© २०२३
मुल्लाको बाबु सिकिस्त विरामी थियो । अस्पताल लैजानु पर्ने भयो । दुर्गम ठाउँमा गाडीको कुनै सुविधा थिएन । मुल्लाले डोको काटेर खुट्टा झुण्डाउँदै विरामी बस्न मिल्ने बनायो । दुईजना भएर डोकोमा बोकेर उपचार गराउन लग्यो । अस्पताल सदरमुकाममा थियो । त्यहाँसम्म पुराउन पाइने हो कि हैन भनेर बीच बाटोमा पर्ने आयुर्बेदिक पसलमा लग्यो । कविराजले नाडी हेरे, मुख खोल्न पठाएर मुखभित्र हेरे । त्यसपछि केही औषधि दिएर घर लैजान र नियमित औषधि ख्वाउन भने । फर्कने बेलामा मुल्लाले सोध्योः मेरो बाबुलाई केही त हुँदैन नि हैन ? कविराजले हात हल्लाउँदै केही हुँदैन भन्ने संकेत गरे । तर, मुखले केही बोलेनन् । घर लगियो । तर, भोलिपल्टै मुल्लाको बाबाले जिब्रो टोके । मुल्लालाई रिस उठ्यो कविराजसँग । किरियाबाट उत्रेपछि सरासर गयो भन्योः तिमीले बाबालाई केही हुन्न भनेको हैन ? यहाँबाट लगेको भोलिपल्टै निधन भयो । वदमास तिमी । कविराजले भन्योः तिमीले कुरा बुझेनौ मुल्ला । मैले नाई भनेर हात हल्लाएको थिएँ । त्यो भनेको तिम्रो बाबा रहनुहुन्न भनेको हो । कुरा बुझ्नु छैन । झगडा गर्न आउँछ । मुल्ला कविराजको भनाइमा कन्भिन्स भयो । किनभने मुखले केही नबोली हातमात्र हल्लाएका थिए ।
अहिले हाम्रा कतिपय सरकारी नेताहरुले पनि कविराजको शैली अपनाएका छन् । डा. गोविन्द केसीको हडताललाई लिएर नेपाली कांग्रेसलाई त गाली गरिरहेका छन् नै, तर गोविन्द केसीको हडताललाई ठीक पनि भन्न सक्तैनन् र बेठीक पनि भन्न सक्तैनन् । किनभने कांग्रेसको पालामा केसीले हडताल गर्दा काँधमा धाप यिनीहरुले नै मारेका थिए त ।