© २०२३
गत वर्षको मनसुन सक्रिय भएको अवधि (२०७९ जेठ २२ देखि असोज २० सम्म) मा बाढी, पहिरो र भारी वर्षाको प्रकोपका ५२६ घट्नामा २३ सय ५ परिवार प्रभावित भए भने ११९ जनाले ज्यान गुमाए । तर मनसुन सकिएपछि जेठको अन्तिम सातासम्म देशभर पानी नपर्दा देशका सबै भूभागले खडेरी महसुस गर्नु प¥यो । पानी नपर्दा आकाशे पानीमा भर पर्ने किसानले बाली लगाउन पाएनन् भने लगाएका बालीनालीहरु खेतमै सुक्दा किसानलाई ठुलो क्षति भयो । नदि÷खोला र भूमिगत पानीमा आधारित सिंचाई प्रणालीहरु समेत खडेरीले गर्दा समस्यामा परे, जसले गर्दा ती माध्यमबाट किसानले आवश्यकता अनुसार सिचाईको लागि पानी प्राप्त गर्न सकेनन् । २०८० जेठमै नेपालका अधिकांश ठाउँमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भयो । असारमा रोपाई गर्न भनेर बैशाख÷जेठमा धानको ब्याड राखेका किसानहरुको ब्याड चिराचिरा परेका, मकैका बोटहरु खेतमै डढेका दृश्यहरु देशभर देखिए । कहिले मनसुन सक्रिय होला र खेतीपाती राम्रो होला भनेर बसेका देशको मध्य र पश्चिमी क्षेत्रका किसानहरु अझैपनि आकाशतर्फ हेरिरहेका छन् भने पूर्वी नेपालमा अत्यधिक वर्षा भएर ठुलो धनजनको क्षति भैसकेको छ । यो वर्ष देशभर औसत भन्दा कम वर्षा हुनेछ भनी मौसम विभागले प्रक्षेपण गरेको छ । गतवर्ष खडेरी पर्दा समस्यामा परेका किसानहरु विभागको यो प्रक्षेपणले अहिल्यैदेखि छटपटीमा छन् । नेपालमा प्राकृतिक विपत्तिको क्षति मृतक, घाइते र वेपत्ताको संख्या, भत्किएका घर र बिग्रिएका संरचनाको संख्याको आधारमा मूल्यांकन गर्ने गरिएकोले ती बाहेक कृषि क्षेत्रमा हुने गरेको क्षतिको खासै मतलव गर्ने चलन छैन । तर विगत ५ वर्ष यताका अतिवृष्टि, अनावृष्टि र खडेरीले भविष्यमा नेपालको कृषि क्षेत्रले विपदबाट भोग्नुपर्ने समस्याको बारेमा संकेत गरिसकेको छ ।
नेपालको करिब ८३ प्रतिशत भूभाग हिमाल तथा पहाड र १७ प्रतिशत भूभाग तराई प्रदेशमा पर्छ । नेपालको पुरै भूभाग १० सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ । भौगर्भिक रुपमा गतिशील पर्वत शृंखला, अस्थिर तथा अति भिरालो जमिन र कमजोर भौगोलिक वनावट अनि ६ हजार भन्दा बढी नदीनाला भएकोले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । नेपाल विश्वमा भूकम्पबाट ११ औँ र बाढी पहिरोबाट ३० औं अति जोखिम देशको रुपमा रहेको छ । यी विविध कारणहरुले गर्दा नेपालमा हरेक वर्ष ५०० भन्दा बढी विविध किसिमका विपदका घटनाहरु हुने गर्छन् ।. भौगोलिक÷ भौगर्भिक कारण बाहेक हिमपात, हिमपहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी, हुरी बतास, शितलहर, लू जस्ता जलवायु परिवर्तनजन्य विपदको कारणले पनि नेपालले वर्षेनी ठुलो क्षति भोग्नु परिरहेको छ । यस्ता सबै मौसमजन्य र जलवायु परिवर्तनजन्य विपदहरुबाट कृषि क्षेत्रमा सबैभन्दा बढी नोक्सानी भएको देखिन्छ ।
कृषि क्षेत्रमा बाढी र पहिरोबाट बढी नोक्सानी हुने गरेको छ । असार– साउन महिना नेपालीको मुख्य खेतीपाती लगाउने समय हो । यही समयमा नेपालमा मनसुनको उच्च प्रभाव रहने भएकोले बाढी पहिरोका घटनाहरु धेरै हुने गरेको पाइन्छ । वर्षेनी दोहोरिने पहिरोले पहाडका खेत÷ बारीहरु मासिने क्रम बढेको छ । पहाडी क्षेत्रमा भैरहेका अव्यवस्थित पूर्वाधार निर्माण कार्यले गर्दा पहिरोको संख्या र क्षेत्रफल बढ्दै गएका छन् । नदी कटानले गर्दा खेतबारीहरु बगरमा परिणत हुने, बाढी र डुवानले गर्दा लगाएको बाली नष्ट हुने घटना वर्षेनी बढिरहेका छन् । समय समयमा आउने सानाठूला भूकम्पले गर्दा पहाडी क्षेत्रका खेतबारीहरु चिराचिरा परेर खेतीपातीको लागि जोखिमपूर्ण बन्दै गएका छन् । यस्ता विपदले खेतीपाती गर्ने जग्गाको क्षेत्रफल र उत्पादकत्व मात्र घटेको छैन, किसानहरुको ठुलो मेहनत र लगानी समेत खेर गैरहेको छ अनि नेपाली किसानहरुलाई झनझन गरिब र कृषि पेशाबाट नै विस्थापित गराउँदैछ ।
पछिल्ला वर्षहरुमा नेपालमा जलवायु परिवर्तनका असरहरु बढ्दै गएका छन् । खासगरी बेमौसमी वर्षा, अतिवृष्टि र खडेरीका दिनहरु बढ्दै गएका छन् । बाली पाक्ने र भित्र्याउने बेलामा एक्कासी पनि झरी र असिना पानीले वर्षेनी लाखौ मेट्रिक टन बालीनाली खेतमा नै नष्ट हुने गरेको छ । हिमाली क्षेत्रमा हुने अस्वाभाविक हिमपात, तराइमा चल्ने सहित लहरले समेत नेपाली किसानहरुलाई बारम्बार पीडित बनाइरहेको छ । नेपालको कूल २६ लाख ४१ हजार खेतीयोग्य जमिनमध्ये हालसम्म ५८ प्रतिशत जमिनमा मात्र सिचाई सुविधा पुगेको छ (आर्थिक सर्वेक्षण २०७९÷८०) । ४२ प्रतिशत भन्दा बढी खेतीबारी सिचाइको लागि आकाशे पानीमा नै निर्भर छन् भने खोला÷नदीमा आधारित सिचाई प्रणाली पनि आकाशे पानीमा नै निर्भर रहेको छ । वर्षाचक्रमा सानो परिवर्तन आउनासाथ सिचाईमा ठूलो समस्या आउने गरेको छ । विश्वब्यापी उष्णिकरणको कारणले खडेरीका दिनहरु बढ्दै गएका छन् । जमिनमा सुख्खापन बढ्न थालेका विवरणहरु सार्वजनिक भैरहेका छन् । खडेरीले गर्दा समयमा धान रोप्न नपाएको, खडेरीले धानखेतमा धाँजा परेको, बालीहरु खेतमा डढेका दुखद दृष्यहरु वर्षेनी देखिदैछन् । बाढी र पहिरोको पूर्वानुमान गरी रोकथामका प्रयासहरु गर्न सकिने भनेपनि अतिवृष्टि र खडेरीको सहज पूर्वानुमान गर्न नसकिने भएकोले यस्ता विपदबाट किसानले बढी मौसमी क्षति बेहोर्नुपरेको छ । खडेरीले सिचाइका परम्परागत प्रणाली बेकामे हँुदै गएको र बालीनाली लगाउन मुस्किल भएकोले खेतीयोग्य जमिनहरु बाँझो हुने क्रम बढिरहेको छ ।
जलवायु परिवर्तनको प्रत्यक्ष असर जैविक प्रणालीमा समेत देखिएका छन् । तापक्रम बढ्दै जाँदा खेतबारीमा रोग र किराहरुको प्रकोप बढ्दै गएको किसानहरुले महसुस गर्न थालिसकेका छन् । बालीनालीमा पहिले कहिल्यै नदेखिएका किरा फट्यांग्राले दुख दिन थालेका छन् । मिचाहा प्रजातिका वनस्पतिहरु सबै भूगोलमा तीब्र गतिमा फैलिदै गएका छन् । रोग, किरा र झारपात नियन्त्रण गर्ने परम्परागत प्रविधिहरु बेकामे हँुदा किसानहरुलाई बालीनाली जोगाउने मुस्किल परेको मात्र छैन बालीनालीमा आणुवंशिक परिवर्तन समेत देखिन थालेका छन् । झारपात र किराहरुको प्रकोप बढ्दै गएकोले चरिचरनमा समेत समस्या देखिन थालेको छ । जलवायु परिवर्तनले हिमाली खर्कहरु बढी प्रभावित भएका छन् । हिमपात र हिम गलनको परिमाण र समयमा परिवर्तन आउँदा हिमाली क्षेत्रका पशुपालकले समस्या र क्षति भोग्नु परिरहेको छ ।
नेपालका दुई तिहाई घर परिवार कृषि र पशुपालनमा संलग्न छन् भने कृषिले कुल ग्राहस्थ उत्पादनमा एक चौथाई स्थान ओगटेको छ । कृषि क्षेत्र खाद्यवस्तु उत्पादनमा मात्र सिमित छैन, संस्कृति र पर्यटन, जैविक विविधता संरक्षण र परिस्थितिक प्रणालीको संचालनसंग पनि यसको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । अहिले नै कृषिजन्य उत्पादनको लागि ठुलो धनराशी विदेशिएको छ । नेपालको कृषि क्षेत्रमा मौसमजन्य विपद र जलवायु परिवर्तनसिर्जित विपदहरु बढ्दै जादा कृषि र पशुपालन जटिल र उत्पादन कम हँुदै जानेछ । यसले कृषिजन्य उत्पादनमा पर निर्भरता बढाउनेछ । कृषिमा विपदका असरहरु बढ्दै गएमा वन तथा भू–संरक्षण, जलाधार र जलश्रोत संरक्षण, पर्यटन र सास्कृतिक व्यवहारको निरन्तरतामा गम्भीर असर पर्ने निश्चित छ ।
जलवायु परिवर्तनका केही असरहरु अहिले नेपालमा देखा परिसकेका छन् । विश्वब्यापी उष्णता बढ्दै जाँदा नेपालमा जलवायु परिवर्तनसिर्जित विपदहरु अझ बढ्ने निश्चित छ । विपदसंग जुध्न नेपाल सरकारले तयार गरेको राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ ले जलवायुमैत्री कृषि प्रणाली अवलम्बन गरी खाद्य सुरक्षा, पोषण र जीविकोपार्जनमा सुधार गर्ने नीति निर्धारण गरेको छ । यो नीति अनुसार स्थानीय कार्यक्रमहरु बनाएर लागु गर्नका लागि तिनै तहका सरकार इमान्दारिताका साथ् लाग्नुपर्छ । विपदबाट कृषि क्षेत्रमा पर्ने नोक्सानी कम गर्नको लागि कृषि क्षेत्रमा अनुकूलनका कार्यक्रमहरु संचालन गर्नुपर्छ । प्राकृतिक विपद सहन सक्ने बालीनालीको विकास, प्रवद्र्धन र उपयोगमा जोड दिनुपर्छ । बालीनाली संरक्षण र पशुपालनका रैथाने सिपको प्रवद्र्धन गर्ने, सामुहिक खेतीपाती र पशुपालन गर्ने, व्यवसायिक कृषि प्रवद्र्धन गर्ने, खडेरीबाट जुध्नको लागि पानीका श्रोतहरुको संरक्षण गर्ने जस्ता कार्यले जोखिमलाई कम गर्न सकिन्छ । कतिपय स्थानमा विपद जोखिमयुक्त स्थानमा खेतीपाती र चरिचरन गर्नाले बाढी र भूक्षय भैरहेको छ । यस्ता स्थानमा नियमित खनजोत गरेर खेतीपाती गर्नुको साटो व्यवसायिक फलफुल खेती, डालेघाँस विकास र कृषि वन विकास गरेर विपद कम गर्दै कृषि क्षेत्रबाट लाभ लिने योजना सरकारले किसानलाई दिनुपर्छ । सामान्य अवस्थामा समेत सचेतना र सूचनाको कमीले नेपाली कृषकहरुले प्राकृतिक प्रकोपबाट धेरै क्षती भोग्नु परिरहेको छ । मौसम सम्बन्धी सुचनाहरु ठिक समयमा सबैको माझमा पु¥याउने पालिकास्तरीय संयन्त्र बनाएर सबै किसानलाई विपद विरुद्धको पुर्व तयारी गर्नसक्ने बनाउनुपर्छ । विपदलाई रोक्न नसकिने भएकोले सम्भाव्य सबै पूर्वतयारी र अनुकूलन व्यवहार गर्दागर्दै पनि कृषि क्षेत्रलाई पूर्ण रुपमा विपद जोखिम मुक्त राख्न सकिदैन । यस्तो अवस्थामा कृषकलाइ नोक्सानी हुनबाट जोगाउन र कृषि क्षेत्रमा टिकाइराख्न राज्यले राहतको सुनिश्चितता र बिमाको व्यवस्था गर्नुपर्छ । कृषि क्षेत्रलाई विपदबाट जोगाउन सकिएन भने हाम्रो जीवन र जीविका पनि जोगिन सक्ने छैन । यी कुरा सबै सरोकारवालाहरुले बेलैमा बुझ्नु पर्छ ।