© २०२३
सार्वजनिकमञ्च र सामाजिक सञ्जालमार्फत फैलाइएका नकारात्मक अभिव्यक्तिले अत्यन्त चिन्ता, आक्रोश र वेचैनी सिर्जना गरेका छन् । यीअभिव्यक्ति कसैकाप्रति अधिक रिस वा घृणा वा विरोध वा गलत सिद्ध गर्नाकालागि प्रयोग गरिएका हुन् । यसप्रकारका भनाइमा अतिरञ्जितभाव, आक्रामक भाषा शैली, लाक्षणिक उपमाहरूको प्रयोग गरिन्छ । विरोधको एकप्रकारको तरिका व्यंग्यात्मक अभिव्यक्ति हो । तर केही वर्षयता उच्च राजनैतिक नेतृत्वदेखि सर्वसाधारणसम्मका अभिव्यक्तिमा उच्छृंखल, छाडा, गालिगलौजको भाषा प्रयोग भएको पाइन्छ । अनलाइन माध्यमबाट विकृत भाषा स्वरुप विकास भएपछि सरकारले केही नियन्त्रणमुखी कानूनी प्रावधानको व्यवस्था र कारवाही समेत गरेको छ । राज्यका उच्चओहोदाका पदाधिकारीहरूका बारेमा गरिएका टिप्पणीका सन्दर्भमा केही व्यक्तिहरू पक्राउ परे, मुद्दा चलाइयो पनि । तर राजनैतिक दलका नेता, कार्यकर्र्ता, प्राध्यापक, पत्रकार, लेखक र बुद्धिजिवीहरूसमेत अभिव्यक्तिदिंदा निरन्तर उग्र तरिकाले सामान्य शिष्टाचार र सामाजिक मर्यादासमेत उल्लंघन गर्न थाले ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गर्ने क्रममा उहाँको चुरापोतेजस्ता नारीको भावनासँग जोडिएका विषय जोडेर दिइएको अभिव्यक्तिलाई धेरै मानिसहरूले महिलाको अपमान हो भनेका थिए । प्रधानमन्त्री खड्गप्रसादओलीको मृगौला प्रत्यारोपणमा एउटा युवतीले मृगौला दिएकोमा प्रधानमन्त्रीलाई एउटा स्त्रीको अङ्गले बाँचेको भनी अपमानजनक अभिव्यक्ति दिइयो । मानिसको जीवनमरणप्रति संवेदनशील हुननसक्ने मानवता हराएकाहरू सार्वजनिक तथा भट्टिमा यसप्रकारका दूर्वचन प्रयोग गरिरहेका छन् । यी शब्दलाई कुनै व्यक्तिको विरोधमात्र नभएर ती मानिसहरूको संकीर्ण विचार र महिलाहरूप्रतिको नकारात्मक भावना वा महिलालाई कमजोर ठान्ने पुरातन विचारको उपजका रूपमा लिन सकिन्छ । प्रधानमन्त्रीको विरोध गरिरहँदा प्रयोग भैरहेका शब्द दलका जिम्मेवार नेताले बोलेको हवालादिंदै सञ्चारमाध्यमले हेडलाइनमै प्रयोग गरे । तर ती अभिब्यक्ति विरोधिहरूतर्फ सोझिए । केही महिना पहिले नेता प्रचण्डले केपी ओलीको सरकार ढालेर नयाँ बन्ने सरकार भारतकालागि कम्फर्टेबल हुने भन्ने सञ्चार माध्यममा आइसकेपछि प्रचण्डको ठूलो विरोध भयो । हालै नेतृ रामकुमारी झाँक्रिले प्रधानमन्त्रीलाई लक्षित गर्दै हामी त डुब्छौं, सँगै तिमिलाई पनि डुबाउँछौं भन्ने ट्वीट गरिन् । यसलाई धुमधाम प्रचार गरियो । तर यस अभिव्यक्तिमा आएका डुब्ने डुबाउने शब्द र अन्तर्निहित अर्थ लगाउने हो भने नकारात्मकताको पराकाष्ठा पाइन्छ ।
कोभिड–१९ महामारीका सन्दर्भमा समेत भ्रामक र अतिरञ्जना र दुरासययुक्त अभिव्यक्तिले संक्रमित र स्वास्थ्यकर्मीको मनोबल गिराउने दुस्पयाश भएको छ । उदाहरणका लागि केही दिन पहिला फेसबुकमा देखिएको सरकारी अस्पताल गए ज्यान घर फर्कन्न । निजी अस्पताल गए ज्यान फर्कँदा घर रहन्न ।भन्ने पोस्टले सरकारी अस्पतालको उपचारप्रति असन्तोष पोख्ने बहानामा हद नाघेको छ । कोभिड–१९ उपचारका सम्बन्धमा सरकारी अस्पताल र स्वास्थ्यकर्मीको प्रयाशलाई उच्च सम्मान गर्नुपर्ने देखिन्छ । निजी अस्पतालहरूले चापि लगाएर बसेका बेला सरकारी संयन्त्रले सेवा दिएकै हो । निजी अस्पतालहरू ढीलो गरी मात्र कोभिड–१९ को उपचारमा लागेका हुन् । यो तीतो यथार्थलाई बिर्सेर सरकारी अस्पतालप्रति अविश्वास बढाउने प्रचार सामग्री स्वस्थ विश्लेषण मान्न सकिँदैन । यद्यपि अभिव्यक्ति कलात्मक सुन्दर रचना जस्तो लाग्दछ, सन्देश बद्नियतपूर्ण र नकारात्मकताको पराकाष्ठा भएकाले त्यो आलङ्कारिताको दुरुपयोग मात्र भयो ।
एकजना प्राध्यापकको फ्रेण्ड रिक्वेस्टलाई स्वीकारेपछि उनको फेसबुक वालमा हेर्दा सबै राजनैतिक पूर्वाग्रहले भरिएका सन्देश मात्र देखें । पछिल्लो राजनैतिक अवस्थाका सम्बन्धमा सबैलाई जाहेर नै छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमै गएर छलफल गरेको विषय चर्चामा आयो । यसै प्रसंगमा कुनै छद्म नाममा फेसबुक वालमा प्रधानमन्त्रीलाई अत्यन्त तुच्छ शब्दले गाली गरिएको सन्देश ती प्राध्यापकले कपि गरेर पोस्ट गरेका छन् । राजनैतिक आस्था र त्यसको वकिल्याईं गर्ने छूट सबैलाई छ । सरकारको कामको विरोध गर्ने छूट पनि छ । तर शब्द चयनमा सावधानी हुनुपर्ने हो । त्यो छद्मनामी सन्देशवाला साइबर कानूनका आधारमा सजायभागी हुनुपर्ने अभिब्यक्तिका सम्बन्धमा प्राध्यापक महोदयले शिष्ट प्रजातान्त्रिक विरोधको नमुनादिनुपर्ने हो । छद्म नामीले नाम फेरेर केही व्यक्तिगत इज्जत जोगायो तर प्राध्यापकले यति पनि ख्याल गरेनन् । प्राध्यापक यसप्रकारको हर्कत देखाउँछन् भने उनले उत्पादन गर्ने विद्यार्थी कुन प्रकृतिका होलान् ?
यी नकारात्मक टिप्पणी विरोधकालागि मात्र गरिएका हुन् त ? मानिसमा नकारात्मक भावना वा विचार पैदा भैरहनुलाई मनोचिकित्सकहरूले समस्याका रुपमा लिएका छन् । किन मानिसमा नकारात्मकता बढी पैदा हुन्छ ? जब मानिसले व्यक्तिगत रूपमा विरोध गर्न सक्दैन, सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममार्फत विरोध अभिब्यक्त गर्न थाल्छ । प्रायः सामाजिक सञ्जालमा विरोध गर्नेहरू बढी आक्रामक देखिनुका पछाडि उनीहरूको बुझाईस्तर पनि हो । ती मानिसहरूले सामिप्यमा रहेर वा प्रत्यक्षमा रहेर विरोधीको प्रतिक्रियामाथि थप प्रतिक्रिया दिनु नपर्ने र धेरै मानिसहरूले पोस्टमा थप प्रतिक्रिया नगर्ने भएकाले पनि सामाजिक सञ्जाल प्रयोग गर्न मन पराउँछन् । सञ्जालमा आउने प्रतिक्रिया ढीलो आउने, व्यक्तिगत रूपमा कम जवाफदेही भए पुग्ने किनभने कानून बमोजिक दण्डभागी हुने अभिव्यक्ति पनि कानूनको सिकञ्जामा पुग्न ढीलो हुने वा नपुग्ने भएकाले पनि सामाजिक सञ्जाल बढी दुरुपयोग भएको हो । हाम्रा वरपरका नकारात्मक टिप्पणी गर्न हामी हिच्किचाइरहेका हुन्छौं तर युरोप, अमेरिका, खाडीमा रहेकाहरूको ठाडो प्रतिक्रिया देख्न पाइन्छ । अझ नेपालमा कानूनी शासनको पालना कमै हुने गरेकोले पनि नकारात्मक भावना सम्प्रेषणका लागि बल पुगेको हो । नकारात्मक टिप्पणी गर्नेहरूलाई आफूले मानेको वा अभिव्यक्त गरेको विचार नै अन्तिम र एकमात्र सत्य लाग्ने गर्दछ । जसका विरुद्ध टिप्पणी गरिएको छ, उसले के ठान्छ भनेर हेक्का गरेर टिप्पणी गर्ने बानी हुँदैन । अरूको दृष्टिकोण वा मान्यतालाई स्वीकार गर्न नसक्ने अथवा मुद्दालाई विभिन्न दृष्टिकोणबाट अध्ययन गर्न नसक्ने वा बहुलवादी सोंच नभएका वा विविधतालाई स्वीकार गर्न नसक्ने प्रबृत्तिले मानिसलाई नकारात्मकताको रोगी बनाउँछ । यसप्रकारका मानिसहरूमा भीडमा ढुङ्गा हान्ने वा कुहिरोमा तीर हान्ने चाहना हुन्छ । विषय वस्तुबारे तथ्य जाँच गर्नेभन्दा लहड वा लहैलहमा प्रतिक्रिया दिइहाल्ने बानी हुन्छ । हिजोआज संघ, प्रदेश र स्थानीय सरकारहरू कोभिड रोग व्यवस्थापनकाबारेमा सक्रिय देखिएका छन् । तर सामाजिक सञ्जालमा कर तिरेकोले सबै जिम्मा सरकारले लिनुपर्छ भन्ने आसयको एउटा पोस्ट भाइरल भएको छ । अस्पतालमा अक्सिजन छैन भन्ने प्रचार यति बढी भएको छ तर यसले संक्रमितहरूलाई झन् हतोत्साहित बनाउने, भय पैदा गर्ने र उनीहरूका परिवारलाई समेत थप पिडा हुनेतर्फ किन ध्यान गएको छैन ? यसको सट्टा नेपालका विभिन्न अस्पतालमा अक्सिजन उत्पादनकालागि भएका प्रयाशबारे फेसबुकमा लेख्ने हो भने सबैको मन हलुङ्गो हुने थियो । यसो गर्दा सरकारलाईभन्दा बढी ती बिरामीलाई रोगसँग लड्न फाइदा हुने र सन्देश लेख्नेलाई केही अंश पुण्य मिल्ने छ । तर नकारात्मकताका रोगीहरू त्यसो गर्दैनन् । किनभने नकारात्मकताको अर्को विशेषता अरूको दुःखमा आफू रमाउने र अरूलाई दुःख दिने, सताउने वा यातना दिएर मज्जा लिने हो ।
यसप्रकारले नकारात्मकतामा रमाउनेहरू सँधै नकारात्मक टिप्पणीमा रमाउने र कहिल्यै पनि कुनै पक्षमा पनि सकारात्मकता भेटाउन नसक्ने हुन्छन् । यो एकप्रकारको कुलत बन्छ । अत्यधिक नकारात्मकताका कारण मानिसहरूमा डिप्रेशनवा वेचैनीवा छट्पटी बढ्दछ । कुनै अध्ययन वा विश्लेषणवा लेखन वा कुनै काममा निरन्तर ध्यान दिन सकिदैन । तसर्थ ती मानिसहरू कुनै विश्लेषणात्मक लेख लेख्ने वा पढ्नेभन्दा फेसबुक कमेन्टमा रमाउँछन् । त्यसैमा भुल्छन् । अर्को असर नकारात्मकता भएका मानिसहरूमा आत्मसम्मान, आत्मविश्वास र आत्मबल जस्ता वैयक्तिक शक्ति कमजोर हुँक्दै जान्छ । दिमाग खलबलिन्छ । विचारमा तालमेल हुँदैन । गत वर्ष सबै निजी अस्पताललाई सरकारीकरण गर्नुप¥यो भनेर टिप्पणी लेख्ने र यस वर्ष सरकारी अस्पतालमा गए ज्यान फर्कन्न भनेर लेख्ने व्यक्ति उही नहोला तर प्रबृत्ति उही हो । केहीमा शारीरिक अस्वस्थतासमेत बढ्छ । यस बाहेक सामाजिक हैसियत, ईज्जत, प्रतिष्ठामा पनि घाटा पर्दछ । तपाईंले विरोध गरिरहेकालाई अरू कसैले मन पराएको हुन सक्छ । अब अर्को दुश्मन थपियो । तसर्थ नकारात्मकताले विरोधीलाई हानी गर्ने होइन, स्वयम् नकारात्मक भावना राख्नेलाई नैै नोक्सान गर्ने भएकाले नकारात्मकता घटाउँदै सकारात्मकता बढाउन आवश्यक छ । नकारात्मकताले विरोधीलाई कम र आफैंलाई बढी घाटा लाग्छ ।