© २०२३
रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका–१ झङ्कीधारावासी मध्य वैशाखमा झन्डै एक हप्ता लगातार परेको बर्सातले त्रस्त देखिन्थे । वैशाखको पानी किसानका लागि अमृत समान भए पनि उनीहरू भने घरिघरि आकाशतर्फ हेर्दै तर्सिन्थे । वर्षादले बस्ती नै बगाउने हो कि भन्ने चिन्ता थियो उनीहरूलाई ।
फुलिबनमा भएको घर जग्गा पहिरोले चिराचिरा भएपछि ४५ वर्षीय हर्कु विक पेघाधारा सरे । गत वर्षको वैशाखमा पेघाधारा पनि पहिरोले बगाउन थाल्यो । त्यसपछि घर छाडेर सपरिवार पाँच महिनासम्म श्रीमतीको माइतीमा बसे । पहिरो पीडितहरूका लागि नयाँ घर बनेपछि उनको परिवार झङ्कीधारामा सरेको छ । पहिरोकै कारण दुई पटक बसाइँ सरिसकेका उनको यो तेस्रो बासस्थान हो । यो बास पनि उनका लागि सुरक्षित हुन सकेन । चियावाङको पुरानो पहिरो र नयाँ बस्तीमा खनिएको बाटोका कारण दोहोरो त्रासको सिकार भएका छन् हर्कु विक ।
सालनाल गाडेको बस्तीसहित पुख्र्यौली घर पहिरोले बगाएपछि सुनछहरी गाउँपालिका–१ सेरम दाङबासाका ५१ वर्षीय रणे घर्ती नयाँ बस्ती झङ्कीधारामा सरेका छन् । गाउँपालिकाले तोकेको क्लष्टरमा ६० हजार रुपैयाँमा घडेरी खरिद गरेका उनले हरियो टिनको छाना भएको दुई कोठे घर बनाए । डाँडामा भएका कारण दिउँसो हावाहुरीले घर उडाउला जस्तो गर्छ । हावाहुरी त जसोतसो झेल्दै आएको उनको परिवार पानी पर्दा भने रातभर जाग्राम बस्छ । पहिरोले कतिबेला घर बगाउने हो भन्ने चिन्तामै एक बर्सात गुजारेका उनलाई हिउँदमा पानी पर्दा पनि त्यही कुराले सताइरहन्छ ।
झङ्कीधाराका छ वटा घर भाडामा लिई सञ्चालन भइरहेको शाखा प्राथमिक विद्यालयमा १५० विद्यार्थी अध्ययन गर्छन् । एकीकृत बस्तीभित्र निर्माण हुँदै गरेको विद्यालय भवन निर्माण सम्पन्न भइसकेको छैन । यसैले मासिक छ हजार रुपैयाँ भाडा तिर्ने गरी सो विद्यालय सञ्चालन भइरहेको छ । भाडामा सञ्चालित विद्यालय र निर्माणधीन विद्यालयको उत्तर पश्चिमतर्फ आएको पहिरो र पूर्वदक्षिणमा खनिएको सडकका कारण पहिरोको उच्च जोखिम छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मात्र होइन, अध्यापन गर्ने शिक्षकहरूको पनि बर्सातमा कुन बेला पहिरो जाने हो भनी डरतिरै ध्यान जान्छ ।
रोल्पा सुनछहरी गाउँपालिका–१ झङ्कीधाराका स्थानीयहरूले भोग्दै आएको समस्या हो यो । साबिक सेरम गाविस वडा ५ मा रहेका १०५ घरधुरीमध्ये ४० घर पहिरोको उच्च जोखिममा परेका थिए । त्यसपछि गाउँपालिकाको पहल र लुम्बिनी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको सहजीकरणमा बस्ती स्थानान्तरण योजना अघि बढ्यो । भौतिक विकास पूर्वाधार मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा बस्ती स्थानान्तरण गर्ने गरी आर्थिक वर्ष २०७५/७६ मा डिपिआर तयार गरियो । एकीकृत नयाँ बस्तीमा संरचना निर्माणको काम भने आर्थिक वर्ष २०७६÷७७ मा सुरु भएको हो ।
तत्कालीन मन्त्री केसीसहितको जनप्रतिनिधिहरूको एक टोली र मन्त्रालयका सचिव शंकर खरेल नेतृत्वको अर्को टोलीसमेतले स्थलगत अवलोकन गरेको थियो । सो टोलीमा परामर्शदाताको रूपमा भूगर्भविद्समेत संलग्न थिए । टोलीले अध्ययनका क्रममा प्रस्तावित नयाँ बस्ती अन्य क्षेत्रको तुलनामा सुरक्षित रहेको निष्कर्ष निकाल्यो । त्यसपछि मन्त्रालयले बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरेको थियो ।
मन्त्रालयको टोलीले बस्ती स्थानान्तरणका लागि स्थान ठिक रहेको भनेपछि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठित सहजीकरण समिति र पहिरो प्रभावितहरूको सहमतिमा सो स्थानमा एकीकृत बस्ती विकासको काम अगाडि बढाइएको हो, सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले भने ।
पहिरो प्रभावितहरूले पनि प्रस्तावित बस्तीमा आफूहरू स्थानान्तरण हुनमा समस्या देखेनन् । गाउँभन्दा बाहिर स्थानान्तरण हुँदा जीविकोपार्जनमा समस्या पर्ने डरले पनि सो स्थान उनीहरूको रोजाइमा परेको थियो । पहिरो प्रभावितहरूमध्ये एक हर्कु विकको भनाइ छ– घरलाई पहिरोले क्षति गरे पनि पुख्र्यौली सम्पत्ति सोही आसपासका क्षेत्रमा छ । पहिरोले घर लगे पनि पाखो जग्गा बचेको छ । त्यसको आशामा नजिकै बस्न चाह्यौं ।
एकीकृत बस्तीमा घर र शौचालय निर्माणका लागि उनीहरूको खातामा प्रदेश सरकारबाट रु. तीन लाख ५० हजारका दरले बजेट आएको थियो । खानेपानी, सडक, विद्यालय र सामुदायिक भवन भने ठेक्कापट्टाबाट निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत पुनले बताए । योजनाको कुल लागत १५ करोड रुपैयाँ रहेको छ । हालसम्म ४० वटा भवनका लागि एक करोड ४० लाख, तटबन्धनका लागि दुई करोड, खानेपानी योजनाका लागि तीन करोड, सडकका लागि पाँच करोड रुपियाँको काम भइसकेको छ । तटबन्धका लागि थप रकम ३० लाख र विद्यालय एवं सामुदायिक भवन निर्माणको पाँच करोड रुपियाँको काम भइरहेको छ ।
पेघाधारा, दाङवासा र वाछेम गरी तीन क्लष्टर बनाएर बस्ती स्थानान्तरण गरिएको छ । ती क्लष्टरमा जग्गा हुनेले त्यसैमा घर निर्माण गर्ने र जग्गा नहुनेले घडेरी किनेर घर बनाउनुपर्ने भयो । एकीकृत बस्ती बन्ने भनेपछि जग्गाको भाउ एक्कासि बढ्यो । ८÷१० हजारमा घडेरी पाइने गरिएकोमा ६० हजार रुपैयाँमा घडेरी किन्न बाध्य भएको रणे घर्तीले बताए ।
एकीकृत बस्तीमा निर्माण गरिने संरचना तयारीको अन्तिम चरणमा भए पनि प्रभावितहरूको पीडा भने जस्ताको तस्तै छ । २०७७ साउनमा पहिरो जाँदा नयाँ बस्तीका चार घर क्षतिग्रस्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनले बताए । घरमुनिबाट गएको पहिरोले नयाँ बनेका घरमा क्षति पु¥याउँदा लाखौंको क्षति भएको स्थानीयको भनाइ छ । क्षतिको यकिन लेखाजोखा भने भएको छैन ।
सुनछहरी गाउँपालिकाको आवधिक विकास योजना (२०७६/७७—२०८१/८२) मा ‘वातावरणीय अनुकूलतामा आधारित पूर्वाधार’मा जोड दिएर पहिरो नजाने ठाउँमा मात्र सडक बनाउने उल्लेख छ । गाउँपालिकाले त्यसको पालना गर्न सकेको देखिएन । नीति नियम भए पनि विभिन्न दबाब र प्रभावका कारण नीति नियमको पूर्ण पालना गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत पुनको स्वीकारोक्ति छ । त्यसो त गाउँपालिकासँग बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती विकास कार्यविधि पनि छैन । कार्यविधिबिना नै योजना कार्यान्वयन गरिनु गाउँपालिकाको कमजोरी थियो । “कार्यविधि बनाएर कार्यान्वयन गर्दा राम्रो हुन्थ्यो, त्यसो गर्न सकिएन,” पुनले भने ।
फुलिवनवाट सेरम जोड्ने सडकको निर्माण कार्य आर्थिक वर्ष २०७३/७४ मा सुरु गरिएको थियो । फुलिवन बजारमुनि नागबेली झैं घुमाएर सेरम गाउँ जोड्ने योजनासहित उक्त सडक निर्माण थालिएको थियो । आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा निर्माण कार्यलाई निरन्तरता दिइयो । आर्थिक वर्ष २०७५÷७६ मा पहिरो जान थालेपछि सडक निर्माण कार्य स्थगित भएको सुनछहरी गाउँपालिका–१ का वडाध्यक्ष महावीर रानामगरले बताए । सोही सडक निर्माणका कारण एकीकृत बस्तीमा पहिरो जान थालेको हो ।
एकीकृत बस्ती नजिक पर्ने फुलिवन बजारमा कुनै बेला निकै चहलपहल हुने गर्दथ्यो । बजार तलबाट खनिएको सडकका कारण बजार क्षेत्र नै पहिरोले तान्न थालेपछि भने होटलमा बास बस्न आउनेहरूको सङ्ख्या शून्यमा झरेको छ । सो बजारमा रहेको होटलमा थवाङ, उवा तथा रुकुम पूर्वबाट आवतजावत गर्नेहरू खाना खाने तथा बास बस्ने गर्थे । जर्मन सहयोग नियोग (जिटिजेड) ले २०६५ सालमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत वातावरणमैत्री ढङ्गले सुलिचौर–थवाङ सडक निर्माण गरेको थियो । सुलिचौरबाट थवाङ जोड्ने सो सडकको फुलिवन खण्डलाई २०७३ सालपछि चौडा गर्ने तथा शाखा सडक बनाउने नाममा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी डोजरको जथाभावी प्रयोग गरियो । सोही कारण सो क्षेत्रमा पहिरो जान थालेको अनुभव स्थानीयवासीको छ । दुई वर्षअघि सडकभन्दा माथिबाट आएको पहिरोमा परी सोही ठाउँका १५ वर्षीय शुकवहादुर घर्तीको ज्यान गएको थियो ।
नयाँ बस्तीमा पहिरोको समस्या देखिनाका कारणहरूमा सडक निर्माण मात्रै नभएर त्यहाँको भौगर्भिक संरचना पनि भएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनको भनाइ छ । उनले भने– यस विषयमा गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकमा समेत कुरा उठेको छ । नयाँ बस्तीमा देखिएको जोखिम न्यूनीकरणका लागि सुरक्षाका विभिन्न उपाय अवलम्बन गरिनेछ । नयाँ बस्तीमा थप तटबन्धन गरी बस्तीलाई सुरक्षित गर्न प्रदेश सरकारलाई बजेट विनियोजनका लागि आग्रह गर्ने निर्णय गरेका छौं । बाढी पहिरो तथा अन्य विपत्बाट सुरक्षित रहन बस्तीको मझगाउँमा सामुदायिक भवनसमेत निर्माण गरिएको छ ।
विपत्को समयमा आश्रय दिने उद्देश्यले निर्माण गर्न थालिएको सामुदायिक भवन आफैं पहिरोको उच्च जोखिममा देखिन्छ । सुनछहरी गाउँपालिकाका अन्य वडा पनि पहिरोको उच्च जोखिममा छन् । गाउँपालिकाको वडा नंं ४ र ५ का ३ सय ६० घर अत्यन्तै जोखिममा रहेको गाउँपालिका अध्यक्ष पुनले बताए । वडा नं. ६ फगामको आप्राखोला पहिरोले पनि स्थानीयवासीहरूलाई त्रस्त बनाउँदै आएको छ । अध्यक्ष पुनका अनुसार, पहिरोले बस्ती नै उजाड बनाउनाका साथै ठुलो मात्रामा धनजनलाई क्षति पु¥याइरहेको छ । पहिरोको कारण धेरै गाउँहरूको स्वरुप पनि बदलिएको छ ।