© २०२३
जब राजनीतिमा एउटा व्यवस्था एकाध दल तथा व्यक्तिहरुको इशारामा चल्छ त्यतिबेला ती व्यक्तिहरुको स्वार्थको कारण जनताको चाहना, आवश्यकता, माग, अधिकार आदि सबै छायाँमा पर्दछन् । यस्तो अवस्थाले जनस्तरमा ती दल र व्यवस्था प्रति बितृष्णा पैदा हुन्छ । व्यवस्था परिवर्तन गर्नुपर्ने स्वरहरु बिस्तारै बुलन्द हुँदै जान्छन् र नयाँ व्यवस्थाको लागि वैकल्पिक शक्तिको आवश्यकता पर्दछ । हाम्रो नेपालमा छोटो समयको अन्तरालमा धेरै पटक वैकल्पिक शक्ति आएपनि ती टिकाउ भएनन् यो हाम्रो लागि बिडम्बना हो ।
राणाशासन एकदमै क्रुर भयो । नेपाली जनताले त्यसका विरुद्ध आवाज उठाए, आन्दोलन गरे अनि २००७ सालमा प्रजातन्त्र ल्याए । वैकल्पिक व्यवस्था प्रजातन्त्र बामे सर्दै थियो । त्यो राजा महेन्द्रलाई मन परेन अनि उनले २०१७ सालमा नेपाली कांग्रेस लगायतका दललाई कमजोर पारी पंचायत ल्याए । विभिन्न उतार चढाबका बाबजुद पंचायती व्यवस्था ३० बर्ष टिक्यो । अनि निरङ्कुश पंचायती व्यवस्था विरुद्धको जनआन्दोलन–१ २०४६ ले बहुदलीय प्रजातन्त्रको पुनर्वहाली मात्र गराएन यसले मूख्य गरी नेपाली कांग्रेस र नेकपा माले ( एकीकरण पश्चात एमाले) वैकल्पिक शक्तिको रुपमा अगाडि ल्यायो ।
स्वाभाविकरुपमा २०४६ मा पुनर्वहाली भएको बहुदलीय प्रजातन्त्रले नेपाली जनतामा ठूलो आशा जगायो । जनताले अब देशको चौतर्फी विकास हुन्छ भन्ने सोंचे । समृद्ध नेपालको कल्पना गरे । पंचायत संगै सबै काला दिन गए, अब आउने दिन सबै उज्याला तथा सुनौला हुन्छन् भन्ने सबैलाई लाग्यो । सबै वर्ग, तह, लिङ्ग, क्षेत्रका मानिसहरु खुशी थिए । २०४७ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले आम निर्वाचन सम्पन्न ग¥यो । २०४८ सालको आम निर्वाचनको परिणाम स्वरूप नेपाली कांग्रेसले बहुमतको सरकार बनायो । उक्त सरकारबाट जनताले ठूलो आशा गरेका थिए । चुनावको बेलामा नेताहरुले निकै ठूला ठूला सपना देखाएका थिए । ती सपना सपनैमा सीमित भए । किनभने, एकमाना सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसभित्र तीब्र विवाद सृजना भयो । छत्तीसे र चौहत्तरे नामका दुइगुट देखा परे । आफ्नै पार्टीबाट अल्पमतमा पर्ने भएपछि बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा बिघटन गरी मध्यावधी निर्वाचनको घोषणा गरे । उक्त मध्यावधी निर्वाचनमा नेकपा एमाले ठूलो पार्टी भयो । ठूलो पार्टीको हैसियतले प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा एमालेले अल्पमतको सरकार गठन गर्यो । नौ महिना रहेको त्यो सरकारले आफ्नो गाउँ आफै बनाऔं, बृद्ध भत्ताको ब्यवस्था आदि केही आशा लाग्दा कामको सुरुवात गर्यो । त्यसपछि नेपालका राजनीतिक दल सरकार बनाउने तथा ढाल्ने खेलमा मग्न रहे । कहिले कांग्रेसले सरकारको नेतृत्व लियो । कहिले राप्रपाले लियो । देश विकास हुने जनताको आशा निराशामा परिणत हुँदै गयो । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा २०५२ साल फागुन १ मा माओवादीले सशस्त्र जनयुद्ध छेंड्यो । देश बिस्तारै गृहयुद्धको चपेटामा फस्दै गयो । यहाँबाट फेरि माओवादी वैकल्पिक शक्तिको रुपमा आउन खोजेको देखियो ।
बहुदलीय प्रजातन्त्रको पुनर्बहाली पश्चात २०५६ सालमा दोश्रो आम निर्वाचन भयो । पुनः एक पटक कांग्रेसले कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बहुमतको सरकार बनायो । एक बर्षपछि गिरिजा प्रधानमन्त्री भए । स्थानीय निकाय जनप्रतिनिधि बिहिन भए । सबै सरकारी कर्मचारी जिल्ला सदरमुकाम बस्न थाले । २०५८ जेठ १९ मा राजदरबार हत्याकाण्ड भयो । जनता झन् सशंकित भए । ज्ञानेन्द्र राजा भए । ज्ञानेन्द्र निरंकुशताको बाटोमा आफुलाई वैकल्पिक शक्तिको रुपमा अगाडि बढाउंदै लगे तर उनी पनि असफल भए ।
२०६४ चैतमा संबिधानसभाको सभाको चुनाव भयो । माओवादी ठूलो दलको रुपमा उदायो । वास्तवमा माओवादी वैकल्पिक शक्तिको रुपमा उदायो । जनता आशावादी भए तर माओवादी रबैया कांग्रेस र एमालेको भन्दा फरक देखिएन । २०७० सालमा दोस्रो संविधान सभाको चुनाव भयो । जे होस् २०७२ मा संविधान जारी भयो । संविधान जारी भैसकेपछि बाबुराम भट्टराई नयाँ नेपाल निर्माण गर्नको लागि पुराना दल काम नलाग्ने भन्दै नयाँ शक्ति पार्टीको गठन गरी उक्त पार्टीलाइ वैकल्पिक शक्तिको संज्ञा दिए । तर उनी उक्त पार्टीलाई धेरै टिकाउन सकेनन् र अन्य जुन दलहरु पहिला उनको नजरमा काम नलाग्ने थिए तिनै दलहरु संग जुट र फुटको राजनीतिमा मग्न भए । यसै बीचमा विवेकशील साझाले पनि आश देखायो पछि फुटको संस्कृति त्यहाँ पनि मौलायो । अहिले त साझा पार्टीका संस्थापक आशालाग्दो भनिएका रविन्द्र मिश्र राप्रपामा बिलय भएका छन् यद्दपि राप्रपाका उपाध्यक्ष हुन् ।
२०७९ साल वैशाखमा भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका र धरान नगरपालिकामा स्वतन्त्र उमेदवार क्रमशः बालेन्द्र शाह र हर्क साम्पाङको शानदार जितसंगै जनता पुराना स्थापित दलसंग वाक्क भएर उनीहरु नयाँ राजनीतिक दललाई वैकल्पिक शक्तिको रुपमा स्वीकार्न चाहेको देखियो । सायद बालेन र हर्कको जितबाट हौसिएर होला लोकप्रिय पत्रकार रवि लामिछानेले आफ्नो नेतृत्वमा रास्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दललाई अबको वैकल्पिक शक्तिको रुपमा अगाडि ल्याए । पार्टी गठन भएको पाँच महिनामा भएको निर्वाचनमा देशकै चौथो ठूलो दलको रुपमा उनले आफ्नो दललाई स्थापित गराए । निर्वाचन पछि आफ्नो पार्टीको नेतृत्व गर्दै गृह तथा उप प्रधानमन्त्री बने । उनले राम्रो काम गर्ने लागे जस्तो देखिन्थ्यो तर उनी नागरिकता विवादमा तानिए र यसै सिलसिलामा उनको संसद पद समेत खोसियो । कानुनतः उनको पद खोसिए संगै राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरियो । गत बैशाखमा रविको क्षेत्र संगै राष्ट्रपति तथा उप राष्ट्रपतिको क्षेत्र गरी तीन क्षेत्रमा उप निर्वाचन भयो । उक्त निर्वाचनमा रवि पुनः भारी मतले बिजयी मात्र भएनन् उनले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त अर्थविद तथा नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्रमा उठाए । आशा गरे अनुरुप वाग्लेले पनि भारी मतले जिते । उनको जित संगै राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा एउटा सिट बढायो । अहिले रवि र उनको पार्टी प्रति जनताको आशा, बिश्वास र आकर्षण बढेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले सम्म हेर्दा सबै नयाँ अनुहारको साथै सबै आ आफ्नो क्षेत्रमा क्षमतावान देखिन्छन् । उक्त पार्टीको भविष्य नेतृत्वको कार्य कुशलतामा भर पर्दछ ।
विगतको इतिहास हेर्दा नेपाली राजनीतिमा अवसरवादले जरा फैलाएको देखिन्छ । उदाहरणको लागि ६४ सालको संविधानसभाको निर्वाचन पश्चात एमाले र कांग्रेसका अवसरवादीहरुको झुण्ड माओवादीमा समाहित भएको थियो । यो अवस्था अव रास्वपामा नआउला भन्न सकिदैन । यदि रास्वपा पार्टीमा आउन चाहने व्यक्तिहरुलाई सेलेक्सन नगरी कलेक्सनमा गयो भने नेपाली जनताले अर्को वैकल्पिक शक्तिको खोजी गर्नुपर्ने बाध्यता सिर्जना हुनेछ । ठूला दलमा अवसरवादी मनोवृत्ति भएका नेता, पेशाकर्मी आदि रास्वपाको बढ्दो लोकप्रियताका कारण उक्त पार्टीमा संलग्न हुन नाचाहलान भन्न सकिदैन । यदि रास्वपाले जुन पार्टीबाट जो आउन चाहन्छ तिनीहरुलाई लिदै पार्टी बिस्तार गर्न खोज्यो भने एकदमै घातक हुनेछ । नेपाली जनताको आशामा निराशाको कालो बादल मडारिने छ ।
नेपालमा स्वच्छ छवि भएका, क्षमतावान तथा इमान्दार मानिसहरुको कमी छैन । कमी छ त त्यस्ता क्षमतावान मानिसलाई राजनीतिमा ल्याई उनीहरुको क्षमतालाई देश विकासमा सदुपयोग गर्न सक्ने दुरदर्शी कुशल नेताको । कुशल व्यवस्थापकको । पक्कै पनि रास्वपा रविको अग्रसरतामा गठन भएको पार्टी हो र यो पार्टीको अहिलेको सफलता भनेको पुराना दलहरु प्रतिको बितृष्णा हो । यसमा कसैको दुइमत छैन । उक्त पार्टीमा रवि भन्दा पनि क्षमतावान, आफ्नो बिषय तथा क्षेत्रमा विज्ञ एवं स्वच्छ छवि भएका मान्छेहरु छन् । रास्वपा अहिले सरकारमा गएको छैन । यो उक्त पार्टीको लागि राम्रो कुरा हो । यदि रवि ८४ को निर्वाचनसम्म सभापति भएको नाताले सबै नेताहरुलाई समायोजन गरी अगाडि बढाउन सके भने आगामी निर्वाचनमा रास्वपा बलियो वैकल्पिक शक्ति भएर आउनेछ । तर रविको रबैया हाम्रा पुराना दलका नेताको जस्तो भयो, रास्वपा भनेको रवि हो, सरकारको नेतृत्वमा पनि रवि, पार्टीको नेतृत्वमा पनि रवि, रवि छ त रास्वपा छ अन्यथा छैन भन्ने सोंचाई झांगियो र व्यवहार पनि त्यस्तै भयो भने साधारण जनताले देखेको रास्वपा नामक वैकल्पिक शक्ति रुपी तारा चम्कनै नपाउंदै निभ्नेछ र हामी नेपाली फेरि पनि वैकल्पिक यानी नयाँ शक्तिको खोजीमा भौतारिरहनु पर्नेछ ।