© २०२३
घोराही उप महानगरपालीका १ गैराखुट्टीकी शुशिला चौधरी मुक्त कम्लहरी हुन् । उनी मुक्त भएको ५ वर्ष पुरा भयो । मुक्त भएदेखी उनले घर नजिकैको सामुदायिक विद्यालयमा पढ्न थालीन् । अहिले उनले माध्यमिक विद्यालय झिङनीमा कक्षा ७ मा पढिरहेकी छिन् । तर विद्यालयमा लिईने भर्ना शुल्क तथा अन्य खर्चका कारण पढाउन नसकिने अवस्थामा उनको परीवार पुगेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण कम्लहरी बस्न पठाएको शुशिलाका बाबु गंगावहादुर चौधरी बताउछन् । “दैनिक मजदुरी गरेर साँझ विहानको छाक टार्न मुस्किल भैरहेको छ भने छोरीलाई पढाउदा लाग्ने खर्च कसरी खोज्ने” गंगावहादुरले भने । जेनतेन गरेर अहिले सम्म छोरीलाई सावाँ अक्षर चिनाएपनि अव पढाउन नसकिने निस्कर्षमा गंगाबहादुर पुगिसकेका छन् । आफुले पढ्न नपाएपनि छोरीलाई पढाएर ठुलो मान्छे बनाउने सपना पुरा नहुने भयो भन्दै उनले चिन्ता ब्यक्त गरे । कसैले सहयोग गरेमा अझैपनि छोरीलाई विद्यालय पठाउने उनको धोको छ ।
घोराही १६ भगवानपुरकी मञ्जु थापाले पनि सामुदायीक विद्यालय स्यानी अम्वापुरमा कक्षा ६ मा पढ्छिन् । उनी पनि मुक्त भएको ४ वर्ष भयो । साहुको घरमा वस्दा पढ्न नपाएपनि मुक्त भएपछि भने उनी विद्यालय जान थालेकी हुन् । अहिले उनले कक्षा ६ मा पढ्छिन । मञ्जुको ऐलानी जमिनमा बनाएको सानो एकतले घर मात्र छ । आर्थिक रुपमा निम्न भएकै कारण छोरीलाई कम्लहरी बस्न पठाएको मञ्जुका बुवा शिव थापा बताउछन् । छोरीलाई कामगर्न पठाउदा २÷४ हजार भएपनि आउने र छोरीको लागि खाना तथा लत्ताकपडा पनि साहुले दिने भएकोले परीवार पाल्नकै लागि काममा पठाएको थापाले बताए । “आम्दानीको श्रोत केहि छैन, मजदुरी गरेकै भरमा साँझ विहानको छाक टार्नको लागि कम्लहरी बस्न पठाएको हो” थापाले भने । आफ्नो सन्तान आफैसंग बसोस् भन्ने चाहाना भएपनि जीवन जीउनको लागि बाध्य भएर अर्काको घरमा कामगर्न पठाएको उनको भनाई छ । पढाईमा मञ्जु लगनशिल छिन् । उनलाई पनि पढेर ठुलो मान्छे बन्ने रहर छ रे । “घरको अवस्थाका कारण विचमै पढाई छोड्नु पर्ला भन्ने मलाई लागेकै थिएन” मञ्जुले भनिन् । सरकारी विद्यालय भनेर मात्रै भएन, भर्ना शुल्क तिर्नुपर्ने, विद्यालय पोशाक, कापी, कलम लगाएतका खर्च पनि तिर्न नसक्ने भएपछि कसरी विद्यालय पठाउनु सकिन्छ भन्छन् मञ्जुका बुवा शिव थापा ।
शुशिला र मञ्जु मात्रै होईन, घोराही १८ फुर्सेखालीकी निता चौधरी पनि विद्यालय जानबाट बञ्चित हुन लागेकि छिन् । उनको अवस्था पनि केही फरक छैन । साहुको घरवाट मुक्त भएपनि निताको पढेर ठुलो मान्छे बन्ने सपना अधुरै हुने भएको छ । घोराहीको शुभप्रभात माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्दै गरेकी निताले पनि घरको आर्थिक अवस्थाका कारण विद्यालय छोड्नुपर्ने अवस्था आएको हो । सरकारले मुक्त कम्लहरी परिचयपत्र पाएकालाई शिक्षण शुल्क उपलव्ध गराउने सहमति गरेपनि व्यवहारमा लागुहुन नसक्दा उनीहरुको पढाई विचमै छुट्ने भएको हो । अहिले घोराही उप महानगरपालीका क्षेत्र भित्र विद्यालयमा अध्ययन गर्ने ८६ जना मुक्तकम्लहरीहरु छन् भने उनीहरु सवैको अवस्था एउटै छ ।
आधारभुत तहसम्म सामुदायिक विद्यालयमा निशुल्क शिक्षा भनेर सरकारले लागु गरे पनि व्यवहारमा भने त्यो लागुहुन सकेको छैन । मुक्त कम्लहरीहरुलाई राज्यले पढाउने भनेर सहमति गरे पनि अहिले सम्म सवैले त्यो सुविधा पाउन नसकेको मुक्त कम्लहरी विकाश मञ्च दाङकी अध्यक्ष शुशिला चौधरी बताउछिन् । “सरकारले पटक पटक सहमति त गर्छ तर त्यो व्यवहारमा लागु नगर्दा मुक्त कम्लहरीहरुको पढाई विचमै छुट्ने गरेको छ” शुशिलाले भनिन् । स्थानीय सरकारलाई उनीहरुले ज्ञापन पत्र समेत बुझाएका छन् । घोराही उप महानगरपालीकाका मेयर नरुलाल चौधरीले उनीहरुलाई विचमै पढाई छोड्न नदिने प्रतिवद्धता व्यक्त समेत गरेका छन् । “कसरी हुन्छ उनीहरुलाई पढ्न पठाउने जिम्मा हाम्रो हो तर कसरी गर्ने भन्नेमा हामि सल्लाह गर्छौ” मेयर चौधरीले भने । मुक्तकम्लहरी विकाश मञ्च तथा ग्रामिण महिला उत्थान केन्द्रले संयुक्त रुपमा मेयर चौधरीलाई ज्ञापनपत्र बुभाएका हुन् ।