© २०२३
कविता बोकेर युद्धमा उहिले देखि सत्ताको भाष्यले एकल जात, वंश र नश्ललाई मात्रै राष्ट्रिय एकताको प्रतीक वा आधार मान्दै आएको छ । त्यस एकताको जगमा बिसे नगर्चीदेखि गङ्गाराम रानासम्म र लखन थापादेखि अगणित सहिदसम्मका खुनपसिना मिसिएको सत्यप्रति सत्ताले सर्वदा आँखा चिम्लिंदै आएको छ । यो देश बहुजाति, भाषा, धर्म र संस्कृतिको सम्मिलन हो भन्ने तथ्यप्रति सत्ता सदा उदासीन रहिआएको छ । कुनै जात, समुदाय र वर्ग हाबी भइआएको राज्यसत्ताको चरित्र यस्तै हुन्छ । सत्ताको यही चरित्रले बहुसङ्ख्यक मानिसलाई सार्वभौमसत्तासम्पन्न नागरिक होइन, केवल ‘मगन्ते’ बनाउने इच्छा राख्दछ । आफूलाई भने सधैका लागि मालिक बनाउन चाहन्छ । त्यसका लागि सत्ता अनेक पक्षसँग अनेक दुरभिसन्धि गर्छ । सत्ताको त्यही षड्यन्त्रविरुद्ध दुन्दुभि बजाउन जन्मिन्छन्,‘ एकथरी’ कविताहरु । ‘एकथरी’ किन भनेको हुँ भने कवि कदापि निष्पक्ष र तटस्थ रहन सक्दैन ।
तीव्र संवेदनाले भिजेको कवि कतै न कतै ढल्किन बाध्य हुन्छ । वर्गीय समाजमा कविता पनि वर्गीय हुन्छ, कवि पनि वर्गीय हुन्छ, दृष्टिकोण पनि वर्गीय नै हुन्छ । जानेर होस् वा नजाने र, कविले कवितालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै न कुनै वर्गको स्वार्थ वा विचार बोकाएकै हुन्छ । त्यसैले कविताले सचेत वा असचेत रुपमा कुनै न कुनै वर्गको प्रतिनिधित्व गरेकै हुन्छ । जुगजुगदेखि सङ्घर्ष गर्दै अपेक्षित नयाँ जीवनको खोजीमा निस्किंदा जुन वर्गका मानिसका घुँडामा व्यवस्थाका घनहरु बज्रेका छन् र जोर्नीहरु फुस्किएका छन्, मेरा कविता त्यही वर्गको पक्षमा उभिन जन्मिएका हुन् । मेरा कविता पिंधमा रहेका भोकानाङ् गाका पक्षमा बोल्न जन्मिएका हुन् । मेरा कविता साधारण मानिसले हतास र निराश भएर मानवोचित जीवनको सपना देख्न नछाडून् भनेर तिनलाई सजग बनाउन बिलकुल नियतवशले खिएका हुन् । जब देख्छु— जर्जर वर्तमान र कठिन भविष्य; छातीमा एउटा बाण धसिएजस्तो लाग्छ । जब देख्छु— इतिहास जलाएर विभूति लाउने धुन्धुकारिहरु; आँखा तिरमिर तिरमिर भएर चक्कर लागे जस्तो हुन्छ । जब देख्छु— नानीहरुको किचिएको मुस्कान र बालापन; आँखाअघि अन्धकार छाएजस्तो लाग्छ । जब देख्छु— सम्भावनाको आकाशमा सर्वत्र निराशाको कालो बादल; आँखामा अनायासै झरी परे जस्तो लाग्छ । झरी लागेको तिनै आँखाले आँसु छिचोलेर हेर्दछु । देख्छु— सन्तानका लागि ब्रह्माण्डजस्तै र ब्रह्माण्डजत्रै सपना देख्ने आमालाई छोडेर उनीहरु ईडीभीको लहरमा उभिन पुगेका छन् । मुग्लान भासिएका छन् । खाडी पसेका छन् ।
अनेक तिकडम लाएर, हन्डर खाएर अमेरिका–युरोप पुगेका छन् । जो यही माटोमा छन्, ती पनि आफ्नै माटोमा बपेत्ता पारिएका छन् । ब्रह्माण्डजस्ती आमा बपेत्ता छोराछोरीका बाटो हेरिरहेकी छिन् । तर, सन्तानहरुको अत्तोपत्तो छैन । आमा एक्ली छिन् । दुःखी छिन् । लाग्छ, आमाको यो दुःखभन्दा ठूलो संसारमा अर्काे कुनै दुःख छैन । अनि, ममार्हत हुन्छु । आँसु भएर बग्न थाल्छु । आँसुका प्रत्येक थोपामा एउटा कविता उमार्ने बीज हुन्छ । त्यसैले स्विकार्छु— मेरा जम्मै कविताको रचनागर्भमा आँसु छ । हेर्ने हो भने आँसु र कविताको सम्बन्ध बलियो छ । कवि, त्यसरी आँसुले भिजेर कविता लेख्न बाध्य हुन्छ । बाध्य छु म पनि । किनभने , पराजितजस्तै लाग्ने वर्तमानमै पनि म विजेता भविष्य देखिरहेछु । ब्यँुतिंदै गरेका आकाङ्क्षाहरु देखिरहेछु । नानीहरुको रहलपहल मुस्कानमा हाँस्न खोजिरहेको देश देखिरहेछु । कालो बादलमा चट्याङ पार्न तम्तयार बिजुलीको चमक देखिरहेछु । त्यसैले म आगामी युद्धका लागि तयार छु । किनभने, युद्ध त लड्नु नै छ । निरपेक्ष रुपमा कहाँ घृणा गर्न सकिन्छ र युद्धलाई ? सत्ताले मच्चाइरहेको खुले आम रक्तपात र जनसंहारविरुद्ध युद्ध अनिवार्य छ । शान्तिका लागि पनि युद्ध अनिवार्य हुन्छ । किनभने, हरेक युद्ध अन्यायपूर्ण हुँदैन । कतिपय युद्ध मानवताका पक्षमा हुन्छन् । कतिपय युद्ध न्यायपूर्ण हुन्छन् । म त्यही न्यायपूर्ण युद्ध लड्न चाहन्छु । त्यसैले म आँसुको पाइन हालेर कवितामा धार लगाइरहेछु, किनभने मसँग प्रतिबाण छै न । हातहतियार छैन । बन्दुक र बारुद छैन । मसँग त केवल शब्दहरु छन् । तिनैलाई उनेर म कविता लेखिरहेछु । म कविता बोकेर युद्धमोर्चामा खटिएको छु । हरेक अन्याय, हरेक उत्पीडन, हरेक विभेदविरुद्ध म शब्दास्त्रसहित खडा छु । कविताले राजनीति गर्छ एकथरी मत छ— कविताले राजनीति गर्नु हुँदैन । यसमा मेरा केही जिज्ञासा छन् ।
हाम्रो देशमा सबैभन्दा बढी विमर्श कुन विषयमा हुन्छ ? के त्यो विमर्शको केन्द्रमा राजनीतिक दल र तीसम्बद्ध विषय हुँदैनन् ? नेताहरुले के विषयमा के के बोले भन्ने कुरा हुँदैन ? उदाहरणका लागि, सरकार बन्ने र ढल्ने विषयमा चर्चा हुँदैनन् ? सङ्घीयतालाई असफल बनाउने र इतिहासको गर्तमा भासिइसकेको राजतन्त्रलाई ब्युँताउने विषयमा तर्क–कुतर्कको भेल बगिरहेको छैन ? राजनीतिको अग्रपङ्क्तिमा उत्कृष्ट राजनेताहरु देख्न चाहनु नागरिकको इच्छा मात्रै होइन, त्यो देख्न पाउनु उसको अधिकार पनि हो । तर, उसको त्यो अधिकार कसले हरण गरेको छ ? ‘ ड्र्याकुला दाह्रा’ अर्जापेर सिंहासनका लागि लडिरहेकालाई गर्न त मानिसहरु बहुतै गाली गर्छन्, तर नतमस्तक हुँदै तिनलाई नै फेरि किन भोट हाल्छन् ? बूढी औलामा किन लगाउँछन् मसीको दाग ? अनि, तिनै तत्त्वदर्शीको मुद्रामा किन भन्छन्, फोहोरी खेल हो राजनीति ! विडम्बना, राजनीति फोहोरी खेल हो भन्ने गलत अवधारणाले नयाँ पिंढीलाई लखेटिरहेको छ । तिनमा राजनीतिप्रति वितष्ृणा जगाइरहेछ । यसप्रति निरपेक्ष रहन दुरुत्साहन गरिरहेछ । नयाँ पिंढीलाई त सिकाउनुपर्ने हो, हाम्रो इतिहास, वर्तमान र भविष्य राजनीतिसँग जोडिएको छ । राजनीति त्यसैले चुनावी विषयवस्तु मात्रै होइन, समाजशास्त्रीय आयाम पनि हो । राजनीतिबाट कोही टाढा हुन सक्दैन रहुनु हुँदैन । राजनीति हर पुस्ताको नै सर्गिक अधिकार हो । नयाँ पिँढीलाई त सिकाउनुपर्ने हो, राजनीति न्याय, स्वतन्त्रता, अधिकार, स्वाभिमान, स्वअस्तित्व र सम्मानप्राप्तिको साधन हो । जनसाधारणको पक्षमा उभिएको एउटा कविले चाहने मूलभूत कुरा सबैका लागि त्यही न्याय, स्वतन्त्रता, अधिकार, स्वाभिमान, स्वअस्तित्व र सम्मान हो । त्यसैले कवितामा राजनीति हुन्छ । विश्वस्त छु, कविता राजनीतिको आदिम स्वरुप मात्र होइन, राजनीतिक चेतनाको बिगुल पनि हो । त्यही बिगुलबाटै स्वतन्त्रता र सुखको लय निस्कने हुनाले कविताले उच्चतम सौन्दर्यको राजनीति गर्छ । त्यसैले मेरा कतिपय कवितामा वै यक्तिक अनुभूतिको सघन छाया देखिए पनि मूलतः मेरा कविता राजनीतिसँग जोडिएका छन् । कविताको राजनीतिक आयाम हुन्छ रहुनुपर्छ भन्ने विश्वास गर्छु । यदि कविता आम मानिसको पक्षमा उभिन्छ भने त्यसले राजनीति गर्नै पर्छ । राजनीतिबिनाको कविता निरुद्देश्य भौंतारिई हिंडेको बटुवाजस्तो हुन्छ । युद्धमोर्चामा खटिएको सिपाहीजस्तो हुँदैन । कविताः इन्द्रेनीको खोजी ‘क्लिसे’ लाग्ला, तर भन्छु— जीवन रङहरुको मिलाप हो । संसार रङहरुको मिलाप हो । सपना रङहरुको संयो जन हो । जीवनमा हिउँजस्तो सेतो रङको सौन्दर्य छ । कोइलाजस्तो कालो रङको सौन्दर्य छ । वसन्तको हरियो सौन्दर्य छ । शिशिरको खैरो सौन्दर्य छ । सौन्दर्यका यिनै आयामलाई आत्मसात् गरेर कविले मधेसको फाँटबाट सुन, पहाडका खानीबाट तामा र हिमालको शिखरबाट चाँदीको रङ टिप्दछ । ती रङहरुमा कविताको ‘क्याटलिस्ट’ मिसाउँछ । कविले आफ्नो सिर्जनालाई कविताको रङ दिन न्यायका लागि उठेका विद्रोहबाट रातो, सङ्घर्षपूर्ण इतिहासका सुनौला पृष्ठबाट पहेंलो र उन्मुक्त आकाशबाट नीलो रङ लिन्छ । कवितामा यी तीन प्राथमिक रङलाई मानवमुक्ति, तिनको स्वर्णिम भविष्य, समृद्धि र स्वतन्त्रताका रुपमा बीजारोपण गर्छ ।
रातो, पहेंलो र नीलो । प्राथमिक रङहरु ! अनि, बैजनी, अस्मानी, हरियो र सन्ुतला रङ । इन्द्रेनीका सात रङ ! म जीवनमा त्यही इन्द्रेनी चाहन्छु । मेरो कविता त्यही इन्द्रेनीको खोज हो, प्रतिच्छाया हो । मलाई कविता जन्माउन एक्काइसौ ंशताब्दीमा सत्रौ ंशताब्दी भोगिरहेको समाजले बाध्य पारेको हो । मलाई थाहा छ, मेरो कविताको विपरीत धु्रवमा एक्काइसौ ंशताब्दीकै कथित उत्तरआधुनिकताले भद्दा तामझामसहित मोर्चाबन्दी गरिरहेछ । त्यसैले मेरा कविताहरु जन्मिंदै वर्गीय चस्मा लगाउन बाध्य छन् । ती चस्मा लगाएर आँसु र आक्रोशलाई छोएर हिंड्छन् । सपना र सम्भावनालाई बोकेर हिंड्छन् । मानवमक्तिको गीत गुनगुनाउँदै हिंड्छन् । त्यसैले मेरा कविता हजारौ वर्षदेखि हेपिएर, चेपिएर, थिचिएर पनि निरन्तर सङ्घर्षको जीवननदी बगिरहेका किनारीकृतहरुको किनारबाट विष्फोट भएको आवाज हो । इतरआवाजको प्रतिनिधि हो । विसङ्गतिविरुद्ध उत्पन्न विद्रोही आवाजको समुच्चय हो । त्यो आवाज सत्ताको क्रूरतासँग लड्न र भिड्न सदातत्पर छ । मेरा कविता सम्पूर्ण अव्यवस्था, असङ्गति, अनाचार र अविवेवकलाई प्रहार गर्न जन्मिएका हुन् । यसरी प्रहार गर्न सकिनँ भने म सकिने छु । कवि गोविन्द वर्तमानका शब्दमा “एक्काइसौ ं शताब्दीको यान्त्रिकताविरुद्ध÷ एक्काइसौ ंशताब्दीकै ढुङ्गो उज्याएर÷ एक्काइसौ ंशताब्दीको व्यापारलाई÷ हिर्काइरहने एउटा जीवन सकिने छ ।” मेरा कविताले समतापूर्ण व्यवस्थाको पैरवी गर्छन् । त्यसैले तिनले सधंै सधंै प्रतिपक्षीय औंला ठड्याइरहेका हुन्छन् । कविता लेख्य लिपिभन्दा धेरै जेठो हो । जो निरवच्छिन्न अस्तित्वमा छ र समयसँगै लयका विविध बान्की र कायिक स्वरुप वरण गर्दै आफ्नो सत्तालाई अपराजेय बनाएर अघि बढिरहेको छ । साधारण मानिसलाई अपराजेय कवितामाथि भरोसा छ । र, मेरा कवितालाई साधारण मानिसको आवाजमाथि भरोसा छ । २०८० जे ठ २२, प्रकृति गृह, बुटवल–८ ।