनिएको हो ।
मानिसको चित्त शान्त हुनका लागि पहिले मनको ज्ञान अर्थात आत्मज्ञान नै हो । आत्मज्ञान नहुनेहरु महान व्यक्ति वा महान चित्तका बन्न सक्दैनन् । यसको लागि पहिलो नम्बरमा हरसमय आफूलाई सम्यम राख्न सक्ने क्षमता मनमा हुनुपर्दछ । यही संयमताले मानिसको स्वभावमा परिवर्तन ल्याउन सक्दछ । जुनसुकै मूलको भए पनि उसले जे कार्य गर्नका लागि अख्तियारी पाएको हुन्छ त्यो अनुकूलको आचरणमा रहन सक्यो सकेन भन्ने कुरा उसको परीक्षा हो । यो परीक्षामा उ सफल हुन सक्यो भने जीवन बेदाग बन्न सक्दछ । यो परीक्षामा सफल हुन सकेन भने जीवन एउटा किटसंग तुलना गर्न पनि नमिल्ने हुन्छ । एउटा साधारण किटले प्रकृतिले दिएको आफ्नो आहारादेखि बाहेक अन्य कुरा सञ्चय गर्दैन । अरुलाई पीडा हुने गरी कुनै कार्य गर्दैन । राज्यको ढुकुटीमा आँखा लगाउँदैन । भुटानी शरणार्थीको प्रकरणमा उसलाई मुछिन पर्दैन ।
सुन बोकेको आरोप पनि व्यहोर्नु पर्दैन, नुनको चासो पनि हुँदैन । ललिता निवासको काण्डमा उसलाई विवादमा तानिनु पनि पर्दैन । ह्वाईट बडी र लाउडा काण्डको टीका पनि लगाउनु पर्दैन । किट प्रकृतिले सिर्जन गरेको एउटा जीव हो उसले प्रकृतिले दिएको आहारादेखि बाहेक अरु केही सेवन गर्दैन यसरी उसको जीवनचक्र चलेको हुन्छ । देश चलाउने जिम्मा पाएकाहरुको आजभोलीको हविगत हेर्दा लाग्छ उनीहरुको नियतमा खोट रहेछ । उनीहरुको मन दुईथरीका रहेछन् । एउटा मन बाहिरबाट लेपन गरेर शुद्ध देखाईएको मन रहेछ भने अर्को वास्तविक मन कुलषित मन रहेछ । यही कलुषित मनले आज एउटा किटको मन जति पनि शुद्ध नभएको भनेर तुलना गर्ने अवस्था आएको छ ।
अहिले जति फन्दामा परेको भनेर हामीले नाम सुनेका छौं योभन्दा फरक अनुहार र फरक व्यक्तिहरुको ताँती यो भन्दा ठूलो हुन सक्छ । यस्तो संकेत आइरहेको छ । भुटानी शरणार्थी प्रकरणले केहीको मन, वचन र कर्मको बारेमा थाहा भयो भने अब ललिता निवास काण्डले पनि कतिजनाको मुकुण्डो उत्रेको देख्नु पर्ने हो । मनमा प्रलोभन बढ्दै गयो भने वा सेवा भावाको स्थानमा विकास पैदा भयो भने सुन्नै नपर्ने जस्ता कुरा सुन्नुपर्दछ । देख्नै नपर्ने खालका दृश्यहरु देख्नु पर्दोरहेछ । अहिलेको दृश्य र वचन यस्तै आत्मसंयम हराएकाहरुको कुरा हो । मन वा चित्त शान्त वा शुद्ध बनाउन संयम हुनुपर्दछ । यसका लागि संयमताको खाँचो पर्दछ । यसकारण भनिएको हो ।
यसको एउटामात्र शुत्र छ त्यो हो “प्रलोभन” त्याग्नु । प्रलोभन हरेक विषयवस्तुमा हरेक मानिसमा आउँछ । सायद प्रलोभन नआउने मानिस नै हुँदैन तर त्यसलाई पन्छाउन सक्नु भनेको महानता हो । चित्त शुद्धि हो । मन जसको जति चञ्चल हुन्छ त्यति त्यति मानिसहरु प्रलोभनमा फस्दै जान्छन् । जति प्रलोभनमा फस्दै जानेछन् । भुटानी शणार्थी र ललिता निवास जस्ता अन्य काण्डहरुको संख्यामा कमी आउने छैन । आफूले मेहनतकासाथ जति र जे कमाउन सकेको छ त्यसमा चित्त बुझाउन सक्नु सबैभन्दा यसको उत्तम मार्ग हो । यो मार्गबाट विचलित भयो भने जो कोही पनि एउटा न एउटा काण्डमा फस्दै जान्छ । धनको मात्र प्रलोभन होइन, मन चोर्ने प्रलोभन पनि उस्तै घातक हुन्छ । चित्त शान्त पार्ने प्रलोभनदेखि वाहेकका अन्य प्रलोभनहरु सबै घातक हुन्छन् । यसकारण सबैभन्दा पहिले हरेक उपायले मन धुनुपर्दछ । यही नै उत्तम उपाय र उत्तम जीवन हो । चेतना भया ।