© २०२३
आज मुक्त कमैया दिवस हो । २०६० साल साउन तीन गतेका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आज देखि सबै कमैयाहरुलाई मुक्त गरिएको घोषणा गर्दछु भनेर कमैया मुक्त कार्यक्रम ल्याएको दिनको सम्झनामा यो दिवस मनाउने गरिँदै आइएको छ । कमैया यस्तो कृषि मजदुर वर्ग हो जसलाई पर्याप्त जग्गा जमीन ओगटेका जमीन्दार वर्गले कृषि कार्यको लागि काम गर्न राख्ने गर्दथे । यो सामन्तवादी प्रचलन हो । सामन्तहरुलाई कृषि उत्पादन गर्नको लागि कृषि मजदुरको आवश्यकता हुन्थ्यो । जमीनजति जमीन्दारले ओगटेको कारण भूमिहीन भएका मानिसहरु उनीहरुको खेतबारीमा काम गर्न वाध्य हुन्थे । यो एकखालको पुस्तौँ देखिको परम्परा चल्दै आएको थियो । जमीन्दारले दिने अनाज ज्यालाले खान पुग्दैनथ्यो । खान नपुगेपछि उनीहरुसँगै ऋण लिनुपथ्र्यो । त्यो ऋण खप्टिँदैजाँदा त्यसको भार छोरा नातिमा सर्दै जान्थ्यो । पिँढी दरपिँढी सरिरहन्थ्यो । छाडेर अन्यत्र काम गर्न जान पनि नपाइने अवस्था हुन्थ्यो । परिवारका अन्य सदस्यले पनि त्यो ऋण चुक्ता गर्न न्यूनतम ज्यालामा काम गर्नुपर्ने वाध्यता हुन्थ्यो । यो कमैयाहरुको परम्परागत सिँढी बनेको थियो । पछिल्ला दिनमा कमैया प्रथा रोक्नको लागि केही नेताहरुले प्रयास नगरेका पनि होइनन् । तर, सबैजसो नेताहरु जमीन्दार वर्गका थिए । सत्ताको मुख्य बागडोर राजाको हातमा हुँदा र उनी स्वयं सामन्तवादी समाजको प्रतिनिधि भएको अर्थमा पञ्चायत कालमा कमैया मुक्तिका कुरा उठे पनि मुक्त गर्ने अवस्था रहेन । बहुदल कालमा केही प्रयास भए । तर, मुख्य नेता, नीति निर्माताहरु सामन्त घरानियाबाट आएको कारणबाट यसले मूर्त रुप लिन सकेन । तर, पछिल्लो चरणमा शेरबहादुर देउवाले कमैयाहरुको गास, बासको ब्यवस्थापन गर्न नसके पनि घोषणा गरे । अहिले नेपालमा सैद्धान्तिक रुपमा कमैया प्रथा त समाप्त भएको छ, तर, ब्यवहारमा उन्मुलन हुन भने बाँकी नै छ ।
राजनैतिक ब्यवस्था परिवर्तन भएपछि संरचनामा केही फेरवदल आउँछ । कतिपयमा गुणात्मक परिवर्तन हुन्छ भने कतिपयमा रुपमामात्र हेरफेर हुन्छ । उदाहरणको लागि महेन्द्र राजमार्गलाई अहिले पूर्व पश्चिम लोकमार्ग भनियो । यो भनेको रुप परिवर्तन हो । गुणात्मक परिवर्तन हैन । कमैया प्रथाको सम्बन्धमा पनि त्यहि भएको छ । कमैया प्रथा मुक्त गरियो भनियो । तर, न्यूनतम ज्यालामा कृषि मजदुर बन्न तिनै मुक्त कमैयाहरु वाध्य छन् । किनभने राज्यले उनीहरुको लागि गास, बास, कपासको कुनै ब्यवस्था मिलाउन सकेन । कृषिमै सिप भएका, विद्यालयको मुख देख्न नपाएका कमैयाहरु भोकै बस्नुपर्ने अवस्था आयो । कृषि र कृषि मजदुरलाई अलग त बनाइदियो, तर, जमीन्दारी प्रथालाई खल्बलाउन सकेन । जमीन्दार जमीन्दार नै रहे । मुक्त भएका भनिएका कमैयाहरु उनीहरुकै जमीनमा काम गर्न जान वाध्य भए । रुप फेरियो गुणात्मक अवस्था फेरिन सकेन । किनभने नीति निर्माताहरु नै सामन्त घरानाका थिए । कमैया मुक्त घोषणा गर्ने प्रधानमन्त्री स्वयं सामन्त थिए । छन् । त्यसकारण ब्यवस्थापन हुन सकेन भन्नुपर्ने हुन्छ ।
सामन्तवादी युगमा सामन्तहरु राज्यका हर्ताकर्ता थिए । उनीहरुले राज्य सञ्चालन गर्थे । नीति निर्माण गर्थे । उनीहरुको नीति आफ्नो हितको लागि बनेको हुन्थ्यो । आफ्नो पक्षमा बनाइएको हुन्थ्यो । जनतामा आफ्नो नीति लागू गर्थे । राजा, महाराजा भन्ने पदावली त्यसैताकाबाट शुरु भएको हो । जात वर्ण त्यसैबेला निर्धारण गरियो । ब्राह्म ब्रह्माको मुखबाट, क्षेत्री बाहुबाट, बैश्य जाँघबाट र सूद्र पाइतालाबाट जन्मेका हुन् भनेर मानिसको जन्म प्रक्रियालाई विभाजन गरियो । त्यसैअनुसारको काम गर्न दवाव दिइयो । कमैया प्रथा त्यसैबाट उदय भएको थियो । अहिले पूँजीवादी युग चल्दैछ । तर, नेपालमा भने पूँजीवादले राम्रोसँग जरा गाड्न सकेको छैन । राजनेताहरु सामन्तवादी घरानाबाट सत्तामा आएका छन् । उनीहरु नवसामन्तको हैसियतमा उभिन खोजेका छन् । कमैया भन्ने नाम हटे पनि घरेलु नोकरको रुपमा कमैयालाई जसरी मानिसहरुलाई कजाइरहेका छन् । कमैया प्रथा त्यतिबेलामात्र मुक्त गर्न सकिन्छ जतिबेला सामन्तवादका सबै जराहरु उखेलिने छन् । त्यसको लागि समाजवादी समाज स्थापना हुनुपर्छ । निजी पूँजीवादी ब्यवस्थामा यो उन्मुलन हुन सक्तैन । त्यसैले मुक्त भएका वा नभएकाहरुले पूर्ण मुक्तिको लागि समाजवाद स्थापनार्थ वर्गीय क्रान्ति गर्नु आवश्यक छ ।