© २०२३
स्थानीय तहमा शिक्षाका कर्मचारीले पद फरक भएपनि एउटै काम गरिरहेका छन् । पद अनुसारको कर्मचारी नपुग्दा स्थानीय तहमा पुगेका उपसचिव, विद्यालय निरीक्षक र स्रोत व्यक्तिले एउटै काम गरेका हुन् ।
शिक्षाका कर्मचारी नहुदा विद्यालय निरीक्षण, शिक्षाका योजना बन्न सकिरहेका छैनन् । जिल्लामा भएका शिक्षाका जनशक्तिलाई अड्को पड्को तेलकोको धूपको रुपमा स्थानीय तहमा खटाइदा तह र पद फरक भएपनि ति शिक्षाका कर्मचारीहरुले एउटै खालको भूमिका निभाइरहेका छन् ।
रुपन्देहीका १६ वटा स्थानीय तहमा शिक्षाका स्रोत व्यक्ति, विद्यालय निरीक्षक र उपसचिव स्तरका कर्मचारी पठाइएको अवस्था छ । तर ति सबै कर्मचारीहरुले स्थानीय तहमा एउटै प्रकृतिका काम गरिरहेका छन् । यसो गर्दा विद्यालय निरीक्षण ठप्प भएको छ भने शिक्षाका योजना बन्न सकेका छैनन् । स्थानीय तहले काम गर्न थालेको डेढ बर्ष पुग्दा समेत कतिपय स्थानीय तहले शिक्षा इकाइका लागि कार्यालय व्यवस्थापन गर्न समेत सकेका छैनन् ।
रुपन्देहीको स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा उपसचिवले शिक्षा शाखाको नेतृत्व लिएका छन् भने ६ स्थानीय तहमा विद्यालय निरीक्षक र ५ स्थानीय तहमा स्रोत व्यक्ति खटिएका छन् । दुई तहमा एकै जना स्रोत व्यक्तिलाई हेर्ने जिम्मेवारी दिइएको अवस्था छ । उपसचिव खटिएका स्थानीय तहहरुमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका, सिद्धार्थनगरपालिका र तिलोत्तमा नगरपालिका छन् । विद्यालय निरीक्षक खटिएका स्थानीय तहमा सुद्दोधन गाउँपालिका, देवदह नगरपालिका, ओमसतिया गाउँपालिका, सियारी गाउँपालिका र मायादेवी गाउँपालिका छन् । त्यसैगरी स्रोत व्यक्तिले जिम्मेवारी लिएका स्थानीय तहमा कंचन गाउँपालिका, गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिका छन् ।
नगरपालिका स्तरमा उपसचिव स्तरको दरबन्दी रहने र गाउँपालिकामा विद्यालय निरीक्षकले शिक्षाको जिम्मेवारी दिने भनिएपनि यो प्रावधान कागजमै सिमित छ । नगरपालिकामा उपसचिव सहित १ अधिकृत र १ प्रास स्तरको कर्मचारी रहने भनिएपछि तीन स्थानीय तहमा मात्र अधिकृत तहका कर्मचारी पुगेपनि ति तहमा प्रास तहको कर्मचारी छैनन् । त्यसैगरी गाउँपालिकामा अधिकृत सहित प्रासको दरबन्दी रहेपनि प्रासको व्यवस्था भएको देखिदैन ।
शिक्षा सेवामा स्रोत व्यक्ति, विद्यालय निरीक्षक र उपसचिवको पदीय जिम्मेवारी फरक फरक भएपनि कर्मचारी अभाव र अन्यौल रहदा उनिहरुले स्थानिय तहमा पदीय जिम्मेवारी अनुसारको काम गर्न पाएका छैनन् ।
स्रोत व्यक्ति शालिकराम शर्माले दुईवटा गाउँपालिकाको जिम्मेवारीका कारण विद्यालय निरीक्षण र योजनाको बिषयमा सोच्न नपाएको बताए । शिक्षकको तलब निकासा र तथ्यांक जुटाउदैमा दिन बित्छ उनले भने स्रोत व्यक्तिको पद भएपनि शिक्षा अधिकृतको जिम्मेवारी निभाउनु परेको छ । सहायक कर्मचारी नहुदा उपसचिव खटिएका स्थानीय तहले समेत शिक्षाका कामलाई तीब्रता दिन सकिरहेका छैनन् ।
स्थानीय तहमा खटिएका अधिकांश शिक्षाका कर्मचारीहरुको दैनिकी शिक्षक कर्मचारीको तलब निकासा, पाठ्यपुस्तकको रकम निकासा गर्ने, शिफारिश लेख्ने, संघ र प्रदेशको गोष्ठि, तालिम, विद्यालयको बार्षिकोत्सवमा भाग लिनमा सीमित भएका छन् ।
दरबन्दी अनुसार शिक्षाका कर्मचारी नहुदा गाउँपालिकाको शिक्षाका कार्यक्रम अगाडी बढाउन नसकिएको कंचन गाउँपालिकाको अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले बताए । उनले गाउँपालिकामा रहेका विद्यालयको अनुगमन, तथ्यांक अपडेट, विश्लेषण, परीक्षा संचालनमा कठिनाई भएको बताए । गाउँपालिकाले योजनामा राखेको शिक्षाको कार्यक्रम संचालन गर्न सकिएको छैन् अध्यक्ष क्षेत्रीले भने, दीर्घकालिन शिक्षाको योजना बनाउनमा अलमल भएको छ ।
स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बितिसक्दा पनि स्थानीय तहको पूर्ण अधिकारभित्र पर्ने माध्यमिक शिक्षासम्म हेर्नुपर्ने स्थानीय तहमा शिक्षाका कर्मचारी नपठाइँदा शिक्षाका काममा समस्या परेको स्थानीय तहका जनप्रतिनिधीहरु बताउँछन् । स्थानीय तहले गर्ने शिक्षाका काममा प्रभावित हुदा यसको असर दीर्घकालिन रुपमा पर्ने शिक्षाकर्मीहरुको विश्लषण छ ।